स्यारोनको कोसाया

बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् । पछि उनले बेलायतबाट एकाउन्टिङ फाइनान्समा ब्याचलर डिग्री हासिल गरेर नेपाल फर्किन् । उनलाई चार्टर एकाउन्टमा रुचि थियो । त्यही कारण केही समय क्यापिटल मार्केटमा काम गरिन् । त्यहाँ काम गर्दागर्दै उनलाई आफैँ केही व्यवसाय गरौँ भन्ने लाग्यो ।

बच्चै बेलादेखि घरमा बस्दा आरामदायी पहिरन लगाउन रुचाउने स्यारोनलाई घरभित्र बस्दा लगाउने लुगा डिजाइन गर्ने रहर जाग्यो । कटन, रेमन कपडाहरू प्रयोग गरेर बच्चा र महिलाहरूका लागि सजिलो र आकर्षक ढङ्गले डिजाइन गरिएको ब्लुमी हार्ट ब्रान्डलाई बजारमा ल्याइन् । जहाँ डिजाइनर नाइट ड्रेसहरू पाइन्थ्यो । ‘ब्लुमी हर्ट’ ब्रान्डअन्तर्गत उनी पाइजामा सेट, नाइट ड्रेसहरु लगायतका लुगा बनाउँथिन् । त्यसको साथमा ब्लुमी हार्टकै नाममा लिप बाम, मसाज क्रिम पनि सुरु गरिन् । तर, सोचेजस्तो सफल हुन सकेन । तर, उनले हार मानिनन् । तीन वर्षअघि सुरु गरेको यो व्यवसाय पनि चालु छ ।

यसैबीच नौलो उत्पादनका रूपमा कला र फेसन जोडेर सारी डिजाइनमा लागेको उनले बताइन् । एमबिए सकाएर नेपाल फर्केपछि सारीमा नयाँ के हुन सक्छ भन्ने सोचमा लागिन् । परम्परादेखि बज्यै, आमाहरूले लगाउँदै आइरहेको सारीमा केही नयाँ प्रयोग गर्ने रुचि लाग्यो । फेसन, सङ्गीत, कला रुचाउने स्यारोनलाई कलाकारहरूको कलालाई नै फेब्रिकमा उतारे कस्तो होला भन्ने लाग्थ्यो । उनले आफ्नो ब्रान्डको नाम संस्कृत नामबाट रोजिन्, कोसाया (कोष या) सिल्क राखिन् । जहाँ विभिन्न थरीका सिल्क फेब्रिकका मात्रै सारीहरू पाइन्छ । कोसायाले हाल क्रेप सिल्क, अर्गान्जा सिल्क, फ्रेन्स सिफन सिल्क, जर्जट सिल्क, हाबुटाई सिल्क गरी पाँच थरी सिल्क कपडामा सारी तयार गर्छ । कोसाया सुरु गर्नुअघि उनी लुगाकै व्यवसायमा थिइन् । कोसायामा उनले नेपालका नाम चलेका कलाकारहरूको चित्रलाई सारीमा उतारेकी छिन्, कलाकारहरूको दस्तखतसहित । पहिलो पटक कलाकार चिराग वांगदेलका कलाहरूलाई सारीमा उतारेकी थिइन् ।

त्यसपछि उनले राधेश्याम मुल्मी, उदयचरण श्रेष्ठ, राजकृष्ण महर्जन, एरिना ताम्राकार, सविता डङ्गोल, विधाता केसीलगायत कलाकारका चित्रहरूलाई सारीमा उतारेकी थिइन् । उनी भन्छिन्, ‘धेरै संख्यामा भयो भने त्यसको भ्यालु खासै हुँदैन ।’ कोसायाको नयाँपन भनेको आर्ट सारी नै हो । कलाकारहरूकै सिग्नेचर आर्ट हुने भएकाले कसैले पनि चोर्न र बनाउन सक्दैन । बजारका अरू सारीसँग मेल खाँदैन । स्यारोनले कोसायामा पुरुषका लागि ‘स्कार्फ’ र ‘पकेट स्क्वायर’ (कोटको खल्तीमा हाल्ने रुमाल) पनि ल्याएकी छन् । कतिपय महिला आफ्ना जोडीसँग मिलाएर लगाउन पकेट स्क्वायर किन्छन् । यसैकारण स्कार्फ र पकेट स्क्वायर बजारमा ल्याएको उनी बताउँछिन् । विदेशमा पढेर फर्किएकी स्यारोनको लक्ष्य आफूलाई नेपालमा सफल उद्यमी बनाउने हो । भन्छिन्, ‘विदेशजस्तै नेपालमा पनि मेहनत गर्नुपर्छ । काम गर्न यहीँ सजिलो छ ।’