परिकथा

खेतका गराहरू चाहँदै खोलाको किनारसम्म पुग्नु पातहरू जस्तै  
मायाले औँलाहरू सलबलाउनु 
तिम्रो  आगमनले त्यसै-त्यसै खुसी अनुभव  हुनु 

म कसरी व्यक्त गरौँ शब्दमा यी अनुभूतिहरूलाई ?

छुटेका स्टेसन प्रतीक्षालय र अनाम गाउँजस्तै 
तिमी आयौ, ओझेल भयौ 
तर, 
कसरी र किन अड्किएछु म 
पासोमा अल्झिएको घाइते हरिणजस्तै तिमीमा ?

तिम्रो  शिरमा सजिएको रातो सुनाखरी 
यो खोलाको दोभानजस्तो हाम्रो भेट 
थाहा छ तिमीलाई ?
तिमी छौ र आकाशमा इन्द्रेणी थियो 
तिमीलाई भेटेपछि –
यी बाटाका स्पर्शहरू
यी नदीका आवाजहरू त्यसैत्यसै खुसी थिए 
स्वतन्त्र र पीडामुक्त कुनै समयजस्तै ।
आखिर तिमीमा के छ त्यस्तो ?
मनमा भएर अँगालोमा नहुनुको पीडा 
तिमीलाई थाहै भएन मैले संसार चियाएको 
म, यही उभिएको छु 
यी अन्जान मान्छेहरूको भीडमा 
मेरो आँखामा छ 
एकछिन अघि तिमी उभिएको जमिन र बिदाइका हातहरू 
तर, 
सुटुक्कै झरेको तारा र तिमी रहनेछौ, सम्झनामा परिकथा भएर ।