प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
प्रेम नै भेटिँदैन, नेपाली फिल्मका प्रेमकथामा मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
मालिक ः तँलाई गाली गर्छु, उल्टै मेरो मुटु काट्छ । तँलाई ठूलो आँखाले हेर्छु, मेरै आँखा दुख्छ, सुन्निन्छ भत्भती, पग्लिन्छ ।
मालिक ः तँ कहाँ जान तड्पिएकी होस्, मलाई थाहा छ ।
सविता ः म आफ्नै घर जान्छु, दाजुकहाँ ।
मालिक ः म पठाउन्नँ ।
सविता ः मलाई जान बक्सिएन भने म त्यसै आत्महत्या गरेर मर्छु ।
मालिक ः कसरी मर्छेस् ?
सविता ः इनारमा हाम फाल्छु, झुन्डिन्छु केही गरेर पनि…
मालिक ः थुनेर राखेँ भने ।
सविता ः नखाई बसिदिन्छु ।
मालिक ः नखाई सुक्ख, कोच्याएपछि ।
सविता ः भुइँमा टाउको फोडेर मरिदिन्छु के ?
मालिक ः चल्न नहुने गरेर बाँधेर राख्छु अनि ।
सविता ः पाल्न ल्याएको तित्राले पनि टोकरीमा टाउको ठोक्न पाउँछ, म पाउन्न र ? आफैँ सास फालेर सोहोरिएर मर्छु । म काटे पनि बस्दिनँ, मारे पनि बस्दिनँ ।
मालिक ः लौ (घुँडा टेकेर) म तँलाई, मभन्दा पनि बेसी गराएर राख्छु । हेर, यो साँचो तेरै हातमा सुम्पन्छु । म पनि तेरै खटनमै । अब त भो नि !
सविता ः मारिबक्से पनि बस्दिनँ, लास भएर निस्कन्छु । हीरैहीराले पूजा गरे पनि बस्दिनँ, बिन्ती छ, मलाई छाडिबक्स्योस् ।
मालिक ः भैगो जा…
माथिको संवाद कुन फिल्मको होला ?
यो त्यही बालकृष्ण समद्वारा लिखित ‘प्रेमपिण्ड’ नाटकको दृश्य रूपान्तरण ‘प्रेमपिण्ड’ फिल्ममा समावेश संवाद हो, जसले अहिलेसम्म पनि नेपाली सिने क्षेत्रमा उत्कृष्ट प्रेमकथाको पगरी गुथेर बसेको छ । अर्गानिक र आइकोनिक प्रेमकथा भन्नेबित्तिकै पुराना दर्शकको दिमागमा यही फिल्म आउने उनीहरूको भनाइ छ ।
फिल्म बन्नुअघि नै पुस्तकको रूपमा लोकप्रिय नाटक ‘प्रेमपिण्ड’ को कथामा बनेको यो फिल्मले तत्कालीन शक्तिशाली राणाशासक, सरकारी जागिरे नकुल र सामान्य नर्तकी सविनाबीचको त्रिकोणात्मक प्रेमकथालाई निकै रोचक र न्यायपूर्ण ढङ्गले फिल्ममा उतारेको छ । यो फिल्म वियोगान्त प्रेमकथामा आधारित छ ।
‘प्रेमपिण्ड’ पछि धेरैले सम्झने अर्को अर्गानिक र आइकोनिक प्रेमकथा भएको फिल्म हो, ‘मुनामदन’ । यो पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित लोकप्रिय खण्डकाव्यबाट तयार पारिएको फिल्म हो । तर ‘मुनामदन’ जति पुस्तकमा चर्चित भयो त्यति सिनेमाघरमा भने जम्न सकेन । त्यो भावलाई सिनेमाले उतार्न नसकेको समीक्षकहरूको तर्क छ । वियोगान्त प्रेमकथामा आधारित खण्डकाव्य भएकाले यसमा पनि अन्त्य वियोगान्त देखाइएको छ ।
त्यस्तै १० वर्षअघि प्रदर्शनमा आएको सिनेमा ‘प्रेम गीत’ ले नयाँ पुस्तामाझ प्रेम चिनायो । युवा पुस्ताले अहिलेसम्म बनेको नेपालको आइकोनिक र अर्गानिक प्रेमकथा भएको फिल्ममा ‘प्रेम गीत’ लाई लिने गर्छन् । ‘प्रेम गीत’ मा प्रेम र गीत पात्रको प्रेमयात्रालाई रोमाञ्चक ढङ्गले देखाइएको छ । यो फिल्म पनि वियोगान्त प्रेमकथामा आधारित छ ।
चर्चित भनिएका तीनवटै फिल्मको अन्त्य वियोगात्मक छ । के वियोगात्मक अन्त्यले नै प्रेम अमर र चाखलाग्दो बनाउने हो भन्ने प्रश्नमा निर्देशक तथा स्क्रिप्ट डाक्टर मनोज पण्डित भन्छन्, प्रेमको मुख्य द्वन्द्व नै वियोग हो ।
उनका अनुसार वियोगबिना प्रेम अधुरो हुन्छ । जसरी मीठो हुन नमीठोको अस्तित्व चाहिन्छ, राम्रो हुन नराम्रोको अस्तित्व चाहिन्छ त्यस्तै प्रेम हुन वियोग चाहिन्छ । त्यही वियोग कन्भिन्स नहुने भएकाले नै अहिलेका प्रेमकथा प्रेम अनुभूति गर्ने खालको नहुने हो ।
प्रेम ? यो त सब भन्ने कुरा न हो !
लामो समय फिल्म पत्रकारिता, समीक्षा गरेका सामीप्यराज तिमल्सिना अहिले फिल्म लेखनमा पनि सक्रिय छन् । उनले भने नेपाली साहित्य बलियो भए त्यसको असर सिनेमामा पनि पर्ने बताए । त्यसैको असरस्वरूप उनको दिमागमा पनि अर्गानिक र आइकोनिक प्रेमकथामा आधारित फिल्म भन्नेबित्तिकै ‘मुनामदन’ र ‘प्रेमपिण्ड’ नै आउने रहेछ ।
उनले भने, विश्वभर पनि फिल्मको प्रेमकथा रोमियो र जुलियटको न्यारेटिभलाई लिएर बनेको पाइन्छ । नेपालमा पनि यीबाहेक सम्झन लायक खासै गतिलो प्रेमकथा लेखिनै सकेको छैन । अहिलेका युवा पुस्तामा हेर्ने हो भने प्रेमगीतले यसमा केही काम गरेको उनले बताए । भने, तर यस्ता प्रेमकथाले पनि कुनै एक समाज, एक भूगोल, एक बर्गलाई मात्रै समेट्न सकेको छ । सबैलाई समेट्ने प्रेमकथा बन्नै सकेको छैन । उनले अगाडि भने, अहिले प्रेमकथा कस्मेटिक बनेको छ । म तिम्रो लागि ज्यान दिन्छु टाइपको संवादमा सीमित भएको छ, इमोसन नै छैन । संवादमा मात्रै सीमित भएकाले दर्शकलाई पनि प्रेमकथा भएको फिल्म भन्नेबित्तिकै भरोसा नै उठिसक्यो । उनीहरूले इन्जोय नै गर्न छाडिसके । तिमल्सिनाले भने, अहिले प्रेम भन्ने शब्द नै यो त सब भन्ने कुरा न हो भन्ने भएको छ । न्यारेटिभ नै कमजोर, त्यसैमाथि कपि गरिएका प्रेमकथाले गर्दा यो मुखले मात्रै भन्ने, भावनामा नहुने विद्या बन्न पुगेको छ अहिले । उनका अनुसार, विश्वमा सबैभन्दा धेरै सिनेमा बन्ने विषय प्रेम र अपराध हो । नेपालमा अपराध विधामा खासै फिल्म बनेको पाइँदैन, तर मिसिएर ९० प्रतिशत फिल्ममा प्रेम आउँछ । तर यसका क्यारेक्टर र सिक्वेन्स फितलो भएकाले फिल्ममा खासै अस्तित्व नराखेको पनि उनले स्वीकार गरे । एउटै मापदण्डमा सीमित रह्यो फिल्मको प्रेमकथा अहिलेका चल्तीका स्क्रिप्ट राइटर महेश दवाडी अर्गानिक र आइकोनिक फिल्मको अभाव आफूलाई पनि भएको तर लेख्न नसकिएको बताउँछन् । उनले भने, प्रेमकथा त हरेक फिल्ममा मिसिएर आएको हुन्छ तर त्यसले नेपाली स्वाद पस्कन सकेको छैन । कोरियाबाट प्रभावित भएका प्रेमकथाहरू, जसमा कपालदेखि लुगासम्म उस्तै देखिने केटा र केटीले उतैको शैलीमा प्रेम गरेका कथा देखाइएकाले पनि अर्गानिक र आइकोनिक प्रेमकथा महसुस गर्न नसकिएको हो कि जस्तो उनलाई लाग्छ । उनले भने, यदि हाम्रै वरपर देखिएका, भेटिएका प्रेमकथालाई उठाएर पर्दामा देखाइने हो भने त्यसमा आफूलाई राख्न सकिन्थ्यो कि ? नेपालको अर्गानिक र आइकोनिक प्रेमकथा भन्नेबित्तिकै धेरै भए पनि दिमागमा झट्ट नआएको उनले सम्झिए । भने, मलाई भारतमा बनेको लन्च बक्सजस्ता फिल्महरू मन पर्छ । जसमा सामान्य प्रेमकथा छ, जसको माध्यम लन्च बक्स बन्न पुगेको छ । सामान्य कथामा बनेको भए पनि फिल्म कस्तो बलियो छ । यस्ता कथा त हामीसँग कति छन् कति, तर अर्गानिक कथा मन पराइरहेको समयमा अर्गानिक प्रेमकथामा आधारित फिल्म भने पाउन सकेको छैन । यसमा उनी आफूलाई पनि केही हदसम्म दोष दिन्छन् । उनले भने, के गर्नु निर्माता, निर्देशक र कलाकारअनुसार स्क्रिप्ट लेख्नुपर्ने हुन्छ । म चाहेर पनि अर्गानिक प्रेमकथामा काम गर्न सकिरहेको छैन । यही कुरामा सहमति जनाउँछिन्, स्क्रिप्ट राइटर सम्पदा मल्ल पनि । उनले भनिन्, धेरै नेपाली फिल्मले प्रेमको आयाम र गहिराइलाई अनौठो तरिकाले प्रस्तुत गरेको जस्तो मलाई लाग्दैन । अधिकांश रोमान्टिक फिल्मले परम्परागत प्रेम र रोमान्सलाई एउटै मापदण्डमा सीमित राखेका छन् । त्यसो त उनलाई केही समयअघि बनेको फिल्म ‘जारी’लाई प्रेमको गहिराइमा पुगेको फिल्म मान्छिन् । प्रेमीहरूको पुनर्मिलन र तिनीहरूको पात्र विकासलाई सुन्दर तरिकाले देखाएको उनको भनाई छ । त्यस्तै ‘पानीफोटो’ र हालै प्रदर्शनमा आएको फिल्म ‘शाम्भालामा’ पनि गहिरो तरिकाले प्रेम प्रस्तुत गरिएको उनलाई लाग्छ । ग्ल्यामरले छेकिएको पो हो कि ! पुस्तकबाट तयार पारिएको फिल्म ‘प्रेमपिण्ड’ र एक ‘प्रेम गीत’ बाहेक अहिलेसम्म खासै सम्झनैपर्ने प्रेमकथा भएको अर्गानिक र आइकोनिक नेपाली फिल्म नबनेको बताउँछन्, निर्माता, निर्देशक हुँदै अहिले कलाकार बनेका नरेश पौड्याल । उनले भने, ‘अहिलेको पुस्ताले बनाएको ‘प्रेमगीत’ पनि राम्रो प्रेमकथा लागेको थियो, तर त्यसपछि कहिले ‘प्रेमगीत–२, ३’ त कहिले ‘म यस्तो गीत गाउँछु’ भन्दै अनेकन् फिल्म तयार पारेपछि प्रेमगीत आइकोनिक र अर्गानिक बन्न नसकेको उनको भनाइ छ । उनले भने, ‘फिल्म चल्यो भनेर ‘प्रेमपिण्ड’को पनि थरीथरीका पार्ट बनेका भए त्यो पनि आइकोनिक हुने थिएन होला ।’ २०२२ सालदेखि नेपालमा नेपाली फिल्म बन्न थालेको स्मरण गर्दै पौड्यालले भने, ‘पहिले सहर र गाउँको प्रेम देखाइन्थ्यो, गरिब र धनीको प्रेम देखाइन्थ्यो । यी दुईको मिलनमा आउने सङ्घर्ष देखाइन्थ्यो । अहिले त खै प्रेम पनि परिवर्तन भएको छ, फिल्ममा ।’ प्रेम परिवर्तन भए पनि देखाउने तरिका भने उस्तै रहेको पौड्यालको भनाइ छ । उनले भने, ‘पहिले प्रेम त्याग हो भन्ने सिद्धान्तबाट फिल्म बनेको पाइन्थ्यो भने अहिले ह्याप्पी इन्डिङ अर्थात् प्राप्ति नै खुसी हो भन्ने तरिकाले प्रेम देखाइन्छ ।’ यही कारण पनि प्रेमलाई देखाउने तरिका फिल्ममा अर्गानिक र आइकोनिक नभएको हो कि भन्ने उनलाई लाग्छ । उनले भने, ‘हुन त सम्पूर्ण फिल्ममा रोमान्स अटाएकै हुन्छ । एक्सन होस्, क्राइम होस्, चाहे हरर नै । तर यी विधामै पनि प्रेम अटाउँछ र त्यो गज्जबको प्रेमकथामा आधारित फिल्म बन्न सक्छ भनेर अहिलेका पुस्तामा प्रस्टता नभएको हो कि भन्ने मलाई लाग्छ ।’ यही कुरामा सहमति जनाउँछिन्, निर्देशक समुन्द्र भट्ट पनि । उनलाई अहिलेका फिल्म लेखकले प्रेम र वासनाबीच भिन्नता छुट्याउन सकिरहेका छैनन् कि जस्तो लाग्छ । उनले पनि फिल्म ‘प्रेमपिण्ड’ कै उदाहरण दिँदै भनिन्, ‘न कुनै नग्नता, न कुनै कामुकता, न त अङ्ग प्रदर्शन नै । मुटु गाँठो पारेर रुवाउने प्रेमकथा त्यही फिल्ममा त छ ।’ पहिले नेपाली फिल्म बलिउड, कोरिया, रसिया, टर्कीलगायतका प्रेमकथाबाट उठाइएका हुन्थे । तिनले जति नै मन जिते पनि नेपाली फिल्म मान्न गाह्रो हुने बताउँदै उनले भनिन्, ‘अहिले त अवस्था झनै डरलाग्दो भएको छ ।’ नेपाली फिल्ममा परेको दक्षिण भारतीय प्रभावलाई उनी डरलाग्दो मान्छिन् । भनिन्, ‘हिरोइज्म देखाउन केटाले एक्कैचोटि हजार जना मारेको देखाउँछ । अनि केटी त्यसैमा लट्ठ परेको देखाइन्छ । हिरोको प्रेमिका बन्न मात्रै त्यहाँ महिला अटाएका छन् र त्यसैको नक्कल नेपाली फिल्ममा पनि बढिरहेको छ । यसैलाई प्रेमकथा नाम दिइएको छ ।’ उनले अझै जोड दिएर भनिन्, ‘कविर सिंह र एनिमलजस्ता टक्सिक प्रेमकथा बोकेका फिल्मको अगाडि प्रेमपिण्ड नै नेपाली फिल्मको टक्कर हो । जहाँ एक शक्तिशाली राणाले रोक्ने कोसिस असफल भएपछि हार मानेको छ र केटीलाई उसको प्रेमीकोमा जान दिएको छ ।’ कथा टन्नै छ, उनले भनिन्, ‘सामाजिक सञ्जालबाट चर्चामा आएका विवेक पंगेनी र सिर्जनाको प्रेममै पनि फिल्म बनोस्, कति सुन्दर हुन्छ होला । यहाँ सिर्जनाको भूमिकामा विवेक पनि हुन सक्लान्, त्यो लेखकले लेख्ने कुरा भयो ।’ ….. बक्समा मनोज पण्डित निर्देशक तथा स्क्रिप्ट डाक्टर नेपाली फिल्मको इतिहासलाई म तीनवटा महत्वपूर्ण कालखण्डमा छुट्ट्याएर त्यो समयमा कस्ता प्रेमकथामा फिल्म बन्थे र त्यसको प्रभाव कस्तो थियो भन्नेबारे जानकारी गराउँछु । पहिलो खण्डलाई २०४६ सालअघिको खण्ड अर्थात् नेपाली सिनेमा बन्न थालेदेखि २०४६ सालसम्मको समय भनेर परिचित गराउँछु । यो समयमा मौलिक प्रेमकथामा फिल्महरू बनेका छन् । यतिबेला सामाजिक यथार्थवादमा रहेर सिनेमा बन्थे । जस्तो कि, प्रेम भनेको नै केटा र केटीको विवाह हुनु हो । विवाहमा परिणत भए, झगडा नपरे त्यो सफल प्रेम, नत्र असफल भन्ने त्यो समयको प्रेमको मापन थियो । यस्तोमा सामाजिक धरातललाई महत्वका साथ देखाइन्थ्यो । उदाहरणका लागि, केटा धनी, केटी गरिब । केटी सहरिया, केटा गाउँले आदि–आदि । फरक वर्ग र भूगोलका केटाकेटी भेटिनु र विवाह हुनुसम्मका यात्रा प्रेमकथामा समावेश गरिएका हुन्थे । प्रेम नै अनौठो विषय थियो, नेपाली दर्शकका लागि । त्यसैले त्यो समयको कुसुमे रुमाल, परालको आगो, कुमारी, मनको बाँधजस्ता फिल्म चर्चित प्रेमकथामा आधारित थिए । दोस्रो खण्ड २०४६ सालदेखि २०६२÷६३ सालअघिसम्मको समयलाई लिन सकिन्छ । यो समयमा नेपाली फिल्मको बजारमा उदारीकरण आयो । विश्वव्यापीकरणको प्रभावले भारतीय रोमान्सलाई नक्कल गरेको देखिन्छ । यसको प्रभावकै कारण विवाहमा भन्दा केटा र केटीको सम्बन्धमा धेरै केन्द्रित भएर फिल्महरू बन्न थाले । त्यो समयमा विवाहपछि त प्रेम सकिन्छ भन्ने खालका फिल्महरू पनि बनेको पाइन्छ । यही समयमा बलिउडमा सलमान, अमिर, शाहरुखहरूको जन्म भयो । नेपालमा राजेश हमाल, निखिल उप्रेतीजस्ता हिरोहरू जन्मिए । वलिउडले कलेज रोमान्स देखाउँथ्यो, त्यसैको प्रभाव हाम्रोमा पनि देखियो । यही समयदेखि नै नेपाली फिल्ममा प्रेम मिश्रित भनेर हरेक विधामा अटाउन थालेको हो । साथै, रोमान्सको नाममा छाडापन पनि बढ्यो । गीतमा हिरो र हिरोइनलाई दर्शक झ्ुक्किने गरेर प्रयोग गर्न थालियो । तर, नेपालमा तुलसी घिमिरेले भने केही अर्गानिक प्रेमकथामा फिल्म बनाउनुभएको छ । दर्पण छायाँलाई यसको उदाहरण मान्न सकिन्छ । तेस्रो खण्ड सुरु भयो, २०६२÷६३ पछि हालसम्म । यो समयमा डिजिटलाइज भयो र नयाँ फिल्ममेकरहरू आए । म्युजिक भिडियो निर्देशन गरेर फिल्ममा आएका निर्देशकको हालीमुहाली बढेकाले यो समयमा साङ्गीतिक प्रेमकथाहरू आए । म्युजिक भिडियोको सिनेम्याटिक रुपान्तरण भयो भन्दा फरक नपर्ला । मेरो एउटा साथी छ, सानो संसार त्यसैको उदाहरण मान्न सकिन्छ । यो समयमा कोरियन फिल्मको प्रभाव पनि प¥यो । सहरका केटा र केटीको प्रेम देखाउन थालियो, जसको तरिका कोरियन थियो । यो समयसम्म आइपुग्दा र युवाहरूको हातमा सिने क्षेत्र पर्दा त्यहाँ सामाजिक आदर्शवाद हरायो र यथार्थवादमा सिनेमा बन्न थाले । रोमान्टिसाइजभन्दा पनि युवाहरूमा आउने कन्फ्युजन र विखण्डनका बारेमा यो समयमा फिल्म बनेको पाइन्छ । अहिलेको अवस्थामा भने नेपालमा प्रेमभन्दा हास्यव्यङ्ग्यात्मक कथाको उपस्थिति बलियो छ । युवाहरूको सोच एन्टिसोसल भइरहेको छ । जीवनको उच्चतम कुरा प्रेम हैन, पैसा र पावर हो भन्नेतिर युवाहरूको सोच बढिरहेको छ । नेगेटिभ इमोसनको हाबी छ । सुन्दरता र प्रेमको परिभाषामा फरकपना आएको छ र यसैको प्रभाव सिनेमामा पनि देखिन्छ ।