अनुष्काको ‘माक्कुसे’ मोह

मिस नेपाल विजेताहरू प्रायः मिस वल्र्ड यात्रातिर निस्किन्छन् । त्यहाँ पुगेर फर्किनेहरूमध्ये धेरै त हराउँछन् कि मिडियाबाट नै बेखबर हुन्छन् ।

मिस नेपाल विजेताहरू प्रायः मिस वल्र्ड यात्रातिर निस्किन्छन् । त्यहाँ पुगेर फर्किनेहरूमध्ये धेरै त हराउँछन् कि मिडियाबाट नै बेखबर हुन्छन् । तर, केही मिस नेपालहरू भने स्वदेशमै बसेर चलचित्र, मिडियादेखि ‘बिजनेस’ क्षेत्रमा रमाइरहेका छन् । बिजनेसमा रमाइरहेका मिस नेपालहरूमध्ये एक हुन्, सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ ।

उच्च शिक्षाका लागि अस्ट्रेलिया गएकी अनुष्का त्यहाँ बैंकमा काम गर्थिन् । कमाइ राम्रै थियो । खर्च गरेर पनि उनले केही वर्षमै मनग्य धन आर्जन गर्न सक्ने सम्भावना थियो । तर, उनको मन नेपालमा थियो । उनलाई विदेशी बैंकको कर्पोरेट कामभन्दा नेपालमै बसेर आफ्नै केही उत्पादन गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सोच आयो । आज उनी जहाँ छिन्, विदेशमा बसेर गरेको काम र त्यसबाट प्राप्त अनुभवका कारण हो भन्छिन्, उनी ।

‘अस्ट्रेलियामा जम्दै गएपछि देशको माया र महत्वलाई झन्–झन् बुझ्दै गएँ । नेपालमा गएर आफ्नै केही गर्नुपर्छ भन्ने भित्रैबाट लागेपछि फर्किएँ,’ उनी भन्छिन्, ‘परम्परागत नेपाली मिठाई माक्कुसे त्यही सोचको उपज हो ।’

काठमाडौँमा जन्मेकी अनुष्काले विदेश गएपछि मेहनत र कामप्रतिको लगाव बुझिन् । सन् २०१९ मा मिस नेपाल भएपछि विदेश फर्कन मनै लागेन, उनलाई । त्यसपछि नै हो, उनी व्यवसायतिर आकर्षित भएको र उनले ‘माक्कुसे’ खोलेको । तर, धेरैले चासो राख्दै कुरा काटे, ‘मिस नेपाल, त्यो पनि अस्ट्रेलियामा राम्रो जागिर छाडेर नेपालमा गुँदपाक र पुष्टकारी बेचेर बस्ने ?’ यस्ता प्रश्न र प्रतिक्रियालाई वास्ता नगरी उनले बजारको सम्भाव्यता अध्ययन गरिन् र उद्यम थालिन् । उनले आफ्नो उत्पादनमा नेपाली संस्कृति झल्काउने विशेष प्रयास गरेकी छन् । उनका उत्पादन नेपाली लोक्टा कागजबाट बनेका बट्टामा प्याक गरिन्छन्, जसमा तामाका चम्चा र सिसाका जारको प्रयोग गरिएको छ ।

कुनै पनि उत्पादनलाई ‘ब्रान्ड’ बनाउनु निकै चुनौतीपूर्ण काम हो ।‘विदेशी ब्रान्डले नेपाली बजारमा प्रभुत्व जमाइरहेको बेला ’माक्कुसे’ स्थापना गर्नु मेरा लागि फलामको चिउरा चपाएसरह थियो,’ उनी भन्छिन्, ‘यदि माक्कुसेले कुनै नराम्रो उत्पादन बट्टामा हालेर बेचेको भए चार वर्षसम्म टिक्न सक्ने थिएन र नेपाली पहिचान बनाउन सकिँदैनथ्यो ।’

उद्यममा पाइला चालेको छोटो समयमा नै अनुष्का दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा पर्न सफल भइन् ।इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा रहन सफल भइन् । उद्यममा उर्जा भर्न यसले थप मद्दत गरेको उनी बताउँछिन् ।

हाल ‘माक्कुसे’ ब्रान्डमा पुष्टकारी, गुँदपाक र गुँदपाकले भरिएको कुकिज छन् । वर्ष दिनअघि ठमेल माक्कुसेको डेजर्ट बारमा जेरी, स्वारीलगायत नेपाली मिठाईहरू पाइन्छ । २५ लाख रुपैयाँको लगानीमा सुरु भएको यो व्यवसायले प्रत्यक्ष रूपमा २२ जना र अप्रत्यक्ष रूपमा अन्य ४२ जनालाई रोजगारी दिएको अनुष्काले बताइन् । थप्छिन्, ‘हामीले हाम्रो संस्कृति, समाजको महत्व, मूल्य बुझ्नुपर्छ । कोरियनहरूको जस्तै आफ्नो उत्पादन बिक्री हुने आत्मविश्वास हुनुपर्छ । देशमै काम गर्न सकिन्छ ।’

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *