नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्यलाई मनोनीत गरिएको छ ।
निफका अध्यक्ष केपी पाठकले प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायक रहने तय गरिएको जानकारी गराए ।
प्रदीप र दीया गत वर्षको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्रीतर्फका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । किशोरले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेका थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।
आउँदो चैत १ देखि ५ गतेसम्म काठमाडौंमा हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहनेछन् । नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लगाइएको हो । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराए ।
निफका अध्यक्ष पाठकले अघिल्लो सालका विजेताहरू महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको बताए । उनीहरूले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको उनको भनाइ छ ।
यो वर्षको संस्करणमा ४० देशका ८८ लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ