उनीहरू ब्याङ्गोर हुँदै गए । हामी फ्र्यान्सिस पर्किन्स सेन्टर हुँदै ।
पोर्टल्यान्डअघि नै कटिसकेको थियो । हाइवे २९५ छोडेर रुट १ लागेपछि गाउँ सुरु भयो । सुरुमा केही बाक्ला घरहरू भेटिए । त्यसपछि पातला बस्ती । जति पर गयो, दूर गाउँको जस्तो फाट्टफुट्ट घर मात्रै देखिए । कतैकतै स्याउबारी, लगत्तै घाँसे मैदान । बुकीजस्तै सेताम्मे फूलले छोपेको पहाडलाई धूपी र सल्लाका तीखा रुखहरूले छुट्यायो ।
हाइवे छोडेर गाउँको बाटो आएका भए शिव, सन्तोष र मनोजहरूले पनि मेनको यो गाउँले बनोट देख्न पाउने थिए । उनीहरू छिटो पुग्नेछन् वार हार्वरस, जहाँ हामी पाँच परिवार लेबर डेको लामो सप्ताहन्त बिदा सँगै मनाउँदै छौँ । खानेबस्ने ठाउँको बन्दोबस्त मिलाउँदै गर्लान् हामी पुग्दासम्म ।
छ्याङ्ग खुलेको आकाशबाट झरेको घामले कालोपत्रे सडकको लेन लाइन टलक्क टल्कियो । आँखै खायो ! खै मेरो गगल्स ? सल्ला र मेपलको बाक्लो जङ्गल हुँदै ओरालो झरेपछि आइपुग्यो पर्किन्स म्युजियम । राष्ट्रपति रुजबेल्टका श्रममन्त्री फ्र्यान्सिस पर्किन्स । सन् १९३० को आर्थिक मन्दीपछिको न्यू डिलब्रेक थु्रु गर्न मुख्य भूमिका खेलेकी पर्किन्स हुर्की बढेको घर । धमाधम रिनोभेट हुँदै रहेछ ।
यतिबेला मुकेश र मेरो परिवारबाहेक अरू भिजिटर्स देखिएनन् यहाँ । यति टाढाको म्युजियम हेर्न सायदै मान्छेहरू आउलान् ! काउन्टी काउन्टीमा भेटिन्छन् यस्ता सम्झन योग्य सङ्ग्रहालयहरू । समाजमा राम्रो योगदान दिएर बित्नेहरू बग्रेल्ती छन । र, सम्झना केन्द्रहरू पनि त्यत्तिकै । पुगेरै के साध्य हुन्छ र सबैमा ! जसलाई जे चासो छ त्यहीं पुगे भइगयो । उरलधुरल मान्छे झुम्मिनलाई त यो लाइटहाउस हैन, अरू मनोरञ्जनको विकल्प पनि छैन वरिपरि ! बार, बिङ्गो पनि हैन यो ।
अक्सर हामी आम मान्छेलाई रमाइलो मात्र मन पर्छ । इतिहासको साक्षी हेरेर रमाउने कति नै होऔँला र !
‘पर्किन्स सेक्रेटरी नभएको भए सामाजिक सुरक्षा कोष सुरु नै हुने थिएन,’ यो बाटो यात्रा गर्न डोर्याउने साथी मुकेशले पर्किन्स सेन्टर भ्रमणको प्रसङ्ग टुङ्ग्याए, ‘अथवा सोसल सेक्युरिटी सिस्टमको मोडल नै अर्कै हुन सक्थ्यो ।’
अमेरिकी गृहयुद्धअघि बनेको घरको भित्ताभरि झुन्डिएका फोटोहरू, म्याडम पर्किन्सका निजी सामानहरूको प्रदर्शनी हेरेपछि फेरि रुट १ कै बाटो लाग्यौँ हामी ।
यतिबेलासम्म घाम पश्चिमतिर पुगिसकेको छ । अगस्ट महिनाको अन्तिम दिन । बोस्टनभन्दा चिसो महसुस गर्दै छु । तातो ठाउँमा खाइखेली हुर्केको मलाई बोस्टन नै चिसो लाग्छ । त्यहाँबाट नि यति माथि आएपछि त मेन राज्य नै हामीलाई लेकजस्तो लाग्दो रैछ । पातलो देख्छु घाम । खिरिला जङ्गल । फाट्टफुट्ट घरहरू । निकै उत्तरतिर हिँडेजस्तो ।
तोरीजस्तै पहेँलै फुलेको पाखा हुँदै हामी बार हार्वरतिर लाग्यौँ । तर्पायँ परेको पाखोको पुछारतिर, परबाट हेर्दा किरिमिरि धर्को जस्तो देखिने कालोपत्रे सडकभरि सम्झिरह्यौँ— त्यो बेला औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरूको अभियान्ता पर्किन्सलाई, उनले सुरु गरेको सोसल सेक्युरिटी-सामाजिक सुरक्षा कोषलाई, जसको फाइदा आज लाखौँले लिएका छन् र उमेरले नेटो काटेको दिन आफैँले त्यो सुविधा उपभोग गर्नुपर्ने क्षणलाई ।
मेनको गाउँ हेर्दै जाने रहर बोक्दा गन्तव्य पुग्न अझै १ सय माइलभन्दा बढी कुद्नै बाँकी छ । शिव र सन्तोष ४५ माइलजति बाँकी छ अब भन्थे । मनोज कतै बाटोमै अलमलियो । छोरीलाई आइसक्रिम किन्दै होला । कि भर्खर किनेको ह्वाइट लेक्समा पेट्रोल भर्दै । यता गाउँको बाटो ड्राइभ गर्ने हामी, अघि भर्खरसम्म मुकेशको कार रियर भ्यू मिररमा देख्दै थेँ । मेरो स्पिड अलिक बढेछ । गुराँसका पोथ्राहरूको छेल पर्यो, अब देख्न छोडेँ । र पनि पाखाहरूको घुमाउरो बाटोमा, उकालोमा, भिरालोमा रहरजस्तै हामी कुदिरह्यौँ ।
रहरै त हो, मान्छेलाई दिने अनेक अनुभूतिको सुरुवात ! कतिको बाध्यता, कतिको रहरले यो नयाँ भूगोलमा घरबारको खाका कोरिँदै गरेको । अनुभूतिहरूको नौलो संसार भरिँदै गरेको । हिजो कुन रनवनमा गीत गाउँदै, गाई चराउँदै हिँडियो । आज यो सागर किनारको लहर हेर्दै उद्वेलित बन्न परेको ।
तीजको रौनक भर्खर सुरु हुँदै थियो यो वर्षको । विष्णु माझीको पुरानै गीत घन्किँदै थियो स्टेजमा, ‘चरी जेलैमा’ । ‘आइनँ आमा यो तीजमा’ आएकै थिएन । ती अलप गायिकाको अब्बल गीत नसुनी तीज आएजस्तो लाग्दैन कतिलाई । खास तीजभन्दा महिनौँ अघिदेखि सुरु हुन्छ जमघट, पार्टी र रामरमाइलो । देखाउन मन लाग्नेलाई मौका हुन्छ तीज । नाच्न जान्नेलाई सोख हुन्छ तीज । हामीजस्तालाई पनि खासा नै हुन्छ तीज । कोको साथीहरूसँग भेट हुन्छ । नयाँ आइपुगेकाहरूसँग चिनजान हुन्छ । उनीहरूको आँखामा हतास र जिज्ञासु प्रश्न देख्न पाइन्छ । पुरानुहरूसँग परिचय दोहोरिन्छ । उनीहरूको गम्क्याइँ देख्न पाइन्छ ।
त्यस्तै बेलातिर होला लेबर डेको सप्ताहन्तको यो यात्रा योजना बनेको । अरू बेला पनि हुन सक्छ । भेटघाट हुँदा अब कता जाने, कुरा भइरहन्छ । नेपाली मन्दिरमा ध्यानीहरूसँग बस्दा पो हो कि ! जे होस्, कुनै पनि बेला एक्कासि यात्राको योजना बन्न सक्छ । योजान बनेपछि पूरा गरेर छाड्ने रहर हुन्छ ।
सोच्नुहोला घुमेरै दिन बिताउँछन् कि क्या हो यिनीहरू ? त्यस्तो मात्र पनि हैन । भाँडा माझेरै सकिन्छन् क्या हो ? त्यो पनि हैन । झुप्रामै बसेर खिइन्छन् कि कसो ? त्यो त झनै हैन ।
कति ठूलो छ ठाउँ, जसले जे देख्यो त्यही सही हो लाग्छ उसलाई । जसले जसरी जे भोग्यो, सत्य त्यति हो लाग्छ ।
हरकिसिममा, हरपेसामा भेट्नुहुनेछ मान्छेहरूलाई यता । जसलाई जे मन लाग्छ, जति भ्याउँछ, जे जान्दछ, जति गर्न सक्छ त्यो पूरा गर्न छुट छ । त्यसो गर्ने वा नगर्ने, व्यक्तिको छनोट । विकल्पका बाटाहरू धेरै छन, चौरस्ताजस्तै ! कुन बाटो लाग्ने, यात्रीको रोजाइ ।
एउटै बाटो कुनै मोडमा भेटिन्छ, कुनै मोडमा फाटिन्छ । दोबाटोको अर्थ आ-आफ्नो बाटो लाग्नु मात्र हैन । भेटिनु पनि हो । बाटो जब फाटिन्छ, बटुवाहरूलाई आस हुन्छ फेरि भेटिने ।
हामी साँझ नहुँदै पुग्यौँ । ब्याङ्गोर हुँदै गएकाहरू दिउँसै पुगिसकेछन । बार हार्वरभन्दा पूर्वको टापु रहेछ हामीले एअर वी एन्ड बी गरेको घर । प्रस्पेक्ट हार्वरमा पार्क गरिएका डुङ्गाहरूमा ठोक्किएको साँझको घाम घरको बार्दलीबाट देखियो । भित्र छिरेको समुद्री छालको पाश्र्वधुनसँगै साथीहरूले किनारमा बार्बेक्यु सुरु गरे । म्यारिनेटेड कुखुराको बोसो डढेको गन्ध हावामा रङमगियो । छेउको फायरपिटमा आगो बल्यो । शिवले आफ्नै पारामा ककटेल बनाए । थोरै भड्का, अलिकति आँपको जुस, कागतिको रस अनि अरू केके जाति मिसाए । र नाम दिए उर्वसी उमङ्ग ! गुलियो स्वाद घाँटीमुनि छिर्यो । झड्का टाउकोमाथि ।
घाम डुबेपछिको पहेँलो आकाशको परावर्तन एटलान्टिक किनारको छालमा हेर्दै हामी रोमाञ्चित हुन थाल्यौँ ।
केटाकेटीहरू आगोमा मार्समेलो पोल्न थाले । ग्राम क्र्याकरमा पोलेको मार्समेलो स्यान्डविच पारेर केटाकेटीहरूले खाँदा पाकाहरूको पनि मुख रसायो । गुलियोको मिठास जो छ । कसलाई मन पर्दैन गुलियो र चिल्लो !
लामो गर्मी बिदापछि स्कुलको नयाँ सत्र बल्ल सुरु भो । लेबर डेपछि चल्नेछ क्लासको खास गति चैँ । उनीहरूको क्लाससँगै फेरिन्छ बाउआमाको दैनिकी । बिहानै आइपुग्छन् पहेँला बसहरू केटाकेटी टिप्न । एकछिन ढिला गरे अफिस जानेहरूको गाडी चोकचोकमा जाम पर्नेछ, केटाकेटी उठाउने बस ठाउँठाउँमा रोकिएर । सबेरै उठ्नु, नानीहरूलाई स्कुल जान तयार पार्नु, आफ्नो कामका लागि ठीक पर्नु । भ्याइ नभ्याइ हुन्छ दैनिकी । छोराछोरीको स्कुल चल्न थालेपछि मर्निङ वाक धिपधिपे उज्यालोमै सक्नुपर्छ । दिउँसो त समय भए पो ! जिमस बल गरेर मिनेट मिनेट हिसाब गरे भ्याइन्छ, नत्र भन्न सकिन्न । सधैँ अभाव हुन्छ समयको । अरू पुग-नपुग ठीकै हुन्छ । कताकताको काम आइपर्छ । कतारको भन्दा पक्कै बेग्लै हो काम । तर कम हैन !
खै कति दिन्छ तातो मार्समेलोले तागत नानीहरूलाई । बेस्सरी रमाउँदै छन् उनीहरू । साना नानीहरू गुलियो वरिपरि झुम्मिँदै छन् अझै । अलि हुर्केका केटाकेटीहरू भित्र टिभीको रिमोटसँग छन् । बिदाभरि सँगालेर राखेको तागतले बल दिनेछ यिनीहरूलाई बाँकी वर्षभरिको क्लास पूरा गर्न । केही हप्तापछि नै सुरु हुने पहेँला पातहरूको फल सिजन झेल्न । अनि घुँडाघुँडा आउने बुटले हिउँदको गहिरो हिउँ कुल्चेर स्कुलसम्म पुग्न !
बिदा, काम, बिदा अनि फेरी काम— नियमितता हो । स्कुलको होमवर्क सक्न होस् या स्टोरको चापले कर्पोरेटको जागिर भ्याउन होस् या उबरको ड्राइभ, इनर्जी चाहिन्छ आफ्नो भागको काम पूरा गर्न । बिदा, होलिडे सेलेब्रेसन, चाडबाड र जमघटले इनर्जी दिन्छ । गजबको छ यो साइकल । यसरी चलेको छ समाज । र, यसैमा सामेल छौँ, ग्रहण गर्दै छौँ हामी ।
कुखुराको खुट्टो तयार भो । बोसो भरिएको पखेटा झनै स्वादिलो । उमङ्ग, उर्वशीले मन उहिल्यै रोमाञ्चित पारेकै थियो । भोजन थपियो त्यसमा । सन्तोषले गु्रप फोटो पोस्ट गरिसकेछ अघि नै, सप्ताहन्त यसरी सुरु भो, क्याप्सनसहित । फोटोमा सबैको हातमा ग्लास छ, टेबलमा प्लेटभरि स्न्याक्स । यतैतिर रमाइलो भएपछि लाइक र कमेन्टको बालै भएन ।
‘मुकाम रणमैदानले पाएछ नि यो वर्षको मदन पुरस्कार’, मनोजले अपडेट दिए ।
‘मोहन मैनाली दामी पत्रकार त यसै हुन्, लेखक पनि’, सन्तोषले थपे ।
‘कस्तो किताब हो ?’, मुकेश जिज्ञासु देखिए ।
सयौँ वर्षअघि नेपाल विस्तारित हुँदा लडाइँमा होमिएका जवानहरूको पत्र र अरू ऐतिहासिक दस्ताबेज सँगालिएको यो किताब पक्कै रोचक होला । पढ्न पाएका छैनौँ । छिट्टै यता आउने कोही रहेछन् भने मगाउन हुन्थ्यो !
भोलिको मौसम कस्तो छ ? कसैले चेक गर्यो । पूरै दिन घाम र बादल । यात्रा त्यति रमाइलो नहोला कि ! बादल लाग्यो भने पानी पर्न सक्छ । बादलले छोपिदिन सक्छ, हामी जे हेर्न आएको त्यसको सुन्दरतालाई । फोटोहरूमा देखिएजति ब्युटिफुल नदेखिन सक्छ । वा त्योभन्दा झन् सुन्दर देखिन पनि सक्छ । सबैभन्दा धेरै अमेरिकीहरूले भ्रमण गर्नेमध्येको बार हार्वर पुग्न हामी उत्साहित छौँ । पर्यटकलाई सूचना दिने वेबसाइटहरूले बिदा मनाउन हजारौँ गाडी, यता गाडीको भीड लाग्न सक्छ भनेको छ । लामो सप्ताहन्तको बेला हजारौँ यता आइपुग्लान् । अरू लाखौँ अन्त जालान्, सिजन र समयअनुसार कति छन् घुम्ने ठाउँ, रमाउने तरिका । गच्छेअनुसार छान्न सक्नुहुन्छ । अनि लाखौँ, कतै जानै नसक्ने पनि होलान् !
जे त होला । बिहानै वार हार्वरको सार्वजनिक बस समात्ने । बसले जताजता पुर्याउँछ त्यतै घुम्ने । यस्तो योजना बन्छ एकैछिनमा । यो देशको सबैभन्दा धेरै पर्यटक घुम्नेमध्येको एउटा केन्द्र, ग्रीष्मकालीन बिदा मनाउने ठाउँ । गर्मीयामको अन्ततिर आइपुगेका छौँ हामी पनि ।
चुनाव आउँदै छ । ‘फर्किनेबित्तिकै म्यासाचुसेट्स प्राइमरीमा भोट हाल्नु छ’, शिवले सुनाए । त्यसपछि नोभेम्बरमा राष्ट्रपति चुनावको रन्को आउनै बाँकी छ । रमाइलो राति ढिलासम्म चल्छ । गफको कुनै कमी हुँदैन । कमला ह्यरिस, बाईडेनको बुढ्यौली, ट्रम्पको मोजमस्ती, हप्तैजस्तो भइरहने गन भायोलेन्स (गोली काण्ड, बैंकको ब्याजदर, घरजग्गाको भाउ, इजरायलको युद्ध, जागिरको अपडेट (ब्याक टु अफिस) । अब घरबाट कम, अफिसमै पुगेर काम गर्नुपर्ने दिनहरू फेरि आए ।
हामी सोच्छौँ, कति स्वतन्त्र छौँ । हामीलाई पत्तै हुन्न कर्पोरेट कति हाबी छ हाम्रो दैनिकी र व्यवहारमा । तिनले चाहे जति बेला तगारो लगाउन सक्छ । नत्थी वा केही त्यस्तो चिज छ कर्पोरेट कामदारहरूलाई बाँधिराख्ने । र, डोरी तिनीहरूको हातमा । जता मन लाग्यो, जसरी मन लाग्यो त्यतै त्यसरी नै घुमाउन सक्छन् । गफ ज्यादा चलेपछि तास खेल्न परेन ।
भोलि, हार्वर भ्यू हेर्नै बाँकी छ । अर्को जमघटको प्लान आजै बनिसक्यो । दसैँको खसी, पक्कु र भेटघाट । क्रुज यात्रा, नभए पोर्टारिको या क्यारेबियन टापुतिरको भ्रमण । दसैँ आउँदासम्म जाडोले छोपिसकेको हुनेछ बोस्टनलाई । घरभित्रै मनाउनुपर्ने हुन्छ चाड । हाम्रो दसैँ, यिनीहरूको हैन । सार्वजनिक बिदा हुन्न । अफिसमा पहिल्यै बिदा लिइसक्नुपर्छ । शनिबार या आइतबार टीका परेन भने केटाकेटी स्कुलबाट फर्किन्छन, अनि मात्र टीकाटालो हुन्छ । जमरा, नेपाली मन्दिरबाट आइपुग्छ । कानको पछाडि फर्किएको पहेँलो जमरा, निधारमा रातो टीका परेपछि केटाकेटीहरू अनौठो मान्छन् । तिहार र फागु अलि विशेष लाग्छ, उनीहरूलाई । सायद रङ्गहरूले रौनक थिपिदिन्छ ।
भोलि हुनेछ, उज्यालो घाम उदाउनेछ । क्षितिज पर घाम देखिनुअघि नै सागरमाथि रातो लाली छरिनेछ । आजै, यतिखेरै रङ्गिएका छौँ, हामी नयाँ ठाउँ देख्ने मोहले !
बोस्टन, अमेरिका