अहिलेको समयमा घर तथा अफिसहरूमा मल्टिफङ्सनल फर्निचर लोकप्रिय बन्दै गएको छ । विशेष गरी काठमाडौँमा सानो घर, साना काठको अवधारणा बढ्दो छ । यही कारणले ठाउँको अभाव हुन्छ । सानो ठाउँमा धेरै कुरा राख्नैपर्ने वा अटाउनैपर्नै बाध्यताले पनि यस्ता मल्टिफङ्सनल फर्निचरहरूको माग बढेको हो । जसले सानो ठाउँलाई पनि धेरै उपयोगी बनाउन सहयोग गर्छ । यसको मुख्य फाइदा भनेको ठाउँको अधिकतम सदुपयोग गर्नु हो । जस्तै: सोफा-बेड, स्टोरेजयुक्त टेबल र फोल्डेबल डेस्कहरू ।
आधुनिक जीवनशैलीमा यसले सुविधा र सौन्दर्य दुवै दिन्छ । त्यसैले फर्निचर चयनमा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर यस्ता स्मार्ट डिजाइनहरू छानेर व्यवस्थित रूपमा बस्न सकिन्छ । आजभोलि इन्टेरियर डिजाइनमा फर्निचरको छनोटले आकर्षक र सहज पनि बनाएको छ ।
सस्टेनेबल फर्निचर
सस्टेनेबल सामग्रीबाट बनेका फर्निचरहरू, जस्तै बाँस, पुनः प्रयोग गरिएका काठ र रिसाइकल गरिएका मेटल प्रयोग गरेर बनेका फर्निचरहरू लोकप्रिय बन्दै छन् ।
मल्टिफङ्सनल फर्निचर
घरको सानो ठाउँमा सोफा-बेड, स्टोरेजसहितका दराज र फोल्डेबल टेबलहरू लोकप्रिय छन् । यस प्रकारका फर्निचरहरूले सानो ठाउँलाई पनि आकर्षक र सहज बनाउँछ ।
नेचुरल कलर
नेपालमा अहिलेको इन्टेरियर डिजाइन ट्रेन्डमा प्राकृतिक रङ्ग र सामग्रीहरूको प्रयोगमा जोड दिइएको छ । काठ, ढुङ्गा र क्यानभासजस्ता प्राकृतिक तत्वहरूबाट बनेका फर्निचरहरू, जसले घरलाई प्राकृतिक र शान्त माहौल प्रदान गर्छ ।


मिनिमलिस्ट डिजाइन
कम र साधारण डिजाइनमा आकर्षक देखिने फर्निचरहरू अहिलेको समयमा लोकप्रिय छन् । सफा र सीधा रेखा, एकदमै कम सजावट र प्रयोगात्मक रङ्गहरूको प्रयोग गरेर बनाइएका फर्निचरहरूले घरलाई खुला र आरामदायक बनाउँछ ।
रेट्रो र भिन्टेज फर्निचर
यस पटक इन्टेरियरमा पुराना डिजाइनहरूको पुनरागमन पनि हुँदै छ । रेट्रो र भिन्टेज लुक भएका फर्निचर, जसमा पुरानो समयको स्टाइललाई आधुनिक तरिकाले पुनः डिजाइन गरिएको फर्निचर पनि रुचाइएको छ ।
टेक्नोलोजीमय फर्निचर
आधुनिक जीवनशैलीसँग मेल खाने स्मार्ट फर्निचरहरू पनि अहिले निकै लोकप्रिय छन् । चार्जिङ पोर्टसहितको नाइटस्ट्यान्ड, इन्टिग्रेटेड एलईडी लाइटसहितको ड्रेसर र स्मार्ट स्टोरेज युनिटहरू ।



Leave a Reply