बजारको बाहुपासमा प्रेम

संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन ।

संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन । तर पनि नयाँ लेखिने साहित्य प्रेममाथि नै अधिकतर पोखिएको हुन्छ । चित्रकारहरू प्रेम अभिव्यक्ति गर्न क्यानभास पोतिरहेका हुन्छन् । प्रेमकै विषयलाई लिएर चलचित्रकर्मी सिनेमा निर्माण गर्छन् । प्रेममै कोही उज्यालो भेट्छन् र जीवनलाई उत्सवपूर्ण बनाउँछन् । तर, कसैको प्रेम विरह र वियोगमा बदलिन्छ र उनीहरू अवसादको जिन्दगी बाँच्छन् वा जीवन नै टुङ्ग्याइदिन्छन् ।

सबैभन्दा बढी लेखिने विषयउपर कलम चलाउनु निःसन्देह चुनौतीपूर्ण काम हो । किनकि त्यहाँ पुनरावृत्तिको डर रहन्छ । त्यसैले प्रेमउपर नै शब्द खर्चिएर जोखिमको बाटो समात्नुभन्दा प्रेमको प्रदर्शनकारी वृत्ति र त्यसको वस्तुकरण (कमोडिफिकेसन) उपर यो आलेख केन्द्रित रहनेछ ।

वस्तुतः प्रेम अनुभूतिको विषय हो । अनि अनुभूति कहिल्यै एकसमान हुँदैन । तर, प्रेम जति अनुभूतिजन्य हो त्यति नै प्रदर्शनकारी रहँदै आएको छ । यदि यस्तो नहुँदो हो त प्रेमीहरू किन आफ्नो प्रेमको घनत्व उजागर गर्न स्मारक बनाउँथे ? किन प्रेमिकाको नाममा दरबार र ताजमहल खडा गर्थे ? प्रेमको यही प्रदर्शनकारी अवयव खुला अर्थतन्त्रमा बजारको फन्दामा पर्दै गएपछि प्रेमको चरम वस्तुकरण हुन पुगेको हो ।

प्राचीन रोमका सन्त भ्यालेन्टाइनले प्रेमीहरूको पक्ष लिँदा उनलाई सुली चढाइयो । उनलाई मृत्युदण्ड दिइएको दिन फेब्रुअरी १४ कालान्तरमा प्रेम दिवसमा बदलियो । तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनको सम्झना र सम्मानको प्रेम दिवस नेपालसम्म आइपुग्न सत्र सयभन्दा बढी वर्ष लाग्यो । जसै प्रेममा प्रदर्शनको तुष्टि मिसिन पुग्यो, बजारले प्रेमको पवित्रताको वस्त्र उतार्दै यसलाई विनिमयको वस्तु वनाइदियो । अनुभूतिको कोमल गर्भबाट प्रेम बजारको कोलाहलमा बजारिन पुग्यो ।

बजारको अभीष्ट नै पर्वहरूलाई ‘उल्लासमय’ बनाउने हो । एक्काइसौँ शताब्दीको उदयसँगै फस्टाउँदो नवउदारवादी अर्थतन्त्र र विश्व–भूमण्डलीकरण (ग्लोबलाइजेसन) ले अहिले मानिसलाई पहिले उपभोक्ता र त्यसपछि मात्र नागरिक बनाएको छ । जन्मदेखि मरणसम्मका सबै क्रियाकलाप र उपक्रममा बजारले चाबुक हान्ने गरेको छ, जसमा पर्वहरू अपवाद हुने कुरै रहेन ।

भ्यालेन्टाइनलाई नै हेरौँ । दुई दशकअघिसम्म भ्यालेन्टाइन एकाध सहरिया युवाबीच सीमित थियो । अहिले भ्यालेन्टाइन राष्ट्रिय संस्कृतिका रूपमा विस्तारित भइसकेको छ । इन्टरनेट, चलचित्र र उपभोग्य सामग्रीको प्रवद्र्धनका कारण भ्यालेन्टाइन प्रत्येक घर छिरिसकेको छ । धन्न नेपाल सरकारले यसलाई राष्ट्रिय पर्वको दर्जा दिँदै सार्वजनिक बिदाको घोषणा गरिसकेको भने छैन । के बेर, खुद्रा–मसिना सन्दर्भलाई सार्वजनिक बिदा घोषणा गर्ने स्थानीय पालिकाहरूबीचको होडबाजीले कुनै दिन भ्यालेन्टाइनलाई पनि पालिकाविशेषको चाड करार दिइँदै सार्वजनिक बिदा दिन के बेर ! युवा पुस्ताको प्रिय पर्व भ्यालेन्टाइन राजनीतिकर्मीका निम्ति भोट ब्याङ्क पक्कै हुन सक्छ ।

वास्तवमा ती पर्वहरू नै ‘उल्लासमय’ रहन्छन्, जसमा युवासँगै बजार जेलिएको हुन्छ । साउने र माघे सङ्क्रान्ति, जनैपूर्णिमा आदिभन्दा भ्यालेन्टाइन उल्लासमय हुनुको मुख्य कारण यही हो । उपभोक्तावाद र ग्लोबलाइजेसनको युगमा पर्वहरू मौलिक वा रैथाने नै हुनुपर्छ भन्ने पनि छैन । उदाहरणका लागि, ग्रेगोरियन ‘न्यू इअर’ त्यसरी नै मनाइन्छ, जसरी हामी विक्रमाब्दको नयाँ वर्ष मनाउछौँ । युवाहरू दसैँमा जति रमाउँछन्, क्रिसमसमा उति नै बिन्दास बन्दछन् । अझ भन्नुपर्दा पर्वहरू कुनै जातीय समूह, सम्प्रदाय र धर्मसँग जोडिनुपर्छ भन्ने पनि रहेन । उदाहरणका लागि होली अर्थात् फागुलाई नै लिऊँ । भ्यालेन्टाइनजस्तै होली युवा सहभागिताको अर्को उल्लासपूर्ण पर्व हो । यसै पनि युवा पलायन आसन्न आर्थिक मन्दीको एउटा कारक मानिएको बेला युवा स्पन्दनको पर्व भ्यालेन्टाइन बजारलाई एक हदसम्म चलायमान राख्ने एक अभूतपूर्व अवसर पनि हो ।

प्रेम प्रदर्शनकारी हुनुको अर्थ यसको विनिमय र वस्तुकरण हो । सबै कवि हुँदैनन्, प्रेमको काव्यिक अभिव्यक्तिनिम्ति । फेरि सबै प्रेमी–प्रेमिका काव्य–अनुरागी नहुन पनि सक्छन् । त्यसैले प्रेमीहरू आफ्नो भावना वस्तुमार्फत प्रकट गर्छन् र स्वाभाविक रूपमा बजारको शरणमा पुग्छन् । जति ठूलो उपहार उति ठूलो प्रेमी । फूलको गुच्छा वा कार्ड, गरगहना, डिजाइनर पोसाक वा ब्याग, क्यान्डल लाइट डिनर, डिस्को वा नाइट–आउट, उपहार वा प्रस्तावना अनेकौँ हुन सक्छन् । अनि, यी सबै वस्तुसँग ‘प्राइस ट्याग’ झुन्डिएको हुन्छ । प्रत्येक वर्ष समाचार र न्युज पोर्टलहरू भ्यालेन्टाइनमा अर्ब रुपैयाँभन्दा बढीको गुलाफको फूल मात्र आयात गरिएको समाचार सम्प्रेषित गरेको देखिन्छ । अब अनुमान गरौँ त, भ्यालेन्टाइन मनाउने नाममा उपहार, लुगाफाटा, चकलेट र केक, खानपिन, रेस्टुराँ र डिस्को, नाइट–आउट र घुमघाममा नेपालीले कति पैसा खर्च गर्छन् होला ?

भ्यालेन्टाइन नेपालमा एउटा ‘ग्लोकल’ (ग्लोबल र लोकलको संयोजित रूप) प्रवृत्तिका रूपमा स्थापित भइसकेको छ । यो ‘फेस्टिभल’ (पर्व) भन्दा पनि ‘फेनोमेनन्’ (संवृति) का रूपमा विस्तारित हँुदै छ । भ्यालेन्टाइनझैँ अन्य आगन्तुक पर्वहरूले पनि बिस्तारै नेपाली नवयुवकहरूका मन र मस्तिष्कमा जरा गाड्दै छन् । दुई दशकअघि अध्ययनको सिलसिलामा लन्डन पुग्दा यो पङ्क्तिकारले ‘हालोइन’ भन्ने शब्द पहिलो पल्ट सुनेको थियो । आज सहरी युवाहरूको उत्सवको मेनुमा हालोइनले प्रवेश पाइसकेको छ ।

मानव मात्र नभएर चराचर जगत्लाई स्नेह र करुणाले सिञ्चित गर्ने प्रेमको पर्व मनाइनु सर्वथा खुसीको कुरा हो । कुनै पर्व वा उत्सवका कारण प्रेम प्रस्फुटित हुनु र त्यो समयक्रममा पल्लवित हुनु अत्यन्तै सकारात्मक हो । प्रेमको कुनै सीमा नहुने हुँदा यो निर्बन्ध हुनुपर्छ । तर, प्रेमरूपी निर्मल पानी त्यस बेला धमिलिन पुग्छ जब यसको निर्मलतामा बजारको रङ मिसिन पुग्छ । जब यो भावात्मक नभएर विनिमयको वस्तु बन्न पुग्छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *