‘डिपफेक’ को डर

एआईको प्रयोगले डिपफेक प्रयोग गरी बनाइएका सामग्री पहिचान गर्ने उपकरणहरू विकास भएका छन्, जसले डिपफेकको दुरुपयोग रोक्न मद्दत गर्छ

अघिल्लो महिना सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा बोल्दै थिए, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । दिनहु“ ट्रम्प अनेकौँ सार्वजनिक अभिव्यक्ति दिइरहन्छन् । उनका भिडियो चर्चामा आउनु नौलो होइन । तर, यहा“ उल्लेख गरिएको भिडियोमा उनी काठमाडौँका मेयर बालेन साहबारे टिप्पणी गर्दै थिए । उनको प्रशंसा गर्दै थिए ।

ट्रम्पले अमेरिकी सहयोग रोक्नेलगायतका केही निर्णय गरेपछि बालेनले सामाजिक सञ्जालमा अमेरकी राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेका थिए, ‘प्रिय डोनाल्ड ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराउनुभएकोमा धन्यवाद । हामी गरिब छौँ, किनभने हाम्रा मानिसहरू देश छोड्दै छन् । अ‍ेमेरिकीहरू अल्छी छन्, त्यसैले तपाईंहरू गरिब हुनुहुन्छ । त्यसकारण तपार्इंलाई बाँकी संसार चाहिन्छ । कृपया डिभीको दासत्व बन्द गर्नुहोेस् । त्यसो हुँदा हाम्रा प्रतिभाहरू फिर्ता पाउनेछौँ ।’

राष्ट्रपति ट्रम्पलक्षित सामाजिक सञ्जालको यो स्टाटसले उसै पनि काठमाडौँ तरङ्गित थियो । भोलिपल्ट ट्रम्पको आवाजमा बालेनको प्रशंसा गरिएको भिडियो सार्वजनिक भएपछि त झन् सामाजिक सञ्जाल थामिनसक्नु भयो । मान्छेहरूले ट्रम्पले बालेनबारे दिएको भिडियो अभिव्यक्ति पत्याए र प्रियतावादको शिखर चढिरहेका बालेनको प्रशस्ति गानमा अरू शब्दहरू खर्चिए । खासमा त्यो भिडियो सन्देश नक्कली अर्थात् फेक थियो । प्रविधिको भाषामा यस खाले नक्कली सूचनालाई ‘डिपफेक’ भनिन्छ । अचेल हरदिन समाज यस्तै खाले ‘डिपफेक’को सिकार बन्दै गएको छ । आउनोस्, समाजलाई नै त्रस्त बनाइरहेको प्रविधिले दिएको श्राप ‘डिपफेक’ बारे केही चर्चा गरौँ ।

के हो डिपफेक ?
डिपफेक कृत्रिम बुद्धिमत्ता (एआई) को एक हाँगा हो, जसले विश्वसनीय देखिने गरी झूटा चित्र, आवाज र भिडियोहरू सिर्जना गर्न सक्छ, जुन कुरा डिप लर्निङ र नक्कली शब्दहरूको सम्मिश्रणमा तयार गरिएको हुन्छ । यो प्रविधिको प्रयोगमा काल्पनिक संसार र घटनाहरू वास्तविकझैँ बनाउन सकिन्छ, जसको अस्तित्व पृथ्वीमा नहुन पनि सक्छ । यसका लागि एआईमा उपलब्ध मेसिन लर्निङ एल्गोरिदम प्रयोग गरेर त्यस्ता तस्बिर र आवाजलाई लयबद्ध गरी वास्तविक भिडियोजस्तै बनाइन्छ । यी खाले सामग्री सकारात्मक र नकारात्मक दुवै प्रयोजनका लागि प्रयोग भएको पाइन्छ । दुर्भावनापूर्ण उद्देश्य पूरा गर्न अचेल डिपफेक सबैभन्दा धेरै प्रयोग भइरहेको छ । मानिसहरूलाई गलत सूचना सम्प्रेषण गर्न, भ्रमित गर्न, जनमत बनाउन तथा प्रभावित पार्न यसो गरिन्छ, जसलाई फेक न्युज भनिन्छ । यसले साइबर सुरक्षामा थप चुनौती सिर्जना गरेको छ । त्यसो भए डिपफेकले कसरी काम गर्छ ? यसबाट कस्तो सुरक्षा खतरा छ र यसलाई कसरी चिन्ने र जोगिने उपाय के हुन् ? त्यसका बारेमा विस्तृत चर्चा तल गरिएको छ ।

डिपफेकले कसरी काम गर्छ ?
डिपफेकको चलन जब रेडिट प्रयोगकर्ताले डिपफेक्स प्रयोगकर्ता नाम राखेर सन् २०१७ मा सर्वप्रथम एक चिकित्सकको अश्लील भिडियो सामग्री वेबसाइटमा राखेसँगै सार्वजनिक स्तरमा यसका बारेमा जानकारी भएको हो । त्यतिबेला गुगलको खुला स्रोतमा उपलब्ध डिपफेक प्रविधि उसले प्रयोग गरेको थियो । डिपफेक कृत्रिम बुद्धिमता नै भएको हुँदा यसले मानिसको अनुहार, आवाज र शरीरका हलचलहरूको विस्तृत विश्लेषण गर्छ, जसलाई नयाँ सामग्री बनाउन प्रयोग गरिन्छ, जुन वास्तविकझैँ देखिन्छ । विभिन्न स्रोतबाट सङ्कलित डाटाहरूलाई मेसिन लर्निङ मोडेलद्वारा प्रशिक्षित गरी नयाँ र नक्कली सामग्री तयार गर्न डिपफेक प्रयोग गरिन्छ । सामान्य अवस्थामा डिपफेक प्रविधि प्रयोग गरेर बनेका सामग्री वास्तविक वा नक्कली हुन् भनेर पहिचान गर्न गाह्रो हुन्छ । प्रायःजसो डिपफेक बनाउन जेनरेटिभ एड्भरसारियल नेटवर्क (जिएएन) को प्रयोग गरिन्छ, जसले उपलब्ध मेसिन लर्निङका एल्गोरिदम प्रयोग गरी विभिन्न मोडेल चिन्न सिकाउँछ । अनुहार बदल्न प्रयोग गर्ने तरिका पनि हुन्छ, जसलाई एन्कोडर भनिन्छ ।

अचेल डिपफेकको प्रयोगले साइबर सुरक्षामा थप जटिलता आएको छ, त्यसको पछिल्लो जानकारी नेपाल प्रहरीको साइबर ब्युरोले लगातार जारी गर्ने प्रेस नोट र ब्युरोले कानुनी दायरामा दोषीलाई ल्याएको खबरले पनि थाहा हुन्छ । सामाजिक सञ्जालमा पहिचान लुकाएर, अरूको चरित्र हत्या गरेर, झूटा सूचना सम्प्रेषण गरेर वा बालबालिका र महिलाहरूको अश्लील सामग्री प्रयोग गरेर आर्थिक ठगी गर्न विशेष गरी डिपफेक प्रविधिको प्रयोग धेरै भइ रहेको छ ।

उदाहारणका लागि हिथर चेन र कथलिन मग्रामोले सिएनएनमा फेब्रुअरी ४, २०२४ मा पब्लिस गरेको न्युज रिपोर्टमा कसरी डिपफेकको प्रयोगमा कम्पनीका प्रमुख वित्तीय अधिकृतको आवाज र तस्बिर हुबहु बनाई र अन्य अधिकारीलाई पनि उक्त फेक भिडियो वार्तामा समावेश गरी हङकङमा रहेका कर्मचारीलाई २५ मिलियन अमेरिकी डलर साइबर ठगले हङकङमा विभिन्न बैंक खातामा ट्रान्सफर गर्न लगाए । जब ती कर्मचारीले लन्डन केन्द्रीय कार्यालय रहेको बहुराष्ट्रिय कम्पनीका प्रमुख वित्तीय अधिकारीसँग फेक भिडियो कन्फरेन्स गरेको थाहा पाए, उनी ठगिएको पत्ता लाग्यो । उक्त ठगीमा संलग्न भनेर हङकङ पुलिसले ६ जना आरोपीलाई गिरफ्तार पनि ग¥यो ।

कसरी चिन्ने ?
मूलतः डिपफेक प्रविधि एआईको उच्चतम प्रयोग हो, जसलाई जीवनोपयोगी सीप सिकाउन, प्राविधिक प्रदर्शनी, ऐतिहासिक धरोहरको पुनर्सिर्जना गर्न, विकास निर्माणको भौतिक संरचनाको नमुना सार्वजनिक गर्न तथा विभिन्न घटना–दुर्घटनाको विश्लेषण गर्न समाचार प्रसारण गर्न प्रयोग गरिन्छ । तर, पछिल्ला दिनहरूमा डिपफेक प्रविधिका कारण साइबर सुरक्षा जटिल मोडमा पुगेको छ । साइबर अपराधीहरूले डिपफेकको अवैध प्रयोग गरी ठगी, भ्रम सिर्जना, सामाजिक आतङ्क, गलत सूचना सम्प्रेषण, व्यक्तिको पहिचान चोर्ने आदि आपराधिक कार्यमा संलग्न रहेको भेटिएको छ । त्यसो भए डिपफेक प्रविधि प्रयोग गरी तयार भएका सामग्री कसरी पहिचान गर्ने र यसबाट कसरी जोगिने, अब त्यसबारे चर्चा गरौँ ।

डिपफेक प्रयोग गरी बनेका भिडियो सामग्री वास्तविकजस्तै लाग्छन्, तर ती भिडियो सामग्री ध्यान दिएर हेर्दा त्यो नक्कली भन्ने थाहा लाग्छ । जस्तो कि भिडियोमा देखेको मानिसको आँखा चलाइ असामान्य र झिम्काइको पूरै अभाव हुन्छ । कपाल, छालाको रङ्ग तथा अनुहारको हाउभाउ अस्वाभाविक देखिन्छ । शरीरको आकारसँग टाउको र शरीरको स्थिति मिलेको हँुदैन र बोल्दै गर्दा ओठ चलाइ र शब्द उच्चारण फरक देखिन्छ । एआईको प्रयोगले डिपफेक प्रयोग गरी बनाइएका सामग्री पहिचान गर्ने उपकरणहरू विकास भएका छन्, जसले डिपफेकको दुरुपयोग रोक्न मद्दत गर्छ । विद्यालयस्तरमै डिपफेकको राम्रो र सकारात्मक पक्षको जानकारी विद्यार्थीहरूलाई दिन सके भविष्यमा यसले डिपफेकको असीमित सम्भावनालाई सदुपयोग गर्न प्रेरित गर्छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *