जातीय भेदभाव र सामाजिक विभेदका मुद्दालाई सङ्गीतबाट उजागर गर्ने गायक यशकुमार अचेल सिनेमा स्क्रिप्ट लेखनमा व्यस्त छन् । स्वरका धनी यी गायक आफैँ शब्द कोर्छन्, सङ्गीत भर्छन् । यतिले नपुगेर अभिनय गर्छन् । यी सबै कर्मबाट उनी समाजका विकृतिविरुद्ध सन्देश प्रवाह गर्न चाहन्छन् । हालै उनले आत्महत्या दुरुत्साहनको मुद्दा उठान गर्दै ‘हिरो’ गीत बजारमा ल्याए । ‘मैले छोएको पानी चल्दैन’ त उनको ब्रान्ड बनेको गीत भइहाल्यो । त्यस्तै ‘म आफ्नो सहरमा इनार बनाउँछु’, ‘तिमी छौ र त’ आदि जातीय विभेदविरुद्धका चर्चित गीतहरू उनले गाएका छन् । उनै गायक यशकुमारले हालै वाह जिन्दगीका लागि सिर्जना दुवालसँग नेपाली सङ्गीतमा डिजिटल प्लेटफर्महरूले पारेको प्रभावबारे कुराकानी गरे । प्रस्तुत छ, उक्त वार्ताको सम्पादित अंश:
प्रविधिको विकाससँगै बढेका डिजिटल प्लेटफर्महरूले अरू क्षेत्रजस्तै सङ्गीत क्षेत्रलाई पनि प्रभावित गरेको छ, तपाईंको कस्तो अनुभव छ, यसमा ?
डिजिटल प्लेटफर्महरूले मेरो गीतहरूलाई संसारभरि फैलाउन ठूलो सहयोग पुर्याएका छन् । पहिले नेपाली गीतहरूको पहुँच सीमित हुन्थ्यो, तर अहिले युट्युब, स्पोटिफाइ र अन्य स्ट्रिमिङ प्लेटफर्महरूका कारणले मेरा श्रोता नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली समुदायसम्म पनि पुगेका छन् । संसारभरका लाखौँ श्रोताले सजिलै सुन्न सक्ने भएको छ । मैले आफ्ना गीतहरू स्वतन्त्र रूपमा रिलिज गर्न पाएको छु । आफ्नो सङ्गीतलाई आफूले चाहेजस्तै शैलीमा प्रस्तुत गर्न सक्छु । युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता सोसल मिडियाहरूले फ्यानहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन पाएको छु । श्रोताहरूको प्रतिक्रिया सीधै प्राप्त गर्न सक्छु, जसले मलाई आफ्नो सङ्गीतलाई अझ सशक्त बनाउन प्रेरित गर्छ । फ्यानहरूको सङ्गीत सुन्ने बानी, कुन देशबाट बढी सुन्छन्, कुन उमेर समूहका मानिसहरू तपाईंका गीत मन पराउँछन् भन्ने जानकारी लिन सक्छु । यसले मलाई मेरा फ्यानहरूको चाहनाअनुसार गीत बनाउन र आफ्नो प्रमोसन रणनीति तयार गर्न सहयोग पुगेको पनि छ ।
त्यसो भए तपाईं प्रविधिमा आएको यो फड्कोबाट उत्साहित हुनुहुन्छ ?
डिजिटल प्लेटफर्महरूको आगमनले सिर्जनाशीलतालाई अझ सहज बनाएको छ । पहिलेजस्तो मिडियामा निर्भर हुनुपर्ने बाध्यता छैन । कलाकारहरूले आफ्नो सिर्जना सीधै श्रोतासामु पुर्याउन पाएका छन् । यसले उत्साह थप्ने नै भयो ।
अनि, कमाइचाहिँ कस्तो छ त ?
हरेक स्रष्टा नयाँ टेक्नोलोजीअनुसार चल्नैपर्छ, नत्र पछाडि परिन्छ । टेक्नोलोजीकै कारण अहिले सर्जकहरूको प्रत्यक्ष कमाइ पनि छ । जस्तै मैले आफ्नो युट्युब च्यानल खोलेँ । मेरा गीत आफ्नै च्यानलमा राख्छु । म सर्जक भएको कारण मैले आफ्नै होम प्रोडक्सन बनाउन पाए । पहिले म केवल एल्बममा सीमित थिएँ, तर अहिले म अडियो गीत र भिडियोहरू पनि सहजै अपलोड गर्न सक्छु । यसले गर्दा कलाकारले आर्थिक रूपमा फाइदा उठाउन सजिलो भएको छ । मोनेटाइजेसन र स्पोन्सरसिपले आम्दानीको नयाँ स्रोतहरू ल्याएका छन् । यसले कलाकारलाई आर्थिक रूपमा सशक्त बनाएको छ । अब कलाकारले केवल कन्सर्टमा निर्भर हुनु पर्दैन । डिजिटल प्लेटफर्महरूबाट नियमित रूपमा प्राप्त हुने आम्दानीले स्थायित्व ल्याएको छ ।
परम्परागत शैलीमा बढेको सङ्गीत यात्रा डिजिटल प्लेटफर्मसँग एकाकार हुन कति सजिलो वा कठिन भयो ?
त्यति बेला अहिलेको जस्तो सहज माध्यमहरू थिएनन् । सीमित मिडिया थिए । प्रोमोसनको माध्यम भनेकै टेलिभिजन र रेडियो हो । टेलिभिजन पनि एउटा मात्रै थियो । मेरा गीतहरूको मुख्य पब्लिसिटी भनेकै लोकल बसहरू हुन् । ड्राइभर र यात्रीहरूबाट यस्तो गीत आको रहेछ भनेर ‘माउथ पब्लिसिटी’ हुन्थ्यो ।
सङ्गीत सुरु गर्दा क्यासेट चक्काको जमाना थियो । जुन सङ्गीत क्षेत्रका लागि एउटा सुनौलो युग नै हो भन्दा फरक पर्दैन । श्रोताहरूका लागि क्यासेट किन्नु भनेको ठूलो कुरा थियो । क्यासेटहरू किनेर सङ्ग्रह गरिन्थे र प्रत्येक क्यासेट चक्का (टेप) का गीत सुरुदेखि अन्त्यसम्म सुन्ने बानी हुन्थ्यो ।
पछि सिडीको समय आयो । त्यो समयमा एल्बम रिलिज हुनु भनेको ठूलो कुरा थियो । म्युजिक स्टोरहरूमा सिडी बेचिन्थे, त्यति बेलासम्म गीत तयार पार्दा ठूलो बजेट आवश्यक पर्ने हुँदा सीमित अवसरहरू थिए । प्रविधिमा सुधार हुँदै गएपछि, पेन ड्राइभ र डाटा स्टोरेज डिभाइसहरूले सिडीलाई प्रतिस्थापन गर्न थाले । पेन ड्राइभमा गीतहरू राखेर वितरण गर्न सजिलो भयो । युट्युबजस्ता डिजिटल प्लेटफर्महरू आए र मेरो सङ्गीत यात्रामा नयाँ मोड आयो ।
अहिले घरमै होम स्टुडियो सेटअपको पनि अवधारणा आएको छ ? यसले सङ्गीतको गुणस्तरमा केही फरक पारेको छ कि ?
प्रविधिले गर्दा नै होम स्टुडियो सेटअपले पनि प्रोफेसनल स्तरको जस्तै नै रिजल्ट दिन सक्छ । माइक्रोफोन, अडियो इन्टरफेस, सस्तो तर प्रभावकारी साउन्डप्रुफिङ प्रविधिले घरमै पनि राम्रो गुणस्तरको रेकर्डिङ गर्न सकिन्छ । कोरोनापछि नै धेरै एरेन्जर तथा सङ्गीतकारहरूले समेत घरघरमै होम स्टुडियोहरू बनाए । तर, प्रोफेसनल स्टुडियोहरूको आवश्यकता विशेष गरी ठूलो बजेट भएका प्रोजेक्टहरूमा महत्वपूणर् हुन्छ । यसले आफ्नो आवश्यकता र बजेटलाई ध्यान दिएर स्टुडियो छान्न सक्ने समय छ । यो सकारात्मक कुरा हो ।
एआई र मेसिन लर्निङले सङ्गीत रचना वा उत्पादनमा कस्तो भूमिका खेलिरहेको छ ?
आजभोलि दुःख नै नगरी कुनै पनि कुरा प्राप्त हुन्छ भने दर्शकहरूलाई पनि त्यसप्रति भोलि गएर वितृष्णा हुन्छ । किनकि मेहनत नगरी जो पनि कलाकार, सङ्गीतकार हुने भए । जो पनि सङ्गीतकार, कलाकार भइसकेपछि दर्शकचाहिँ खोइ त ?
कलाकार बन्न निरन्तरको अभ्यास र सङ्घर्ष जरुरी छ । प्रविधिको जमानामा जोकोही कलाकार बन्न सक्छन् तर त्यसरी लहडका भरमा गरिएको सङ्गीतले चर्चा दिलाए पनि आत्मसन्तुष्टि दिन सक्दैन । सर्जक र सिर्जनाबीच आमा र बच्चाको जस्तै सम्बन्ध हुन्छ । मिहिनेतसहितको सिर्जनाले आत्मसन्तुष्टि दिन्छ । तर, मेसिनले गरेका सिर्जनाले सन्तुष्टि दिन सक्दैन । एआईबाट तयार गरिएका सङ्गीतमा भावनात्मक गहिराइ हुँदैन । मानिसको पृथक् व्यक्तिगत शैली र कलात्मक अभिव्यक्ति एआईमा खोजेर कहाँ पाउँछ र ? एआईले तयार पारेकाले गीत रचना, सङ्गीत, एरेन्जमा आत्मा हुँदैन ।
फेरि एक जना कलाकार र सामान्य व्यक्तिमा फरक के त ? जब मैले गर्ने काम तपाईंले गर्न थालेपछि मेरो के अर्थ रह्यो ? मैले यहाँसम्म आइपुग्नका लागि कति धेरै मेहनत गरेर, सङ्घर्ष गरेर आएको छु । तर, त्यही काम सामान्य ल्यापटप चलाउन जान्ने मान्छेले मेहनतै नगरी कोठामा बसेर गर्छ भने त्यसलाई कसरी लिने ? आजकाल एआईबाट बनाएको गीतहरू एउटा गीत अर्कोसँग मिलेको जस्तो हुन्छ, सङ्गीत महसुस नै हुँदैन । मान्छे एकदम राम्रो छ तर व्यवहार छैन भने कुरूप लाग्छ नि । हो, त्यही हो एआईबाट गरेको सिर्जना ।
डिजिटल प्लेटफर्महरूले परम्परागत सङ्गीत उद्योगलाई चुनौती दिइरहेजस्तो लाग्दैन ?
डिजिटल प्लेटफर्महरूले सङ्गीत उद्योगको स्वरूपलाई बदलिदिएका छन् । यसले कलाकारलाई सशक्त बनाए पनि परम्परागत म्युजिक उद्योगलाई गम्भीर चुनौती दिएको छ । डिजिटल प्रविधिले सङ्गीतको पहुँच र प्रमोसनलाई सहज बनाएको छ, तर यसले परम्परागत सङ्गीत उद्योगलाई कमजोर पारेको छ । प्रविधिमा देखिएको विकासले नयाँ-नयाँ गायकलाई पनि जन्म दियो । सामाजिक सञ्जालको तीव्र विकासले लाखौँ श्रोतासम्म गीतलाई पुर्याउन मिल्ने भयो । प्रविधिकै पहुँचका कारण सङ्घर्षशील गायकलाई आम मानिसमाझ प्रस्तुत गर्न सहज भएको छ । नयाँ धेरै गायक-गायिका बजारमा देखिएका छन् तर थोरैमा मात्र साधना पक्ष बलियो देखिन्छ ।
एआईको प्रयोगले बेरोजगारी बढ्ने सम्भावना कत्तिको छ ?
एआईलाई लागू नै गरेर जाने हो भने सिर्जनाको हिसाबमा सर्जकहरू पलायन हुन्छन् । मान्छे अल्छी हुन्छ, मेहनत गर्न खोज्दैन । त्यसपछिको अवस्था भनेको घरघरमा, बाटोबाटोमा स्टार भएपछि त सबै लेखक, गायक, सङ्गीतकार हुने भए, दर्शकचाहिँ खोइ त ? कि दर्शक पनि एआईले नै बनाएर दिनुपर्यो । टेक्नोलोजीमा प्ले गर्ने सिर्जना सर्जकहरूले गरिन्छ । तर अहिले प्ले गर्ने सिर्जना पनि टेक्नोलोजी बनाउँदाचाहिँ बेरोजगारी बढ्ने भए । त्यही पेसामा जीवनभरि लागिपर्छु भनेर लागिपर्नेहरूका लागि त उनीहरूको रोजीरोटी छिन्ने भयो । सिर्जनात्मक र मान्छेले सिर्जिएकै हुनुपर्यो । यदि त्यो भएन भने संसारकै आधा जनता नै बेरोजगार हुन्छ । लेखक, सङ्गीतकार, गायक मर्छ ।
सङ्गीतलाई सुरक्षित राख्न र प्रतिलिपि अधिकारको सुरक्षा गर्न प्रविधिको भूमिका हुने ?
केही समयअगाडि मात्रै मेरो आफ्नै गीतमा कपी राइट लाग्यो । मैले ३ लाख बराबरीको भ्युअर्स फ्याँकेर फेरि अपलोड गर्नुपर्यो । मेरो एरेन्जरले सजिलोका लागि भनेर अरूले नै बनाइराखेको लुप्सलाई प्रयोग गरिदियो । उसलाई पनि थाहा थिएन होला, त्यसरी कपी राइट्स हान्छ भनेर । जम्मा मात्रैको थियो । ६ बजे अपलोड गरेको ८ बजेभित्र ३ लाख बराबरी दर्शकले हेरिसक्दा कपी राइट्स लगाइदियो । अङ्गे्रजी गीतको चार सेकेन्ड भाग हालिदिएछ । प्रतिलिपि ऐन कानुनअनुसार कसैको सिर्जनासँग अर्को सिर्जना मेल खायो भने कपी राइट्स लाग्छ । त्यस्तोका लागि भने अहिलेको टेक्नोलोजी धेरै रामो छ । तर, एआई सही कामका लागि प्रयोग गर्नुपर्छ ।