हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको मार्फा गाउँ भन्ना साथ चौडा छत भएका गुजमुज्ज घरहरूको बस्ती भन्ने बुझिन्छ । मार्फा गाउँ स्याउ उत्पादनका लागि प्रख्यात छ । मरुभूमि जस्तै देखिने पाखोको फेदीमा रहेको स्याउको बगैँचाको बीचमा रहेको मार्फा मुस्ताङको प्रमुख पर्यटकीय गन्तब्य हो ।
बाह्य पर्यटकमाझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्री तथा मुस्ताङ घुम्न जानेहरू मुक्तिनाथ, कागबेनीसँगै थकाली समुदायको यो गाउँमा रमाउँछन् । गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक केन्द्रबिन्दु बनेको पर्यटकीय गाउँ मार्फाको मुख्य आम्दानी श्रोत कृषि र पर्यटन नै हो ।मुस्ताङका ९६ गाउँ बस्तीमध्ये ऐतिहासिक ,धार्मिक र साँस्कृतिक सम्यताले नितान्तै पृथक छ मार्फा ।
मार्फाली समुदायको मुल बस्ती मार्फा गाउँको मुख्य विशेषता भनेकै सांस्कृतिक रुपमा सिङ्गारिएका एकआपसमा गुजुमुच्च जोडिएका सख्खर माटोले बनेका ऐतिहांसिक घरनै हुन् । सख्खर माटोले सजाइएका सांस्कृतिक घरको छत माथि लस्करै सजाइएका दाउराले पर्यटकहरु लोभिन्छन् । यसका अलावा पुराना गुम्बा ,छोर्तेन र पहाडमा कुदिएका कलात्मक वस्तुले मार्फा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ अधिकाश थकाली र केही दलीत समुदायको बस्ती छ ।
मार्फामा उत्पादित स्याउको स्वाद देशभित्र मात्र सीमित छैन । यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन विदेशमा प्रख्यात छ । साथै स्याउँको सुकुटी र जुस पनि यहाँको विशेषता हो ।