कृष्णगोपालको कला-संसार : प्रकृति र संस्कृतिसँग अन्तरंग संवाद

जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत । दीर्घ कला–साधक कृष्णगोपाल रञ्जितको हकमा भने यस्ता सन्दर्भ–द्वार खुलेको छैन आजपर्यन्त । ९२ वर्षको उमेरमा पनि उनी अविच्छिन्न रूपमा कलाकर्ममा निमग्न र प्रतिबद्ध देखिन्छन् । नित्य सौम्य र शान्त ढंगले रङसँग संवाद गरिरहेका भेटिन्छन् ।

उनको दिनचर्याको आफ्नै लय छ । बिहान ४/५ बजेतिर उनको आँखा उघ्रिसकेको हुन्छ । ब्युँझिएर सामान्य रूपमा तरोताजा भएपछि प्रातःकालीन भ्रमणमा निस्किन्छन् । काठमाडौँ, कपुरधारास्थित बासस्थानबाट वरपरका सडक र गल्लीहरू चहारेपछि मन–मस्तिष्कले केही नयाँ ऊर्जा ग्रहण गर्छ । त्यो ऊर्जालाई उनी कलाकर्ममा समर्पण गर्छन् । ‘मर्निङ वाक’ बाट फर्किएपछि क्यानभासमा रङ र रेखाहरूमार्फत आफ्नो सिर्जनालाई अभिव्यक्त गर्न तल्लीन हुन्छन् । भन्छन् आफ्ना कुरा, ‘म बिहान सबेरै उठ्छु । बिहान केही समय घुमफिर गरेर घर फर्किएपछि अलिकति नास्ता खान्छु र पेन्टिङ बनाउन थाल्छु ।’

चित्रकलाको सुरुवात

सुन्दर नगरी पोखरा । जन्मिए उनी त्यही नगरमा । उनको बाल्यकालका केही वर्ष भने पूर्वोत्तर भारतको असममा बित्यो । भन्छन्, ‘म त्यस समय पाँच वर्षको मात्र थिएँ । बुबालाई बाथ रोगले च्यापेपछि उपचारका निम्ति हामी कलकत्तातिर हिँड्यौँ ।’ उनी थप्छन्, ‘कलकत्तामा उपचार गरेपछि बुबाले हामीलाई लिएर असमतिर लाग्नुभयो र व्यापार गर्न थाल्नुभयो । असममा बस्दाखेरि बुबाले मलाई केही पुस्तक ल्याइदिनुभएको थियो । म ती पुस्तकका अक्षरसँग भन्दा पनि चित्रहरूतिर नजर लगाउँथेँ ।’

उनी आफ्ना अभिभावकसँग चार–पाँच वर्षमात्र बसे, बिरानो मुलुक असममा । तर असम–बसाइ उनका निम्ति जीवनलाई एउटा निश्चित सिर्जन–कर्मतिर डोहो¥याउने आधारशिला बन्यो । त्यो सिर्जन–कर्म थियो, चित्रकला । असममा उनका मीत मामा बस्थे र आइरहन्थे उनीकहाँ बारम्बार । उनी भन्छन्,
‘एक पटक ती मीत मामाले मलाई खरिढुंगा (स्लेट) मा चकले एउटा मूर्ति बनाएर दिनुभयो । त्यो मूर्तिले मलाई धेरै आकर्षित तुल्यायो । मैले त्यही मूर्तिलाई हेर्दै चित्र बनाएँ । चित्रकलातिरको मेरो प्रारम्भिक खुट्किला त्यही नै थियो ।’

बुबा असममा स्थापित हुँदै गएका थिए, व्यापार गरेर । असम–बसाइ त्यति धेरै तन्किन पाएन । विश्व–आकाशमा द्वितीय विश्वयुद्धको घना बादल मडारिन थालिसकेको थियो । जहीँतहीँ व्याप्त थियो, त्रासदी । उनी सम्झिन्छन्, ‘आकाशभरि लडाकु जहाजहरू उड्न सुरु भइसकेको थियो । साइरन बज्नासाथ खाल्डोभित्र लुक्नुपथ्र्यो । जताततै भयावह परिस्थिति सिर्जना भएपछि हामी सपरिवार पोखरा फर्कियौँ ।’

पोखरा फर्किएपछि
असममा रहँदाताका नै चित्रकलाप्रति उनमा अधिक मोह पलाउन थालिसकेको थियो । पोखरा फर्किएपछि त्यो मोहले घनीभूत रुप लिन थाल्यो । पेन्टिङप्रतिको बढ्दो रुचिलाई पेन्सिल र कापीको अभावले छेक्न खोज्थ्यो, कहिलेकाहीँ । उनी सुनाउँछन्, ‘चित्रकलाप्रतिको मेरो मोहलाई सामग्रीहरूको अभावले रोक्न खोज्थ्यो तर म पेन्सिल पाएपछि चुरोटको बट्टामा समेत चित्र बनाउन थालिहाल्थेँ ।’

राणाकालीन समय/परिवेशका साक्षीकर्ता हुन् उनी । राणा शासकहरू जनतालाई शिक्षाको पहुँचबाट टाढै राख्न चाहन्थे । त्यस समयताका पोखरामा स्कुलहरू थिएनन् । अध्ययनप्रतिको मोह र महत्व बुझेर २००४ सालमा उनी काठमाडौँ भित्रिए । उनी भन्छन्, ‘म पढ्नका निम्ति काठमाडौँ आउँदा राणा शासनविरोधी माहोल बढ्दै थियो । २००७ सालमा त प्रजातन्त्र आइहाल्यो ।’

काठमाडौँको दुःखद बसाइ
अध्ययन–मोहलाई पछ्याउँदै काठमाडौँ आए पनि उनलाई स्वास्थ्यले ‘सपोर्ट’ गरेन । सधैँ बिरामी । बिरामीले निम्त्याउने तनाव आफ्नै बिन्दुमा । पूरै सात वर्षसम्म उनले बिरामी जीवन भोग्नुप¥यो । जहाँ जँचाउन गए पनि हुनै सकेन रोगको पहिचान । घर–परिवारलाई उस्तै तनाव ।

राजा त्रिभुवनका निजी चिकित्सक थिए, डा. हल्दर । त्यस समयका धेरै नामी । डा. हल्दरले रञ्जना हलनजिकै ‘नेपाल मेडिकल’ नामक एउटा अस्पताल सञ्चालन गरेका थिए । उनले सोही अस्पतालमा उपचार गराउँदा पनि उनको रोग पत्ता लाग्न सकेन ।

त्यसै अस्पतालमा रञ्जित थरका एक जना कम्पाउन्डर थिए । एक दिन ती कम्पाउन्डरले उनलाई एउटा औषधि दिए र भने, ‘यो खानू । यसले पक्कै ठीक गर्छ ।’ उनले औषधि सेवन गरेपछि पेटबाट थुप्रै जुका निस्कियो । त्यो औषधि उनका निम्ति रामवाण नै साबित भइदियो । उनी भन्छन्, ‘सानो छँदा सात वर्ष पूरै बिरामी भएको मान्छे म । त्यसपछि अहिलेसम्म मलाई त्यस्तो गम्भीर बिरामीले छोएको छैन ।’

हवाईजहाजको ‘पेन्टर’
सन् १९५८ तिर नेपाली आकाशमा नेपाल एयरलाइन्सले मात्र फन्को माथ्र्यो । निजी क्षेत्रका विमान कम्पनीहरू खुलेका थिएनन् । १९५८ मा उनले नेपाल एयरलाइन्समा जागिरे जीवनको शुभमुहूर्त गरे । उनलाई आफ्नो सीप सुहाउँदो जहाजमा ‘पेन्टिङ’ गर्ने जिम्मेवारी दिइएको थियो ।

सुरुवाती दिनहरूमा हवाईजहाजमा ‘रङ लगाउने’ जागिर पाएका उनले पछिल्लो समय भने निगमको कला विभागको इन्चार्ज हुने मौकासमेत पाए । वायुसेवा निगमको लोगो पनि उनले नै तयार पारेका हुन् । उनी भन्छन्, ‘दस वर्ष पुगेपछि जहाजको रङ फिका हुन्थ्यो । त्यो रङलाई मिलाउनुपर्ने जिम्मेवारी पनि मलाई नै आउँथ्यो ।’

व्यावसायिक चित्र–यात्रातिर
तत्कालीन नेपाल एयरलाइन्समा जागिरे जीवनको सुरुवात गरेसँगै रञ्जितको कलाले व्यावसायिक कुइनेटो छिचोल्दै घुम्ती र मोडहरू पार गर्ने अवसर पाउँदै गयो । एक दिन एयरलाइन्सका एक जना कर्मचारीले भने, ‘मेरो एउटा साइनबोर्ड बनाउनुपर्ने थियो, तपाईंले बनाइदिनुपर्यो ।’

त्यस समय साइनबोर्ड बनाउने कार्यमा कमै कलाकार मात्र सिपालु थिए । साइनबोर्ड बनाएर जीविकोपार्जन गर्ने स्थिति बनिसकेको थिएन । त्यो बेलासम्म उनी भारतका विभिन्न ठाउँमा घुमिसकेका थिए र ती ठाउँहरूमा कलाले व्यावसायिक रुप ग्रहण गरिसकेको देखिसकेका थिए । उनी भन्छन्, ‘मैले सुरुमा जुन साइनबोर्ड बनाएँ, त्यसको सबैले प्रशंसा गरे । त्यो साइनबोर्ड मेरो व्यावसायिक कला–यात्राका निम्ति कोसेढुंगा साबित भइदियो ।’

उनलाई लाग्यो, ‘अहो ! साइनबोर्ड बनाउँदा पनि कमाइ हुँदो रहेछ ।’ कुनै विलम्ब नगरी पाको पोखल्ड्याङमा उनले ‘रञ्जित आर्ट’ खोले र कलालाई व्यावसायिक रुप दिन तम्सिए । कला–साधक राधेश्याम मुल्मी भन्छन्, ‘नेपालमा कमर्सियल आर्टको जग बसाल्ने श्रेय रञ्जित सरलाई नै जान्छ ।’

सन् ६० को दशकसम्म काठमाडौँलगायतका शहरमा ठूला–ठूला होर्डिङ बोर्डहरू राख्ने चलन प्रारम्भ भइसकेको थिएन । एकपटक एउटा भारतीय कम्पनीले नेपालमा होर्डिङ बोर्ड बनाउने काम पाएको थियो । त्यो कम्पनीका एक जना कर्मचारीले उनलाई सल्लाह दिँदै भने, ‘होर्डिङ बोर्डमा धेरै फाइदा छ । तपाईंले पनि यो क्षेत्रमा हात हाल्नुस् ।’

उनका निम्ति होर्डिङ बोर्ड निर्माण नौलो पेसा र अनुभव थियो । त्यस समयमा पाकिस्तान एयरलाइन्सले कुनै लोगो बनाउनुपर्दा उनलाई सम्झिन्थ्यो । पछि सो एयरलाइन्सले उनलाई दुइटा होर्डिङ बोर्ड बनाउने जिम्मा दियो । रत्नपार्कमा राखिएका ती होर्डिङ बोर्डहरूका कारण उनको कलाशिल्पले चर्चा त पायो नै, अरू कामहरूका पनि चाङ लाग्दै गयो । उनी सम्झिन्छन्, ‘मैले काठमाडौँ र पोखराका मुख्य चोकहरूमा बाँस ठड्याएर होर्डिङ बोर्ड राखेको हिजोअस्तिजस्तो लाग्छ ।’

नेपाल एयरलाइन्सको सेवाबाट अलग भएपछि उनले आफूलाई पूर्णतः क्यानभासको रङ्गीन संसारमा व्यस्त तुल्याउने रुचि देखाए । २८ वर्षसम्म तनमयपूर्वक सेवा अर्पण गरेको एयरलाइन्सको आकर्षक जागिर छाड्नुको पृष्ठभूमिमा उनीभित्र मौजुद आत्म–स्वाभिमानको हुट्हुटी रह्यो । एक पटक उनलाई सामान्य दुर्घटनाग्रस्त ट्विनटरको रङरोगन गर्नुपर्ने काम आइप¥यो । रङहरूको संसारमा डुबिसकेका उनका निम्ति त्यो सामान्य काम थियो । इन्जिनियरहरूले त्यो जहाजको मर्मत–कार्य सिध्याएपछि उनलाई निर्देशकले सोधे, ‘तपाईं यो जहाजको पेन्ट गर्न सक्नुहुन्छ ?’

उनले भने, ‘उस्तै आवश्यक परे म बोइङको पनि पेन्ट गर्न सक्छु ।’ उनमा यतिसम्म आत्मविश्वास थियो । जिम्मेवारी पाएपछि उनले जहाजको पुरानो रङ खुर्किए र करिब डेढ महिनासम्म निरन्तर रूपमा खटेर जहाजलाई ‘रङरोगन’ का हिसाबले पूर्ववत् अवस्थामा फर्काए । त्यसपछि भने उनलाई एयरलाइन्सको जागिरप्रति नजानिदो तरिकाले मोहभंग भयो र अन्ततः बिदा लिए ।

‘किन त ?’
उनी भन्छन्, ‘मैले त्यति धेरै समय र मिहिनेत गरेर जहाज रङ्ग्याएँ तर मलाई धन्यवादसमेत भनिएन । त्यही झोँकमा मैले एयरलाइन्सको जागिरबाट बिदा लिएँ ।’

उपकरणहरूमा आफैँ निर्भर
आफैँ क्यानभास बनाउँछन् उनी । विदेशमा निर्मित क्यानभासबाट नराम्ररी धोका पाएपछि उनी आफैँले क्यानभास बनाउन थाले । उनी भन्छन्, ‘मैले एउटा पेन्टिङ अमेरिकामा पठाएको थिएँ तर फिर्ता आयो । त्यो पेन्टिङ कमसल क्यानभासमा बनेको हुँदा फिर्ता आएको थियो ।’

गुणस्तरीय क्यानभासको चक्करमा लागिपर्दा आफैँले क्यानभास बनाउन थालेको उनको स्वीकारोक्ति छ, ‘बितेको ६०–७० वर्षदेखि मैले क्यानभास बनाउन खोजिरहेको थिएँ । पछिल्लो समय भने बनाउन सिकेँ र अहिले आफैँले बनाएका क्यानभासमा पेन्टिङ गर्छु ।’

पेन्टिङका लागि आवश्यक उपकरणहरू पनि आफैँ बनाउँछन् उनी । ब्रस र चक्कुसमेत पनि । उनी भन्छन्, ‘मैले प्रयोग गरिरहेका कतिपय टुल्स विदेशमै बनेका छन् । तर, त्यस्ता टुल्सलाई म आफ्नै शैलीमा ढालेर काम गर्दै आइरहेको छु ।’ पेन्टिङ गर्दा नरम खाले प्लास्टिकको चक्कु प्रयोग गर्छन् उनी । त्यो उनी आफैँले बनाएका हुन् । भन्छन्, ‘कडा चक्कु प¥यो भने पेन्टिङलाई कोर्ने भएको हुँदा प्लास्टिकको चक्कु प्रयोग गर्दै आएको छु ।’

धूवाँ र हुस्सुसँग खेल्दै
प्रायः सिर्जनकर्मीहरू प्रयोगमा रुचि राख्छन् र प्रयोगमार्फत् आफ्नो सिर्जन–संसारलाई पृथक् तुल्याउन चाहन्छन् । रञ्जितमा पनि प्रयोगधर्मी चरित्र देखिन्छ । उनले प्रयोगधर्मिता अपनाउने क्रममा धूवाँलाई छाने । धूवाँद्वारा सिर्जित धेरै सिर्जनाका ‘मालिक’ भइसकेका छन् उनी । उनी क्यानभासलाई माथि टाँग्छन् र त्यसमा बिस्तारै बत्तीको धूवाँ लगाउँछन् । भन्छन्, ‘मैले पाषाणकालीन युगमा गुफाभित्र निर्मित कलाबारे अध्ययन गरेको थिएँ । ती कलाहरू धूवाँद्वारा नै सिर्जना गरिएका थिए । त्यही अध्ययनबाट मलाई धूवाँ–कलातिर आकर्षित तुल्यायो ।’

धूवाँको उपयोग गरेर उनले धेरै चित्र बनाइसकेका छन् । नेपालको नक्सा, दस अवतारका बुद्ध, सरस्वतीका चित्र– यी सबैको सिर्जनाका उनले धूवाँलाई नै रोजे । धूवाँ–निर्मित चित्र बनाउँदा उनी त्यसमा आयल पनि मिसाउँछन् । भन्छन्, ‘धूवाँ त माध्यममात्र हो । त्यसमा आयल मिसाउँदा त्यसको आयु लामो हुन्छ ।’ उनले बिहानीपखको हुस्सुलाई पनि आफ्नो कला–संसारमा उत्तिकै सजाएका छन् ।

मूर्तिकलामा पनि उनको रुचि रह्यो । केही मूर्ति बनाउँदा त्यसमा वीरे नुन र सुपर ग्लु मिसाए, केही मूर्ति बनाउँदा काठको धूलो र सुपर ग्लु । कुनैमा त इँटा र काठको धूलो पनि । यी सबै उनको प्रयोगधर्मिताको पाटोभित्र पर्दछन् ।

माछापुच्छ्रे –विम्ब
जोकोही सिर्जन–शिल्पी जुन परिवेशमा जन्मिन्छन् र हुर्किन्छन्, उनीहरूका सिर्जनामा त्यस धराको प्राकृतिक, सामाजिक, सांस्कृतिक पक्षहरू उजागर हुनु स्वाभाविकै हो । उनी जन्मिएको पोखरा हरेक हिसाबले समृद्ध— प्राकृतिक, सामाजिक र सांस्कृतिक । अझ प्राकृतिक पक्षको त कुरै नगरौँ । माछापुच्छ्रे हिमालले उनको आँखामा आँखै जुधाउँथ्यो, त्यो हिमचुलीमा बिहानीपख नरम र मृदु लालिमा पोतिने बित्तिकै । त्यही भएरै हुनुपर्छ, उनका अधिकांश सिर्जनामा माछापुच्छ्रेको लालिमा, मध्यान्तरको गाढापन र साँझको प्रतिविम्ब सदृश्य झल्किन्छन् । भन्छन्, ‘मैले आफ्नो कला–संसारमा माछापुच्छ्रेलाई धेरै पटक सजाएको छु ।’

उनले कतिपय सांस्कृतिक धरोहर र विम्बहरूलाई जीवन्त रुपले उभ्याएका छन्, आफ्ना क्यानभासमा ।

छोरी अस्मिताप्रति गौरवबोध
पछिल्लो समय अस्मिना रञ्जित कला–संसारमा जमेकी ‘आर्टिस्ट’ हुन् । उनको ‘लुकआउट’ पनि बेग्लै । निधारमै पेन्टिङ । पढ्न त उनले विज्ञान–विषय लिएर पढिन् । परीक्षा दिने समयमा भने उनी बिरामी भइन्, आठ महिनासम्मै । एक दिन बुबासामु उनले भनिन्, ‘म आठ महिना खाली हुने भएँ, अब के गरुँ ?’

अस्मिनाले सानैदेखि बुबाको पेन्टिङलाई नियाल्दै आएकी थिइन् । उनले भनिन्, ‘म पनि ललितकलामै ज्वाइन हुन्छु ।’ उनी ललितकला कलेजमा पूर्ण छात्रवृत्तिमा भर्ना भइन् । उनको पढाइ निकै राम्रो रह्यो र फुलब्राइट स्कलरसिप पाएर अमेरिकामा कलासम्बन्धी उच्च अध्ययन गर्न गइन् । छोरी अस्मिना र दिवंगत भतिजा किरणले उनको पदचिह्न पछ्याए । यो उनका निम्ति गौरवको विषय हो ।

हरेक पेन्टिङ मूल्यवान्
उनले एक महिनाअघि मात्रै ‘कालभैरव’ शीर्षकको पेन्टिङ बेचे, ५ लाखमा । जुन पेन्टिङ अमेरिकामा बसोबास गर्ने एक जना नेपालीले किनेका थिए । उनी ‘कालभैरव’ सिरिजकै अरू दुई पेन्टिङ बनाउने उपक्रममा जुटेका छन् । भन्छन्, ‘बिक्री भएको पेन्टिङ दाइले किनेका थिए, पछि उनका भाइले पनि कालभैरवकै पेन्टिङ अर्डर गरे ।’ छ महिनाअघि भने मुस्ताङको एउटा पेन्टिङलाई ३ लाखमा बेचेका थिए ।

केही वर्षपूर्व उनले हिमाल–शृंखलाका २० थानजति पेन्टिङ बनाएका थिए । एक जना जापानी नागरिकको नजरमा उनका ती पेन्टिङहरू परे र उठाए पूरै पेन्टिङ । ती सबै पेन्टिङ बेच्दा उनलाई एकमुस्ट २२ लाख रुपियाँ हात परेको थियो । उनी जुन पेन्टिङ बनाउँछन्, बिक्रीका लागि कुनै तनाव लिइरहनु पर्दैन । विश्वका नामुद कलाशिल्पीहरूका पेन्टिङको मूल्यसँग पक्कै तुलना हुन नसक्ला तर उनका पेन्टिङहरू सदैव बिक्रीयोग्य भइहाल्छन् । त्यसो त, नेपालमा डेढ दर्जन पटक प्रदर्शनी गरेका उनले विदेशमा भने थाइल्यान्डमा मात्रै प्रदर्शनी गरेका छन् ।

चित्रकला एकाकी सिर्जना हो । अझ उनका कलामा व्याप्त परिष्कृत स्वरुपले जोकोही पारखीलाई मुग्ध तुल्याउने क्षमता राख्छ । निष्कर्षतः रञ्जितका कला–क्षितिजलाई नियाल्दा अप्रतिम प्राकृतिक सौन्दर्य, त्यसमा अन्तरनिहीत मानवीय संवेदना र प्रयोगधर्मिता परिलक्षित हुन्छन् । कला पारखीहरूले उनलाई चिन्ने एउटै आधार हो– उनी एक प्रतिबद्ध चित्रशिल्पी हुन्, अथक/अविश्रान्त ।