चिया कति पिउने


धेरै जनाको बिहानको सुरुवात प्राय: चियाबाट हुन्छ । चिया साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा–बेफाइदाका बारेमा विभिन्न अध्ययन–अनुसन्धानहरू भएका छन् । विश्वका धेरै देशमा चियाको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्छ…

धेरै जनाको बिहानको सुरुवात प्राय: चियाबाट हुन्छ । चिया साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा–बेफाइदाका बारेमा विभिन्न अध्ययन–अनुसन्धानहरू भएका छन् । विश्वका धेरै देशमा चियाको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्छ । नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुन्छ ।

संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामी धेरै थरी चिया पिउने गर्छौं— दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन् । दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ । स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन् । यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाई कालो चिया पिउने गर्छन् । कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।

कस्तो चिया फाइदाजनक ?
स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ । हामीले दिनदिनै दुई–चार कप चिया पिएकै हुन्छौँ । हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ । हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरू नष्ट हुँदै जान्छन् । यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यवद्र्धक मान्नुपर्छ ।

हरियो चियामा स्वास्थ्यवद्र्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिँदैन । चियामा भएको गुणकारी तत्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।

चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरू निष्क्रिय भइदिन्छन् । यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो ।

कोक, फ्यान्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ । यस्तो चिया दैनिक एक–दुई कप पिउँदा केही पनि हानि छैन । तर, जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्‍याउनुपर्छ— कस्तो चिया पिउने ? कति कप पिउने ? कुन बेला पिउने ? चिनी–दूध हाल्ने कि नहाल्ने ? भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ ।

यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४ सयभन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो । पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ । तर, तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ ।

तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस् । यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्‍याउनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् । तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।
यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईंलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान ! धेरै नपिउनुहोस् ।
(लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *