इतिहासको कुरा पढ्न खासै मजा आउँदैन, ‘डल’ हुन्छ । तर, लेखकले जसरी प्रस्तुत गरेका छन्, पढ्दा रस बस्छ ।
स्मृतिको खुत्रुकेमा धेरै कुरा अट्दैन । मेरो त्यो खुत्रेको त्यति ठूलो पनि छैन । तर, म लेखक/पत्रकार सुधीर शर्माका यी दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ र ‘हिमालपारिको हुरी’लाई त्यो खुत्रुकेमा सम्हालेर राख्छु । पुराना राखेका केही कुरा निकालेर भए पनि राख्छु । दुवै पुस्तक अद्योपान्त पढेपछि महत्वपूणर् लाग्यो र खुत्रुकेमा साँच्ने निष्कर्षमा पुगे ।
इतिहासको कुरा पढ्न खासै मजा आउँदैन, ‘डल’ हुन्छ । तर, लेखकले जसरी प्रस्तुत गरेका छन्, पढ्दा रस बस्छ । भाषाशैलीको कारणले पनि होइन । उनले छनोट गरेका पात्रका कारणले पनि । यसमा नेताका कुरा पनि छ । भिक्षुका कुरा पनि छ । शरणार्थीका कुरा पनि छ । थुप्रै पठनीय कुरा छन् ।
लेखक नेपाल-चीन सम्बन्धका विषयमा सन्तुलित देखिनु पनि यो पुस्तकको अर्को विशेषता हो । नेपालको सार्वजनिक वृत्तमा नेपाल-चीन सम्बन्धको कुरा आउँदा कि अत्यन्त ठूलो प्रशंसा हुन्छ कि पूर्वाग्रह । लेखकले दुवैवटा कुराबाट मुक्त हुने कोसिस गर्छु, निष्कर्ष थोपर्दिनँ भनेका छन् र भनेजस्तै धेरै हदसम्म सन्तुलन कायम राखेका पनि छन् ।
चीन के हो ? नेपालले चीनलाई कसरी बुझ्नुपर्छ ? यो पुस्तकले सघाउँछ ।
केही सय वर्षअगाडि चीन र भारत दुइटै समृद्ध हुँदा, नेपाल एक प्रकारको त्यसको ‘अन्ट्रपो’ भए वैभव हासिल गर्यो । लेखकको आग्रह छ, त्यही पुरानो वैभवशाली कालखण्डजस्तै दुई ठूला शक्ति र समृद्ध राष्ट्रबाट लाभ लिनुपर्छ, दुई ढुङ्गाको साँघु बन्नुपर्छ । हुनुपर्छ भनेर मात्रै हुँदैन है भन्दै लेखक भन्छन्, हाम्रो यात्रा कहाँबाट आरम्भ भयो ? कहाँ पुगेको छ भनेर यसको मीमांसा गर्नुपर्छ । दुइटामध्ये पहिलो पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ त्यसैकारण तयार भएको छ ।
यो पुस्तकको पहिलो च्याप्टर छ, ‘भाकोर ।’ अमिश मुल्मीको किताब पढ्नेहरूलाई यो च्याप्टर पढ्दा त्यसैको झल्को आउँछ । ‘विगतको निकटता र दूरी’ भन्ने दोस्रो च्याप्टर छ । नेपाल-चीन सम्बन्धको ऐतिहासिकता खोज्ने काम भएको छ, यो च्याप्टरमा । नेपाल चीन सम्बन्ध नेरन्द्रदेवको पालामा भएको हो । करिब ६०० वि.सं.मा नरेन्द्रदेवको बेलाको चर्चा छ, पुस्तकमा ।
इतिहासमा हामीले भृकुटीलाई अंशुवर्माकी छोरी भनेर धेरै पढ्यौँ । खासमा भृकुटी उदयदेवकी छोरी हुन् र उनी नरेन्द्रदेवकी दिदी वा बहिनी हुन् । त्यो सम्बन्धको लाभ नरेन्द्रदेवलाई भयो । नेपाल तिब्बतबीच त्यो बेलाको सम्बन्धको लाभको चर्चापछि एकैचोटि किताबले फड्को मारेर पन्ध्रौँ शताब्दीमा बनेपाली राजाले पत्राचार गरेर कसरी सम्बन्ध राखे भन्नेबारे विस्तृतमा चर्चा गरिएको छ । यो च्याप्टर मोहनशमशेरमा आएर टुङ्गिन्छ ।
यसमा मलाई रोचक लागेको सन्दर्भ हो, बेलायतबाट चीन आएको म्याकोर्टी मिसनबारेको प्रसङ्ग । यो प्रसङ्गमा लेखकले बडो मेहनत गरेर ऐतिहासिक स्रोत, सन्दर्भ सामग्रीसहित चीनको अफिम युद्धमा नेपालको भूमिकाबारे चर्चा गरेका छन् ।
चीनको बादशाहलाई फकाउन आएको म्याकोर्टी मिसनलाई उनले दुत्कारेर मिसन असफल बनाइदिएपछि उनी फर्किए । फर्केर गएपछि मिसन इस्ट इन्डिया कम्पनीतिर लगातार अफिम बेच्न थाल्यो । अलि पछाडि अफिम बन्द गरेपछि ‘अफिम वार’ भयो । यो पढेकै कुरा थियो । तर, लेखकले यहाँनेर के ल्याउँछन् भने विश्व यो अफिम वार भयो, जसले विश्व इतिहास नै एकातिर लिएर गयो, एक प्रकारले । त्यसमा नेपालको ठूलो भूमिका छ भन्ने कुरा छ, पुस्तकमा । नेपाल-चीन युद्धमा चिनियाँ सेना वेत्रावतीसम्म आएको प्रसङ्ग इतिहासमा पढिएकै हो । वेत्रावती सन्धि हुन्छ, नेपाल र चीनका सेनाबीच ।
त्यो सन्धि हुनुको एउटा महत्वपूणर् कारण चिनियाँ बादशाहलाई त्यो बेलाको लोकल चिनियाँ कमान्डरले ‘हामी नेपाललाई हराउँथ्यौँ, नेपाललाई सिनित्तै पारिसकेका थियौँ, तर बेलायतीहरू आएर मद्दत गरेको हुँदा नेपालीहरू लड्न सके’ भनेर भने । यथार्थमा त्यस्तो केही पनि भएको थिएन । त्यो लोकल चिनियाँ कमान्डरले आफ्नो कमजोरी छुपाउनका निम्ति यसरी चाहिँ नभएको कथा रच्दै गर्दाखेरि चिनियाँ बादशाहलाई बेलायतीहरूले धेरै ठूलो धोका दिएको भन्ने रिस थियो, रोष थियो । त्यही रोष प्रकट गर्ने क्रममा म्याकोर्टी मिसनलाई केही पनि नदिइकन धपायो । त्यसपछि अफिम युद्ध हुने अवस्था आयो भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ । त्यसरी नेपालको भूभागमा भएको चीन र नेपालको युद्धको कनेक्सन ऐतिहासिक स्रोत, सन्दर्भ सामग्रीसहित गरिएको वणर्न रोचक छ ।
‘भिक्षु, विद्रोही अनि वामपन्थी’ भन्ने अर्को च्याप्टर छ । जसमा बुद्धभद्रदेखि लिएर लामो चर्चा छ । नेपालको कम्युनिस्ट पार्टीको पहिलो प्रतिनिधि मण्डललाई नै चीनले आर्थिक सहयोग गर्यो । र, त्यो आजपर्यन्त पनि चलिरहेको छ भन्ने उल्लेख छ । यो च्याप्टरमा कम्युनिस्ट पार्टीहरूको मात्रै होइन, खासगरी दरबार जसले कम्युनिस्ट विचारधारा रुचाएन, तर कम्युनिस्ट चीनसँगको सम्बन्धमा चाहिँ रुचि राखेको प्रसङ्ग छ ।
‘माओ र महेन्द्र’ भन्ने एउटा लामो च्याप्टर छ । तर, यसलाई माओ, महेन्द्र र बिपी कोइराला भनिदिएको भए न्याय हुन्थ्यो । किनकि यो च्याप्टरमा लेखकले असाध्यै राम्रोसँग बिपी कोइरालाका संवादहरू उल्लेख गरेका छन् । र, बिपी कोइरालालाई असाध्यै न्याय गरेका छन् भन्ने ठान्छु ।
सीमाको बारेमा, सडकको बारेमा, सगरमाथाको बारेमा बिपीले लिनुभएको अडानका बारेमा उहाँले ऐतिहासिक स्रोतजस्तै लेख्नुभएको छ । तर, एउटा बिन्दुमा गएपछि माओले किन बिपी कोइरालालाई मन पराएन भने ‘मसँग आएर यस्तो हक्की स्वभाव राख्ने ?’, ‘मसँग आएर बहस गर्ने, योभन्दा म अधिनायकवादी चिन्तन भएको महेन्द्र नै ठीक छ’ भन्ने माओलाई पनि लाग्यो । उता भारतीय नेता जवहरलाल नेहरूलाई पनि हाम्रो साथ-सहयोगले प्रजातन्त्र स्थापना गर्ने, हामीलाई अटेर गर्ने ? त्यस कारणले बिपी कोइरालाभन्दा महेन्द्र नै ठीक हो भन्ने लाग्यो भन्ने सन्दर्भ लेखकले उल्लेख गरेका छन् ।
राजा महेन्द्रका बारेमा लेखकको निचोड छ, आधुनिक कूटनीतिका आर्किटेक्ट । भारतको परम्परागत पकडबाट नेपाललाई बाहिर निकाल्ने, चीनसँग एउटा वैकल्पिक सम्बन्ध विकास गर्ने र शक्ति राष्ट्रसँग पनि सम्बन्ध राख्ने । यो कूटनीतिक बुद्धिमता महेन्द्रले राख्नुभएकाले उनलाई आर्किटेक्ट भन्न मिल्छ भन्ने लेखकको बुझाइ छ ।
तर मलाई यहाँनेर म लेखकमा विरोधाभास देख्छु । महेन्द्रको कूटनीतिक बुद्धिमताबारे लेखकले व्याख्या गर्दा के भन्छन् भने बाहिर भारतीय प्रभुत्वको राष्ट्रवादी आक्रामकता देखाएर विरोध गर्ने र भित्रभित्रै कालापानी सुम्पन्ने । बाहिर चीनको सांस्कृतिक क्रान्तिको नेपाल प्रभाव रोक्ने कोसिस गर्ने तर सगरमाथाको समर्पण पनि गर्ने । बाहिर पश्चिमा राष्ट्रहरूसँग खासै सम्बन्ध नभएको देखाउने तर अमेरिकाले भनेको मानेर खम्पाहरूको सर्कस नेपालमा हुन दिने । लेखकले महेन्द्रको अन्तर्राष्ट्रिय सम्बन्धबारे यो व्याख्यान र मोडर्न आर्किटेक्टको पगरीलाई कसरी बुझ्ने ? कूटनीतिका आधुनिक आर्किटेक्ट मानेर उनका उपयुक्त बाटो पछ्याउने हो त ? सायद लेखेको यो तर्कमा थप बहस चर्चा आवश्यक पर्ला ।
‘राजतन्त्रको साम्यवादी साइनो’ भन्ने अर्को च्याप्टर छ । जसमा राजा वीरेन्द्रले चीन भ्रमण कति पटक गरे भन्नेबारे विस्तृतमा चर्चा छ । तर, लेखकले राजदरबार हत्याकाण्डबारे उठाएर छोडेका छन् । चिनियाँले हत्याकाण्डलाई स्वाभाविक मान्न सकेनन् र यो काण्डको एउटा कारण हामीसँगको सम्बन्ध थियो भन्ने कुरा भने । तर, यो कुरालाई त्यहीँ छोडेका छन् लेखकले । यसमा पनि थप बहस, चर्चा होला ।
दोस्रो पुस्तक २००८ बाट सुरु हुन्छ । चाइनाले ओलम्पिक गरेको वर्ष । चीन नयाँ ढङ्गले सक्रिय हुँदै जाँदा नेपालमा आफ्ना गतिविधि कसरी बढायो ? सात दल कांग्रेस, एमाले, माओवादीसँग कस्तो सम्बन्ध राख्यो ? लगायतका कुरा पढिरहँदा हामीसँगै कुरा गरिराखेको जस्तो भान भयो ।
त्यसपछि ‘साम्यवादी सहकारीको परीक्षण’ भन्ने च्याप्टर आउँछ । यो च्याप्टरमा नेपालका माओवादीहरूलाई चिनियाँहरूले माया र सद्भाव राखे पनि ‘डे वान’ बाटै हामी कहीँ पनि संलग्न छैनौँ भनेर भनेका थिए भनेर लेखक लेख्छन् । नक्सालवादीको हकमा चिनियाँहरू विचारधारा निर्यात गर्ने कुरामा प्रस्ट थिए, नेपालमा थिएनन् भन्दै गर्दा लेखकले २०७२ पछि नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन चीनको भूमिका रहेको लेखेका छन् । पहिलो पटक प्रधानमन्त्री भएर चीन गएका बेला केपी ओलीलाई चिनियाँ राष्ट्रपतिले दुई कम्युनिस्ट पार्टी सहकार्यको प्रस्ताव राख्नुभएको सन्दर्भ छ । कम्युनिस्ट मिल्नुमा चीनको प्रेरणा र विभाजित हुनुमा पनि चिनियाँ पक्षकै उत्ताउलोपना भनेर लेखेका छन्, लेखकले । चीनले नेपाली समाज र राजनीतिबारे सीमित र गलत बुझाइ तथा उसको उत्ताउलोपनाको कारण वामपन्थी एकता टुटेको कुरा पुस्तकमा उल्लेख छ ।
त्यसपछि सैन्य समझदारीको प्रयत्नबारे लामो चर्चा छ । बिर्सन खोजेको तिब्बती भन्ने अर्को च्याप्टर छ । यो च्याप्टरको लेखकको सार छ, हामीले जति तिब्बती बिर्सन खोज्यो भने पनि चाहेर पनि बिर्सन सक्दैनौँ । किनकि यसको तार कतै अमेरिकासँग जोडिएको छ, कतै भारतसँग जोडिएको छ ।
नेपाल, भारत र चीनबीचको कुरा गर्दा चीनले कनेक्टिभीटी खोजेको छ । नेपाललाई चाहिने कुरा भइहाल्यो । लेखकको प्रश्न भारतलाई चाहिएको छ कि छैन भन्ने छ । लेखकको सुझाव छ, नेपालले यो कनेक्टिभिटीको लाभबारे आत्मविश्वाससहित भारतलाई बताउन र बुझाउन सक्नुपर्छ । लेखकले उठाएको अर्को सन्दर्भ पनि महत्वपूणर् छ । २००७ सालअघि जैसी कोठा भनेर चीनलाई हेर्ने भनेर, तिब्बतलाई हेर्ने भनेर संस्थागत संरचनाहरू थिए । तर, अहिले कहाँ छन्, ती संस्थागत संरचना ? हामी कहाँ पुग्यौँ, हामीसँग चिनियाँ राम्रोसँग बोल्ने मान्छेहरू छैनन्, चीनलाई राम्रोसँग बुझ्ने मान्छेहरू छैनन् । त्यसकारण हाम्रो संस्थागत क्षमता बढाउनुपर्यो भन्ने लेखकको तर्क छ ।
सारमा, अत्यन्त मेहनत, गहिरो शोधसहित आएका यी दुवै पुस्तक महत्वपूणर् छन् । कम्तीमा राजनीति, समाज, वैदेशिक मामिला आदि विषयमा चासो राख्ने सबैले पढ्नै पर्ने कृति आएको छ । म नौजवानहरूलाई यो पुस्तक नबिराई पढ्न सुझाउँछु ।
पुस्तक विमोचन कार्यक्रममा थापाद्वारा व्यक्त विचारको सम्पादित अंश ।