यश कुमारको पहिचान संगीतलाई समाजसँग जोड्ने गायक तथा संगीतकारको रुपमा छ । कहिले जातीय असमानता, कहिले सडक व्यापारी त कहिले मानसिक स्वास्थ्यको मुद्दा ।
उनको पछिल्लो सांगीतिक फिल्म ‘हिरो’ले मानसिक स्वास्थ्यबारे सन्देश दिन्छ । १० मिनेट लामो यो म्युजिकल फिल्ममा आत्महत्या दुरुत्साहनदेखि जातीय असमानताको कथावस्तु समेटिएको छ । उनको यो गीत विशेषतः प्रेममा निराश भएर मृत्युको बाटो रोज्ने युवापुस्तालाई दिइएको सन्देशमा केन्द्रित छ ।
यो म्युजिकल फिल्म त्रिकोणात्मक प्रेममा आधारित छ । एक सूचीकार युवक कथित उपल्लो जातको युवतीलाई मन पराउँछ । तर, ती युवती अर्कै युवकसँगको प्रेममा छिन् । एक घटनापछि उक्त युवक र युवती निकट हुन्छन् ।
कथा अघि बढ्दै जाँदा ती युवती र प्रेमीबीच प्याचअप हुन्छ । प्रेममा धोका पाएपछि ती सूचीकार युवकले आत्महत्याको बाटो रोज्छन् । सोही क्रममा न्यारेटरको रुपमा देखिएका यशकुमारले युवकलाई त्यस्तो नगर्न र आफूलाई प्रेम गर्न सम्झाउँछन् । ती युवकमार्फत यशकुमारले प्रेममा धोका खाने, परिक्षामा फेल हुने र ऋण लाग्ने युवकलाई आत्महत्याको बाटो नरोज्न गीतमार्फत सन्देश दिएका छन् ।
गीतको शब्द, संगीत र गायन यशकै छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गरिमा शर्मा, दीपेन्द्र सोनाम, रोजेन सुन्दास कलाकारको रुपमा छन् । बुधबार आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यशसँग निर्देशक खड्काको यो पाँचौ सहकार्य हो । पत्रकार सम्मेलनमा बोल्दै यशले पछिल्लो समय सानो कुरालाई लिएर आत्महत्याका मुद्दामा वृद्धि भएकाले आफूले यो मुद्दालाई उठान गरेको बताए ।
गीतमा हरि हुमागाईँको छायांकन, बिकास धमलाको सम्पादन छ । गायक यशकुमारले विहीबार नै आफ्नो २६ वर्ष पुरानो सुपरहिट गीत ‘हिजो अर्कैसँग देखँ’ बोलको गीतको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।