पहिरन आ-आफ्नै रोजाई

फेसन भन्ने शब्द सुन्नासाथ हामी सबैको दिमागमा एउटै कुरा आउँछ, हामीले प्रयोग गर्ने लुगा । दैनिक जीवनमा पहिरन अथवा हामीले लगाउने लुगाको अधिक महत्व छ । बाँच्नका लागि खानपान जति जरुरी हो, पहिरन पनि त्यत्तिकै आवश्यक कुरा हो । त्यसैले अहिले मान्छेहरू दैनिक जीवनमा प्रयोग गर्ने पहिरनबारे सचेत हुन थालेका छन् । यद्यपि कतिपय आफूले प्रयोग गरेको पहिरन चलेको फेसनअनुरूपको हो, होइन भनेर चिन्तित हुने गरेका पनि छन् ।

यसरी चिन्तित हुनेहरूले मिस नेपाल तथा इन्टेरियर डिजाइनर अश्मि श्रेष्ठको सूत्र सम्झे पुग्छ । उनी भन्छिन्, ‘आफूलाई फिट हुने पहिरनले मलाई सुहाउँछ र त्यसले आत्मविश्वास बढाउँछ । मेरा लागि फेसन भनेको यति नै हो ।’

मलाई पनि त्यस्तै नै लाग्छ, फेसन त्यही हो, जुन आफूलाई लगाउँदा सहज लाग्छ र सुहाउँछ । आफूलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले तपाईंको आत्मविश्वास बढाउँछ । अर्थात् पहिरनको कारण कुनै किसिमको झन्झट बेहोर्नु पर्दैन । तर, नेपालमा अहिले पनि यहाँ आउने कतिपय ग्राहक बलिउड, हलिउडका कलाकारहरू, सामाजिक सञ्जालहरूमा देखिएका तस्बिरका आधारमा त्यस्तै पहिरन लगाउन खोज्छन् । त्योचाहिँ गलत च्वाइस हो, कसैलाई सुहाएको पहिरन, डिजाइन र कलरहरू अर्कोलाई पनि सुहाउँछ भन्ने हुँदैन । कतिपय ट्रेन्डमा रहेका फेसन पनि सबैलाई नै सुहाउँछ भन्ने पनि हुँदैन । त्यसैले आफ्नो फिगर, स्किन टोन अनि समय र कामअनुसारको पहिरन च्वाइस हुनुपर्छ ।

फेसन एकदमै व्यक्तिगत रोजाइ हो । व्यक्तिले आफ्नो फेसनका माध्यमबाट आफूलाई अभिव्यक्त गर्छन्, जुन उसको व्यक्तिगत रुचि, संस्कार र व्यक्तित्वसँग जोडिएको हुन्छ ।

फेसन कुनै निश्चित मान्यतामा मात्र आधारित छैन, बरु यो व्यक्ति-व्यक्तिको फरक दृष्टिकोण, जीवनशैली र आत्म-परिचयसँग सम्बन्धित हुन्छ । कसैले आरामदायक कपडा रोज्न सक्छन् भने कसैले ट्रेन्डी र आकर्षक लुकलाई प्राथमिकता दिन सक्छन् । यसले एक व्यक्तिको आत्मविश्वासलाई बढाउन सक्छ, किनकि उनी आफ्नो पहिरनसँग सन्तुष्ट हुन्छन् र यसले आफ्नो विशिष्टता देखाउँछ ।

त्यसैले फेसनलाई व्यक्तिगत च्वाइस भन्नु उचित हुन्छ, किनकि यो हरेक व्यक्तिले आफ्नो अनुभव, भावना र पहिचानअनुसार चयन गर्ने कुरा हो ।

कुनै बेला जाडो-गर्मीबाट बच्न र लाज बचाउन एकसरो आङ ढाक्न पाए पुग्थ्यो मानिसलाई । पहिले लाज लुकाउन लगाउने पहिरन अहिले खाएको देखिन्न, लाएको देखिन्छ भन्दै पहिरनमा सम्झौता नगर्ने जमात छन् । बदलिँदो समयसँगै पहिरन आफैँमा सौन्दर्यदेखि आत्मविश्वासको कडी तथा सन्देशसमेत बन्दै गएको छ । पहिले विवाह, अन्य पार्टी तथा चाडपर्वमा मान्छे नयाँ-नयाँ आभूषणमा सजिन रुचाउँथ्यो । तर, आज दैनिक जीवनमै युवा जमात मात्रै होइन, कामकाजी, गृहिणीदेखि पुरुष पनि आकर्षक गेटअपमा हिँडिरहेको हुन्छ । अहिले पुरुष पनि धेरै नै फेसन कन्सेस 
हुँदै छ ।

मलाई सधैँ डिजाइन गर्दा आज लगाएर भोलि फ्याल्ने लुगा नहोस् भन्ने लाग्छ । त्यही कारण युनिक तर जहिले पनि ट्रेन्ड मिल्ने डिजाइन गरिरहेको हुन्छ । साथमा ट्रेन्डलाई पनि फलो गर्नुपर्छ ।

बजारमा चलेको फेसनलाई आफू सुहाउँदो पहिरन शैली अपनाउनुपर्छ । स्टाइलिस देखिनका लागि पहिरनको संयोजनमा भने उचित ध्यान दिनुपर्छ । हरेक डिजाइन १० वर्षको इभुलेसनमा चेन्ज 
भइरहेको हुन्छ ।

फेसन ट्रेन्ड कस्तो चल्दै छ भन्ने कुरा मुख्यतः मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसै गरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ । जस्तो-जाडोमा गाढा रङ्गको न्यानो पहिरन, गर्मीमा उज्यालो रङ्गको हल्का र खुला अनि वर्षामा रङ्गीन र वाटरप्रुफका पहिरनहरूको फेसन रहन्छ  । कतिपय फेसन ट्रेन्ड कहिल्यै पुरानो हुँदैन, जुन सदावहार चल्छ र जुनसुकै समयमा पनि लगाउन सकिन्छ । जसमा जिन्स र सारीलाई लिन सकिन्छ । जिन्समा पनि कतिपय ट्रेन्ड निश्चित समयसम्म चल्छ र हराउँछ ।

यस पटकको विन्टर फेसनमा मरुण, रातो र खैरो रङ्गहरूको बोलवाला रहनेछ । कालोको सट्टा खैरो रङ्ग बढी चल्तीमा आउँदै छ । लामो कुर्ता हट्दै पहिले दुई दशकअघि फेसनमा रहेको छोटो कुर्ता र धोती-सुरुवालको फेसन भित्रिँदै छ । यो ट्रेन्डले पनि फेसनमा आइरहेको परम्परागत र आधुनिकताको कम्बिनेसनका रूपमा 
हेर्ने सकिन्छ ।

साथै, परिवारभरि म्याचिङ कपडाको फेसन एक समय निकै प्रचलित भए पनि अहिले कन्ट्रास कलरहरू फेसनमा छन् । अब परिवारका सदस्यहरूले आफूलाई मन पर्ने, एकअर्कासँग भिन्न तर पूरक देखिने रङ्गका लुगा लगाउन रुचाउँछन्, जसले उनीहरूको व्यक्तिगत स्टाइल र फेसनको रोजाइलाई थप उजागर गर्छ । यो परिवर्तन फेसनमा व्यक्तिको स्वतन्त्रता र सिर्जनशीलता बढ्दै गएको संकेत हो ।