कस्तो समाचार पढ्छन् जेन जी ?


झापा मेचीनगरका १६ वर्षीय रितेश रिजाल कक्षा ११ मा पढ्छन् । नियमित पढाइसँगै उनलाई समाचार, किताब र अन्य विषयवस्तु खोजी–खोजी पढ्ने बानी छ ।

झापा मेचीनगरका १६ वर्षीय रितेश रिजाल कक्षा ११ मा पढ्छन् । नियमित पढाइसँगै उनलाई समाचार, किताब र अन्य विषयवस्तु खोजी–खोजी पढ्ने बानी छ । भौतिक विज्ञान उनको रुचिको विषय हो । तर नेपालबाट प्रकाशन र प्रसारण हुने पत्रपत्रिका या टिभीमा उनले आफ्नो रुचिको विषयका सामग्रीहरू भेट्टाउन निकै गाह्रो हुन्छ । त्यसकारण उनी अन्य भाषाका सामग्रीहरू हेरेर पढेर आफ्नो जिज्ञासा मेटाउने गर्छन् ।

२३ वर्षीया स्वेच्छा घिमिरेले टेलिभिजन हेर्न छाडेको वर्षौं भइसक्यो । भर्खरै स्नातक तहको पढाइ सकेकी उनी बैंकमा काम गर्छिन् । तर पत्रपत्रिका र टेलिभिजन हेर्ने र पढ्ने बानी नभएको उनको भनाइ छ । ‘आफूलाई चाहिने सबै सूचना सामाजिक सञ्जालहरूबाटै आउँछन्, कुनै विषयमा धेरै बुझ्न मन लाग्यो भने मात्रै समाचारहरू खोज्छु’, उनले भनिन् । सामाजिक सञ्जालमा कुनै समाचार ‘फेक’ लागेको शíापछि समाचार खोज्ने गरेको उनको भनाइ छ । उनलाई देशको राजनीतिक अवस्था, सामाजिक न्याय र खेलसम्बन्धी समाचार पढ्न मन पर्छ ।

यी दुईजस्तै हाम्रै वरिपरि हुर्किरहेका पुस्ताले पत्रपत्रिका या टेलिभिजनमा आफूलाई चासो लागेको विषयवस्तुबारे पर्याप्त जानकारी नहुनाले पत्रिका पढ्ने या टेलिभिजन हेर्ने बानी कम हुँदै गएको बताउँछन् । जेनेरेसन जेड अर्थात् जेन जी भनिने यो पुस्ता सामाजिक सञ्जालमा भने सक्रिय देखिन्छ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई जेन जी भनिन्छ । इन्टरनेटसँगै हुर्किएको यो पुस्ता क्रमशः परम्परागत मिडियाबाट टाढा हुँदै डिजिटल प्लेटफर्महरूतर्फ आकर्षित भइरहेका छन् । उनीहरूको लागि फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालहरू समाचार र जानकारीको प्रमुख स्रोत बन्दै गएका छन् ।

जुनसुकै मध्यमबाट जानकारी प्राप्त गरे पनि उनीहरू स्थानीय र राष्ट्रिय समाचारसँगै विश्वका घटनाक्रमप्रति पनि उत्तिकै चासो राख्छन् । उनीहरू नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी रोजगारी र विश्वव्यापी चुनौतीहरूबारे जान्न उत्सुक छन् ।

काठमाडौँको सेन्ट जेभियर्स क्याम्पसमा पत्रकारिता पढ्दै गरेकी २१ वर्षीय पुष्पा भण्डारीलाई सामाजिक न्याय, वातावरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थालगायत थुप्रै विषयमा चासो लाग्छ । ‘खोजमूलक र मल्टिमिडिया सामग्री प्रयोग गरेर बनाइएको रिपोर्टहरूमा मलाई निकै चासो छ । दैनिक पत्रिका नै किनेर नपढे पनि अनलाइनमा अपडेटहरू हेरिरहेकै हुन्छु तर मलाई अंग्रेजी भाषा सजिलो लाग्ने हुनाले अंग्रेजीमै पढ्छु,’ उनले भनिन् ।
पत्रकारिता पढ्ने सपना बोकेर गोरखाबाट काठमाडौँ आएकी युनिशा खनाललाई अब पत्रकारिता पढ्ने मन छैन । कारण हो, सामाजिक सञ्जाल समाचारको स्रोत बन्नु ।

सामाजिक सञ्जालमा विभिन्न पेज र गु्रपहरूमार्फत एक÷दुई लाइनका जानकारी समाचारको रूपमा पढ्ने चलन छ । उनी भन्छिन्, ‘आजकाल नेपालका विश्वासिलो मानिएका पत्रपत्रिका या टिभी भन्दा पनि सामाजिक सञ्जालमा एक लाइन लेखिएका कुरालाई विश्वास मान्ने समय आयो । यसले त भ्रामक समाचारहरूसमेत पैदा गर्छ ।’

भर्खरै १२ पास गरेकी उनलाई अब पत्रकारिताको पढाइ नै गर्ने कि नगर्ने भन्ने दुबिधा छ । पत्रकारितागरे पनि जेन जीले पढ्ने खाले समाचार उनैले प्रयोग गर्ने माध्यमहरूबाट ल्याउने उनको सोच छ ।

पत्रकार शिरोमणि ढुङ्गाना जेन जीले पढ्ने खाले विषयवस्तुबारे नेपाली मिडियाहरूले सोच्नुपर्ने अवस्था आइसकेको बताउँछन् । ‘युवाहरूले समाचारलाई पन्छाउँदै गरेको अवस्थामा प्रकाशकहरूले आफ्नो विषयवस्तुलाई पुनर्विचार गर्नु आवश्यक छ । हामीले समाचारमा उनीहरूले पढ्न चाहेको विषयहरूमा जोड दिनुपर्ने छ,’ उनले भने ।

जेन जीहरूको चासो मुख्यतया आफूलाई मन पर्ने विषयबारेका समाचारमा केन्द्रित हुन्छ । यसको अर्थ यी विषयहरू कम महत्वपूर्ण छन् भन्ने होइन, बरु उनीहरू त्यी मुद्दा र विषयहरूबारे सचेत छन् भन्ने हो । ढुङ्गाना भन्छन्, ‘अब हामीले लेख्दै आएको समाचारमा जेन जीका विचारहरू पनि समावेश गर्नुपर्छ । हामी सधैँ विज्ञ खोज्दै हिँडिरहन्छौं तर समाचारमा उनीहरूका अन्तर्दृष्टिहरू भने राख्न बिर्सिरहेका छौँ । सँगै उनीहरूले रुचाउने प्लेटफर्म र ढाँचाहरूमा समाचार सामग्री बनाउने, जस्तै सामाजिक सञ्जालबाट राख्न मिल्ने छोटो भिडियो, पोडकास्टलगायतका कामहरू गर्न सकिन्छ ।’

टेलिभिजन पत्रकार दिपान्जली लामाको विचार पनि यस्तै छ । उनी जटिल मुद्दा जेन जीलाई बुझ्न मद्दत गर्न उनीहरूले बुझ्ने भाषा र माध्यम प्रयोग गरेर समाचार प्रकाशन–प्रसारण गर्नुपर्नेमा जोड दिन्छिन् । अबका दिनमा मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, सामाजिक न्यायका विषय र जेन जीले पढ्न चाहेका विषयहरू उनीहरूलाई सहज हुने गरी आउनुपर्ने उनको भनाइ छ । ‘सबैको हातहातमा फोन छ, जे सूचना चाहिए पनि एक मिनेटमा फोनमै आइसक्छ ।

यस्तो अवस्थामा उनीहरूले चाहेको जस्तो विषयवस्तुमा ध्यान दिनु उचित हुन्छ’, उनले भनिन् । अहिले जेन जी समाचार टुक्रा–टुक्रा र टिकटक वा इन्स्टाग्राममा होस् भन्ने चाहन्छ । समाचार प्रकाशकहरूले जेन जीका लागि टुक्रा–टुक्रा समाचार प्रदान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । उनीहरू सकेसम्म छिटो सूचित हुन चाहन्छन्, जुन सामाजिक सञ्जालले, विशेष गरी टिकटक र इन्स्टाग्रामजस्ता नयाँ भिडियो प्लेटफर्महरूले राम्रोसँग गर्छन् ।

उनीहरू आफ्नो रुचिअनुसार आफैँ समाचार खोज्न र छनोट गर्न रुचाउँछन् । साथै उनीहरू समाचार स्रोतहरूको विश्वसनीयताबारे सचेत छन् । उनीहरू भ्रामक सूचना र फेक न्युजप्रति सतर्क रहन्छन् र धेरै स्रोतहरूबाट जानकारी रुजु गर्न रुचाउँछन् । नेपालमा स्थानीय अनलाइन पोर्टलहरू र डिजिटल मिडिया प्लेटफर्महरूको वृद्धिले जेन जीलाई समाचार डिजिटल माध्यममा पाउन सहज बनाएको छ ।

रितेश सबै खाले विषयवस्तुका लागि पर्याप्त लेख या भिडियो सामग्री बनाउनुपर्नेमा जोड दिन्छन् । हरेक व्यक्तिको फरक–फरक विषयमा रुचि हुन्छ । तर आफूले खोजेको विषयवस्तु नभेटे समाचारहरू पढ्ने मन नै घट्ने युनिशाको विचार छ ।

‘हामीसँग विकल्पहरू छ, जुन विषयमा पनि हामी घर मै बसीबसी जानकारी लिन्छौँ । तर, आफ्नै देशको अवस्था, सामाजिक न्याय, राजनीतिक, समाजका कुराहरू त आफ्नै देशका समाचारमाध्यमबाट आउँछ, त्यस्तो कुरामा चाहिँ खोजमूलक रिपोर्टहरू आओस् भन्ने लाग्छ । अन्य देशका खोज पत्रकारहरूले खोजेको कुरा पढ्दा आफ्ना देशका खोज पत्रकारहरूबाट अपेक्षा हुनु सामान्य पनि होला,’ पुष्पा भन्छिन्न् ।

अनुसन्धानात्मक पत्रकारिता जेन जीका लागि संसारलाई फरक दृष्टिकोणबाट हेर्ने र भविष्यका लागि पाठहरू सिक्ने अवसर हुन सक्छ । जेन जीहरू विश्वास गर्छन् कि पत्रकारहरूले सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउन सक्छन् । पत्रकारहरूले जटिल सामाजिक मुद्दाहरू वा घोटालाहरूलाई जेन जीले बुझ्ने सामग्रीका रूपमा प्रस्तुत भएको हेर्न चाहन्छन् ।

नेपालको भौगोलिक विविधताले गर्दा सबै क्षेत्रमा इन्टरनेट र डिजिटल प्रविधिको समान पहुँच छैन । यसले सहरी र ग्रामीण क्षेत्रका जेन जीहरूबीच समाचार उपभोगमा भिन्नता ल्याउन सक्छ । भूगोल र हुर्काइअनुसार उनीहरूले पढ्ने या हेर्ने विषयसमेत फरक हुन्छ । कतिपय व्यक्ति जेन जी समाचार नै पढ्न नचाहने भन्ने भ्रममा रहेको स्वेच्छाको भनाइ छ । ‘हामीभन्दा ठूला आफन्तहरूले हाम्रो पुस्ता पढ्ने, लेख्ने कुरामा सक्रिय नभएको भन्ने गुनासो गरिरहनुहुन्छ । मेरो बुवा नै मलाई समाजको सबै पक्ष र विषयमा अपडेट हुनुपर्छ भन्दै सिकाउनुहुन्छ । तर अहिले समय परिवर्तन भइसक्यो, पहिलेजस्तो समाचार पढ्न पत्रिका नै किन्नु पर्दैन । अनलाइनमा पढ्दा आफूलाई मन पर्ने विषय मात्रै पढ्ने, खोज्ने गरिन्छ,’ उनले भनिन् ।

पत्रकार लामा उनीहरूको विचार, रुचिलाई अवसर दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘लैङ्गिक समानता, जातीय भेदभाव, वातावरण संरक्षणजस्ता सामाजिक मुद्दाहरूमा नेपाली जेन जीहरूको चासो बढ्दो छ र यी विषयहरूमा उनीहरू बढी जानकारी खोज्छन् । साथै, रोजगारीका अवसर, शैक्षिक नीति र सीप विकाससम्बन्धी समाचार, छोटो भिडियो, इन्फोग्राफिक्स र अन्तत्र्रिmयात्मक सामग्रीहरू रुचाउँछन् । यस्ता सामग्रीले जटिल विषयलाई सरल र आकर्षक तरिकाले प्रस्तुत गर्छन् । त्यसकारण हामीले त्यसतर्फ सोच्नै पर्नेछ ।’

जेन जीहरू करियर विकासका टिप्स, स्टार्टअप र उद्यमशीलताका कथा, विदेशी रोजगारीका अवसर र चुनौती, शैक्षिक नीति र सुधार, छात्रवृत्ति र अध्ययन अवसर, अनलाइन शिक्षा र डिजिटल सीप, साइबर सुरक्षा र डिजिटल साक्षरता, जलवायु परिवर्तनको प्रभाव, युवा नेतृत्व र सामाजिक परिवर्तनलगायत फिल्म, सङ्गीत र साहित्यका समीक्षाहरू, अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसर, लगानी र बचतका टिप्स, खेलकुद र फिटनेस, आन्तरिक पर्यटनका गन्तव्य र बजेट, भाइरल ट्रेन्ड र तिनको विश्लेषणलगायतका विषयमा रुचि देखाउने गर्छन् । उनीहरूले पढ्न–हेर्न खोजेका विषयवस्तु संक्षिप्त र सरल भाषाको प्रयोग गरी, इन्फोग्राफिक्स र चित्र र तथ्याíहरूको प्रयोग गरी मोबाइल मैत्री ढाँचा र डिजिटल प्लेटफर्महरूमा उपलब्ध गराइनुपर्ने विचार उनीहरूको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता जेन जीहरूको संख्या बढ्दै जाँदा नेपालका समाचार प्रदायकहरूले यी प्रवृत्तिहरूलाई ध्यानमा राखेर आफ्ना रणनीतिहरू बनाउनुपर्ने देखिन्छ । डिजिटल प्लेटफर्महरूमा गुणस्तरीय, विश्वसनीय र आकर्षक सामग्री प्रदान गर्दै, स्थानीय र वैश्विक विषयहरूको सन्तुलन कायम राख्दै र जेन जीका चासोका विषयहरूलाई प्राथमिकता दिँदै यस पुस्तालाई आकर्षित गर्न काम गर्नुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *