फिटनेस कसरी गर्ने र फाइदा के–के छन् ?

निरज लामा – फिटनेस प्रशिक्षक तथा संचालक आभ्या क्लब, पोखरा

सामान्य अर्थमा फिटनेस भनेको सबै किसिमले स्वस्थ रहनु हो ।स्वस्थ रहन खानपानसँगै व्यायाममा ध्यान दिनुपर्छ । बढ्दो बिलासी जीवनका कारण मानिसको स्वास्थ्यमा देखा पर्दै गएका जोखिम र चुनौतीलाई कम गर्न तथा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पछिल्लो समय खासगरी शहरी क्षेत्रमा व्यायाम गर्ने प्रचलन बढ्दो छ ।

शरीरलाई स्वस्थ राख्न गरिने विभिन्न अभ्यास तथा व्यायामलाई चिनाउन ‘फिटनेस’ शब्द प्रचलनमा छ । फिटनेसले स्वस्थ जीवनशैली र आहार दुवैलाई महत्त्व दिएको हुन्छ ।

यदि तपाईं खेलकुद र आहारमार्फत आफ्नो स्वास्थ्यमा सुधार गर्न खोज्दै हुनुहुन्छ भने फिटनेस तपाईंका लागि एक आर्दश हो । फिटनेसको एउटा मात्र नभएर बहुआयामिक फाइदा छन् ।

दैनिक निरन्तर १ घण्टा व्यायाम गर्ने र स्वस्थ आहार सेवन गर्नाले शरीरमा आनन्द प्रदान गर्ने हर्मोनको विकास हुन्छ । स्वास्थ्य राम्रो हुन लगनशीलता र धैर्यता दुवै आवश्यक हुन्छ । जसका लागि उपयुक्त विधि हुनसक्छ, फिटनेसको अभ्यास ।

मानिसलाई विभिन्न रोगले आक्रमण गरिरहेको हुन्छ । यीमध्ये ५० भन्दा बढी रोगहरूको रोकथाम फिटनेसको मद्दतबाट गर्न सकिन्छ । फिटनेसलाई शारीरिक गतिविधिको अनुशासनको रूपमा पनि परिभाषित गर्ने गरिन्छ ।

जुन सौन्दर्यताको पक्षमा मात्र केन्द्रित नभई खेलको माध्यमबाट र दैनिक घरायसी गतिविधिबाट सुधार गर्न सकिन्छ । बोसो घटाउन, बढाउन र मांसपेशीहरू कसिलो पार्न फिटनेस सहयोगी सिद्ध हुँदै आएको छ ।
व्यायाम गर्न केही कुरा अपरिहार्य हुन्छन् । लगनशीलता, इच्छाशक्ति र धैर्यता त्यसमध्ये केही हुन् । व्यायामका लागि उपयुक्त योजना र निश्चित समय आवश्यक छ ।

फिटनेसका फाइदा

१। हृदय रोग अथवा मुटु रोगको जोखिम कम गर्छ ।

२। चोट पटकका कारण हुने जोखिम कम गर्छ ।

३। मांसपेशीको विकासमा बढावा दिई हड्डीलाई बचाउन विशेष मद्दत गर्छ । फलतः मानिस लड्दा हड्डी भाँचिने अथवा टुट्ने सम्भावना कम हुन्छ ।

४। शारीरिक सुधारको कारणले मात्र नभई खेलकुद र स्वस्थ आहारको अभ्यासले शरीरमा आनन्द महसुस हुने हर्मोनको विकास गर्दछ ।