अन्तर्राष्ट्रिय स्तरमा जित हासिल गरेर आउँदा खुसी नहुने को होला र ? खेलाडीका लागि यो गर्वको क्षण हो । पारा ओलम्पिकमा पलेशा गोबर्धनले पदक ल्याएको खबरबाट म पनि कहाँ अछुतो रहन सक्थे र ? जितको खबरले खुसीको सीमा रहेन ।
भलिबल, क्रिकेट, फुटबलजस्ता खेलमा मान्छेको बढी आकर्षण भइरहँदा तेक्वान्डो अघि आउनु आफैँमा ठूलो उपलब्धि हो । तेक्वान्डोले ओलम्पिकजस्तो प्रतिष्ठित प्रतियोगितामा क्वालिफाइ भएर खेल्न सके पनि मेडल नल्याउँदा मन खिन्न हुन्थ्यो । तर, पलेशाले पारा ओलम्पिकमा मेडल जितेपछि त्योभन्दा खुसीको क्षण अरू केही थिएन । विशेष गरी केटी मान्छे र त्यो पनि फरक क्षमता भएकी व्यक्तिले मेडल ल्याउँदा मेरो खुसी झन् बढी भयो ।
ओलम्पिकमा खेल्ने सपना मेरो पनि थियो । क्वालिफाइका लागि प्रतिस्पर्धा गरे पनि छनोट हुन नसक्दा मेरो सपना अधुरै थियो । पलेशाले जित्दा त्यो अधुरो सपना पूरा भएको अनुभूति गरे । उनीसँग मेरो सम्बन्ध विशेष र आत्मीय छ ।
त्यसकारण पनि उनको जितले मलाई उत्साहित र भावुक दुवै बनाइदिएको छ । यतिबेला म सन् २०१९ मा १३ औँ साउथ एसियन गेम्स खेल्दा क्लोज क्याम्स सम्झिरहेछु, जहा पलेशा र मैले एकै दिन जन्मदिन मनाएका थियौँ । त्यो रमाइलो क्षण अझै यादगार छ । त्यो बेला म पलेशाको सादगी देखेर निकै प्रभावित भएँ । उनको व्यवहार, सम्मान गर्ने तरिका, मीठो बोली सबै एकदम सरल र आकर्षक छन् ।
पलेशाको पारा ओलम्पिकको मेडलले धेरैलाई प्रेरणा दिन सक्छ । कहिलेकाहीं फरक क्षमता भएका मान्छेहरू आफ्नो असक्तता देखाउँदै सहानुभूति खोजेको देख्छु र तिनलाई सक्ने काम गर्न प्रेरित गर्छु । ती मान्छेका लागि आज पलेशा प्रेरणाको स्रोत बनेकी छन् ।
नेपालबाट ओलम्पिक खेलमा पहिलो पटक सन् २००४ मा सङ्गीना वैद्यले क्वालिफाइ भएर प्रतिस्पर्धा गरेकी हुन् । त्यसपछि सन् २००८ मा दीपक विष्टले दोस्रो पटक प्रतिस्पर्धा गरे । सन् २०१६ मा निशा राउत पनि क्वालिफाइ भएर प्रतिस्पर्धी भइन्, तर कसैले पनि मेडल जितेका थिएनन् । ओलम्पिकमा तेक्वान्डो पहिलो पटक २०२० मा पारा ओलम्पिकको रूपमा समावेश भयो । त्यो बेला पलेशाले नेपालबाट पहिलो पटक पारा तेक्वान्डोमा वाइल्डकार्ड पाउँदै क्वालिफाइ गर्न सफल भइन् तर जितेकी थिइनन् । यसपटक पदक नै जितेर इतिहास रचिन् ।
नेपालमा पहिले पारा खेलकुदलाई खासै महत्व दिइएको थिएन । पारा तेक्वान्डो सन् २००७ देखि अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न थाल्यो । यादव कुँवर गुरु पहिलो पारा तेक्वान्डो खेलाडी हुनुहुन्छ, जसले वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा मेडल जित्नुभयो । समयसँगै नेपालमा पारा तेक्वान्डोको विकास भयो र यसमा मेरो श्रीमान् दीपक विष्टले पनि ठूलो योगदान दिनुभएको छ ।
पारा खेलाडीहरूका लागि प्रेरणा र समर्थनको खाँचो निकै हुन्छ । उनीहरूमा आत्मविश्वासको कमीले गर्दा खेलमा सहभागी गराउन गाह्रो हुन्छ । त्यस्तो अवस्थामा प्रशिक्षकहरूको भूमिका धेरै महत्वपूणर् हुन्छ । प्रशिक्षकले खेलाडीलाई मात्र होइन, उनीहरूको अभिभावकलाई पनि मनाउने प्रयास गर्नुपर्छ र खेलकुदको महत्व बुझाउनुपर्ने हुन्छ । यही कारणले पारा तेक्वान्डो मेरो लागि नजिकको विषय हो । सुरुमा पलेशाका अभिभावकहरूलाई कन्भिन्स गराउँदा मेरो श्रीमान्, पलेशाका पुरानो गुरुहरू, अहिलेको कोच कविराज दाइ, कल्याण कुँवर दाइको भूमिका पनि धेरै छ । जब पलेशा पारा ओलम्पिकमा जितेर फर्किइन्, म अत्यन्तै खुसी भएँ । मैले उनलाई भनेँ, ‘तिमीले मेरो ओलम्पिकको सपना पूरा गरिदियौ,’ र त्यो क्षणमा म साँच्चै धेरै भावुक भएँ । हाम्रो बीचको संवादमा म खुसी र गर्वले भरिएकी थिएँ । हामीले साझा गरेको एउटा महत्वपूणर् क्षण सम्झन्छु— पलेशा टोकियो ओलम्पिक २०२१ मा तेस्रो स्थानका लागि फाइट गरिरहेकी थिइन् । दुर्भाग्यवश उनी हारिन्, तर त्यो क्षणले पनि हाम्रो सम्बन्धलाई अझै बलियो बनायो । त्यो हारमा पनि पलेशाको सङ्घर्ष, समर्पण र जसरी उनले आफूलाई उभ्याइन्, त्यसले मलाई गहिरो रूपमा प्रभावित गर्यो ।
उनीसँगका यी पलहरूले मलाई केवल खुसी मात्र दिएन, मेरो आफ्नै सपना अधुरो भए पनि, पलेशाले त्यो सपना पूरा गरेकी छिन् भन्ने आत्मसन्तुष्टि पनि दिए । जब पलेशाको खेल भइरहेको थियो, मेरो श्रीमान्ले टोकियोबाट मलाई अनलाइन कल गर्नुभयो । हामी मेसेन्जरमा कुरा गरिरहेका थियौँ— पलेशा, मेरो श्रीमान्, कविराज दाइ सबै जना टोकियोमा थिए र सबै जना भावुक भएर रोइरहेका थिए । म घरमा बसेर उनीहरूकै लयमा ‘क्वाँ, क्वाँ’ गर्दै रुँदै कुरा गरिरहेकी थिएँ । त्यो क्षण थियो, जब पलेशा जित्दै हारिसकेकी थिइन्, तर पनि मैले भनेँ, ‘पलेशा, केही छैन, तिमीले मेरो लागि त जितेकै हौ । तिमीले यस्तो उत्कृष्ट खेल खेल्यौ, म तिमीमाथि गर्व गर्छु । म एकदम खुसी छु ।’
हामी चारै जना रुँदै कुराकानी गरिरहेको त्यो क्षण अहिले पनि मेरो मनमा गडेर बसेको छ । हार्दा पनि हामीले एकअर्कालाई सम्हाल्नु र प्रोत्साहन दिनु, त्यो क्षणको महत्व म कहिल्यै भुल्न सक्दिनँ । र, यसपटक, जब पलेशाले जितेर आयो, त्यो क्षण अझै विशेष भयो, किनकि उसले अन्ततः आफ्नो मेहनत र सङ्घर्षलाई सफलतामा परिणत गरिसकेकी थिई ।
यसपालि पारा तेक्वान्डोले एउटा बेग्लै उचाइ हासिल गरेको छ । त्यसमा पलेशाको मेहनत, पलेशाका कोचको मेहनत अर्थपूणर् छ । पलेशालाई साइडबाट सहयोग गर्नेहरू सबैको उत्तिकै मेहनत देखेको छु । एक-दुई महिना होइन, निरन्तर मेहनतको प्रतिफल हो यो । पलेशाले सन् २०२२ को एसियन गेमबाट ब्रन्ज मेडल लिएर आएदेखि नै पलेशालाई निरन्तर क्वालिफाइका लागि तयार गरिररहनुभएको थियो, सबैले । अहिले त्यो मेहनतको नतिजा आयो भन्ने लाग्छ । पलेशाको जित, हामी सबैको जित हो ।