नियमित जिमले शारीरिक तन्दुरुस्ती र आत्मविश्वास बढाउनमा मद्दत पुर्‍याउँछ

आजकाल कलेज पढ्ने युवतीहरूदेखि चालीस कटेका कामकाजी र गृहिणी महिलाहरूसमेत जिमका नियमित ग्राहकहरू हुने गर्छन् । महिलाहरू आफ्नो तौल नियन्त्रण गर्न, शरीरलाई आकर्षक आकार दिन, हिप, थाई बढाउन, ब्रेस्ट टाइट बनाउन तथा समग्र स्वास्थ्य सुधार्नका लागि जिम जाने गर्छन् । विशेष गरी सहरी क्षेत्रमा महिलाहरू बिहान वा साँझको केही समय आफ्नै स्वास्थ्य र फिटनेसका लागि छुट्ट्याउने प्रवृत्ति बढ्दो छ । नियमित जिमले शारीरिक तन्दुरुस्ती र आत्मविश्वास बढाउन मद्दत पुर्‍याउँछ ।

महिलाहरूका के-कस्ता एक्सरसाइज उपयोगी हुन्छ त ? आउनोस् यसबारे चर्चा गरौं:

फिजिकल एक्सरसाइज

महिलाहरू जम्प, म्याट एक्सरसाइज, सेटअप, पुसअप, वेट लिफ्टिङजस्ता शारीरिक अभ्यासहरू जिममा गर्न सक्छन् । यस्ता व्यायामले मांसपेशी बनाउन, शरीरलाई आकर्षक आकार दिन र समग्र स्वास्थ्यलाई सुधार गर्न मद्दत गर्छ । विशेष गरी युवा महिलाहरूका लागि यो अत्यन्तै उपयोगी हुन्छ ।

कार्डियो ट्रेनिङ

कार्डियो ट्रेनिङ तौल घटाउन, मुटु र फोक्सोको स्वास्थ्य सुधार्न तथा शरीरमा अक्सिजनको मात्रा पूर्ति गर्न महत्वपूणर् हुन्छ । यसले हृदयको गतिलाई सन्तुलित राख्छ, मधुमेह र कोलेस्टेरोलको समस्या रोक्न मद्दत पुर्‍याउँछ र शरीरका विभिन्न अंगहरूको कार्यक्षमतामा सुधार ल्याउँछ । सबै उमेरका महिलाहरूका लागि यो प्रभावकारी मानिन्छ ।

स्ट्रेन्थ ट्रेनिङ

स्ट्रेन्थ ट्रेनिङले मांसपेशीलाई बलियो बनाउनुका साथै हड्डीको घनत्व, जोर्नीको स्वास्थ्य, र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरलाई सुडौल र आकर्षक बनाउन सहयोग पुर्‍याउँछ । फरक शरीरका अंगहरूका लागि फरक स्ट्रेन्थ ट्रेनिङ विधिहरू छन् ।

स्तनको साइज र टाइटनेसमा 
सुधारका लागि

महिलाहरूले ब्रेस्टको आकार बढाउन र टाइट बनाउनका लागि बेन्च प्रेस, पुस अप, बटरफ्लाई प्रेस, चियर डिप्स, आर्म सर्कल्स, डम्बबेल क्रस बडी पन्च, ल्याटरल प्लांक वाकजस्ता व्यायाम गर्न सक्छन् । यस्ता व्यायामले मांसपेशीलाई टोन गर्न र स्तनलाई प्राकृतिक रूपले आकर्षक बनाउनेमा मद्दत गर्छ ।
यी विभिन्न व्यायाम विधिले महिलाहरूको स्वास्थ्य, फिटनेस र आत्मविश्वास बढाउन महत्वपूणर् भूमिका खेल्छ ।

व्यायाम छनोट गर्नुअघि ध्यान दिनुपर्ने कुरा

कुनै पनि व्यायाम छनोट गर्नुअघि जिम आउनुको उद्देश्यमा बढी ध्यान केन्द्रित गर्नुपर्छ । यदि आफ्नो शरीरको स्ट्यामिना बढाउन चाहने हो भने पहिले कार्डियो गर्नुपर्छ ।

वजन घटाउन मात्रै हो भने अन्य अभ्यास गर्न सकिन्छ । जिम गर्नुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे प्रशिक्षकलाई जानकारी पनि दिनुपर्छ ।

जिमसँगै सन्तुलित आहार

जिम गर्ने महिलाले आफ्नो खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ । कस्तो अभ्यास भइरहेको छ, सोही अनुसारको प्रशिक्षकको सल्लाहमा मात्रा मिलाएर खानेकुरा खानुपर्छ । शरीरको वजन घटाउन गरिने व्यायाममा क्यालोरी कम भएको खानेकुरा खान सल्लाह दिन्छौँ भने वजन र मांसपेशी बढाउन प्रोटिन भएको खानेकुरा खान जोड दिन्छौँ ।

लामा आभ्या क्लब, 
पोखराका प्रशिक्षक हुन् ।