२०२८ सालको मध्यान्तरतिर मध्य तराईको रौतहट, बारा र पर्साका मुस्लिम समुदायको बसोबासयुक्त केही ग्रामीण टोलमा धार्मिक भड्काव र उन्मादको बीजारोपण गरियो । रौतहटको पसाहस्थित मुस्लिम-बाहुल्य टोलका हकिम मियाँको घरमा गाई काटेर मासु भाग लगाइएको अफवाह कुनै उन्मादी समूहद्वारा योजनाबद्ध रूपमा फैलाएपछि मुस्लिम समुदायमाथि मध्ययुगीन बर्बर आक्रमण, पाशविक हत्या र आगजनीरूपी क्रूर रचना रचियो । एकै रात पसाह गाउँका ३२ जनाको निर्मम हत्या गरियो र १८ वटा घर जलाइए । पसाहमा सल्किएको बर्बर नृत्यको लप्कोले झिटकैया, नकटवा, छत्तरपुर र छातापिपरासम्मलाई नै भेट्यो । सो घटनामा ती गाउँका ४० घर जलाइनुका साथै ६२ जना निर्दोष एवं दुःखजिलो गरेर जीविका धानिरहेका मुस्लिमहरू मारिए ।
इतिहासको गर्तमा करिब-करिब बिलाउन लागिसकेको यो धार्मिक उन्मादी प्रकरणलाई शब्दशिल्पी राजवले आफ्नो पछिल्लो उपन्यास-कृति ‘क्रूर पृष्ठमा जो थिए’ मार्फत पुनः स्मरण गराउन चाहेका छन् । २०२८ सालको यो दुःखद, निन्दनीय र क्रूर हत्याकाण्डको पेरिफेरीमा उनिएको कथावस्तुमार्फत उनले तात्कालिक समयको राजनीतिक परिवेश, आर्थिक पक्षदेखि खज्मजिएको सामाजिक सद्भावलाई शब्दबद्ध तुल्याएका छन् । बारा-पर्साको ग्रामीण इलाकादेखि काठमाडौँको परिवेशसम्म तन्किएको यो औपन्यासिक कृतिले आधा शतकअघिको समाज बुझ्न चाहनेहरूलाई पनि सघाउनेमा विश्वस्त हुन सकिन्छ ।
पसाह गाउँको जनसंख्या थियो- ४७ जना । जुन दिन क्रूर एवं वीभत्स हत्याकाण्डको सूत्रपात गरियो, ३२ जना निर्दोषीलाई भालाले रोपी-रोपी र गँडासीले प्रहार गरी मारिएको थियो । गाउँबाहिर रहेका कारण त्यस दिन अरूहरूचाहिँ बाँचे । गाउँमा बसेकाहरूमध्ये एक मात्र जीवित रहे- लतिफ मियाँका ९-१० वर्षीय छोरा अफजल । यो उपन्यासको केन्द्रीय पात्र तिनै अफजल हुन्, जो बाल-सिनेमाका उम्दा पात्रको भूमिकामा भन्दा कम देखिँदैनन् । त्यस रातको भयावह दृश्यबारे उपन्यासकार चित्रण गर्छन्—
‘आँगनहरू पूरै रगतले कटकटिएका थिए । बच्चा, बूढा, आइमाई, स्त्री, पुरुषका साबुत थिएनन् । सब जलेर खरानी र गोलमा अवशेषित भएका थिए । हेर्न नसकिने दृश्य थियो । सुन्दा पनि कान काँप्ने दृश्य । तथापि यस्तो भयानक दृश्य हेर्न गाउँलेहरूको भीड ओइरिएको थियो ।’ रात्रिकालीन समयमा सिङ्गो गाउँ जल्न थालेपछि र आफ्ना बुबा-आमालाई समेत आततायी तरिकाले भाला रोप्न थालेपछि नजिकैको बगैँचामा लुक्न पुगेका अफजललाई बिहान दिसा-पिसाब गर्न गएकी एउटी महिला लौकीले भेट्टाउँछे । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्दै भूमिगत राजनीतिमा समेत सक्रिय त्रिपुरारि शर्माले पसाहको दुर्भाग्यपूणर् घटना र बाँचेका एक मात्र अफजलबारे पसाह गाउँका शिक्षक चन्द्रकान्त कोइरीबाट थाहा पाउँछन् । सहृदयी स्वभावका त्रिपुरारि र उनकी पत्नी लीला शर्माले अफजललाई लीलाको माइती-घर बढहरगाढमा आश्रय दिन्छन् । र, उनीहरूले अफजलको भविष्यबारे सोचिरहेका हुन्छन् ।
डल्ले बाको भैँसी-किनाइबाट हुन्छ, उपन्यासको शुभारम्भ । काठमाडौँ, जरायोटारका डल्ले बा पेसाले दूध व्यापारी हुन् । उनले काठमाडौँको भित्री सहरका घर-घरमा दूध पुर्याएर जीविका चलाइरहेका छन् । सामान्यभन्दा बढी लिटर दूध दिने भैँसीको खोजीमा उनी हरेक वर्षजसो नै तराई झर्छन् । पछिल्लो अवधिमा बढहरगाछको स्थायी बासिन्दा भएका धर्मनाथ घिमिरे उनका साख्यै काका हुन् । दसकै दशकताका कलैयास्थित मालअड्डामा कार्यरत रहँदा धर्मनाथले अकुत जग्गा जोडेका हुन्छन् र बढहरगाढमा भव्य जिन्दगी बिताइरहेका हुन्छन् । २०१४ सालतिर सुवणर्शमशेर प्रधानमन्त्री हुँदा उनी सुवणर्शमशेरको समीपवर्ती मात्र रहँदैनन्, २०१५ सालको आमनिर्वाचनमा बाराको दुवै क्षेत्रबाट निर्वाचित सुवणर्शमशेरलाई जिताउन अहम् भूमिका समेत निर्वाह गर्छन् । तर २०१७ सालको राजनीतिक परिघटनापछि उनी पजनीमा पर्छन् । पजनीमा परे पनि उनी दुःखित हुँदैनन् । बरु राजा महेन्द्रलाई धन्यवाद दिँदै भन्छन्-
‘पजनीमा पारेर महेन्द्रले मेरो कल्याण नै गर्यो । खेतहरू सबै अधियाँमा लगाउनुपर्या थ्यो, कतिपय बाँझै राख्नुपथ्र्यो, धेरै लथालिङ्ग पो थियो । महेन्द्रले मलाई आफ्नो खेती सम्हाल भन्या हो । उसले मेरो क्यै खौर्या छैन ।’
धर्मनाथका ज्वाइँ-छोरी हुन्— त्रिपुरारि र लीला । धर्मनाथ कांग्रेस निकट भए पनि छोरी-ज्वाइँ भने वामपन्थी विचारले भरिपूणर् । दुवै शिक्षितसमेत । त्रिपुरारि र लीलाले टुहुरा अफजलको भविष्यबारे सोचिरहेका बेला उनीहरूका साथी, काठमाडौँको एक कलेजमा अध्यापनरत मकरन्द उपाध्याय भण्डारीको सुझावअनुरुप अफजललाई काठमाडाँैस्थित समता परोपकार संस्थामा पढाउने तारतम्य मिलाउँछन् । त्रिपुरारिले अफजललाई काठमाडौँ लिएर आउने सोच बनाइरहेकै बेला लैनो भैंसी किन्न बढहरगाढ पुग्छन्- डल्ले बा । उनैको साथ लगाएर अफजललाई काठमाडौँ पठाउँछन् । किनभने मकरन्द भण्डारी डल्ले बाका नियमित उपभोक्ता हुन् र हरेक बिहान दूध पुर्याउन उनको डेरामा पुग्छन् । आफूसँगै भैँसी लोड गरिएको ट्रकमा आएका अफजललाई मकरन्द भण्डारीको जिम्मा लगाएपछि डल्ले बाको मनोविज्ञानलाई यसरी केलाउँदै उपन्यासको बिट मारिन्छ- ‘सडकमा तरकारी बेच्न हिँड्ने खर्पनेहरू, पूजाथाली लिएर मन्दिर जानेहरू, झोला झुन्ड्याएर तरकारी किन्न आउनेहरूको ओहोरदोहोर सुरु भइसकेको थियो । डल्ले बा आफ्ना खाली कनस्तर हल्लाएर झोक्र्याउँदै अगाडि हिँड्दै थिए । उनी भित्रभित्र अत्यन्त भावुक, संवेदित र तरल भइरहेका थिए ।’
राजवकृत यो उपन्यासमा अर्धशतकअघि तराई-मधेसको सामाजिक वातावरण, जीवनशैली, आर्थिक विभेदलगायत अनेक पक्षहरूको दृश्यांश चाक्षुण कल्पनाशीलताले भरिपूणर् देख्न सकिन्छ । पहाडे समुदायको हैकमवादी चरित्रको पनि सूक्ष्म चित्रण गरिएको छ । अल्पसंख्यक मुस्लिम समुदायको दयनीय आर्थिक हैसियतमात्र होइन, महिलाप्रति गहिरो विभेदका छायाछवि पनि चित्रात्मक रूपमा पेस गरिएका छन् । उपन्यासमा काठमाडौँको काँठ भेकको तात्कालिक जीवनशैलीलाई अंशमा उतार्ने जमर्को समेत गरिएको छ । साथै, ट्रकमा भैँसी लोड गरेर जितपुर, अमलेखगन्ज, हेटौँडा, भैँसे, दामन, पालुङ हुँदै काठमाडौँ भित्रिँदाका अप्ठेरा-सप्ठेरा पाटाहरूले वर्तमान पुस्ताका निम्ति अकल्पनीय स्वाद चखाउँछ । त्यस्तै, कुनै घटना/परिघटनाले राजनीतिक रङ कसरी लिन्छ भन्ने दृष्टान्त पसाह हत्याकाण्डपछि कांग्रेस, कम्युनिस्ट र पञ्चहरूबीच देखिएको विमतिका स्वरहरूका साथै आरोप-प्रत्यारोपले पनि खुलाउँछ ।
कांग्रेसका कार्यकर्ताहरू भन्छन्, ‘यो कांग्रेस सिध्याउन रचिएको चालबाजी हो । त्यो गाउँका मुसलमानहरू हाम्रा कार्यकर्ता हुन् । चुनावको बेला त्यो गाउँबाट सुवणर्शमशेरको पक्षमा ९९ प्रतिशत मत खसेको थियो ।’
कम्युनिस्ट कार्यकर्ताहरूको तर्क हुन्छ, ‘पसाहका धेरै गरिब किसान कम्युनिस्टका हिमायती छन् । उनीहरूलाई सिध्याउन गाई काटेर खाएको आरोप लगाई यो घटना नियोजित तवरले घटाइएको हो ।’
पञ्च कार्यकर्ताहरू भन्छन्, ‘यो पञ्चायतलाई बदनाम गर्न कांग्रेस-कम्युनिस्टहरूले चालेको चालमात्र हो ।’ राजवले आफ्नो नयाँ उपन्यास-कृति ‘क्रूर पृष्ठमा जो थिए’ लाई नयाँ कलेबरमा ढाल्दै तात्कालिक समयका क्रूर विम्बलाई औपन्यासिक क्यानभासमा पोत्ने प्रयत्न गरेका छन् । संवेदनात्मक यथार्थ विषयवस्तुका कारण मानवीय सोच/संवेदनालाई नाभीमा राखेर लेखिएको प्रतीत हुने यो उपन्यास पूर्ववर्ती समाज, राजनीति र धार्मिक उन्मादको जड पहिल्याउनसमेत उत्तिकै अग्रसर देखिएको छ ।
इतिहासको एउटा कालखण्डको सिर्जनात्मक कथन पनि हो, यो उपन्यास । साथै, राजवको यो औपन्यासिक कृति सरल, जटिलमुक्त भाषाशैली र प्रस्तुतिका कारण पठनीय त छँदै छ, मानवीय मनोभावको अभिव्यक्तिका रूपमा समेत नामाíित हुन पुगेको छ । कथा एवं चरित्र एकअर्काबीच गाँसिएको हुँदा पाठकलाई आद्योपान्त रूपमा बाँध्नसमेत सक्षम देखिएको छ ।