‘ब्रान्डविरुद्ध ऐला’ संसारका पचास मीठा पेय पदार्थको सूचीमा  

काठमाडौं– देश संघीयताको अभ्यासमा गएसँगै स्थानीय स्रोेत–साधन पहुँच, परिचालन र व्यवस्थापनको सवालमा बहस र विमर्शहरु भइरहेका छन् । यसैभित्रका संस्कार र संस्कृतिबाट निर्माण भएको स्थानीय प्रविधिको सवालका विषय उठान भने खासै भएको पाइँदैन । 

स्थानीय प्रविधिलाई व्यवस्थित गर्नुभन्दा पनि यसको खारेजीमा लाग्नु स्थानीय जीवनशैलीको अवमूल्यन गर्नु त हुँदै हो, आर्थिक समृद्धितिरको यात्रामा छुटेको महत्त्वपूर्ण पाटो हो । पश्चिमा देशहरुले आफ्नो उत्पादनलाई ‘ब्रान्ड’ को नाम दिएर बहुराष्ट्रियकरण गर्दै विश्वका कुना कुना उत्पादन पुर्‍याइहँदा स्थानीय प्रविधिलाई बेवास्ता गर्नु बहुराष्ट्रिय उत्पादनको उत्थान गर्नु नै हो । 

एकातिर प्रशासनले स्थानीय प्रविधिबाट उत्पादित रक्सीजन्य पेयपदार्थ खाल्डोमा हाल्ने कार्य गर्दै आएको छ । अर्कातिर अन्तर्राष्ट्रिय ब्रान्डको उत्थानका लागि तय भएका अन्तर्राष्ट्रिय ुबियर दिवसु मनाउने चलन बढ्दै गएको छ । यसै सन्दर्भमा स्थानीय प्रविधिबाट उत्पादन हुने  नेवारी समुदायको संस्कृतिजन्य पेय पदार्थ  ुऐला’बारे चर्चा गरिएको छ । 

ऐला सेवनको परम्परा कहिलेबाट सुरु भयो, यसको यकिन प्रमाण पाइएको छैन । तर, नेवारी समुदायमा परापूर्व कालदेखि नै ऐला प्रचलन रहेको धेरै प्रमाण भेटिएका छन् । नेवारी संस्कृतिअनुसार पञ्च ‘म’कारको संस्कारमध्ये मदिरा, मांस–मासु, मीन–माछा, मुद्रा–बारा र मैथुन–अण्डा पञ्चतत्त्वलाई सगुन भनिन्छ । सगुनलाई काम, क्रोध, लोभ, मोह र अहंकारको प्रतीकका रूपमा लिइन्छ । यी पाँच तत्त्वलाई वशमा राख्ने व्यक्तिले संसार जित्ने भनाइ प्रचलित छ । अर्थात्, जसले इन्द्रियलाई आफ्नो वशमा पार्छ, त्यसले संसार जित्छ भन्ने मूल सन्देश प्रवाह गर्न सगुन प्रचलनमा ल्याइएको हो । 

नेवारी समुदायमा जन्मदिन, पास्नी, बेलविवाह, व्रतबन्ध, सूर्य दर्शन, जंकुलगायतका विशेष दिन तथा पर्वमा सगुन प्रयोग गरिन्छ । त्यस्तै, मृत्यु संस्कारका क्रममा  शव जलाएर घर फर्किंदा छोरीहरूका घरबाट ल्याइएको चिउरा, अदुवा, मिठाई, रोटी र ऐला खुवाउने चलन छ । 

हरेक वर्ष मनाइने देवाली पूजा अर्थात् कुलपूजा खुला ठाउँमा बसेर गरिन्छ ।  त्यतिबेला रोग एक अर्कामा नसरोस् भन्ने उद्देश्यले ऐला सेवन गर्ने चलन रहेको संस्कृतिविद् तेजेश्वरबावु ग्वंगःको भनाइ छ । 

ऐलामा औषधीय तत्त्व
ऐलामा कीटाणु नाश गर्ने तत्त्व हुन्छ, जसका कारण  श्वासप्रश्वास प्रक्रियाबाट कीटाणु सर्दैन । यसको वैज्ञानिक कारणसमेत भएको ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको भनाइ छ । 

‘चाडपर्वमा धेरै प्रकारका चिल्ला खाना खाइन्छ । ऐलाले चिल्लो काट्छ र जाडोमा शरीर न्यानो पनि बनाउँछ,’ जोशीले भने ।

ऐलामा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि निकै उपकारी हुने  मान्यता छ ।  ऐलालाई औषधीका रूपमा समेत प्रयोग गरिन्छ । जोर्नीहरू दुख्दा मसाज गर्न ऐला प्रयोग गरिन्छ । खानेकुरा अपच हुँदा प्राचन प्रणाली सहज बनाउन पनि यसलाई प्रयोग गरिन्छ । 

‘थोरै खाएमा ऐला औषधि हो, धेरै खाए हानि पुर्‍याउँछ,’ जोशीले भने । 

सिएनएन सूचीमा ऐला 
सिएनएनले संसारका पचास मीठा पेय पदार्थको सूची तयार गरेको छ, जसको  ४१औं स्थानमा ऐलालाई राखिएको छ । सिएनएनले ऐलाबारे लेखेको  छ, ‘कोदो वा चामलबाट बनाइने मदिराको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकै छिन पोल्छ, पछि अचम्मको आनन्द दिन्छ । मातिन्छ कसरी ऐला कार्बन, हाइड्रोजन र अक्सिजनको मिश्रणबाट बनेको हुन्छ । कार्बोहाइड्रेटयक्त खाद्यपदार्थ कुहिएपछि प्राकृतिक रूपमा अल्कोहोल अर्थात् मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफूललाई कुहाएर त्यसमा मर्चा ‘ यिस्ट नामक ब्याक्टेरिया’ हालेर जाँड बनाइन्छ । चिनीमा पाइने तत्त्व यस्ता पदार्थमा पाइन्छन् । सोही तत्त्व नै रासायनिक प्रतिक्रियाद्वारा मदिरा बन्छ । आमाशयलाई खाना पचाउन निकै समय लाग्छ तर मदिरा निकै छिटो सोस्ने गर्छ । मदिरा सेवन गर्नेबित्तिकै करिब २० प्रतिशत तुरुन्तै सानो आन्द्रामा पुगेर सोसिँदै रगतमा मिसिन्छ । तत्पश्चात् शरीरका सबै कोषकोषिकामा  प्रवाह हुन्छ । यसलाई हामी मदिरा लागेको वा मात्तिएको भन्छौं ।

ऐला बनाउने विधि 
चामल अथवा कोदोलाई एक रात भिजाउनुपर्छ ।  यसपछि ‘फोसी’ अर्थात् कसौँडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ । भिजाइएको चामलको पानी तर्काएर  पोटासीः ‘ ममः पकाउने जस्तै साना प्वाल भएको भाँडा’ मा बाफ दिएर चलाउँदै हलुकासँग पकाउनुपर्छ । पाक्न लागेपछि त्यसलाई निकालेर चिसो पानीमा भिजाउनुपर्छ । यो भातलाई पुनः बाफमा पकाउनुपर्छ । यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ । यसरी बफ्याएर पकाइएको भातलाई नेवारी भाषामा ‘हाःजा’ भनिन्छ । हाःजालाई चिसो बनाउन केही बेर फिँजाएर राख्नुपर्छ ।  

एक पाथी चामलको हाःजामा चार माना चिउरा र चार माना मनाः ‘ गहुँबाट बनाइएको मसला’ र आधा धार्नी सखर राखेर  पानीमा फिट्नुपर्छ । यसलाई गर्मीमा एक महिना र जाडोमा डेढ महिना जति राख्नुपर्छ  । हप्तामा दुईपटक यसलाई चलाउनुपर्छ । करिब डेढ महिनापछि पोकःमा मिसाउनुपर्छ । हाःजामा मर्चालाई धुलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ । यसरी सो मिश्रणलाई चार–पाँच दिन गुम्साएर राखेपछि पोकः तयार हुन्छ ।

करिब १० दिनपछि त्यो मिश्रणमाथि सफा पानी देखिन्छ । जसले  ऐला बनाउन तयार भएको संकेत गर्छ । त्यसलाई फोसी ९तामाको ठूलो भाँडा०मा राख्नुपर्छ । त्यसको माथि प्वाल भएको माटोको भाँडा र त्यसको  भित्र ऐला थाप्न एउटा भाँडो राखिन्छ । त्यसको माथिल्लो भागमा बाफलाई चिस्याउन चिसो पानीको एउटा भाँडो राखिन्छ । ती भाडाहरू राख्दा बाफ नचुहियोस् भनेर राम्ररी कपडाले बेर्नुपर्छ । यसरी ऐला लिनका लागि तयार पारिएको मिश्रणलाई उमाल्नुपर्छ । उमाल्दा निस्कने बाफलाई चिस्याएर ऐला बनाइन्छ । ऐला बनाउने विधि ठाउँ र समुदायअनुसार फरक हुन्छ ।

बाफलाई चिस्याउन पानी फेरिएको आधारमा ऐलालाई तीन पानी, चार पानी र पाँच पानी भन्ने चलन छ । जति कम पटक पानी फेरियो, त्यति राम्रो मानिन्छ ।

बाफलाई चिस्याउन पानी फेरिएको आधारमा ऐलालाई तीन पानी, चार पानी र पाँच पानी भन्ने चलन छ । जति कम पटक पानी फेरियो, त्यति राम्रो मानिन्छ । ‘ अन्टी मदिरा राख्ने भाँडो ’बाट ऐला राख्दा धेरै बेरसम्म ‘बबल्स’ देखिएमा त्यो ऐला राम्रो मानिन्छ ।