मुलायम र चम्किलो छाला नचाहने को होला र ? झन् अहिले त अनुहार र छालालाई स्वास्थ्य र सफा राख्न उपभोक्ताहरू अनेक खालका फेस क्रिमहरूको प्रयोग गरिरहेका भेटिन्छन् । अनुहार र छालाको केयर हुने भन्दै स्वदेशी-विदेशी अनेक ब्रान्डका छालासम्बन्धी उत्पादनहरूको भीड नै छ, बजारमा । सोसल मिडिया र डिजिटल प्लेटफर्महरूबाट पनि स्किन केयरसम्बन्धी प्रोडक्टहरूको बग्रेल्ती विज्ञापन र बजारीकरण भइरहेको देखिन्छ ।
सौन्दर्यप्रति बढेको सचेतता र आम उपभोक्ताको सुन्दर रहने चाहकै कारण एकपछि अर्को उत्पादनहरू बजारमा आएका हुन् । सौन्दर्य निखार्ने भनिएका स्किन केयर प्रोडक्टको लामो सूचीमा के प्रयोग गर्ने, के नगर्ने भन्ने विषयमा चाहिँ उपभोक्ताहरू अन्योलमा पर्ने गर्छन् । स्वस्थ र चम्किलो छालाका लागि प्रभावकारी सिद्ध भएको सामग्री कुन हो, त्यो खुट्याउन सक्नु उपभोक्ताका लागि ठूलै चुनौती भएको छ । हुन त स्वस्थ जीवनशैली अपनाउन सक्दा मानिसमा आत्मविश्वास बढ्छ । स्वास्थ्य खानपान, मिलाएर पानी पिउँदा, पर्याप्त निद्रा, व्यायाम आदिले पनि छालालाई स्वास्थ्य राख्न सघाउँछ । तर, सँगै हामीले बजारमा पाइने स्किन केयर प्रोडक्टको छनोट र सही तरिकाले प्रयोग गर्न सक्दा त्यसबाट थप लाभ लिन सकिन्छ ।
आज म विश्व बजारमै चलेका र नेपालमा पनि लोकप्रिय हुँदै गएका केही स्किन केयर प्रोडक्टबारे चर्चा गर्छु । नेपाली उपभोक्ताहरू सौन्दर्य निखार्न विश्व बजारमा रुचाइएका प्रोडक्टहरू नायसिनामाइड, रेटिनोल र हायलुरोनिक एसिडतर्फ आकर्षित छन् । आउनोस्, यी प्रोडक्टबारे जानौँ ।
नायसिनामाइड
यो एक प्रकारको भिटामिन बी थ्री हो । यसले छालाको चमक बढाउने, छालालाई उज्यालो बनाउने काम गर्छ, जसले अनुहारलाई चमकदार देखाउँछ । त्यसको साथमा छालाको रुखोपन, रातोपन र जलन कम गर्न मद्दत गर्छ । नायसिनामाइडले छालाको कोलेजन उत्पादनलाई प्रोत्साहित गर्छ, जसले चाउरी र फाइन लाइन्स कम गर्न मद्दत गर्छ । यसले छालामा रहेको अत्यधिक तेल उत्पादनलाई नियन्त्रण गर्ने भएकाले एक्नेको समस्या पनि घटाउँछ ।
रेटिनाल
यो भिटामिन ‘ए’ को एक रूप भएकाले बुढ्यौलीका लक्षणहरू रोक्नका लागि यो उत्कृष्ट मानिन्छ । छाला कडा र टाइट बन्छ र चाउरी तथा फाइन लाइन्सहरूलाई कम गर्छ । डार्क स्पट्स (काला धब्बाहरू), हाइपरपिग्मेन्टेशन र असमान छालाको रङलाई सुधार्न मद्दत गर्छ र छालालाई स्वास्थ्य र चमकदार देखाउँछ । रेटिनोलले छालाका छिद्रहरूलाई सफा राख्न मद्दत गर्छ, जसले एक्ने कम गर्न सक्छ र भविष्यमा एक्नेको समस्या कम हुन्छ । साथै, रेटिनोलले छालामा नयाँ कोषहरूको उत्पादन बढाउँछ, जसले मरेका कोषहरू हटाउन मद्दत गर्छ । अहिले सौन्दर्य बजारमा रेटिनोल पनि रुचाइएको छ । एजिङसँग सम्बन्धित छालाका विभिन्न समस्या, जस्तै छालाको पातलो र रुखोपनलाई रेटिनोल प्रयोगले सुधार्न सकिन्छ ।
हायलुरोनिक एसिड
धेरैले रुचाइएको स्किन केयर प्रडक्टमध्येको अर्को हो, हायलुरोनिक एसिड । यो छालालाई गहिरो हाइड्रेसन दिन सक्षम एक शक्तिशाली सामग्री हो । हायलुरोनिक एसिडले आफ्नो वजनको हजार गुणा पानी तान्न सक्छ, जसले छालालाई गहिरो रूपमा हाइड्रेट गर्छ र नरम तथा चम्किलो बनाउँछ । साथै, रुखोपन र खस्रोपनलाई पनि कम गर्छ । विशेष गरी आँखाको आसपास र ओठको चाउरीलाई सुधार्न मद्दत गर्छ । यसले छालामा जलन, रातोपन वा कुनै नकारात्मक असर नगर्ने भएकाले सामान्यतया सबैलाई उपयुक्त हुन्छ ।
सारमा, नेपालका उपभोक्ताहरू अब छालाका सामग्रीप्रति सचेत हुँदै गएका छन् । यी तीन सामग्रीले प्रभावकारी र व्यक्तिगत स्किन केयर रुटिनहरू बनाउन महत्वपूणर् भूमिका खेलिरहेका छन् । बुढ्यौलीका सíेतहरू वा हाइड्रेसनको समस्या जे भए पनि नायसिनामाइड, रेटिनोल र हायलुरोनिक एसिडले स्किन केयरका लागि उपयोगी प्रोडक्टको रूपमा भित्रिएको छ ।
लेखक सौन्दर्यविद् हुन् ।