नाफा गर्न कस्तो ‘माइन्ड सेट’ ?

बजारमा पैसाको थुप्रो छ । बैङ्कको ब्याजदर न्यून छ । तर, सेयर बजारमा लगानी बढ्न सकेको छैन । पाँच महिनादेखि सेयर बजार साइड वेजमा छ । आफूसँग भएको स्टक बेच्दा घाटा छ । होल्ड गर्दा पनि नाफा छैन । थप स्टक खरिद गर्न उत्साह पनि छैन । कहिले ग्रिन क्यान्डल बन्ला भन्दै लगानीकर्ताहरू प्रतीक्षामा छन् ।

बजारमा पैसाको थुप्रो छ । बैङ्कको ब्याजदर न्यून छ । तर, सेयर बजारमा लगानी बढ्न सकेको छैन । पाँच महिनादेखि सेयर बजार साइड वेजमा छ । आफूसँग भएको स्टक बेच्दा घाटा छ । होल्ड गर्दा पनि नाफा छैन । थप स्टक खरिद गर्न उत्साह पनि छैन । कहिले ग्रिन क्यान्डल बन्ला भन्दै लगानीकर्ताहरू प्रतीक्षामा छन् 

सेयर बजारको पछिल्लो मार्केट प्याटर्न हेर्दा एक हप्ता ग्रिन सिग्नल आउँदा अर्को साता रेड सिग्नल आइरहेको छ । २५ सयदेखि २७ सयको बीचमा कारोबार भइरहेको छ । जो चलाख लगानीकर्ता छन्, उनीहरू साइड वेजमै पनि कमाउँछन् । सेयर बजारका जानकार सुवासचन्द्र ढुङ्गानाका अनुसार अहिले त कम्प्लिट साइड वेजमा छ, बजार । लामो समयदेखि साइड वेजमा रहिरह्यो । ढुङ्गाना भन्छन्, ‘अब बिस्तारै मार्केट साइड वेजबाट बाहिर निस्कन्छ कि जस्तो लाग्छ ।’ पछिल्लो समय हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बोनस दिन नसक्दा बैङ्किङ क्षेत्रले लगानीकर्तालाई लोभ्याउन सकेको छैन । वाणिज्य बैङ्क र विकास बैङ्कको बोनस दिने क्षमता घटेको देखिन्छ । पछिल्लो समय फाइनान्समा पनि अपेक्षाकृत लगानीकर्ताको आकर्षण देखिएको छैन । अहिले बजारबाट एक्जिट हुन चाहने लगानीकर्ता ५० प्रतिशत नोक्सानीमा रहेको बताउँछन् । एक लगानीकर्ता भन्छन्, ‘होल्ड गर्दा पनि नोक्सानी छ । सेल गर्दा पनि नोक्सानी नै सहनुपर्छ । लगानी गर्ने आँट पनि छैन ।’

कोको हुन् ट्रिगर प्वाइन्ट ?

सेयर बजारमा उतारचढाव ल्याउने ट्रिगर प्वाइन्टका रूपमा पाँच पक्षलाई लिइन्छ । ती हुन्— सरकार, अर्थमन्त्री, गभर्नर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) । यी पाँचवटा पक्षले सेयर बजारमा प्रत्यक्ष प्रभावित पार्न सक्छन् ।

१. सरकार

सेयर बजारमा उतारचढावको प्रमुख ट्रिगर प्वाइन्ट सरकार नै हो । गत असारमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरणपछि सेयर बजारले सुरुमा उचाइ लिएको थियो । साउन ३१ गते ३ हजार बिन्दुमा पुग्यो । २९ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेचसहित नेप्सेले कारोबारमा रेकर्ड ब्रेक गरेको थियो ।

२. अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेल सेयर बजारमैत्री मानिन्छन् । उनी अर्थमन्त्री भएलगत्तै सेयर बजारले सकारात्मक ‘मुभ’ गरिरहेको छ । सेयर बजारको ‘बुल’ लाई कतिपयले ‘विष्णुबुल’ समेत भन्ने गर्छन् ।

३. गभर्नर

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्छ । हरेक तीन महिनामा यसमाथि समीक्षा गरिन्छ । लचिलो मौद्रिक नीतिले सेयर बजारलाई उचाइमा लैजान्छ । मौद्रिक नीति यस्तो अस्त्र हो, जसको मद्दतबाट राष्ट्र बैङ्कले अर्थव्यवस्थामा पैसाको आपूर्तिलाई नियन्त्रित गर्ने गर्छ । गभर्नर महाप्रसाद अधिकारी सेयरमैत्री नभएको आरोप लगानीकर्ताको छ । गभर्नर अधिकारीको चैत महिनामा कार्यकाल सकिँदै छ । गभर्नर अधिकारी बाहिरिएपछि छोटो अवधिका लागि भए पनि सेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताको छ ।

४. नेपाल धितोपत्र बोर्ड (सेबोन)

सेयर बजारको नियामक निकाय हो, सेबोन । झन्डै १० महिना सेबोन नेतृत्वविहीन रह्यो । सेबोनका अध्यक्ष रमेशकुमार हमाल २०८० पुस २० गते बाहिरिएका थिए । त्यसयता सेबोन नेतृत्वविहीन भएको थियो । २०८१ मंसिर १० गते सेबोनको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ चयन भएका छन् । 

४८ वर्षीय श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट एमबीए गरेका छन् । लामो समय लघुवित्त क्षेत्रमा काम गरेको उनको अनुभव छ । श्रेष्ठ र उनको परिवारको नाममा विभिन्न हाइड्रोपावरमा लगानीसमेत छ । 

५. नेपाल स्टक एक्सचेन्ज (नेप्से) 

 नेप्सेको भूमिका प्रविधिमैत्री वातावरण सिर्जना गर्ने, उपयुक्त बजार व्यवस्था मिलाउने, कारोबारको राफसाफ र फछ्र्योटमा सहजता मिलाउन सहयोग गर्ने, सेयर बजारसम्बन्धी सूचना प्रवाह गर्ने हो । धितोपत्र बजारको विकास र विस्तारका लागि सेबोन र नेप्सेबीच समन्वय र सहकार्य जरुरी हुन्छ । पुँजीबजारको विकास र विस्तारमा नेप्सेको भूमिका महत्वपूर्ण मानिन्छ । 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की छन् । २०७८ माघदेखि कार्की सिइओ बनेका हुन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका थिए । 

नाफा गर्न कस्तो हुनुपर्छ माइन्ड सेट ? 

यी पाँचवटा ट्रिगर प्वाइन्टका रूपमा लिइए पनि सेयर बजारमा उतारचढाव आउने अर्को पक्ष हो, मिडिया । मिडिया र सामाजिक सञ्जालमा नकारात्मक समाचार प्रवाह भइरहे पनि सेयर बजारमा उतारचढाव आउँछ । 

सेयर बजारका जानकार सुवासचन्द्र ढुङ्गानाका अनुसार सेयर बजारमा नाफा कमाउनका लागि ९० प्रतिशत माइन्ड सेटको भूमिका हुन्छ । ढुङ्गाना भन्छन्, ‘सेयर बजारमा कमाउनका लागि धैर्यता चाहिन्छ । पुरुषको तुलनामा धैर्य हुने हुनाले महिलाले बढी कमाउँछन् भन्ने विभिन्न अनुसन्धानले देखाएको छ ।’

सेयर खरिद–बिक्रीमा मौसमले पनि प्रभाव पार्ने गरेको छ । उराठलाग्दोभन्दा घमाइलो मौसममा सेयर किनबेच गरेको विभिन्न अनुसन्धानले देखाएको सेयर बजारका जानकार ढुङ्गाना बताउँछन् ।


Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *