आमा बनेपछिको सोच

आमा बनेपछि हरेक महिलाको जीवन बदलिन्छ । म आफैँ आमा बनेपछि यो सत्य गहिरो रूपमा महसुस गरें । मेरा व्यक्तिगत निर्णयहरू, जसमा पहिले मेरो प्राथमिकता मात्र हुन्थ्यो, अहिले मेरो बच्चाको भलाइसँग पनि जोडिएका छन् । अब हरेक निर्णयले म र मेरो बच्चाको कल्याणलाई ध्यानमा राखेर गरिन्छ । यस क्रममा मैले समाजले स्तनपानलाई कसरी हेर्छ भन्ने कुरा नजिकबाट अनुभव गरेँ ।

पहिले म सोच्थेँ, स्तनपान पुरानो सोचको हिस्सा हो, तर जब मैले आफैँ स्तनपान गराउन थालेँ, यसको महत्व र शक्तिलाई गहिराइमा बुझेँ । यो मातृत्वको एउटा प्राकृतिक र स्वास्थ्यकर पक्ष हो, जसले म मात्र होइन, मेरो बच्चालाई पनि फाइदा पु¥याउँछ ।

कुनै बखत यस्तो थियो, म स्तनपानलाई एउटा पारम्परिक अभ्यासका रूपमा लिन्थेँ । आधुनिक महिलाहरू अथवा प्रगतिशील सोचविचार भएका महिलाले स्तनपान गराउँदैनन् अथवा गराउन सक्दैनन् भन्ने भाष्य एउटा वृत्तमा बनेको थियो ।

यस्तो भाष्य बन्नुमा स्तनपानजस्तो स्वाभाविक र प्राकृतिक प्रक्रियाबारे निर्माण हुने विविध धारणाहरू हुन् । एउटा उदाहरण म आफैँसँग सन्दर्भित छ । छोरीलाई खोप लगाउन हालै अस्पताल जाँदा मैले स्तनपान गराएको देखेर एक जना अर्धबैँसे महिलाले अचम्मित हुँदै प्रश्न गरिन्, ‘तपाईं पनि स्तनपान गराउनुहुन्छ ?’

तस्बिर ः सविना काफ्लेको फेसबुकवाट साभार

प्रश्न एउटै थियो तर त्यसले मभित्र अनेक प्रश्न जन्माइदियो, के आधुनिक महिलाले स्तनपान गर्नु अचम्मको कुरा हो ? के समाज अझै पनि स्तनपानलाई परम्परागत अभ्यास मान्दै छ ? के हामी महिलाहरू अझै पनि हाम्रा शारीरिक विकल्पका लागि समाजद्वारा मापन भइरहेका छौं ? के आधुनिक महिलाको अवधारणा नै परिवर्तन गर्नुपर्ने समय आएको छ, जसले पारम्परिक र आधुनिक अभ्यासलाई समाहित गर्न सक्छ ?

स्तनपान एउटा अभ्यासको रूपमा समाजमा विभिन्न धारणाको जन्म दिने विषय हो । यसमा सांस्कृतिक, सामाजिक र व्यक्तिगत विश्वासहरू समेत गाँसिएका छन् । धेरै मानिसका लागि स्तनपान शिशु स्वास्थ्यका लागि लाभदायक र मातृत्वको स्वाभाविक जिम्मेवारीका रूपमा लिइन्छ । तर, केही महिलाका लागि यो अभ्यास पुरानो, असुविधाजनक, या व्यक्तिगत स्वतन्त्रताको बाधक पनि हुन सक्छ । यी विविध दृष्टिकोणले स्तनपानलाई एक जटिल र बहुआयामी विषय बनाइदिएको छ । जसमा समाजको सोच र भूमिकाले पनि मलजल गरिरहेको हुन्छ ।

म बुझ्छुु, स्तनपान केवल व्यक्तिगत निर्णय मात्र नभई बच्चाको स्वास्थ्य र आमाको कल्याणका लागि पनि महत्वपूर्ण छ । स्तनपानका पोषण, प्रतिरक्षा प्रणालीको विकास र हार्मोनल सन्तुलनका फाइदाले बच्चाको समग्र स्वास्थ्यलाई सुदृढ बनाउँछ । आमाहरूका लागि पनि यसले शारीरिक पुनःसम्भार र तौल व्यवस्थापनमा सहयोग पु¥याउँछ भने केही दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिमलाई कम गर्छ । महिलाले स्तनपान गर्नु भनेको केवल परम्परा अनुसरण गर्नु नभई परम्परा र नवप्रवर्तनको संगममा यात्रा गर्नु हो ।

मेरो व्यक्तिगत अनुभव हेर्दा म जब मेरो छोरीलाई स्तनपान गराउँछु, म गहिरो सन्तुष्टि र खुसी महसुस गर्छु । यसले मेरो बच्चालाई जीवनको उत्कृष्ट सुरुवात मात्र दिएको छैन, हाम्रो भावनात्मक सम्बन्धलाई पनि गहिरो बनाएको छ । हरेक पटक छोरीलाई स्तनपान गराउँदा म मातृत्वको विशेष क्षणलाई महसुस गर्छु, जसले हामीबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ ।

तर, यो अनुभव सबै महिलाका लागि समान हुँदैन । केही आमाहरूले दूधको आपूर्तिमा समस्या, शारीरिक असहजता वा अन्य स्वास्थ्य चुनौतीहरूको सामना गर्न सक्छन् । यी चुनौतीहरूले स्तनपानलाई पीडादायी र कठिन बनाउन सक्छन् । तर, यी समस्याको समाधान खोज्न सकिन्छ ।

यो अवस्थामा ती आमाहरूलाई परामर्शको खाँचो पर्छ । सही तरिकाले स्तनपान गराउन असमर्थ हुने, दूधको मात्रामा कमी हुने वा शारीरिक असहजता हुने महिलाले उचित परामर्श पाएमा स्तनपानलाई निरन्तरता दिन सक्ने मात्रै होइन, त्यसले आत्मविश्वास पनि जगाउन सघाउँछ ।

आमाहरूलाई स्तनपानका लागि सहज महसुस हुन कार्यस्थलहरू पनि महिलामैत्री हुनु अनिवार्य छ । आमाहरूलाई कार्यस्थल वा सार्वजनिक ठाउँमा बिना झिकझक स्तनपान गराउन पाउने अधिकार सुरक्षित हुनु जरुरी छ । त्यसैगरी समाजमा स्तनपानको महत्वबारे सही जानकारी पु¥याउनका लागि सार्वजनिक अभियानहरू आवश्यक छन् । यसले स्तनपानलाई सामान्य र स्वाभाविक अभ्यासका रूपमा स्थापित गर्न सहयोग पु¥याउँछ र बिनासंकोच यो अभ्यासलाई निरन्तरता दिन प्रेरित गराउँछ । स्तनपान कुनै आमा र बच्चाको मात्र जिम्मेवारी होइन, यो समाजले समर्थन गर्नुपर्ने सार्वभौम अधिकार हो । प्रत्येक महिलाले स्तनपान गराउन पाउने सुविधा, स्रोत र जानकारीमा सहज पहुँच हुनुपर्छ । स्तनपानको महत्व बुझेर हरेक महिलाले आफू र आफ्ना बच्चाको कल्याणका लागि सही निर्णय लिन पाउनुपर्छ ।