सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आफैमा विशेष महत्वको महिना हो ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् ।
पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।
साउन महिनाका सोमबार बोलबम भन्दै भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो ।
बोलबम सुरु
कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै बोलबम मनाउने गरिन्छ । पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।
साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ । पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ । स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै भएको छैन ।