गुँला धर्म नेपाल सम्बतको गुँला महिनाभरि चल्ने एक प्राचीन पर्व हो। गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवा: पर्व मानिन्छ। यस अवधिमा विशेषगरि स्वयम्भू महाचैत्यमा १ महिना मेला लाग्ने गर्दछ। गुँला धर्मभरि काठमाडौका मुख्यत ३२ टोलबाट विभिन्न बाजागाजा (गुँला बाजा) सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ।
गुँला धर्मको परम्परा कहिले र कसरी सुरु भयो भन्ने विषयमा मानिसहरुको अलग अलग धारणाहरु पाइन्छन्। प्रा. सुवर्ण शाक्यले एक लेखमा उल्लेख गरे अनुसार गुँला धर्म शाक्यमुनि बुद्धले मारविजय गरी बुद्धत्त्व प्राप्त गरेको उपलक्ष्यमा मनाउन सुरु गरेको हो। त्यस्तै सत्य, त्रेता,द्वापर र कलियुग मध्ये कलियुगको सुरुवात भएको महिना गुंला महिना हो। त्यसैले कलियुगको दोष निवारण र आफ्नो लोक परलोक सुधार्ने हेतुले सद्धर्मको अभ्यास गर्न गुँला पर्व मनाउन सुरु गरिएको हो। यसैगरी, भगवान बुद्धमा ज्ञानप्राप्तिपछि उक्त ज्ञानको गम्भीरतालाई विचार गर्दा सत्वप्राणीले बुझ्न नसक्ने विचार गरी सुरुमा ज्ञान बाँड्न हिचकिचाएका थिए। तर सम्हापत्ति ब्रम्हाको अनुरोध पछि बुद्ध समस्त देवता र मनुष्यको हितको लागि धर्मोपदेश गर्न राजी भए। यही खुशीयालीमा देवता र मनुष्यहरुले गुंला पर्व मनाउन सुरु गरेका हुन् भन्ने भनाइ पनि रहेको छ।
गुँला महिना प्रायश: श्रावण र भाद्र महिनामा पर्दछ।यस समयमा गर्मी हुनाका साथै अत्याधिक पानी पनि पर्दछ। यस अघिसम्म किसानहरुले धान रोप्ने काम सकाइसकेका हुन्छन्। रोपाईंको क्रममा अन्जानमा कैयौं किटपतंगहरुको हत्या भएको हुन्छ। यसरी अन्जानमा र बाध्यतावश हुन गएको प्राणीहिंसाको प्रायश्चित स्वरुप, ती प्राणीहरुको सुगतिको कामना गर्दै, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिबाट घरखेत नष्ट नहोस् र रोगव्याधिको भय नआओस् भनेर गुँला पर्वको सुरुवात गरिएको हुन सक्दछ। बौद्ध शिक्षालाई प्राज्ञिकतहमा अध्ययन गर्नेहरु यस्तो मान्यता राख्ने गर्दछन्। हुन पनि सिनाज्या अर्थात् धान रोपाइँ पछि मानिसहरु फुर्सदिला हुन्छन् । र, यो समय धर्माभ्यास गर्ने उपयुक्त समय पनि हो। यसकारण पहिलेका नेपाल मण्डलका बौध्दाचार्यहरुले यस्ता यावत कुराहरु विचार गरी फुर्सदको समयलाई सदुपयोग गरेर कुशलकर्म गर्नतिर मानिसहरुलाई आकृष्ट गरी उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले यो पर्व चलाएका हुन भन्न सकिन्छ। यसैलाई बौध्द भाषामा उपाय कौशल भनिन्छ। समय, काल, परिस्थितिलाई विचार गरेर विभिन्न उपायहरुको प्रयोगद्वारा उक्त स्थिति/अवस्थालाई सकारात्मक रुपान्तरणतिर लग्न सहयोग गर्नु नै उपाय कौशल हो। उपाय कौशल अर्थात् कुशलतापूर्वक उपायहरुको प्रयोग।अर्को शब्दमा, Optimum use of available resources for positive transformation नै उपाय कौशल हो।
उपाय कौशल महायानको अवधारणा हो।
गुँला पर्वको समयमा हरेकदिन बिहान समुह समुह बनाएर बौध्द गीत / स्त्रोत्र गाउँदै मानिसहरु चैत्य दर्शन गर्न जाने गर्दछन्। विशेष गरी पाटनवासीहरु आफ्नो शहरको चारदिशामा स्थापित ठूला ठूला चैत्यहरुको, जसलाई अशोक थुर भनिन्छ, दर्शन गर्न जाने गर्दछन्। यसलाई बोगी वनेगु भनिन्छ। स्त्रोत्र पाठ गर्न आउँदैन भने सो नगरीकन पनि चैत्यको परिक्रमा गर्न सकिन्छ। त्यस्तै यस महिना भरी विभिन्न तीर्थहरुमा स्नान गरी तनको शुध्दी र मनको स्फूर्ति बढाउने काम हुन्छ। यसो गर्दा मानिसहरु मानिसहरु धर्माभ्यास गर्न मानसिकरुपमा तयार हुन्थे।
यी दुई परम्परा मध्ये, प्रदुषित पानीको कारण, हाल तीर्थ स्नान गर्ने परम्परा लोप भइसकेको छ। तर बोगी वनेगु चलन अझै पनि कायमै छ।