साङ्गीतिक जोडीको मिलेको सुर

डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।

डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् । त्रिशालाको प्यासन गायनमा छ । सङ्गीत सिर्जना कर्ममा सहकार्य गर्दागर्दै कति बेला यी दुवैको जीवनको लय मिल्यो, पत्तै पाएनन् ।

हालैको एक दिन सामाखुसीस्थित एउटा स्टुडियोमा यी दुई जोडीसँग प्रेम र सम्बन्धका बारेमा गफिँदा लाग्थ्यो, वाह ! क्या जोडी है । दुवै जना ‘कुल’ थिए । शान्त शैलीमा एकले अर्कोको प्रशंसा मात्रै गरिरहन्थे । भौतिक रूपमा दुई जना तर विचार एउटै । सायद मान्छेहरूबीच मनको लय मिलेपछि त्यसबाट निस्कने सुर एउटै हुँदो हो । उनीहरू भन्दै थिए, ‘मायामा विश्वास, समर्थन र परस्पर सहयोग अनिवार्य हुन्छ ।’ रोहितले थपे, ‘जब सम्बन्धमा अहङ्कार र प्रतिस्पर्धा हुन्छ, प्रेमको सागर धमिलिँदै जान्छ र त्यसले टुटफुटको बाटो रोज्छ ।’ त्रिशालाले सहमत हुँदै थपिन्, ‘हामी कदापि यस्तो मोडमा जादैनौँ । किनभने, हामी एकअर्काको खुसी र सफलता मात्रै चाहन्छौँ ।’

६ वर्षजति मात्रै हो, यो जोडीको सम्बन्ध जोडिएको । सुरुमा सम्बन्धको आधार भर्चुअल थियो । त्रिशाला रोहितलाई इन्स्टाग्राममा फलो गर्थिन् । रोहित युवामाझ लोकप्रिय थिए, आफ्नो कार्यक्रम ‘इभिनिङ सेसन’ मार्फत । त्रिशाला पनि ‘इभिनिङ सेसन’ को फ्यान नै थिइन् । गायन क्षेत्रमा बढिरहेकी उनलाई त्यो ‘प्लेटफर्म’ मा पनि आफ्नो प्रस्तुति दिन पाए हुन्थ्यो भन्ने थियो । ‘रोहितको इभिनिङ सेसनमा कोलाबरेसन गर्ने सपना नै थियो मेरो’, उनले भनिन् ।

सङ्गीत क्षेत्रमा बढ्न सङ्घर्ष गरिरहेकी त्रिशाला निराशिएकी थिइन् । जब उनले पहिलो पटक रोहितलाई भेटिन्, मनभरिका सारा वह पोखिन । वर्षौंदेखि मनमा गाँठो परेका कुराहरू खोलिन् । शान्त भएर सुनिरहेका रोहितले एक घण्टाभन्दा बढी सुनेपछि मुस्कुराउँदै भने, ‘मैले त तिम्रो सारा कुरा थाहा पाएँ । तर, तिमीले मेरो बारेमा के थाहा पायौ ?’ सुनेर त्रिशाला एक्लै बोलेछु भनेर झसङ्ग भएकी थिइन् ।

तर, यी दुईबीच एकअर्कालाई थाहा पाउने सिलसिला त्यहीँबाट सुरु भयो, रोकिएन । ‘इभिनिङ सेसन’मा सङ्गीतको तारले जोडिएका यी दुईका दिनहरू बित्दै जाँदा मनको तार पनि जोडिन थाल्यो । रोहितलाई त्रिशालाका कुरा सुन्न मन पर्ने, त्रिशाला रोहितसँग खुलेर सबै कुरा गर्न सक्ने । दुईबीचको सम्बन्ध प्रगाढ हुने आधारशिलाहरू बन्दै थिए । त्यसै क्रममा यी दुईले आफ्नै सम्बन्धमा आधारितझैँ लाग्ने, ‘काठमाडौँ सहर’ गीत बनाए । जुन गीत युवाहरूमाझ अति लोकप्रिय भयो । दुवैको फ्यान फलोअर बढिरहेका थिए । फ्यानहरूले दुईलाई कलाकार मात्र नभई जोडीकै रूपमा हेर्न थाले । अन्ततः दुई वर्षअघि दुवै विवाह–बन्धनमा बाँधिने निष्कर्षमा पुगे ।

त्रिशाला ब्रिटिस आर्मी परिवारमा जन्मेकी एक्ली छोरी । गुरुङबाहेक अरू जातसँग विवाह गर्ने कुरामा परिवार मञ्जुर थिएन । रोहितको परिवारचाहिँ तुलनात्मक उदार थियो । रोहितकी आमाले दुवैलाई चार वर्षको प्रेमसम्बन्धलाई विवाहमा बदल्न सुझाइन् । तर, त्रिशालाका आमाबाबुले सुरुमा स्विकार्न हिच्किचाए । तर, विवाहपछि सुरुमा देखिएको अन्योल हटेको छ । अहिले रोहित सासूससुराका प्रिय ज्वाइँ भएका छन् । त्रिशाला उत्साहित हुँदै सुनाउँछिन्, ‘अहिले त आमाले ज्वाइँसँग कुरा नगरेको दिन नै हुँदैन ।’

त्रिशालाले पनि काठमाडौँको रैथाने नेवार परिवारमा राम्रो घुलमिल गर्न सकेकी छन् । त्रिशाला शाकाहारी हुन् । तर, नेवार परिवारमा मासु, अन्डा, रक्सी आदिलाई सगुन मानिन्छ । रोहितकी आमाले त्रिशालालाई सहज बनाइदिइन् । अन्डाको सट्टा लड्डु र रक्सीको ठाउँमा दूध सगुन लिन मिल्ने प्रबन्ध गरिदिइन् । छोरीलाई जस्तै माया दिइन् । जसले गर्दा त्रिशालालाई ‘घर खान’ सहज भयो । विवाह भइसकेपछि पनि यो जोडीलाई ‘ल हाम्रो त विवाह भइसक्यो र ?’ भन्ने लागिरहन्छ ।

त्रिशालाका लागि बरु आफ्ना इच्छा पूरा गर्न लुकी–लुकी गायन यात्रा अघि बढाएका ती दिनहरू कठिन थिए । बाल्यकालदेखि नै उनलाई गायनमा रुचि । परिवार र साथीभाइ सर्कल डाक्टर पढ्नुपर्छ भन्ने । उनले डाक्टर पढिन् तर सँगै गायन यात्रालाई पनि अघि बढाइन । भजनदेखि आधुनिक गीतसम्म रुचि राख्ने त्रिशालाले आफ्नो यात्रा कभर सङहरूबाट सुरु गरिन् । जति–जति उनले गीत गाउन थालिन्, सङ्गीतसँगको उनको सम्बन्ध अझ गाढा बन्दै गयो ।

रोहितले १८ वर्षको उमेरदेखि नै सङ्गीत क्षेत्रमा पाइला टेकेका थिए । उनलाई कहिल्यै अन्य काममा रुचि जागेन । घरबाट उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने आशालाई साउन्ड इन्जिनियर बने । उनले थाइल्यान्डको स्कुल अफ अडियो इन्जिनियरिङमा अध्ययन गरे र नेपाल फर्केका हुन् । सन् २०१० मा ‘भिसा गर्ल’ फिल्ममार्फत नेपाली चलचित्रमा सङ्गीत निर्देशनको यात्रा सुरु गरे । म्युजिक प्रोड्युसर, म्युजिक डाइरेक्टर, साउन्ड इन्जिनियरका रूपमा रोहितले ९० भन्दा बढी चलचित्रमा सङ्गीत दिएका छन् । उनी स्वर ब्यान्ड र जिन्दावाद ब्यान्डमा पनि सक्रिय सदस्य हुन् । जिन्दावादमा ब्यान्डमा उनी भोकलिस्ट पनि हुन् ।

रोहितसँगको सङ्गतले त्रिशालालाई जीवनमा ब्यालेन्स राख्न सिकायो । उनी पढाइबाट ब्रेक लिने सोचमा थिइन्, तर रोहितले शिक्षा र सङ्गीतलाई सँगै अघि बढाउन प्रेरित गरे । यही कारणले गर्दा त्रिशालाले उनलाई असल व्यक्तिका रूपमा हेर्न थालिन् ।
उनले आफ्नो सङ्गीत यात्रा सुरु गर्दा उनका साथीहरूले उनलाई ‘किन यति मेहनत गरेर डाक्टर बन्नुपर्छ ? गायिका बन्न किन पढ्नुप¥यो ?’ भन्थे । तर, ठीक उल्टो रोहितले सधैँ शिक्षा र मेहनतकै कारण कलाकारिता वा कुनै पनि क्षेत्रमा गहिराइमा पुग्न सकिन्छ भन्ने कुरामा जोड दिइरहे । उनलाई लाग्थ्यो, रोहितसँगको सङ्गतले आफू नराम्रो सङ्गतबाट बाहिर निस्किएर राम्रो दिशामा लागेको छु ।

रोहितले सधैँजसो भन्ने सिक्काको दुई पाटाजस्तै हरेक व्यक्तिमा राम्रा–नराम्रा पक्ष हुन्छन् र तिनलाई स्विकार्नु नै असल जीवनको आधार हो । यही सोचले उनी प्रभावित छिन् । रोहितलाई त्रिशालाले जीवनसाथी मात्र नभई असल गुरुका रूपमा पनि लिएकी छन्, किनभने उनका सफल परियोजनाहरूको पछाडि रोहितको निरन्तर समर्थन थियो ।

केही समयअघि पाकिस्तानमा सम्पन्न एसिया कपमा नेपालका तर्फबाट गाउने अवसर त्रिशालाले पाइन् । त्यस अवसरलाई सम्भव बनाउन रोहितको भूमिका निकै महत्वपूर्ण रह्यो । स्टेडियममा गाउन पाउनु त्रिशालाका लागि विशेष अनुभव बन्यो ।

कार्यक्रमपछि होटलमा आराम गरिरहेकी बेला, भारतीय टेलिभिजन च्यानलहरूमा उनको समाचार र फोटोहरू देखिन थाले । यो दृश्यले रोहितलाई अति नै खुसी बनायो— जीवनसाथीको सफलता देख्दा उनी दङ्ग परे । त्यही क्षण त्रिशालाले पनि महसुस गरिन् । एसिया कपमा गाउने अवसर चानचुने थिएन । त्यसपछि मात्र उनका अभिभावकले उनको गायनलाई गम्भीर रूपमा लिएका थिए ।

रोहितलाई त्रिशालाको स्वर मन पर्छ, तर उनी भन्छन्, ‘कठिन साधना पाए अझ निखार आउँछ ।’ त्यसैले उनी सधैँ त्रिशालालाई निरन्तर अभ्यास गर्न प्रेरित गर्छन् । ‘ऊ मभन्दा धेरै राम्रो गाउँछ, त्यसैले मैले उसको नाम ‘तानसेन’ राखिदिएको छु,’ रोहित मुस्कुराउँदै भन्छन् ।

विवाहपछि त्रिशालाले महसुस गरिन् कि उनको जीवनकै सबैभन्दा सही निर्णय यही थियो । उनका आमाबुबाले उनलाई कहिल्यै सङ्गीतमा लाग्न प्रेरित गरेनन्, बरु पढाइलाई प्राथमिकता दिन्थे । तर, त्रिशालालाई सङ्गीत नै जीवन बनेको थियो । विवाहपछि भने उनले सङ्गीतलाई खुलेर अँगाल्न पाइन् । ‘विवाह नगरेको भए सङ्गीतलाई निरन्तरता दिन गाह्रो हुन्थ्यो,’ त्रिशालाले बताइन् ।

रोहितसँगको सम्बन्धको सबैभन्दा राम्रो पक्ष के हो भने उनी त्रिशालाको कुरा ध्यानपूर्वक सुन्छन् । “उनी कहिल्यै रिसाउँदैनन्, न त झर्किन्छन् । सबै कुरा सुनेर मात्र आफ्नो तर्क राख्छन्,’ त्रिशालाले भनिन् । यही गुणले उनलाई प्रभावित बनायो । हाँस्दै थपिन्, ‘रोहित त पक्का ‘म्यारिड मटेरियल’ थियो, तर मचाहिँ कति योग्य छु, थाहा छैन । त्रिशाला भजन गाउन मन पराउँछिन्, बिहान–बेलुकी पूजामा भजन गाउने उनको बानी छ । भर्खरै मात्र उनले ‘तिमी जे बन, उदाहरण बन’ भन्ने भजन गाएकी थिइन् । रोहितलाई लाग्छ, त्रिशालाको स्वरमा विशेष गुण छ, तर अझ बढी साधनाले मात्र त्यो पूर्णता पाउनेछ ।

विवाहपछि त्रिशालाले धैर्यता, सोचेर बोल्ने, काममा प्रोफेसनल कसरी बन्ने, अध्ययन र साधनाबारे सिकिन् र प्राक्टिस गर्दै छिन् । रोहितचाहिँ भने आफूलाई बाहिरी लुक्समा ध्यान दिन, गेटअपको महत्व, माछा, मासु, रक्सी, बियर कम खान थालेका छन् । जे होस्, एकअर्काको भावनालाई रेस्पेक्ट गर्छन् र केही कुराको निर्णय पनि दुवैको सल्लाहमा नै हुन्छ । दुवैका फरक–फरक जनराका फ्यानहरू छन्, फ्यानसँग कसरी ट्याकल गर्ने उनीहरूलाई राम्रोसँग थाहा छ । त्रिशाला विवाहलाई ‘जीवनकै सबैभन्दा सही निर्णय’ ठान्छिन् । विवाहपछि उनले सङ्गीतलाई खुला रूपमा अँगाल्न पाइन् । भन्छिन्, ‘रोहितसँग विवाह नगरेको भए सायद म अझै सङ्गीत र करियरबीच दोधारमै हुने थिएँ ।’ रोहित पनि मन मिल्ने जीवनसाथी पाएकोमा दङ्ग छन् । आखिर, सङ्गीतले जोडेको जीवनको सुर मिलेकै छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *