‘मलाई मेरै भगवानले रेटी रेटी हँसायो’

जीवनमा सम्झिनुपर्ने र स्मृतिमा आइराख्ने अरू पनि धेरै दिन छन्। सुख/दुःख, हाँसो/रोदन, उत्साह÷वेदना यी हामी सबैले कुनै न कुनै कालखण्डमा बेहोरेकै हुन्छौँ ।

यतिबेला मलाई निकट विगतको त्यो एक दिन स्मरण भइरहेको छ। जेठ १०, २०८१ : मैले र हरिवंश आचार्यले बेहारेको त्यो एक दिनको कथा सुखद छैन । खासमा त्यो एक दिनमा जे भयो, त्यसले हामी दुईलाई साताभरि वेचैन र दिक्दार बनायो । लामो कलाजीवनमा त्यो स्तरको तिक्तता र नैराश्य हामीले यसअघि खेपेका थिएनौँ ।

सन्दर्भ हो, कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण। नागरिकतासम्बन्धी विवादमा सिरोहिया पक्राउ परेको भोलिपल्ट जेठ १० गते हामी कुपन्डोलको ब्रिक्स क्याफेमा एउटा मिटिङमा थियौँ । अस्ट्रेलियामा आयोजना हुने कार्यक्रम र त्यसको तयारीका बारेमा हाम्रो मिटिङ केन्द्रित थियो । त्यसै दिन क्याफेमा सिरोहियाको पक्राउबारे पत्रकारहरूको पनि छलफल हुँदै रहेछ ।

सिरोहिया पक्राउको विषयले राष्ट्रिय तरङ्ग ल्याएको थियो। यसमा अनेक थरी टीकाटिप्पणी भइरहेका थिए । कान्तिपुर टेलिभिजनका पत्रकारहरूले क्याफेमा म र हरिवंशलाई देखेपछि सिरोहिया पक्राउका विषयमा केही बोलिदिन आग्रह गरे । के बोल्ने, म अकमकाइरहेको थिएँ । केही बोलिदिनुस् भनेर करै गरेपछि बोल्न बाध्य भइयो ।

सिनेमाको प्रिमियरबाट बाहिर निस्कँदा क्यामराहरू तेर्सिंदा त्यसबारे नकारात्मक टीकाटिप्पणी कमै गरिन्छ । पत्रकारहरू सिनेमा कस्तो लाग्यो भनेर सोध्छन् । कतिपय फिल्म मन नपरेको, पटक्कै चित्त नबुझेको पनि हुन सक्छ, तर पनि हामी एकदम राम्रो भनिदिन्छौँ । पुस्तक विमोचन वा अरू त्यस्तै आयोजनाहरूमा सकारात्मक टिप्पणी गर्ने एउटा
‘फरम्याट’ नै बसेको छ।

अनि फेरि ७५ लागिसकेको मलाई खासै कसैको विपक्षमा बोल्न मन पनि लाग्दैन । सबैको राम्रो होस् भन्ने लाग्छ । त्यो दिन खासमा हामी कसैको पक्षमा लागेर बोलेका थिएनौँ । रवि लामिछानेको अथवा कैलाश सिरोहियाको कसैको पक्षमा पनि थिएनौँ । खासमा त्यो परिवेश यस्तो थियो, टिप्पणी गर्नुप¥यो । तर, त्यो टिप्पणीमा जेजस्ता प्रतिक्रिया जन्मिए, त्यसले हामीलाई स्तब्ध नै पा¥यो । लामो कलायात्रामा कुनै वादविवाद नगरी, विवादमा नफसी बडो ‘स्मुथ’ बढिरहेका हामीलाई त्यो दिनले छाँगाबाट खसालेजस्तो भयो । हाइवेमा गुडिरहेको गाडीमा ध्याच्च ब्रेक लाग्दा निन्द्राबाट ब्युझिँदा कहाँ पुगियो, कहाँ पुगियो भएजस्तै भयो, त्यस दिन । त्यो दिनपछिका अरू केही दिन हामी दुवै निकै डिस्टर्ब भयौँ ।

वर्षौंदेखि हामी कलाकारिता, सङ्गीत र हास्यव्यङ्ग्यमार्फत समाजका विकृति, कुरीतिविरुद्ध आवाज उठाउँदै आएका छौँ । हामीलाई दर्शक–श्रोताले धेरै माया गर्नुभएको छ । तर, एउटा सानो टिप्पणीपछि जेजस्ता नकारात्मक प्रतिक्रिया आए, टाउको नै रन्थनियो । तथापि हामी कसैसँग रिसाएका छैनौँ । चित्तचाहिँ साह्रै फाटेको छ ।

केही दिनमै सिड्नीमा हाम्रो कार्यक्रम हुँदै थियो। ९९ सय वर्ष पुरानो त्यो हलमा पहिलो पटक कुनै नेपालीको कार्यक्रम हुन लागेको थियो । आयोजकहरू भन्दै थिए, ५ घण्टाको ९० लाख हल भाँडा तिरेर कार्यक्रम गर्न लागेको हो । हाम्रो टिप्पणीले जन्माएको नकारात्मक प्रतिक्रियाले कार्यक्रम प्रभावित हुने छनक देखियो । आयोजकहरू गुनासो गर्दै थिए, टिकट बिकेको छैन, बिक्री भएको पनि फिर्ता
आयो रे!

त्यसपछि हामीले सल्लाह गरेर माफी मागेका हौँ। हामीले भन्यौँ, अदालतमा विचाराधीन भएको विषयमा हामीले बोल्नु हुन्नथ्यो । त्यसका लागि क्षमा चाहन्छौं । माफी मागेको विषय पनि ठूलै समाचार बन्यो । त्यतिबेला मलाई ‘हामी त ठूलो मान्छे पो हो कि क्या हो’ जस्तो लाग्यो । संसारभर महजोडीले माफी मागे भनेर फैलियो । यद्यपि, यसलाई हामीले सकारात्मक रूपमै ग्रहण ग¥यौँ । ठान्यौँ, बेलाबखत जीवनमा उतारचढाव आउनुपर्छ ।

खासमा हरि र म दुवै दुखी थियौँ। तर, हरि मलाई सम्झाउँथ्यो, ‘दाइ, यस्तो सबैलाई हुन्छ, धेरै दुःखी नहुुनुस् । महादेवलाई त दशा लागेर पातालमा गएर लुक्नुप¥यो भने हामी त लुक्नुपरेको छैन नि । हामीले कुनै अपराध नै त गरेको होइन नि ।’

यस्तै तर्कवितर्क उठिरहे मनभरि। मानिसहरूले हामीले विगतमा गरेका कर्म र योगदान कति सहजै बिर्सिए है भनेजस्तो लाग्यो । प्रजातन्त्रको लडाइँमा हामी पनि त संघर्षको मैदानमै थियौँ । मान्छेहरू बोल्ने आँट नगर्दा हामी कालोपट्टी बाँधेर सडकमा उत्रिएकै हौँ । माओवादीको विद्रोहका बेला पनि ज्यादतीविरुद्ध बोल्ने आँट गरेका थियौँ । जनआन्दोलनका घाइतेहरूको उपचारका लागि कोष बनाउने अगुवाइ गरियो । तर, सामाजिक सञ्जालमा हामीमाथि बर्सेको गाली देखेर ती दिनहरूमा हामीले निर्वाह गरेको योगदानको अवमूल्यन भएजस्तो लाग्यो । हामी दर्शकलाई भगवान्कै दर्जामा राख्छौँ । यो प्रकरणले लाग्यो, मुख छोड्ने भगवान् पनि हुँदो रहेछ ।

तर, हामीभित्र छाएको यो निराशाको आयु धेरै लामो रहेन। जब सिड्नीको स्टेजमा उक्लियौँ, राजदूतदेखि आम दर्शकले ‘स्ट्यान्डिङ ओभेसन’ दिए । नेपालमा गाली खाँदा मुटुमा ढुंगा लागिरहेजस्तो पीडा भइरहेको थियो, त्यहाँ आकाशबाट पुष्पवृष्टि भएझैँ अनुभव भयो । अनि लाग्यो, गाली गर्ने थोरै रहेछन् । र, हामीलाई नचिन्नेले मात्रै गाली गरेछन् भन्ने लाग्यो । सिड्नीमा पाएको माया र सम्मानले त्यो पीडा भुलियो ।

तर पनि जीवनका निकै थोरै तिक्ततापूर्ण दिनहरू सम्झँदा, हामी दुवै स्तब्ध भएको त्यो दिन स्मरण हुन्छ । जमानामा के कुराले हो, साह्रै चित्त दुख्दा एउटा कविता लेखेको थिएँ । त्यो दिन त्यो कविताको साह्रै याद आयो । डायरी पल्याएर हेरेँ । र, आफ्नै सिर्जना फेरि पढेँ । जुन यस्तो थियो ः

मलाई चाहिँ जिन्दगीले
कति–कति हँसायो
कहिले आशा बर्साएर हँसायो
कहिले धोका तर्साएर हँसायो

यी वनपाखा, पर्वत, खोला, नाला
केही पत्तो थिएन म जन्मिँदा
को मानव, को दानव चिनेको थिएन

सबै प्यारो लाग्छ मलाई त
मलाई त मैरै विश्वासले गिज्याई–गिज्याई हँसायो
पहिले मान्छे नचिनाई हँसायो
अहिले दुनियाँ चिनाई हँसायो
सुनेको थिएँ, धेरै खुसी मिल्छ
अरूका लागि केही दिँदा
बदनामी पाएँ, बर्बादी पाएँ
दुनियालाई जीवन दिँदा

विधाताले पनि आँखा चिम्लिदिन्छन्,
निर्दाेष बलिको बोका रुँदा
मलाई त मेरै भगवान्ले
रेटी–रेटी हँसायो

पहिले जन्म दिई हँसायो
अहिले जलन दिई हँसायो
मलाई मेरो जिन्दगीले
किसिम–किसिमले हँसायो

जलन, पीडा, हाँसो साँच्चै जीवनमा अटुट सङ्गमहरू रहेछन्। त्यो दिन आज स्मृतिमा आए पनि, हामीमाथि अन्याय भएको भए पनि त्यो हाम्रा लागि एउटा नभुल्ने पाठ बनेको छ । माफी माग्न अथवा दिन पनि साहस चाहिन्छ ।

र, त्यो साहस हामीले देखायौँ भन्ने लाग्छ।