बाजेको सेकुवाका ‘सिग्नेचर’ परिकारहरू

बाजेको सेकुवा नेपालकै प्रसिद्ध ब्रान्ड हो, जुन विशेष गरी खसीको मासुका परिकारका कारण ग्राहकले रुचाएको ब्रान्ड हो । यहाँ खसीको सेकुवा सेट, चिकेन सेकुवा, झानेको सेकुवा, प्लेन सेकुवाजस्ता परिकारहरूको स्वाद लिन सकिन्छ । बाजेको सेकुवाका सिग्नेचर परिकारहरू ग्राहकको विशेष रोजाइमा पर्ने गर्छन् । विशेष गरी निम्न परिकारहरू धेरै लोकप्रिय छन् :

ह्याकुलाको मासु

ह्याकुलाको मासु धेरै नेपालीको प्रिय परिकार हो । बाजेको सेकुवामा ह्याकुला तीन तरिकाले पकाइन्छ । डामेको, तारेको र बोइल गरेको । यसलाई विशेष खाजाको रूपमा चिउरा वा भुजासँग सर्भ गरिन्छ ।

झानेको सेकुवा

बाजेको सेकुवाको मेनुमा झानेको सेकुवा निकै रुचाइएको परिकार हो । यो परिकार बटरमा झानेर तयार पारिन्छ र बाजेको विशेष मसला र मौसमी तरकारीसँगै फ्राई गरिन्छ । झानेको सेकुवा सेटमा साँधेको भटमास, तारेको आलु, टमाटरको अचार, खसीको सुप, सलाद र चिउरा सर्भ गरिन्छ । यसलाई दिउँसोको खाजाका रूपमा खान सकिन्छ र यसको विशेष स्वादले अन्य सेकुवाभन्दा फरक अनुभव प्रदान गर्छ ।

मटन सेकुवा सेट

खसीको मासुका टुक्राहरूलाई बाजेको विशेष मसलामा रातभर मेरिनेट गरेर र चारकोलमा पकाइन्छ । त्यसलाई भिनेगरमा डुबाएको प्याज, खुर्सानी र अदुवासँगै सर्भ गरिन्छ । दसैँमा यो परिकारलाई स्न्याक्सको रूपमा पकाएर खान सकिन्छ ।

टिम्मुर चिकेन

टिम्मुर चिकेन पनि अत्यन्त स्वादिलो परिकारमध्ये पर्छ । यसमा चिकेनको छातीको पिस काटेर उमालिन्छ, त्यसपछि क्रिस्पी फ्राई गरिन्छ । त्यसपछि बाजेको स्पेसल मसला हालेर टिम्मुर, लसुनका टुक्रा र हरियो धनियाँ राखेर तयार पारिन्छ । यो परिकार मसला र क्रन्चको उत्तम मिश्रणले मीठो स्वाद दिन्छ । दसैँजस्ता चाडपर्वमा घरमै पनि यो परिकार तयार गर्न सकिन्छ ।

रिब्स कवाब

खसीको करङको मासु प्रयोग गरेर तयार पारिने रिब्स कबाबका लागि बाजेको मसलाहरू राखेर कसौँडीमा पकाइन्छ । यसलाई चिउरा, भुटेको भटमास, मुलाको अचार र सलादसँग सर्भ गरिन्छ । रिब्स कबाब विशेष खाजाको रूपमा लोकप्रिय छ र यो दसैँमा घरमै पनि बनाउन सकिन्छ ।

बजारमा बाजेको मसलाहरू विभिन्न फ्लेबरमा पाइन्छ । त्यो मसला हालेपछि नुन, खुर्सानी, बेसार, अदुवा र लसुनबाहेक अन्य केही मसला परिकारमा हाल्नु पर्दैन ।