‘शाम्बाला’ले बढाएको सान

मीन भाम नेपाली सिनेमाको चल्तिको धार र आम मनोविज्ञानभन्दा बिलकुल पर छन् ।

गत भाद्र २३ गतेको साँझ ‘शाम्बाला’ प्रिमियरका लागि बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र निर्देशक अनुराग कश्यपलाई दायाँबायाँ पारेर ठमेलको छायाँ सेन्टर प्रवेश गर्दा मीन भामको अनुहारमा आत्मविश्वास प्रस्टै देख्न सकिन्थ्यो । नेपाली सिनेमाले इतिहास कोरिरहेको त्यस दिन नेपालका एक चलचित्र निर्देशक बलिउडका ख्यातनामा सिनेकर्मीहरूसँग कुममा कुम जोडेर उभिएका थिए । ताली र क्यामराका फ्ल्यास लाइटबीच मीन भाम र उनको टिम र बलिउडका सिनेकर्मीद्वयको ‘रेड कार्पेट वाक’ले कुनै प्रतिष्ठित फिल्म महोत्सवको झल्को दिन्थ्यो ।

नेपालमा फिल्म बन्नु आम कुरा हो, जसरी चोक गल्लीहरूमा चिया र मम पसल खुल्दछन् । सौ-पचास लाख खल्तीबाट निकाल्न सक्ने यहाँ जोकोही पनि निर्माता बन्न सक्छ । निर्माताका पत्नी/प्रेमिका, छोरा-छोरी, आफन्त, छरछिमेक कोही पनि नायक-नायिका बन्न सक्छन् । वर्षभर बन्ने सय बेसी फिल्महरूमध्ये गोटा पाँचजति मुनाफा वा जसोतसो साँवा उठाउन सक्छन् । बाँकी फिल्महरू कुन बेला हलमा लागे र कहिले उत्रिए भन्ने थाहसम्म हुँदैन । कतिपय फिल्मले त पोस्टरको खर्चसम्म उठाउन सक्दैनन् । यति भन्दैमा चलेका सबै फिल्म उम्दा हुन् भन्न खोजिएको पनि होइन । किनकि, चलेका वा नाफा बटुल्ने सिनेमामा पनि नवीनता देख्न सकिँदैन । नविनता धेरैका निम्ति जोखिमको मामिला हुन सक्छ । बरू निर्माता । निर्देशक कुनै एउटा सिनेमा हिट भएपछि तिनकै सिक्वेल बनाउँदै लगानी सुरक्षित बनाउनु श्रेयष्कर देख्छन् । कुनै बेला ‘राजेश हमाल-विश्वज्योति सिनेमा हल- शम्भुजित बाँस्कोटा’ नेपाली सिनेमाको सफलताको सूत्र भएझैँ अहिले ‘कमेडी र सिक्वेल’ पैसा असुलको सूत्र देखिएको छ । थाहा छैन नेपाली दर्शकले कहिलेसम्म सिक्वेललाई साथ दिने हो ? कहिलेसम्म घाममा लुतो कन्याएझैँ खिसिटिउरी र दुईअर्थी मजाकमा आनन्द लिइरहने हो ?

तर मीन भाम भने नेपाली सिनेमाको चल्तीको धार र आम मनोविज्ञानभन्दा बिलकुल पर छन् । उनलाई त्यस्तो सिनेमा बनाउनु छ, जसमा उनी जीवनको प्रतिविम्ब देख्न सक्छन् । उनी हतारिएर सिनेमा बनाउँदैनन् । सिनेमा बनाउनुअघि प्रशस्तै गृहकार्य गर्छन् । मनग्गे अनुसन्धान गर्छन् । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फको प्यानल छलफलमा उनले कालो पोथी निर्माण गर्नुअघि मानवशास्त्र र शाम्बाला अघि बौद्ध धर्मदर्शनमा स्नातकोत्तर अध्ययन गरेको कुरा बताउँदा म अवाक् बन्दै सुनिरहेको थिएँ । मीन वास्तवमा एक पर्फेक्सनिस्ट चलचित्र निर्देशक हुन्, जसलाई नम्बर गिन्तीका लागि सिनेमा निर्माण गर्नु छैन । हलमै खपत भएर हलबाहिर भोक लाग्ने पपकर्न बेच्नु छैन । उनी दर्शकलाई यस्तो अग्र्यानिक खुराक पस्किन चाहन्छन्, जसले दर्शकको मन-मस्तिष्कमा लामो समयसम्म हलचल पैदा गरिरहोस् । नेपाली आम सिनेकर्मी र मीनबीचको अर्को मूलभूत भिन्नता के हो भने हाम्रा अघिकांश सिनेकर्मी मुलुकभित्रै गुमनाम छन् । तर मीन भामलगायतका केही निर्देशकले विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा आफ्नो शिल्प र क्षमताको राम्रो परिचय दिइसकेका छन्, जसको सुकर्म दर्शकको कर्तलध्वनि र ‘स्ट्यान्डिङ ओभेसन’ ले अनुमोदन गरिसकेको छ । अनुराग कश्यप र नवाजुद्दीन सिद्दिकी शाम्बाला ठूलो पर्दामा काठमाडौँसम्म हेर्न आइपुग्नु मीनले मुलुकबाहिरै कमाएको प्रतिष्ठाको परिणति हो ।

पछिल्लो एक दशकयता नेपाली चलचित्र निर्देशकहरूको कान (फ्रान्स), भेनिस (इटाली), बर्लिनाले (जर्मनी), सनडान्स (अमेरिका), लोकार्नो (स्विट्जरल्यान्ड), बुसान (दक्षिण कोरिया) जस्ता प्रतिष्ठित चलचित्र महोत्सवहरूमा गर्विलो उपस्थिति देखिँदै आएको छ । यी महोत्सवका मुख्य विधाका मुख्य पुरस्कार नै हात नपारे पनि नेपाली चलचित्रहरू ‘स्पेसल मेन्सन’, ‘अडियन्स च्वाइस’ मार्फत महोत्सवका निर्णायक र दर्शक दुवैका आँखामा बस्न सफल भइसकेका छन् । लोकार्नोमा त ‘शाम्बाला’ की अभिनेत्री थिन्ले ल्हामुले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारेर नेपाली चलचित्रका निम्ति एउटा कोसेढुङ्गा स्थापित गरेकी छन् ।

तर विडम्बनाचाहिँ, प्रतिष्ठित महोत्सवहरूमा प्रशंसित र अनुमोदित यी चलचित्रहरूलाई स्वदेशमा भने न्यानो ‘होमकमिङ’ (घरको स्वागत) दिइएको पाइँदैन । जब यी चलचित्रहरू सार्वजनिक प्रदर्शनमा आउँछन्, त्यो बेला शो टाइम पाउन हम्मेहम्मे पर्छ । ठूलो स्टारकास्टको हिन्दी सिनेमालाई सप्ताहान्त, बिदाको दिन र अनुकूल समय दिएर नेपाली चलचित्रलाई दर्शक कमै पुग्ने कामकाजी दिनका बिहान र मध्याह्न छुट्याइने गरेको देखिन्छ । भेनिसमा ‘स्ट्यान्डिङ ओभेसन’ पाएको फिडेल देवकोटा निर्देशित ‘दि रेड सुटकेस’ लाई साताभरमा एकाध शो दिइने भएपछि निर्माताले उक्त चलचित्र क्युएफएक्स चेनमा नचलाएर भद्र विद्रोह गरेका थिए । विदेशमा प्रशंसित चलचित्रलाई स्वदेशमा कर छुट, राम्रो शो टाइमा दिएर प्रोत्साहित गर्नुपर्नेमा ‘यी चलचित्र बक्स अफिसमा चल्दैनन्’ भन्ने भाष्य निर्माण गरेर गर्भ नै तुहाउने दुष्प्रयास अत्यन्तै निन्दाजनक छ ।

खासमा कलात्मक चेतका शिल्पयुक्त यी चलचित्रहरू भविष्यका पुस्ताका निम्ति सतबीज हुन् । बलिउडको भद्दा नक्कल गरेर जस्तो चलचित्र हामी उत्पादन गर्दै आएका छौं, त्यो सांस्कृतिक रूपमा हाम्रा निम्ति मन्दविष हो । बलिउडभित्रका पनि कलात्मक र त्यसैगरी भारतका प्रादेशिक भाषाका उम्दा चलचित्रहरूमा हाम्रो आँखा नपर्नु तर बलिउडका फर्मुला र मसलेदार चलचित्रको अन्ध नक्कल गर्नु भनेको सांस्कृतिक पतनको बाटो रोज्नु हो ।

धेरै गुलियो र चिल्लो खाने मान्छेलाई मोटोपन र बोसोयुक्त कलेजो (फ्याटी लिभर) हुने भएजस्तै मसलादार फिल्मले हाम्रो मस्तिष्कलाई नै विकारयुक्त (टक्सिक) बनाइसकेको छ । यो रोगबाट छुट्कारा पाउनु भनेको स्वस्थ आहारविहार मात्र हो । त्यसैले स्वस्थ मनोरञ्जन र मानसिक विकारबाट मुक्ति पाउनका निम्ति हामीलाई हाम्रै परिवेशका कलात्मक चलचित्रको दरकार पर्छ । यस्तो चलचित्र जसले विश्वसामु नेपालको मौलिकता र नेपाली चलचित्रकर्मीको कलाचेत र सामथ्र्य उजागर गरोस् ।

बलिउड र अझ अहिले आएर दक्षिण भारत (साउथ) का चलचित्रको नक्कलबाट हामी कहीँकतै पुग्न सक्दैनौँ । धेरै खर्च गरेर लगानी जोखिममा पार्नुभन्दा कम खर्चको मौलिक, जीवन्त र कलात्मक चलचित्रको बाटो नै हाम्रो लागि सुरक्षित र सम्मानजनक हुन सक्छ । लगानीकै कुरा गर्दा पनि प्रतिष्ठित महोत्सवहरूमा चिनारी बनाइसकेका निर्माता/निर्देशकका निम्ति चलचित्र निर्माण अनुदान र प्रायोजन हात पार्नु कुनै ठूलो कुरा रहँदैन ।

आज हलिउड र बलिउडले चलचित्रको जस्तो बजार ओगटेका छन्, त्यसको प्रतिस्पर्धी हामी कहिल्यै हुन सक्दैनौँ । हामी न त उनीहरूको जस्तो लगानी गर्न सक्छौँ, न त हाम्रो बजार नै त्यति ठूलो छ । यस्तो परिस्थितिमा हामीले आफ्नै हैसियतको बाटो रोज्ने हो । त्यो भनेको सानो वा मध्यम लगानीको मौलिक र कलात्मक चलचित्र निर्माण हो ।

उदाहरणका लागि इरान नै हेरौँ । सानो लगानीमा इरानले प्रभावशाली चलचित्र निर्माण गर्दै आएको छ । हामीभन्दा धेरै सानो र जनसंख्याको हिसाबले त हाम्रो कुनै एक जिल्ला बराबरको भुटान राम्रो चलचित्र निर्माणमार्फत विश्वमा आफ्नो सामथ्र्य प्रदर्शन गर्दै छ । हाम्रो निम्ति कम्तीमा कलात्मक चलचित्रको एउटा गोरेटो निर्माण भइसकेको छ, यसलाई राजमार्गमा रुपान्तरण गर्ने अभिभारा नयाँ पुस्ताको हो । मौलिक र कलात्मक चेतका चलचित्र निर्माणमा जुटिरहने हो भने त्यो दिन धेरै टाढा पनि छैन, किनकि प्रतिष्ठित महोत्सवहरूको अनुमोदनले हामीलाई आत्मविश्वासी बनाइसकेको छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *