भारतको भोपालस्थित ‘स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर’ बाट गोल्ड मेडलसहित ग्राजुएसन गर्नु कोमलका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो । सरकारी स्कुल अफ आर्किटेक्चरबाट ग्राजुएटका लागि १५० विद्यार्थीबिच प्रतिस्पर्धा हुँदा उनी अल इन्डिया इन्ट्रान्स परीक्षा उत्तीर्ण गर्ने एकमात्र नेपाली विद्यार्थी थिइन् ।
अध्ययन सिध्याएर दुई वर्षअघि नेपाल फर्किएकी कोमल आज नेपालको आर्किटेक्चर क्षेत्रकी एक उदीयमान र ऊर्जाशील अनुहार हुन् । अनुभवले मात्र आर्किटेक्ट बन्न सकिन्छ भन्ने धारणा विपरीत उनले ग्राजुएसनपछि ‘अलेव कबाब’ रेष्टुरेन्टको डिजाइनको जिम्मा पाएकी थिइन् । सो जिम्मेवारीबाट प्रारम्भ भएको उनको यात्रा अहिले एकपछि अर्को आकर्षक एवं चुनौतीपूर्ण प्रोजेक्टहरूमा सफलता हासिल गर्दै अघि बढिरहेको छ ।

कोमलको यो यात्रा आँट, अवसर र आत्मविश्वासको उत्कृष्ट संगम हो, जसले प्रतिभा र परिश्रमले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चम्किन सक्ने बाटो देखाएको छ ।
अचेल उनी नेपाल र भारत दुवै देशमा आर्किटेक्टका रूपमा सक्रिय छिन् । अमेरिकामा रहेका उनका साझेदार अमन सिंहले डिजाइन र अन्य प्रोजेक्टसम्बन्धी कामहरू सम्हाल्छन्, जसमा कोमल अनलाइनमार्फत वर्कशप र परियोजनाहरूको समन्वय गर्छिन् ।
भारतमा उनी प्रत्येक हप्ता यात्रा गर्छिन् र गुडगाव, नोएडा तथा इन्दौरजस्ता सहरहरूमा डिजाइनसम्बन्धी कार्यमा संलग्न हुन्छिन् । नेपालमा भने निर्माणदेखि डिजाइनसम्मका सम्पूर्ण पक्षहरू उनी स्वयंले प्रत्यक्ष रूपमा सम्हाल्छिन् ।
कोमलका मुख्य परियोजनाहरू
उनले डिजाइन गरेका प्रमुख प्रोजेक्टहरू नेपालका थुप्रै प्रतिष्ठित व्यावसायिक भवन, रेष्टुरेन्ट, शोरुम, बैंक्वेट, शैक्षिक संस्था र नाइट क्लबहरूसम्म फैलिएका छन् । हस्पिटालिटी क्षेत्रमा टंगालस्थित स्वादिलो अलेव कबाब सुल्तानतदेखि दरबारमार्गको सांस्कृतिक स्पर्श बोकेको उत्सव रेस्टुरेन्टसम्म र भारतको भोपालस्थित भव्य ताज महल प्यालेस होटलसम्म उनका डिजाइनले सौन्दर्य र कार्यक्षमताको उत्कृष्ट संयोजन प्रस्तुत गरेका छन् ।
शैक्षिक संरचनाहरूमा ‘ग्रीन हेभन’ शैलीमा निर्मित ‘अबिर प्री–स्कुल’ एक प्रेरणादायी नमुना हो, जसले बालमैत्री वातावरणमा आधुनिकतालाई मिसाएको छ । इभेन्ट्स र बैंक्वेट्सतर्फ गौशालाको अनुपम बैंक्वेट्स, जनकपुरको मिथिला बैंक्वेट्स र वीरगञ्जको हेरिटेज रिट्रिट टेम्पलजस्ता आयोजनास्थलहरूमा उनले परम्परा र भव्यतालाई सन्तुलित रुपमा पस्किएकी छन् ।


रात्रिकालीन संसारका लागि उनले नेपालकै सबैभन्दा ठुलो र अत्याधुनिक नाइट क्लब ‘क्लब नोभा’ को इन्टेरियर डिजाइन गरेकी छन्, जुन अब केही महिनामै दर्शक–प्रशंसकका लागि खुला हुँदै छ । रिटेल र शोरुम डिजाइनमा पनि उनी उतिकै दक्ष देखिएका छन् । राजेश हार्डवेयर, बाल्ट्रा, भोल्गा, पानाचे रनवे, अजिजा अटेलियर र बी वाइ डी (द्यथ्म्) शोरुम जस्ता ब्रान्डहरू उनका कलात्मक दृष्टिकोणले झन चम्किएका छन् ।




सबैभन्दा रोचक कुरा त उनको पहिलो आर्किटेक्चरल प्रोजेक्ट नै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको निवास थियो । सो कामपछि उनमा अझ बढी आत्मविश्वास बढ्यो ।
बाल्यकालदेखि डिजाइनप्रति झुकाव
कोमलमा सानैदेखि डिजाइनप्रति झुकाव थियो । उनकी आमा स्वेता सिरोहिया रोका (फेसन डिजाइनर) र बुबा कन्स्ट्रक्सन व्यवसायमा छन् । बच्चैदेखि आमा–बुबाको काम हेरेर हुर्किएकी उनी स्कुल पढ्दैताका आमासँग घरको रंग र प्याटर्नबारे छलफल गर्थिन् ।
आफ्नो घरमा झुन्डिएका अधिकांश पेन्टिङ उनैका सिर्जना हुन् । कलर कम्बिनेसनमा उनको बढी दख्खल छ । आर्ट गर्न, गितार र किबोर्ड बजाउन, गल्फ खेल्न र कत्थक नृत्य नाच्न उनी रुचाउँछिन् ।
उनको थेसिस ‘खोकनाको पोस्ट–अर्थक्वेक आर्किटेक्चरल पुनर्निर्माण’ थियो, जसमा उनले परम्परागत वास्तुकलालाई आधुनिक प्रविधिमा कसरी बचाउन सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन गरेकी थिइन् ।

कमर्सियल डिजाइनमा विशेष रुचि
कोमललाई व्यक्तिगत आवासभन्दा पनि कमर्सियल प्रोजेक्टहरू मन पर्छन् । व्यक्तिगत प्रोजेक्टमा ग्राहकको रोजाइले बढी प्रभाव पार्ने भए पनि कमर्सियलमा रचनात्मक स्वतन्त्रता हुने उनको भनाइ छ ।
उनको नजरमा आर्किटेक्ट एक कन्सियस पेसा हो, जुन धैर्य, संवेदना र दीर्घकालीन सोचले मात्र सम्भव हुन्छ । ‘बिल्डिङ मात्र होइन, त्यो समाजमा सन्देश दिने माध्यम हो । त्यसैले डिजाइन गर्दा समाज, वातावरण र संस्कृति सबै पक्षलाई जोड्ने कोसिस गर्छु’, कोमल भन्छिन् ।
उनी नेपालमा काम गर्न पाउँदा धेरै उत्साहित छिन् । ‘नेपालमा बाहिरको तुलनामा त्यति धेरै प्रतिस्पर्धा हँुदैन र धेरै नयाँ सम्भावना देख्न सकिन्छ । यहाँ आर्किटेक्चरको ठुलो स्कोप छ’, उनी भन्छिन् ।

कोमल आजको पुस्ताकी सशक्त, सचेत र सिर्जनशील आर्किटेक्ट हुन् । यस्तो आभास हुन्छ– उनका डिजाइनहरू केवल भवन होइनन्, ती त सपनाहरू हुन्, जसले मानिस, समाज, संस्कृति र सन्दर्भलाई जोड्ने काम गर्दछन् ।
००



Leave a Reply