रङ्गमञ्चको सामयिक स्वर

समय- अर्थात् एक नैरन्तर्य । यही समयको प्रवाहलाई बुझ्न र अथ्र्याउन मान्छेले अभिव्यक्तिका अनेक माध्यमको खोजी गर्छ । आफूलाई डोर्‍याइरहेको समयसँग कुनै अबोध बालकका जस्तै मान्छेका अनेक ढिपीहरू छन् । कुनै किशोरका जस्तै मागहरू छन् ।  कुनै युवाका जस्तै विद्रोह र आक्रोशहरू छन् । कुनै वयोवृद्धका जस्तै गुनासाहरू छन् । यिनै ढिपी, माग, आक्रोश, विद्रोह र गुनासाहरू नै रङ्गमञ्चका मौलिक स्वरहरू हुन् । इतिहासलाई लल्कारिरहेको समयको यो उत्तर आधुनिक मोडमा रङ्गमञ्चका अनेक व्याख्या र बुझाइहरू हुनु स्वाभाविक नै हो । ती व्याख्या र बुझाइहरू घुम्ने मियो भने लगभग एकै हो— समाज र समय !

नेपालको सन्दर्भमा विविध सामाजिक प्रदर्शनकारी कला र संस्कृतिको मुहानबाट बग्दै आएको नेपाली रङ्गमञ्च शास्त्रीयता र परम्पराका विविध व्याख्या पार गर्दै समसामयिकताको लय समात्ने प्रयत्न गरिरहेको छ । समसामयिकता नितान्त युवा स्वर हो । र, त आजको रङ्गमञ्चले राज्यको विभेदकारी सांस्कृतिक राजनीति र त्यसले निम्त्याएका सीमान्तता, आधुनिक मान्छेका कृत्रिमता र आफैँभित्रका अन्तर्विरोधहरूमाथि प्रश्न गर्दै विजेताहरूको भ्रामक इतिहासको पर्दा च्यातेर आफ्नो नैसर्गिक अनुहारलाई प्रकाशमा ल्याउन खोजिरहेछ । अझ भनौँ, आजको रङ्गमञ्च समयको ऐनामा आफ्नो अनुहार खोजिरहेको छ, जुन अनुहारमाथि आवरणका कैयौँ लेयर्स छन्, जुन लेयर्सहरू अरूले नै थोपरेका व्याख्या-अपव्याख्याहरू हुन् । आजको रङ्गमञ्च र कला आफूद्वारा गरिने आफ्नै व्याख्याको खोजी हो । आफ्नो कथा आफैँ भन्ने जिब्रोको निर्माण हो ।

एक समय रङ्गमञ्च दरबारको चौघेरामा कैद थियो । त्यहाँ मञ्चित नाटकहरूमा कुनै राजसी या तिलस्मी नायक अनेक चमत्कारहरू गथ्र्यो । र, त्यस नायकलाई जुँगा मठार्दै एकटक हेरिरहेका दर्शक पनि राजा-रजौटाहरू नै हुने गर्थे । तर, आजको रङ्गमञ्च स्वतन्त्र गएर सडकमा उभिन्छ र सडकसँग बात मार्छ । या सडक र यसका भोक-शोकहरूलाई रङ्गमञ्चमा उतार्छ । आजका नाटकहरूमा विजयको उन्मादमा हिनहिनाइरहेका राजाका ‘आउटडेटेड’ घोडाहरू सुनिँदैनन् । बरु सुनिन्छन्- सीमान्त जीवनका गीतहरू, सादा मान्छेले युगसँग सोधिरहेका सरल प्रश्नहरू, या आधुनिकताको अचानोमा चोइटिइएका अस्तित्वका तमाम सवालहरू.. । आजको रङ्गमञ्चका लागि राजा शक्तिको, सत्ताको र प्रभुत्वको मात्र एक ‘मेटाफोर’ हो- जसका आधुनिक अनुहारहरू अनेक छन् । उसका लागि विजय र हिंसा त्यति सजिलो छैन, किनकि उसले यहाँ आम मान्छेका प्रश्नहरू हुँदै गुज्रनुपर्छ । किनकि रङ्गमञ्च उसको दरबारबाट निस्किएर सडकसम्म आइपुगेको छ ।

सडकमा उभिइरहेको रङ्गमञ्च आफैँमा एक सडक हो । सडकलाई सुनिरहेको रङ्गमञ्च आफैँमा एक सडक हो । आफैँभित्र अस्तित्वको सुरुङ खनिरहेको रङ्गमञ्च आफैँमा एक सडक हो । अग्रजहरूले भीर, पहरा र अक्करहरूमा खन्दै ल्याएको यो सडक फैलिँदै छ समयको भूगोलभरि । समय अर्थात् एक नैरन्तर्य ! यही निरन्तरताको ‘साभेल’ बोकेर सडक फैलाउँदै गरेका यी युवाहरूको एकै ध्याउन्न छ- आफ्नो कथा समयलाई सुनाउनु छ । आफ्नो व्यथा जीवनको पिँढीमा सुस्ताउनु छ । रङहरूको एक फराकिलो राजमार्ग बनाउनु छ ।

त्यसैले आजको नेपाली रङ्गमञ्च युवा स्वर र उनीहरूका गीतहरूले समृद्ध छ । जुनसुकै समुदाय या समाजको समृद्धिको सूचक युवाहरूको सहभागिता हो । अझै पनि कलाकार हुनुलाई कुनै काम र उपलब्धिको मूल्य नदिने बेरोजगारी र रेमिट्यान्सले ‘ब्रेनवास’ गरेको हाम्रो समाजलाई युवाहरूको रङ्गमञ्चमा बढ्दो सहभागिता दरिलो प्रतिप्रश्न हो । र, अझै पनि यो सहभागितालाई तिनै पुरातन आँखाले हेरियो भने त्यो समयप्रतिको अपराध हो । त्यसका लागि रङ्गमञ्चभित्रै पनि ‘शास्त्रीय नोस्टाल्जिया’ बाट मुक्त हुँदै यो पुस्तान्तरणको गहिरो खाडलबाट युवाहरूलाई उठाउँदै उनीहरूलाई विश्वास गर्नु जरुरी छ । किनकि युवाहरूको आवाज परिवर्तन र रूपान्तरणको आवाज हो ।

पछिल्लो समय मञ्चन भएका अधिकांश नाटकका कलाकार, लेखक र निर्देशकहरू युवा नै छन् । ती नाटकका विषयवस्तुगत गहनता, शैलीगत प्रयोगधर्मिता र समसामयिक मुद्दाप्रतिको ‘सिरियसनेस’ले नेपाली रङ्गमञ्चका सुनौला दिनहरूतर्फ इङ्गित गर्छन् । यति मात्र होइन, यी युवाको गहन सामाजिक बुझाइ र अध्ययन एक सुन्दर समाजको निर्माणको जग पनि हो । अतः पहिचानको सíट, लैङ्गिकताका सवाल, भाषाको ‘मोनोपली’, इतिहासको समीक्षा र राजनीतिक विद्रुपतादेखि पर्यावरणीय चिन्ताजस्ता अनेक समसामयिक विषयवस्तु उठाइरहेका यी युवाहरूलाई साँच्चिकै विश्वास र हौसलाको खाँचो छ । निराशा र उदासीले रङ उडेको यस समाजलाई पनि उत्तिकै जीवनका रङहरूको खाँचो छ, राहदानी र रेमिट्यान्सको मात्र होइन । ती रङहरू यी युवाहरूका सपनाहरूका अनन्त क्यानभासहरू माथि पोतिएका छन् । आउनुहोस्, यिनीहरूलाई सपना देख्न र बुन्न दिऔँ !

जर्मन नाटककार ब्रेख्तले उहिल्यै भनेथे- 
‘कला समाजको यथार्थको ऐना मात्र होइन । बरु कला हथौडा हो, जसले यथार्थलाई आकार दिन्छ ।’ आउनुहोस्, यी युवाहरूलाई यथार्थको आकार कोर्न दिऔँ !