‘रोबोटिक सर्जरी’अन्नपूर्ण न्यूरो अस्पतालमा सुरु

काठमाडौंको माइतीघरस्थित अन्पूर्ण न्यूरो अस्पतालले रोबोटिक सर्जरी सुरु गरेको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले यसै साताबाट रोबोटिक सर्जरी ‘कम्प्लीट न्यूरो रोबोटिक सेट रेमबोट’ संचालन गरेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष एवम वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तले विश्वमा आएका नयाँ नयाँ प्रविधि नेपालमा पनि आउनुपर्छ र यहाँका बिरामीलाई पनि सो सेवा दिनुपर्छ भनेर अन्नपूर्ण अस्पतालमा रोबोटिक सर्जरी सुरु गरिएको बताए । उनले भने, ‘यो प्रविधिले अवस्य पनि बिरामीको निको हुने दर, अस्पताल बसाई , दुखाई र समग्र शल्यक्रिया अझ बढी सफल हुनेमा सहयोग सिद्ध हुन्छ । तर यसको मतलब हामी सबै यसमा निर्भर हुने होइन । उनले थपे, यो रोबोटिक सर्जरीमा सर्जनकै कमान्डमा रोबोटले कहाँ कहाँ सर्जरी गर्ने हो, सो टार्गेट अनुसार सजिलो बनाइदिने र पोइन्टआउट गरिदिने काम गर्छ ।’

अहिले भित्रिएको रोबोटमा डाक्टरले बनाएको योजना अनुसार रोबोटको सहायता लिएर शल्यक्रिया गर्ने गरिन्छ । न्यूरो उपचारमा अझ सहज होस भनेर अन्नपूर्ण न्यूरो अस्पतालले ८ करोडमा चाइनाबाट उक्त मेसिन खरिद गरेर ल्याएको हो ।

न्यूरो सर्जरीमा नयाँ र इनोभेटिभ काम गर्न रुचाउने डा पन्तले अस्पतालको फाइदा भन्दा पनि धेरै देशले प्रयोगमा ल्याएको प्रविधि हामीले किन नल्याउने भनेर ल्याएको समेत जिकीर गरे । डा पन्तले रोबोटले डाक्टरको कामलाई सजिलो र चुस्त दुरुस्त राख्ने हुँदा यसबाट आउने रिजल्ट पनि आगामी दिनमा अझ राम्रो हुनेमा विश्वस्त रहेको बताए । बिरामीलाई खर्च बढ्छ की भन्ने प्रश्नमा डा पन्तले अत्याधुनिक प्रविधि भित्रिंदा केही (२० प्रतिशत जति) खर्च बढ्ने देखिए पनि बिरामीलाई सजिलो र उच्चतम प्रविधिबाट उपचार गर्न पाउने अधिकार हेर्दा भने साह्रै मार पर्ने गरी खर्च नबढ्ने जिकीर गरे ।

कार्यक्रममा अस्पतालकी न्यूरो सर्जन डा रेशा श्रेष्ठले रोबोट आइसकेपछि ३ जना बिरामीको रोबोटिक सर्जरी गरिएको जानकारी दिइन । उनले रोबोरिक सर्जरी गर्दा समय कम लागेको तथा एकदमै सही स्थानमा रोबोटले पोइन्टआउट गरिदिएकाले शल्यक्रिया सजिलो भएको अनुभव सुनाइन । उनले पहिलो ब्रेन ट्युमरको, दोस्रो डिस्टोनिया बिरामी र तेस्रो छारे रोगको बिरामीमा रोबोटको सहायतामा शल्यक्रिया गरिएको बताइन । उनले तीनै जनाको शल्यक्रिया सफल र सहज भएको पनि जानकारी दिइन ।