खानालाई नै औषधि बनाऔँ

स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ)

स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ) । अचेल स्वस्थ जीवनको त्यो सूत्र परिष्कृत भएको छ । भन्न थालिएको छ, ‘आफ्नो खानालाई औषधिमा परिणत गर्नुहोस्, तपार्इंलाई औषधिको आवश्यकता नै पर्दैन ।’

यी भनाइले हाम्रो दैनिक खानपान र स्वास्थ्यबीचको सम्बन्ध कति महत्वपूर्ण छ भन्ने प्रस्ट पार्छन् । खासमा, खानपान अब केवल पेट भर्ने आहार मात्रै रहेन, यो आममान्छेको जीवनशैलीको अभिन्न पक्ष हो । भनिन्छ नि, एक पेट त जसले पनि खान्छ । तर, तपार्इंले के खाँदै हुनुहुन्छ र कसरी खाँदै हुनुहुन्छ, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।

समाज व्यस्त जीवन र भागदौडमा छ । अझ सहरी समाजका आफ्नै जटिलता अनि चुनौतीहरू छन् । कामको चाप, सम्बन्धको तनाव, करिअरको चिन्ता, छिटो धनी हुने भोक, सत्ता र शक्तिको महत्वाकाङ्क्षा अनि अनेक थरी भागदौड र व्यस्त जीवनशैलीको सीधा असर मान्छेको खानपानमा परेको छ । हतार र अनियमित खानपानबाट मान्छेहरू स्वास्थ्य र शारीरिक समस्याले ग्रस्त हुने प्रवृत्ति बढेको छ । आज घरघरमा मोटोपन, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगका बिरामीहरू नभएको भन्ने छैन । अनेक थरी रोगव्याधिको चपेटामा पर्ने क्रम बढ्नुको एउटा मुख्य कारण नमिल्दो खानपान शैली हो । के खाइरहेका छौँ र कसरी खाइरहेका छौँ ? भन्ने महत्वपूर्ण प्रश्नको बेवास्ता गरेकाले हामीले यो भुक्तमान खेपिरहेका छौँ ।

के हामी जे खानुपर्ने हो, त्यही खाइरहेका छौँ ? कि नखानुपर्ने आहारविहारमा बढी अभ्यस्त हुँदै छौँ ? अनि, जसरी र जति बेला खानुपर्ने हो, त्यसैगरी खाइरहेका छौँ त ? ‘वाह ! जिन्दगी’ म्यागजिनको यो अङ्क मूलतः यिनै प्रश्नमा केन्द्रित छ ।

हुन त खानपान स्वास्थ्यसँग मात्रै सन्दर्भित विषय होइन । यसको व्यापक अर्थ र महत्व छ । खानपान वा खाना संस्कृतिको अभिन्न अङ्ग हो । जात, भाषा, भूगोल, धर्मअनुसार यसको विशिष्ठ महत्व र पहिचान हुन्छ । त्यसकारण खानपान पहिचान, संस्कृति, जीवनशैली र स्वास्थ्यको सम्मिश्रण हो ।

खानपानको यो व्यापकतालाई आत्मसात् गर्दै हामीले के खाने र कसरी खाने भन्ने प्रश्नको जवाफ विज्ञहरूमार्फत दिने प्रयत्न गरेका छौँ । जङ्कफुडले आममान्छेको स्वास्थ्यमा परेको प्रभावबारे निरन्तर वकालत गर्दै आएकी डा. अरुणा उप्रेतीले यस अङ्कमा बालबालिकाको पोषण र खानपानबारे गहन लेख लेखेकी छन् । सिर्जना दुवालले विज्ञहरूको सहयोगमा के खाने ? कसरी खाने भन्ने प्रश्नको जवाफ खोजेकी छन् । शेखर खरेलले नेपाली समाजको खानपान जीवनशैलीलाई स्थानीयताको लेन्सबाट हेरेका छन् । डाइटिसियन कविता महर्जनले डायट प्लानहरूबारे व्याख्या विश्लेषण गरेकी छन् । आलोक श्रेष्ठले रैथाने खानाको महत्व दर्साएका छन् भने डाइटिसियन रश्मी बजिमयले सन्तुलित भोजनको अर्थ खोजेकी छन् ।

अर्थात्, खानपान जीवनशैलीलाई सुधार्न सके स्वस्थ जीवन सम्भव छ भन्ने हाम्रो ठम्याइ हो । त्यसका लागि खानेकुराको छनोटमा सजगता, मौसमी उत्पादनमा जोड, मीठोभन्दा पनि बढी पौष्टिकतालाई जोड, हतारमा वा अरू काम गर्दा होइन कि पाचन प्रक्रियालाई असर नपुग्ने गरी खाने पनि एउटा महत्वपूर्ण काम हो भन्ने सोच्ने, अनि सबैभन्दा मुख्य कुरा आफ्नो भान्छालाई नजरअन्दाज नगर्ने । स्वस्थ जीवनका लागि यस्ता थुप्रै सूत्र र टिप्सहरू सुझाएका छौँ । सार, खानपान संस्कृतिमा आधुनिकता र मौलिकताबीच सन्तुलन कसरी खोज्न सकिन्छ, त्यो सुझाएका छौँ । तसर्थ, स्वस्थ खानुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *