गरगहना महिला सौन्दर्य तथा श्रृङ्गारको प्रतीकका रूपमा ऐतिहासिक कालदेखि नै प्रयोग हुँदै आएको छ । प्रारम्भिक समयमा, विशेष गरी रत्न पत्थर, मणिमाणिक्य र अन्य बहुमूल्य जडतत्व जडान गरी सुन, चाँदी वा अन्य धातुबाट निर्मित गरगहनालाई समाजमा शक्ति, प्रतिष्ठा र सामाजिक स्तरको स्पष्ट परिचायकका रूपमा हेरिन्थ्यो । ती गरगहनाहरू केवल आभूषण मात्र थिएनन्, तर व्यक्तिको सामाजिक पहिचान, सांस्कृतिक मान्यता र पारिवारिक गौरवको प्रतीक पनि थिए ।

समयसँगै शैली र प्रविधिमा परिवर्तन भए तापनि गरगहनाले आफ्नो महत्व गुमाएको छैन । आज पनि महिला सौन्दर्य, आत्मविश्वास र फेसनको अभिव्यक्तिका लागि गरगहनाको प्रयोग व्यापक छ । आधुनिक डिजाइनहरूले परम्परागत कलाकारीलाई समेट्दै नयाँ फेसन ट्रेन्डहरूसँग मिलाएर गरगहनालाई जीवन्त बनाइरहेका छन् । यसरी, गरगहनाले न केवल ऐतिहासिक धरोहरको रूपमा आफ्नो मूल्य कायम राखेको छ, तर समकालीन महिलाको व्यक्तित्व, शैली र आकर्षणको अभिन्न हिस्सा बन्न सफल भएको छ ।
रामायण र महाभारतकालीन गरगहना
रामायणकालीन समयमा गरगहना केवल सौन्दर्यको साधन नभई सामाजिक प्रतिष्ठा र धार्मिक–सांस्कृतिक प्रतीकको रूपमा पनि हेरिन्थ्यो । यस कालको सबैभन्दा महँगो र विशिष्ट गहनालाई ‘चूडामणि’ मानिन्थ्यो । चूडामणिजस्ता गहनाहरू राजघरानाका महिलाहरू, जस्तै— सीता, कौशल्या र अन्य महारानीहरूले आफ्नो शिरमा सजाउँथे, जसले तिनको उच्च सामाजिक दर्जा र गरिमाको स्पष्ट परिचय दिन्थ्यो ।
त्यतिबेला अन्य गहनाहरू पनि व्यापक रूपमा प्रयोगमा थिए । सुग्रीवकी पत्नी ताराजस्ता पात्रहरूले सुनबाट बनेका सुबाहु गहना (सुनका गहना) लगाउने चलन थियो । त्यसबाहेक, कर्णफूल (मुख र छाती सजाउने फूलाकृत गहना), सङ्गठी (सङ्गठन र सजावटका लागि धातुका गहना), कुण्डल (कानमा लगाइने हँसियाजस्तो गहना), नुपुर वा पायल (खुट्टामा लगाइने झनझनाउने गहना) आदि पनि प्रचलनमा थिए । यी गहना केवल आभूषण नभई महिलाहरूको सौन्दर्य, शैली र सामाजिक मान्यता प्रदर्शन गर्ने उपकरण थिए ।
महाभारतकालमा पनि गहनाले विशेष महत्व राख्थ्यो । युद्धकालीन र राजनीतिक अस्थिरता हुँदाहुँदै पनि राजघरानाका महिलाहरूले गरगहनालाई सौन्दर्य र गरिमाको प्रतीकको रूपमा लगाउन छोडेका थिएनन् । यस कालका गहनाहरूमा कलात्मकता, धातुको गुणस्तर र जडित रत्नको मूल्य उच्च मानिन्थ्यो ।
यसरी, रामायण र महाभारतकालीन गरगहनाले ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वका साथ आजको आधुनिक आभूषणको आधार तयार पारेको देखिन्छ । यसले स्पष्ट गर्छ कि गरगहनाले सदियौँदेखि महिला सौन्दर्य, आत्मसमान र सामाजिक पहिचानको अभिन्न हिस्सा बनेर आफ्नो विशेष स्थान कायम राखेको छ ।
महाभारतकालीन प्रमुख महिलाहरू कुन्ती, द्रौपदी,
सुभद्रा, रुक्मिणी, सत्यभामालगायतले चूडामणि शिरको गहना), मकर कुण्डल (माछा आकारको पत्थर जरित कानका गहना), अर्धचन्द्रकिरीट (मुकुट), अङ्गद (बाहुलीको गहना), कर्णफूल, हरिद्राचुड (सुनमा बेसारप्रयोग गरी बनाउने गहना), मेखला (कम्मरबन्द), नागरगहनासाभरण (नत्थी) लगायत प्रयोग गर्थे ।
बुद्धकालीन गरगहना
बुद्धकालीन समयमा पनि गहना सौन्दर्य र सम्पन्नताको प्रतीक रहेको थियो । त्यतिखेर गरगहनालाई मणिहार वा प्रसाधन भनिन्थ्यो, जुन निकै मूल्यवान् हुने गथ्र्यो । पालिग्रन्थहरूमा विशाखा उपासिकाले आफ्नो नौ लाख मूल्य बराबरको ‘महालत्थलीका’ मणिहार बेचेर श्रावस्ती नगरमा पूर्वाराम बिहार बनाइएको उल्लेख छ । यस बिहारमा गौतम बुद्धले आफ्नो महत्वपूर्ण समय व्यतीत गर्नुभएको थियो ।
अनाथपिण्डिक महाजनकी छोरी सुमना उपासिकाले ७ लाख मूल्यबराबरको सतसंहस्र मणिहार पहिरन गर्ने उल्लेख छ । उप्पल मणिहार राजपरिवार र धनी व्यापारी महिलाबीच लोकप्रिय थियो । सुनका हिरण्यमय कण्ठसूत्र, चन्द्रहार, कुण्डल र मोतीका मुत्तालङ्कारलगायतका गरगहना प्रचलनमा थिए ।

रानीहरूका गरगहना
मिश्रकी रानी क्लियोपात्राले लगाउने उराएस क्राउन (सुनको कोब्रा सर्पाकार मुकुट), उसेख नेक्लेस, डोयडेम मुकुट (सुन तथा रत्न पत्थरको मुकुट) र ब्रिटिस महारानी एलिजाबेथले पहिरिने इम्पेरियल स्टेट क्राउन जसमा कोहिनूर र कुलिनानजस्ता विश्वप्रसिद्ध हीरा जडान गरिएको छ, आफैँमा आकर्षक र प्रसिद्ध गहना हुन् ।
चिनियाँ रानीहरूले कपालमा सिउरिने सुन र मोतीले बनेका जिन बुयाआ गहना त्यतिबेलाको रोयल लुक्सको महत्वपूर्ण गहना थियो ।
भारतीय रानी लक्ष्मीबाई शाही र भव्य गहना मन पराउँथिन्, जसमा कर्णफूल, मुकुट र अङ्गद (बाजुबन्द) लगायत पर्थे । त्यस्तै रानी अहिल्याबाई, रानी जयमती, रानी सति, रानी विक्रमादित्यलगायतले पनि मणिमाणिक्य जडित हार र अन्य गरगहना पहिरिन्थे ।
नेपाली रानीहरूमा गहना कन्सस रूपमा रानी देवलदेवी, रानी राजेन्द्र लक्ष्मी शाह र रानी ऐश्वर्य शाहको नाम अगाडि आउँछ । ती गहनाहरू सांस्कृतिक परम्परा र मुगल परम्परामा आधारित छन् । मल्लकालीन रानीहरू आफ्नो वंश, सांस्कृतिक, धार्मिक र तान्त्रिक परम्परामा आधारित चन्द्रहार, तायो, लुँस्वाँलगायतका भारी गहनाहरू लगाउने गर्थे ।
शाहकालीन रानीहरूका गहना पनि नेपाली, मुगल तथा युरोपियन डिजाइनबाट प्रभावित छन्, जसमा परम्परागत नागहार र तिलहरीसहित डायमन्ड र पर्लका फेसनेबल गहनाहरू पर्छन् ।
सेलेब्रिटीहरूका गहना
आधुनिक समयमा गरगहनाले परम्परागत सांस्कृतिक, धार्मिक र सामाजिक प्रतीकको सीमित अर्थभन्दा बाहिर बढेर सौन्दर्य, फेसन र व्यक्तिगत स्टाइलको अभिव्यक्तिका रूपमा मुख्य स्थान पाएका छन् । आजका महिलाहरू गहना केवल सामाजिक प्रतिष्ठा वा परम्परागत औपचारिकताको लागि मात्र लगाउँदैनन्, तर आफ्नो व्यक्तित्व, शैली र आत्मविश्वासको परिचायकका रूपमा प्रयोग गर्छन् । यसै कारण ऐतिहासिक रूपमा भारी र भारी जडित गहनाहरूको ठाउँ हलुका, स्लिक र डायमन्डजडित गहनाले लिएको छ, जसले आधुनिक फेसनसँग मेल खाने लुक र सुविधा दुवै प्रदान गर्छ ।


आधुनिक बजारमा रुबी, एमराल्ड, सफायर, क्वार्ज, टरक्वाइज, जर्कन, पर्लजस्ता बहुमूल्य र अर्धमूल्यवान् जेमस्टोनसहितका गहनाहरूको माग उच्च छ । यी गहना केवल पारम्परिक मूल्यका लागि होइन, तर फेसन र स्टाइलको नयाँ परिभाषा दिने वस्तुका रूपमा पनि हेरिन्छन् । साथसाथै, परम्परागत सुन र चाँदीमा मात्र सीमित नभई प्लाटिनम, पालाडियम, रोडियमजस्ता धातुमा बनाइएका गहनाहरूले पनि लोकप्रियता पाइरहेका छन् । यी धातुले गहनालाई हल्का, टिकाउ र आधुनिक शैलीअनुरूप बनाउने सुविधा दिन्छ ।

सेलिब्रेटीहरू र फेसन आइकनहरूले पनि यस्ता हलुका, आधुनिक र रत्नजडित गहनालाई आफ्नो रोजाइमा राखेका छन्, जसले सामान्य बजारमा पनि यस्ता गहनाहरूको ट्रेन्ड बढाएको छ । आधुनिक डिजाइनहरूले पारम्परिक कलात्मकता र समकालीन फेसनको संयोजन गर्दै महिला र पुरुष दुवैका लागि गहना उपयोगी र आकर्षक बनाएका छन् । यसरी, आधुनिक गहनाले न केवल सौन्दर्यको स्तर बढाएको छ, तर व्यक्तित्व, स्टाइल र फेसनको भाषा पनि प्रस्तुत गर्ने माध्यमको रूपमा आफ्नो महत्व कायम राखेको छ । विश्वका केही प्रमुख लक्जरी ज्वेलरी उत्पादकहरू यस प्रकार छन् :


१. कार्टियर-Cartier : यो फ्रेन्च लक्जरी ब्रान्ड हो । जुन एन्जोलिना जोली, रिहानालगायतको छनोटमा पर्छ ।
२. टिफानी एन्ड कम्पनी (Tiffany and com) : यो अमेरिकन आइकानिक ब्रान्ड हो । जुन जेनिफर लोपेज, लेडी गागा, केटी पेरीलगायतको रोजाइमा पर्छ ।
३. ह्यारी विन्सटन (Hary winston) : यो उच्च मूल्यको डाइमन्ड गहनाको लागि प्रसिद्ध छ । म्याडोना, सारा जेसीका पार्कर, रसेल क्रोलगायतको छनोटमा यो पर्छ ।
४. चोपार्ड (chopard) : यो स्वीस ब्रान्ड हो । जुन रेड कार्पेट इभेन्टको लागि प्रसिद्ध छ । यो स्कारलेट जोहनसन, शार्लिज थेरोनलगायतको सेलिब्रेटीहरूको रोजाइमा पर्छ ।
५. बुल्गारी (Bvlgari) : यो प्रसिद्ध इटालियन ब्रान्ड हो, जुन बोल्ड र कलरफुल ज्वेलरीका लागि प्रसिद्ध छ । सोफिया लारेन, रिहानालगायतका सेलिब्रेटीहरूको छनोटमा यो ब्रान्ड पर्छ
भारतीय ब्रान्डहरू १.Tribe by Amrapali, @_ Joorly #_Vasundhara,$_Sheetal zeveri & Anaash,%_Zewer लगायत पनि लक्जरी गहना निर्माणमा अगाडि देखिएका छन् । बलिउड सेलिब्रेटीहरू अलिया भट्ट, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, प्रियंका चोपडा, श्रद्धा कपुर, तमन्ना भटिया, वाणी कपुरलगायतको रोजाइमा अन्तर्राष्ट्रिय ब्रान्डहरूका अतिरिक्त भारतीय ब्रान्डहरू पनि पर्छन् ।
नेपाली सेलिब्रेटीहरूको छनोटमा पनि अन्तर्राष्ट्रिय र भारतीय ब्रान्डसँगसँगै नेपाली ब्रान्डहरू पनि पर्छन् । RB diamond, Asri Jewellers, classic diamond, DC diamond (Dev Corner), JJ Jewellers, ganapati Jewellers, Apala Jewellers, white featherÚs Jewellery लगायतका ब्रान्डहरू लक्जरी गहनाका लागि अग्रणी देखिएका छन् । नेपाली सेलिब्रेटीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की, नम्रता श्रेष्ठ, साम्रज्ञी शाह, केकी अधिकारी, वर्षा राउत, मिरुना मगरलगायतले डाइमन्ड, पर्ल, क्लासिक तथा अक्सिडाइज गहना, ट्रेडिसनल मोडर्न फ्युजन ब्रान्डेड गहनाहरू विभिन्न इभेन्टमा लगाएको देखिन्छ ।



Leave a Reply