खुसी हुनका लागि ठूला-ठूला कुरा चाहिँदैन । साना-मसिना र भुरे-टाकुरे कुराहरूमा पनि खुसी हुन सकिन्छ । मोटाघाटा कुराहरूले मात्र खुसीको मुहान रसाउँदैन, दुब्ला-पातला कुराहरूमा पनि खुसी हुन सकिन्छ । बस, खुसी हुने तरिका जान्नुपर्यो, खुुसीको जह्रा खोतल्न जान्नुपर्यो ।
साना, मसिना, भुरा, दुब्ला एवं पातला कुराहरूमा कसरी खुसी हुने ? केही उदाहरण पस्किन चाहन्छु ।
१. यदि तपाईंको घरमा ‘डिस्पेन्सर’ फुट्यो भने चिन्ताको कुनै बात छैन । नयाँ ‘डिस्पेन्सर’ किन्नुस् । त्यस्तै ३-४ सयमा आइहाल्छ । ‘डिस्पेन्सर’ किनेको खुसीयालीमा आफ्ना निकटका ५-७ जना साथीलाई घरमा निम्त्याएर भव्य भोज खुवाउनुस् । भोजमा कति नै खर्च होला र ? त्यस्तै १०-१५ हजारजति त होला नि !
साथीभाइलाई केको अवसरमा भोज दिइएको हो भन्ने कुरा सुरुमा नखुलाउनुस् । जब भोज सुरु हुन्छ, भन्नुस्, ‘मैले आज नयाँ डिस्पेन्डर किनेँ, त्यही खुसीयालीमा तपाईंहरूलाई यो भोज दिएको हुँ ।’
२. सिरकमा खोल हाल्न जान्नु एक सामान्य र सानोतिनो कुरा हो । जब तपाईंले सिरकमा खोल हाल्न जान्नुहुन्छ, त्यसले अपार खुसी दिलाउँछ । किनभने यो निकै जटिल काम हो र ठूलो कला पनि ।
यदि तपाईंले सिरकमा खोल हाल्नुभयो भने त्यो खुसीयालीमा श्रीमतीसँग आफ्नो खुसी बाँडचुँड गर्दै भन्नुस्, ‘आज मैले सिरकमा खोल हाल्न जाने नि ! यो खुसीमा आज हामी रेस्टुरेन्टमा गएर खाऔँ ।’
३. कहिलेकाहीँ अरूलाई सामान्य ‘बोर’ तुल्याएर पनि खुसी हुन सकिन्छ । यदि तपाईं खसीको मासुको सौखिन हुनुहुन्छ भने मासु पसलमा जानुस् र मासु किन्नुस् । पहिले मासु-पसलेसित मासुको मोल सोध्नुस् र भन्नुस्, ‘साहुजी, मलाई एक पाउ खसीको मासु राखिदिनुस् त ।’
एक पाउ मासु किन्दा सबै ‘आइटम’ माग्नुस् । भन्नुस्, ‘मलाई ह्याकुला २० पर्सेन्ट, फिला २० पर्सेन्ट, कलेजो २० पर्सेन्ट, गर्दनको मासु २० पर्सेन्ट, बाँकी २० पर्सेन्ट हालिदिनुस् है ।’
अर्को पटक तपाईं त्यो मासु पसलमा जानुभयो भने तपाईंलाई देख्नासाथ साहुजीले लामो हाई काढ्न थाल्छन् । यो पनि सानोतिनो खुसी हुने तरिका हो ।
यस्ता थुप्रै साना-मसिना कुराहरूमा खुसी हुन सकिन्छ । बस, तपाईंमा साना-मसिना कुराप्रति खुसी हुने इच्छाशक्ति पलाउनुपर्यो । बस, इच्छाशक्ति ।