जब दिवाकरको जीवनमा चन्द्रमा दाहिना भइन्…
पाटनको टङ्गालनिवासी दिवाकर राजकर्णिकारका जिजु बुबा बिर्खराज तत्कालीन राजदरबारमा मिठाई बनाउँथे । वि.सं. १९०५ मा राणा प्रधानमन्त्री जङ्गबहादुरले राजदरबारमा मात्रै नभई आफ्नो दरबारमा पनि मिठाई बनाउन आदेश दिएपछि बिर्खराज राजकर्णिकार दरबारमा मिठाई बनाउन थाले । त्यसपछि थापाथलीमा ‘राम भण्डार’ नामक मिठाई पसल खोलियो, जसको विरासत अहिले दिवाकर र उनकी श्रीमती चन्द्रमाले सम्हालिरहेका छन् ।
दिवाकर ब्याचलर पढ्दै थिए । जम्मा १८ वर्ष मात्र पुगेका थिए, तर घरबाट विवाह गर्नुपर्छ भन्ने दबाब थियो । घरका सदस्यहरू विभिन्न केटीको तस्बिर ल्याएर देखाउँथे । उनी केही केटीलाई भेट्न पनि गए, तर कोहीसँग पनि विवाह गर्ने निर्णय लिन सकेनन् । तस्बिर हेर्थे, भेट्थे अनि विषय त्यत्तिकै टुङ्गिन्थ्यो ।
उता इतुम्बहालमा बनिया जातिहरूको बाहुल्यता थियो । राजकर्णिकारहरूले मिठाई बनाउने भनेजस्तै बनिया (उदाय) ले जडीबुटीबाट औषधि बनाउने र वैद्यको काम गर्थे ।
इतुम्बहालकी चन्द्रमा बनिया पनि १८ वर्षको हुँदै थिइन् । उनका बुबा सानैमा बितेपछि आमाले तीन दिदीबहिनीलाई आफैँ कमाएर पढाएकी थिइन् । उनकी आमा पनि जडीबुटीकै काम गर्थिन् । चन्द्रमालाई पनि घरबाट विवाहका लागि थुप्रै केटाको फोटो देखाइयो । तर, उनले भेटेका कोहीसँग जीवन बिताउन सकिन्छ भन्ने अनुभूति भएन ।
दुवै जना आफ्नो निर्णयमा स्पष्ट थिए— विवाह केवल परिवारको इच्छाले मात्र होइन, आपसी समझदारी र आत्मीयतामा आधारित हुनुपर्छ ।
दिवाकरको घरमा फुपूको विवाह पक्का भइसकेको थियो । त्यसै समयमा परिवारले दिवाकरको विवाह पनि गरिदिने सोच बनाए । संयुक्त परिवार भएकाले त्यति बेला विवाह गर्दा आर्थिक बोझ कम गर्न दुई–तीनवटा विवाह सँगसँगै गरिने प्रचलन थियो ।
दिवाकरकी फुपू र चन्द्रमाकी दिदी मिल्ने साथी थिए । यही सम्बन्धका कारण दिवाकरलाई चन्द्रमा देखाउने योजना बनाइयो । भेटघाट बिहानैको समयमा तय गरियो । जब उनीहरू चन्द्रमाको घर पुगे, त्यहाँ तीन बहिनीहरू सुतिरहेका थिए । यस्तो अवस्थामा केटी हेर्नु दिवाकरलाई असहज लाग्यो, तर फुपू भएकाले उनले खासै गम्भीर रूपमा लिएनन् । तीन दिदीबहिनीमध्ये माइली चन्द्रमालाई आफ्नो जीवनसँगिनी बनाउने निर्णय गरे । उनको नामजस्तै उज्याली थिइन्, चन्द्रमा । पहिलो हेराइमै दिवाकारलाई लाग्यो, यो केटी मेरो लागि सही छ । चन्द्रमालाई पनि हँसिलो दिवाकरले मोहित बनाएको थियो ।
विवाहका लागि दुवै पक्ष तयार भए पनि उनीहरूबीच विवाहअघि भने कुनै संवाद भएन । चन्द्रमा जब रत्नपार्क हुँदै पद्मकन्या क्याम्पस जान्थिन्, दिवाकर आफ्ना साथीहरू लिएर त्यहीँ हेर्ने जान्थे । उनीहरू एकअर्कालाई हेर्थे, नजर जुधाउँथे र फर्कन्थे । तर, बोलेर कुराकानी भने कहिल्यै गरेनन् ।
जब विवाह निश्चित भयो, चन्द्रमाको परिवारले आफ्नो परम्पराअनुसार विवाहमा दुलाहा र जन्ती नबोलाउने कुरा राख्यो । तर, दिवाकर घरको एक्लो छोरा भएकाले जन्तीबिना विवाह गर्ने कुरा उनको परिवारलाई स्वीकार्य भएन । यही कारणले विवाहअघि दुवै परिवारबीच केही तनाव उत्पन्न भयो । चन्द्रमाकी आमालाई यदि उनले आफ्नो चलनअनुसार विवाह नगराए गुठीबाट निकाल्नेसम्मको धम्की आयो । तर, उनले हिम्मतिलो निर्णय लिँदै छोरीको विवाह दुलाहाको परिवारको परम्पराअनुसार गरिदिने निर्णय गरिन् ।
विवाहका लागि रक्सौलबाट पाँच दिनका लागि ब्यान्ड बाजा बोलाइएको थियो । दिवाकरको परिवारको चलनअनुसार दुलाहा र जन्ती एक रात दुलहीको घरमा बस्नुपर्ने थियो । चन्द्रमाको परिवारले आफ्नै परम्परालाई बेवास्ता गर्दै दिवाकरको परिवारको रीतअनुसार विवाह गरिदियो ।
दिवाकर र चन्द्रमाको विवाह एउटा विशिष्ट पारिवारिक संरचनामा सम्पन्न भएको थियो । चन्द्रमा आफ्नी आमा र दुई दिदीबहिनीसँग बस्ने एक निश्चल जीवनबाट एकाएक २४ जनाको ठूलो संयुक्त परिवारको एक्ली बुहारी बनिन् । परिवारमा पाँच जना ससुरा, पाँच जना सासूसहितका सदस्य थिए । नयाँ परिवेश, नयाँ भूमिका, नयाँ जिम्मेवारी— चन्द्रमाका लागि यो जीवनको सबैभन्दा ठूलो परिवर्तन थियो । त्यो समय उनीलाई निकै कठिन लाग्यो । तर, भाग्यवश उनकी सासूले उनलाई राम्ररी सम्हाल्न सिकाइन् ।
५१ वर्षको वैवाहिक यात्रामा चन्द्रमाले कहिल्यै श्रीमान् दिवाकरसँग कुनै गुनासो पोखिनन् । समयक्रममा संयुक्त परिवारबाट अलग्गिएर चन्द्रमा र दिवाकरले आफ्नो व्यापार—राम भण्डार— सम्हाल्न थाले । सन् १९९४ मा दिवाकर नेपाल जेसिजको अध्यक्ष बन्ने तयारीमा थिए, तर परिवार अलग्गिएर बसेका कारण पसल व्यवस्थापनको चिन्ताले उनलाई पछि हट्नुपर्यो । त्यस बेला चन्द्रमाले दृढताका साथ भनिन्, ‘तपाईं अध्यक्ष बन्नुहोस्, म सबै सम्हाल्छु ।’
त्यो समय महिलाहरूलाई पसलमा बस्न सुहाउँदैन भन्ने सामाजिक मान्यता थियो । तर, चन्द्रमाले परिवारको आवश्यकता बुझ्दै यो परम्परागत सोच बदलिन् । श्रीमान्को यात्रा रोकिएला भनेर उनले पसलमा सक्रिय भूमिका निर्वाह गरिन् ।
दिवाकर सामाजिक कार्यहरूमा संलग्न रहन चाहन्थे । नेपाल क्यान्सर रिलिफ सोसाइटी, रोटरी क्लब, हिडेन ट्रेजरजस्ता संस्थाहरूमा उनको सक्रियता चन्द्रमाको साथबिना सम्भव थिएन । चन्द्रमाले पनि सानैदेखि वैद्य मसला बेच्ने व्यवसायमा रुची राखेकी थिइन् । उनले दिवाकरलाई सधैँ अगाडि बढ्न हौसला दिइन् ।
वैवाहिक सम्बन्ध सुमधुर बनाउन समय निकाल्नुपर्छ भन्ने उनीहरूको बुझाइ थियो । जति नै व्यस्त भए पनि महिनामा दुई–तीन पटक हलमा गएर चलचित्र हेर्ने उनीहरूको दैनिकी नै बन्यो । उनीहरू आफ्नो सम्बन्धलाई सहज र आत्मीय बनाउने सूत्रलाई ‘तिमी आगो, म पानी; तिमी पानी, म आगो’ भन्ने विश्वासले परिभाषित गर्छन् ।
दिवाकरलाई चन्द्रमाको मेहनती स्वभाव, छोराछोरीलाई दिएको असल सं
कार, कहि
यै फर्माइस नगर्ने बानी निकै मन पर्छ ।
यही गुणले उनको जीवनलाई सफल बनाएको उनी बताउँछन् । परिवारमा मात्र सीमित नराखी चन्द्रमालाई बाहिरी दुनियाँमा सक्रिय बनाउने सोचका साथ उनले उनलाई इनर ह्विल क्लबको सदस्य बनाए । चन्द्रमाले अध्यक्षको भूमिकासमेत सम्हालेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिन् । कलेजमा नृत्य लिएकी उनले इनर ह्विलमार्फत आफ्नो सोखलाई पुन: उजागर गर्ने अवसर पाइन् ।
५१ वर्षको लामो सहयात्रापछाडि हेर्दा उनीहरूलाई समय कति छिटो बितेछ भन्ने महसुस हुन्छ । आजको समयमा धेरै सम्बन्ध कच्चा धागोजस्तै टुट्ने, हतारमा विवाह गर्ने अनि फुर्सदमा पछुताउने प्रवृत्तिले उनीहरू दु:खी छन् । दिवाकर भन्छन्, ‘विवाह भनेको एउटा बन्धन हो, जसमा इज्जत, सम्मान र मायाको आधारमा सम्बन्ध टिक्छ । अहिले सम्बन्धहरू स्वार्थका लागि जोडिन्छन् र इगोले टुट्छन् ।’
चन्द्रमा भन्छिन्, ‘अबका पुस्ताको विवाह ५० वर्ष टिक्छ होला त ?’