शनिबार राति ठमेलको एलओडी क्लबमा ‘कन्दरा’ ब्याण्डका लागि यो सानदार पुनरागमन थियो । पहिलोपटक काठमाडौंमा एकल ब्याण्ड गुञ्जिएको अभूतपूर्व क्षण । यो विश्वचर्चित क्लबमा आफ्ना प्रशंसकमाझ कन्दरा दुई घण्टा गुञ्जियो ।
राति १० बजेपछि गायक विवेक श्रेष्ठ ‘हेलो काठमाडौं’ भन्दै मञ्चमा देखिए । त्यसपछि सुरु भयो ‘कन्दरा’को सांगीतिक प्रस्तुतिहरु । ‘तगारोमा रुमाल राखी’ गाउँदै उनले एकपछि अर्को हिट गीत पस्किए ।
उनले आफ्ना हिट गीत मात्र हैन, वरिष्ठ संगीतकर्मी रञ्जित गजमेर, लोकगायिका बीमाकुमारी दुरा लगायत सांगीतिक हस्तीलाई समर्पित गर्दै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनायोे ।
सन् १९९० को दशकको चर्चित ब्याण्डलाई सुन्नको लागि एलओडी क्लब खचाखच थियो । किशोरदेखि पाको उमेरका दर्शक पनि ब्याण्डलाई सुन्न पुगेका थिए ।
कन्दराले यो कन्सर्ट मानसिक स्वास्थ्यसँग जुधिरहेकाप्रति समर्पित रहेको पनि उक्त अवसरमा जनाइयो ।
कन्दराको ड्रम्समा सुनिल थापा थिए भने लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा नील घतानी छन् ।
‘पहिला घरदेश अनि परदेश’ नारासहित ब्याण्ड यतिबेला नेपाल टुरमा छ । पर्यटकीय राजधानी पोखरापछि ब्याण्ड संघीय राजधानीमा पहिलोपटक गुञ्जिएको हो ।