विश्व पर्यटनमा नेपाललाई चिनाउने रहर छ : मिस युनिभर्स सेनिस

मिस युनिभर्स सेनिस पालासियोस नेपाल आएकी छन्। २०२४ को मिस युनिभर्स संस्करणका लागि उपस्थित हुन उनी बिहीबार मध्याह्न नेपाल आइपुगेकी हुन् ।

मिस युनिभर्स सेनिस पालासियोस नेपाल आएकी छन्। २०२४ को मिस युनिभर्स संस्करणका लागि उपस्थित हुन उनी बिहीबार मध्याह्न नेपाल आइपुगेकी हुन् । यो उनको मात्र नभई मिस युनिभर्सकै पहिलो नेपाल भ्रमण पनि हो । सेनिस मिस युनिभर्स नेपालको ‘प्रि–जजमेन्ट राउन्ड’ का लागि नेपाल आइपुगेकी हुन् ।

सेनिसको नेपाल भ्रमणलाई नेपालको सौन्दर्य प्रतियोगिताकै लागि कोसेढुंगा भएको टिप्पणी गर्दै मिस युनिभर्स नेपालकी निर्देशक संगीता पुरी भन्छिन्, ‘उहाँको यो भ्रमण नेपालको सौन्दर्य प्रतियोगिताकै लागि एक ऐतिहासिक उपलब्धि हो, यो भ्रमणले विश्व सौन्दर्य समाजमा नेपालको बढ्दो आकर्षणलाई उजागर गरेको छ । हामी प्रतियोगीलाई उत्कृष्ट प्रशिक्षण र अवसर दिन प्रतिबद्ध छौं ।’

मिस युनिभर्स सेनिसले पहिलो पटक नेपाल भ्रमण गर्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘मिस युनिभर्सका रूपमा नेपाली महिलालाई सशक्त बनाउन र यहाँको विविधतासँग एकाकार हुन पाएकी छु । म नेपालको पर्यटन र आर्थिक वृद्धिको प्रवर्द्धनमा योगदान पुर्‍याउन चाहन्छु । मेरो यो भ्रमणले विश्वमाझ नेपालको मौलिकताका बारेमा जानकारी पुग्नेछ भन्ने विश्वास लिएकी छु,’ निकारागुआकी अधिवक्तासमेत रहेकी २४ वर्षीया सेनिसले विश्व पर्यटनका लागि नेपाललाई एक प्रमुख गन्तव्यका रूपमा चिनाउने पनि बताइन् ।

मिस युनिभर्सले आफ्नो भ्रमणका क्रममा सांस्कृतिक आदानप्रदान, प्रमुख सरोकारवालासँग भेटघाट र प्रतिष्ठित पर्यटक गन्तव्यहरूको भ्रमणलगायतका कार्यक्रममा सहभागी हुने आयोजक मिस युनिभर्स नेपालले जनाएको छ । प्रतियोगीहरूलाई अनिलकेशरी शाह, चारु चड्डा, माल्भिका सुब्बा, रञ्जित आचार्य, सुरक्षा भट्टराई, घन गुरुङ, सोफिया भुजेल, सिद्धार्थ सिंह र मिलन चाम्सलगायतका व्यक्तित्वहरूले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन् ।

मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले सेप्टेम्बर ७ मा हुनेछ भने मिस युनिभर्सको ग्रान्ड फिनाले आगामी नोभेम्बर १६ मा मेक्सिकोमा हुँदै छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *