घरमा कपडाको कारखाना भए पनि अर्ती लाखे जोशीलाई खासै त्यसप्रति कुनै झुकाव थिएन । पढेर राम्रो कर्पोरेट जागिर खाने उनको सुर थियो । परिवार पनि त्यसकै पक्षमा थियो । त्यसैले उनी पढ्न भारतको पुना गइन् । पुनामा एमबिए गरेपछि भारतमै कर्पोरेट क्षेत्रमा काम गरिन् । भारतको कर्पोरेट क्षेत्रमा आफूलाई स्थापित गर्ने अवसर थियो, उनीसँग । तर, भारत बस्न मन नलागेपछि नेपाल फर्केर एयरलाइन्स र इन्स्योरेन्समा काम गरिन् । तर, जागिर खाने सोख भए पनि उनलाई त्यसले तानेन । र, उनी बाबुबाजेको विरासतको बिँडो थाम्न आइपुगिन् ।
थैबस्थित हिमा टेक्सटाइल कारखाना उनका बाबुबाजेको हो । स्थापना हजुरबाले गरेका र सञ्चालक उनका बुवा हुन् । कारखानाले पहिले नेपाली कपडाहरूको साथमा ह्यान्ड लुम, कार्पेट र पस्मिनाको उत्पादन गथ्र्याे । अहिले अर्तीले बाबुबाजेको विरासतमा प्रविधि र नयाँ सोच मिसाएर अघि बढाएकी छन् । कारखानाले झन्डै तीन दर्जन आइटम उत्पादन गर्छ । तन्ना, सिरानी खोल, बेबी–बेडिङ सेट, खास्टोबाहेक ब्ल्याङ्केट, चकटी, कुसन खोल, पर्दा, टेबलमा राख्ने कपडा, म्याट, वासिङ मेसिनको खोल, बाथ–रोब, रुमाल, कफ्तान, कुर्तीलगायतका कपडाहरू उत्पादन गर्छ ।
नेपाल मेडिसिटी अस्पताल निर्माणको काम अन्तिम चरणमा थियो। अर्ती लाखे जोशीको मनमा एक विचार आयो, “अस्पतालका खाटहरूमा चाहिने तन्ना र सिरानी खोल बनाउने जिम्मा कसले लिएको होला? यदि म यो जिम्मेवारी लिन सक्छु भने काप क्रिएसन्सका लागि ठूलो अवसर हुनेछ।”
सोचेजस्तै, उनले अस्पतालको प्रशासनसँग सम्पर्क गरिन् र आफूले आवश्यक कपडा उत्पादन गर्ने प्रस्ताव राखिन्। अर्तीका अनुसार, अस्पतालको भौतिक संरचना निर्माणमा व्यस्त प्रशासनले यसतर्फ ध्यान दिन भ्याएको थिएन। उनीहरूले भारतबाट कपडा मगाउने योजना बनाएका रहेछन्।
“प्रशासनको ध्यान यस विषयमा कम भएकाले मेरो प्रस्तावलाई सकारात्मक रूपमा लिइयो। यसै क्रममा हामीले तन्ना र सिरानी खोल मात्र होइन, डाक्टर, नर्स, र बिरामीका लागि आवश्यक लुगा बनाउने जिम्मा पनि पायौं,” अर्तीले सम्झिन्।
यही पहिलो परियोजनाबाट काप क्रिएसन्सले औपचारिक रूपमा २०७४ साल वैशाखदेखि आफ्नो यात्रा सुरु गर्यो।
मेडिसिटी अस्पतालका लागि बेडसिट, एप्रोनलगायतका लत्ता सामग्री उनको कम्पनी कापा क्रिएसन्सले उत्पादन गर्छ । २०७४ सालमा स्थापना भएको कापा क्रिएसन्सले तन्ना, खास्टो लगायतका सामग्रीहरू उत्पादन गर्दै नेपाली परम्परागत कपडाको संरक्षण तथा प्रवद्र्धन गरेको अर्ती दाबी गर्छिन् । उनी भन्छिन्, ‘हाम्रा उत्पादनले नेपाली पहिचानलाई जीवन्त राख्न योगदान पु¥याइरहेका छन्, साथै टिकाउ र वातावरणमैत्री समेत छन् ।’
‘काप’ नेपाल भाषामा कपडा भन्ने अर्थ दिन्छ र अर्तीका अनुसार कपडासम्बन्धी रचनात्मक काम गरिने भएकाले व्यवसायको नाम ‘काप क्रिएसन्स’ राखिएको हो ।
काप क्रिएसन्सका प्रारम्भिक दिनदेखि अहिलेसम्म अर्ती उत्तिकै मेहनतका साथ निरन्तर सक्रिय छिन् । उनी अनलाइनमार्फत ग्राहकसँग कुरा गर्ने, अर्डर व्यवस्थापन गर्ने, सामग्रीको प्याकेजिङ र डेलिभरी गर्ने सबै काममा संलग्न रहन्छिन् ।
अनलाइनबाट सुरु भएको थियो, उनको उद्यम । अहिले कुपन्डोलमा शोरुम पनि राखेकी छन् । काप क्रिएसन्सका उत्पादन अमेरिका, हङकङ, अस्ट्रेलियालगायत देशमा पनि पुगिसकेको छ । उनी यसलाई अझ विस्तार गर्न चाहन्छिन् । भन्छिन्,
‘आफ्नो भिजन र मेहनत भयो भने जे काममा पनि सफल होइन्छ । विदेश गइरहनु पर्दैन ।’
Leave a Reply