अहिलेका चर्चित गायक कुम्ह सागरको गीतलाई लिएर एउटा पडकास्टमा गरिएको ‘मजाक’ भाइरल भएपछि मनको अन्तरकुन्तरमा कुण्ठित भएर बसेको पीडा पुनः अनुभूत गरेँ, मैले ।
अहिलेका चर्चित गायक कुम्ह सागरको गीतलाई लिएर एउटा पडकास्टमा गरिएको ‘मजाक’ भाइरल भएपछि मनको अन्तरकुन्तरमा कुण्ठित भएर बसेको पीडा पुनः अनुभूत गरेँ, मैले ।
अहिलेका चर्चित गायक कुम्ह सागरको गीतलाई लिएर एउटा पडकास्टमा गरिएको ‘मजाक’ भाइरल भएपछि मनको अन्तरकुन्तरमा कुण्ठित भएर बसेको पीडा पुनः अनुभूत गरेँ, मैले ।
पडकास्टमा अट्टहास गरेको दृश्यले कुनै बेला मलाई जिस्क्याएर मनोरञ्जन लिने अनुहारहरू झलझल्ती सामु आइपुगे । कलेज पढ्न वा जागिरमा जाँदा प्रायःजसो मैले बोल्ने लबजलाई लिएर सहकर्मीहरू नै जिस्क्याउन तम्तयार रहन्थे । सहकर्मीहरू शब्दोच्चारणलाई लिएर खुसुखुसु हाँसिरहँदा प्रतिक्रियामा मौन बस्थेँ । तर, त्यसले मलाई भित्रभित्रै ‘ट्रमाटाइज’ नै गरेको थियो ।
म नेवार परिवारमा जन्मेहुर्केको । घरमा नेवारी भाषा नै बोलिन्थ्यो, तर स्कुलमा भने मेरो लबजलाई लिएर शिक्षकदेखि सहपाठीहरूसम्मले जिस्क्याउने गर्थे । ‘टँ’ (तँ), ‘टिमी’ (तिमी), ‘टपाईं’ (तपाईं) जस्ता शब्दहरू मेरो बोलीचालीमा स्वाभाविक रूपमा प्रयोग हुने नै भयो । तर, ती अरूका लागि मनोरञ्जनको विषय बन्थ्यो । सुरुमा सामान्य लागे पनि, समयसँगै ती मजाकले मेरो आत्मविश्वास खण्डित गर्न थाले ।
कलेज पढ्दा, जागिर खाँदा वा भनौँ पाइला–पाइलामा ‘गएर ल्यायो’, ‘खाएर ल्यायो’ भन्दै मेरो लबजमाथि प्रहार भइरहन्थ्यो । मेरो बोलीचालीमाथि बारम्बार हाँसो उडाउनु, व्यङ्ग्य गर्नुले मलाई असहज महसुस गराउँथ्यो । अफिस आउँदा लाग्थ्यो, मानौँ म कुनै अपराध गरेर आएको छु । पत्रकारिता पेसामा लागेपछि त झन् यो अनुभव थप चर्कियो । सिनियर अनि सहकर्मीहरू— जो भाषा, विविधता र संस्कृतिको सम्मान गर्ने ठाउँमा हुनुपर्ने— उनीहरूबाटै मेरो लबजमाथि टिप्पणी सुनिरहनुपर्थ्यो । हरेक गम्भीर छलफलको बीचमा मेरो बोलीको ‘टोन’लाई लिएर उडाउने बानी कहिल्यै रोकिएन । म मौन हुन्थेँ, निरीह महसुस गर्थें ।
जब सहकर्मीहरू जिस्क्याउँथे, गलल्ल हाँस्थे, म भित्रभित्रै असहज महसुस गर्थें । स्वभावैले म धेरै खुल्न नसक्ने व्यक्ति थिएँ, त्यसैले अप्ठ्यारो मान्दै ती क्षणहरू छलेर हिँड्थेँ । बाहिर सामान्य देखिए पनि मनभित्र भने ठूलो हलचल मच्चिन्थ्यो । बाथरुममा गएर लामो सास फेर्ने, ऐनामा आफैँलाई नियाल्ने, अनि आफ्नो लबज सुधार्न अभ्यास गर्ने क्रम दशकौँसम्म निरन्तर चल्यो । तर, परिणाम ? खासै केही परिवर्तन भएन ।
मलाई पीडा हुन्थ्यो, तर अभिव्यक्त गर्न सक्दिनथेँ । किनकि मेरा वरिपरिका मानिसहरू मेरा शब्द सुन्न होइन, मेरो लबजको मजाक उडाउन चाहन्थे । कहिलेकाहीँ लेख्दा ‘त’ कि ‘ट’ भनेर सच्याउँदा पनि व्यङ्ग्यको बर्सात हुन्थ्यो । मलाई मेरो मातृभाषाको लबज बोेलेर होइन, लुकाएर बाँच्नुपर्छ भन्ने लाग्थ्यो । आखिर किन ? एउटा भाषा, एउटा लबज केवल मनोरञ्जनको साधन मात्र हो त ?
बरु, मैले बुझ्दै गएँ— मेरो भाषा, मेरो उच्चारण नै मेरो पहिचान हो । जसरी संस्कृति हाम्रो मौलिक सम्पत्ति हो, त्यसैगरी भाषा र लबज पनि गौरवको विषय हुनुपर्छ, लाजको होइन । तर, समाजले प्रायः फरक भाषा र लबजलाई हेप्ने, होच्याउने वा रमाइलोको नाममा जिस्क्याउने प्रवृत्ति देखाउँदै आएको छ ।
सुशान्त प्रधानको पडकास्टमा कमेडियन सुजन जिम्बा, उत्सव सापकोटा र सजन श्रेष्ठले गायक कुम्ह सागरको गीत उनकै लबजमा गाएर गरेको मजाक त्यही प्रवृत्तिको एउटा उदाहरण मात्रै हो । रमाइलो गर्नेहरूले बिर्से कि, उनीहरूले गरेको हँसीमजाकले धेरैको भावनामा चोट पुर्याउँछ । भाषा र लबजलाई जिस्क्याइएको भन्दै दर्शक तथा समर्थकहरूले आलोचना गरेपछि उक्त भिडियो युट्युबबाट हटाइएको छ । माफीनामाहरू पनि मागिएको छ । यद्यपि, भावनामा पुगेको चोट मेटिन गाह्रो हुने रहेछ भन्ने प्रमाण म आफैँ हुँ । वर्र्षांैपछि यो मुद्दा यसरी सामुन्नेमा आउँदा आफू पीडित हुनुपर्दाको क्षणहरूले फेरि एकचोटि भावुक भएकी छु ।
मैले दुई दशकभन्दा बढी समयसम्म आफ्नो लबजप्रति असहज महसुस गरेँ । सानो हुँदा जिस्क्याइएकै कारण नेपाली भाषामा आफ्नो लबज सुधार्न खोजेँ, तर अन्ततः मैले आत्मसात् गरेँ कि मेरो नेवारी लबज नै मेरो पहिचान हो ।
भाषा र लबज कुनै कमजोरी होइन, बरु शक्ति हो । समाजले विविधतालाई सम्मान गर्न सिक्नु जरुरी छ । अनि, हामीले पनि हाम्रो आफ्नै भाषा र पहिचानलाई गर्वका साथ आत्मसात् गर्नुपर्छ । नेपालको संविधान, नीति–नियमहरू पढ्दा साँच्चै उत्कृष्ट लाग्छ । सरकारले बेलाबेला भाषा, संस्कृति तथा सामाजिक सद्भावका लागि प्रभावशाली नीतिहरू ल्याइरहेको देखिन्छ । ‘भाषालाई सम्मान गरौँ’, ‘जातीय भेदभाव हटाऔँ’, ‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गरौँ’ जस्ता नारा दिन्छ, तर समाजमा ती नीतिहरूको व्यावहारिक प्रभाव न्यून नै देखिन्छ । उदाहरणका लागि, संस्कृति नीति– २०६८ को धारा ८.४ ले स्पष्ट रूपमा भन्छ— ‘कुनै व्यक्ति, जाति वा समुदायको धर्म, दर्शन, सोच, विचार, मान्यता, आस्था र विश्वासलाई सम्मान गरिँदै धार्मिक सहिष्णुताको वातावरण कायम गरिनेछ ।’ तर, व्यवहारमा भने समाज अझै पनि अरूलाई होच्याउने, गिज्याउने प्रवृत्तिबाट मुक्त हुन सकेको छैन । भाषिक विविधता र संस्कृतिप्रति संवेदनशीलताको अभाव अझै पनि स्पष्ट देखिन्छ ।
म मात्र होइन, धेरै नेवारहरू, जो आफ्नै मातृभाषा बोल्छन्, आफ्नो नेवारी लबजमा अभिव्यक्त हुन्छन्, विगतमा व्यङ्ग्यका पात्र बन्नुपरेको अनुभव गर्छन् । कहिलेकाहीँ म स्वयम्समेत आफ्नै नेवारी टोनप्रति अलमल महसुस गर्थें । तर, अहिलेका पुस्तालाई हेर्दा गर्व लाग्छ— उनीहरू आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्छन् । जति आधुनिकताको नकाब ओढे पनि आफ्नो मौलिकता जोगाउन उनीहरू कटिबद्ध छन् ।
गायक कुम्ह सागर यसको उत्कृष्ट उदाहरण हुन् । उनले नेवारी लय, धुन र टोनलाई आत्मसात् गर्दै आफ्नै मौलिक शैलीमा गीत गाए, जसले हजारौँ श्रोताको मन जित्यो । उनको सरलता, मौलिकता नै उनको शक्ति बन्यो । उनका गीत लोकप्रिय हुँदै गएपछि मैले आफैँलाई फर्केर हेर्न थालेँ । अनि बुझेँ— हाम्रो आफ्नोपन नै हाम्रो असली शक्ति हो ।
कमेडी भनेको हास्यरस हो । तर, कमेडीमा काव्यात्मकता, कलात्मकता हुनुपर्छ । नक्कल, छाडापन, भद्दा प्रस्तुति कमेडी होइन । भाषा, लबज, संस्कृति वा समुदायमाथि प्रहार गर्नु हाँसो होइन । जसले अझै पनि यो बुझ्न सकेका छैनन्, उनीहरूलाई समयले सिकाउनेछ ।
नेवारी टोनलाई गिज्याइने ती दिन सम्झँदा लाग्छ, त्यो बेला हामी आफैँ आफ्नो भाषा र लबजमा गर्व गर्न जान्न सकेका भए सायद परिस्थिति फरक हुने थियो । तर, अहिलेको पुस्ताले यो बुझ्न थालेको छ, जुन सुखद पक्ष हो । भाषा, संस्कृति, कला बचाइराख्नु नै आफ्नो पहिचान बचाउनु हो ।