वाह ! जिन्दगीको ‘नमुना अङ्क ओल्टाई-पल्टाई गरिरहँदा आदरणीय पाठक महानुभाव, तपाईं सोच्दै हुनुहोला: न्यू मिडियाको यत्रो जगजगी चलेका बेला छापा म्यागजिन ? कत्रो जोखिम उठाएको ?
सूचना/प्रविधिको बहुस्रोतहरूको उपलब्धता र बोलवाला बढेको यो समयमा तपाईंको दिलदिमागमा उठेको/उठ्न सक्ने यो प्रश्न स्वाभाविकै हो । यो प्रश्नले मलाई पनि हरदम पिछा गर्छ । मिडिया लगानीकर्ता र साथीभाइ सर्कलमा छापा म्यागजिनको भविष्यलाई लिएर संशयहरू गरिन्छन् । यी परिदृश्य जान्दाजान्दै म्यागजिन प्रकाशनको जोखिम उठाएका छौँ । यसको एकमात्र कारण हो, म्यागजिन पारखी पाठक ।
पाठकहरू बिस्तारै डिजिटल मिडियामा अभ्यस्त हुँदै गएकोमा शङ्का छैन । तर, कतिपय पाठक आज पनि छापा म्यागजिनको स्वादमा रमाउँछन् । कतिपय यस्ता स्थानहरू छन्, जहाँ पाठकले म्यागजिन पाउँदा त्यो पहिलो रोजाइ बन्छ ।
जस्तो, तपाईं लामो सडक यात्रा वा हवाई यात्रामा हुनुहुन्छ, तपाईंका अघि गुणस्तरीय सम्पादन, फोटोग्राफी, डिजाइनसहितको विशिष्ट सामग्री भएको म्यागजिन छ भने त्यसले तपाईंलाई आकर्षित नगर्ला ? तपाई सैलुनमा कपाल काट्ने पर्खाइमा हुनुहुन्छ, होटलको लबी वा रेस्टुरेन्टमा साथीलाई कुर्दै हुनुहुन्छ, त्यसबखत गतिलो खुराक भएको म्यागजिन तपार्इंको साथी नबन्ला ? अवश्य बन्छ । न्यूज स्ट्यान्डबाट म्यागजिन उठाउने कुरामा सुस्तता आए पनि यसप्रतिको आकर्षण घटेको छैन ।
खासगरी आम मान्छेको दैनिक जीवनशैली, कला, सङ्गीत, फेसन, खेल आदि विषय समेटिएका म्यागजिनहरू अहिले पनि लोकप्रिय छन् । उच्च गुणस्तरको फोटोग्राफी, डिजाइन अनि सम्पादनसहितको विशिष्ट सामग्री पस्कन सक्दा म्यागजिनको आकर्षण जोगाउन सकिन्छ ।
तर, यसको भविष्यलाई सुरक्षित गर्न डिजिटल मिडियासँगको सह-अस्तित्वमा नबढी चाहिँ धरै छैन । आम मानिसको जीवनका हरेक पाटामा प्रविधिको अति प्रभाव छ । सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै र यसलाई अपनाउँदै बढ्नेबाहेकको विकल्प हामीसँग छैन । पेसा-व्यवसायहरू जीवन्त राख्न प्रविधिको विकासमा आफूलाई समाहित गर्नैपर्छ । मिडिया उद्योगले पनि न्यू मिडियालाई बाइपास गरेर बढ्ने अवस्था छैन । त्यसैले हामीले न्यू मिडिया र प्रिन्ट मिडिया दुवैको सह-अस्तित्व स्विकार्दै बढ्ने रणनीति लिएर डिजिटल र छापा म्यागजिनलाई सँगै लैजाने सोच बनाएका हौं ।
छापा संस्करणलाई प्रिमियम प्रोडक्ट बनाउने र डिजिटल भर्सनमार्फत धेरैभन्दा धेरै पाठकसँगको पहुँच स्थापित गर्ने लक्ष्य लिन सकिए छापा म्यागजिनलाई जीवन्त बनाइराख्न सकिनेछ । म्यागजिनहरू आफ्नो मूल्य र महत्व कायम राखिराख्न आफ्नै विशिष्ट बजार ९लष्अजभ mबचपभत० मा केन्द्रित छन् । हाम्रो रणनीति पनि ठीक यस्तो हुनुपर्छ, हुनेछ ।
सिङ्गो समाज क्रिया-प्रतिक्रियामा रमाउन थालेको छ । राजनीतिक वृत्तबाट मुद्दाहरू उठ्छन् । ती मुद्दामा विभिन्न तह र तप्काबाट क्रिया-प्रतिक्रिया हुन्छ । राजनीति, मिडिया, विद्वत्-वर्ग पूरै समाज त्यसमा तरङ्गित हुन्छ । मुद्दा सेलाउँछ । फेरि अर्को मुद्दा उठ्छ । जसै नयाँ मुद्दाले प्रवेश पाउँछ, समाज त्यसैका पछाडि दौडिन्छ । मिडियाले पनि विषय पाउँछ र ‘टिआरपी’को दौडमा होमिइहाल्छ । वाह ! जिन्दगीको छापा र डिजिटल दुवै भर्सन सुरु गर्दै गर्दा वाचाको ठूल्ठूला भारी बोक्दैनौं तर, एउटा अठोटचाहिँ गर्छौं, हामी टिआरपीको लिगलिगे दौडमा सामेल हुदैनौँ । निराशा, दिक्दारी र वेचैन समाजमा थोरै भए पनि सकारात्मक सोच निर्माणको सारथि बन्ने हाम्रो प्रयत्न रहनेछ ।
प्रयत्नको प्रारम्भ यो नमुना अङ्कबाटै गरेका छौँ । देशमा यतिबेला बस्ने नहुने अवस्था बन्यो भन्ने गलत भाष्य बनाउने होड छ । एयरपोर्टबाट युवा बाहिरिएका कथा भनिएको छ तर विदेशबाट फर्केर केही गर्न सकिन्छ भन्ने प्रयत्न गर्नेहरूको कथा ओझेलमा छ । हामी देशमै गर्न सकिन्छ भन्ने भाष्यलाई बलियो बनाउन चाहन्छौं ।
राजनीतिको बागडोर सम्हाल्नेहरूका अक्षमताका कारण समाजमा निराशा बढेको साँचो हो । तर, त्यो निराशा आशामा बदलिने परदेसिएर होइन, यहीँ केही गरेर हो । विदेशको सम्भावना छोडर स्वदेश फर्केर श्रम गरिरहेका केही युवतीको पौरख कथा पस्केर हामीले समाजमा व्याप्त केही हुन्न भन्ने भाष्य चिर्न खोजेका छौँ । यस्तो प्रयत्न हाम्रो रहिरहनेछ ।