ढलुवामा माछा मार्दै गर्दा नाथुरामले पिप्राहा जाने डगरमा मान्छेको ताँती देख्यो । कमिलाको ताँतीजस्तो । धमिराको लस्करजस्तो । भेडाको बथानजस्तो । ऊ एकछिन अलमलमा पर्यो । अघिल्लो राति गाउँमा अकबरे हात्तीको बथान पसेको थियो । त्यसैले कतै बित्यास पो पार्यो कि ? अनिष्टको आशाले उसको मनमा थोरै चिसो बतास चल्यो ।
नाथुरामकी जाहानको नाम थियो, झुत्री । जो सानो जीउकी मरन्च्यासे आइमाई थिई । उसको कपाल कैलो थियो र थियो देब्रे कञ्चटमा एक रुपैयाँको ढ्याकजत्रो कालो दाग । ऊ गाउँकै सबैभन्दा धेरै मुखाले आइमाई थिई । र, बातबातैमा रुने गर्थी । तर, थिई असाध्यै दयालु । झुत्री हिजैमात्र घरझगडा गरेर माइत गएकी थिई । उतै मर्छु भनेर नाथुरामलाई धारे हात लगाउँदै हिँडेकी झुत्रीले हावामा तीनपटक थुक्दै भनेकी थिई- ‘म मरेपछि तिमीले मेरो किरिया पनि गर्नु पर्दैन ।’ नाथुरामको ससुराली पिप्राहा नजिकै पथ्र्यो । बनिया टोलमा । ससुराली गाउँतिरै मान्छे कुदेको देख्दा नाथुरामको मनमा अर्को चिसो पस्यो । कतै झुत्रीले पो ? ऊ तलमाथि भई भने त सर्वस्व नै हुन्छ ।
माछा मार्ने जाली ढलुवातिरै फालेर नाथुराम कुद्यो डगरतिर ।
ढलुवापूर्वको सानो कुइनेटो कटेपछी खुला पिचरोड आउँथ्यो । जब नाथुराम पिचरोडमा पुग्यो तब झन् आश्चर्यमा पर्यो । किनभने त्यति धेरै मान्छे उसले कहिल्यै देखेको थिएन । जता हेर्यो मान्छेनै मान्छे । अचम्म के भने सबै रिसाएजस्ता । सबै ध्वाँध्वाँ परेका । सबै नारा लगाइरहेका ।
सुरुमा उसले कुरा बुझेन । तर जब उसको बिहारीलालसँग भेट भयो, सबै कुरा खुलि नै हाल्यो ।
‘यो आन्दोलन हो नाथे । मधेस आन्दोलन’ । बिहारीलालले साउती गर्दै भन्यो ।
‘किन रिसाएका त यी मान्छे ? मसिनो स्वरमा नाथुरामले सोध्यो ।
‘आन्दोलनमा मान्छे नरिसाएर हाँस्छन् त ? आफ्नो हक लिन रिसाउनै त पर्छ ।’
‘कसले दिन्छ हक ?’
‘काठमाडौँले ।’
त्यसपछि बिहारीलालले नारा लगायो ।
‘मधेस आन्दोलन जिन्दावाद’ ।
बिहारीलालसँगै नाथुरामले पनि नारा लगायो ।
‘मधेस आन्दोलन जिन्दावाद’ ।
नाथुराम एक अभागी पुरुषको नाम हो । किनभने उसलाई आफ्नैबारेमा धेरै कुरा थाहा थिएन । पुर्खाका बारेमा त उसलाई झन् थाहा हुने कुरै भएन । नाथुरामको बाबु भन्थ्यो, उसको हजुरबासमेत लखनपुरामै जन्मिएको । जहाँ कुनै बेला मधेसको गर्मीले माटो पग्लिन्थ्यो र औलोको रजगज थियो । लखनपुराको उत्तरकुनामा ठूलो गड्डा थियो । त्यसको दाहिनेतिर उभिएको अजङ्गको सिमलको रुख देखाउँदै एक दिन उसको बाबुले भनेको थियो- ‘यो रुख र म मित मीत ।’
नाथुरामलाई त्यो रुख देख्दा आफ्नै बाबु देखेजस्तो लाग्थ्यो । जो १५ वर्षअघि नै स्वर्गे भइसकेको थियो ।
नाथुरामका चार जना छोराछोरी थिए । जेठो छोरो पन्जाब भासिएको पाँच वर्ष भयो, चिठीपत्र केही थिएन । छोरी इटहरीमा एक जना गिरहतको घरमा नोकरी गर्थी । दुइटा छोरा घरमै थिए । गाउँका बाख्रा चराउँथे, खेतखलिहानमा दौडिन्थे, मुसा पोलेर खान्थे र माछा समाउँथे । झुत्री ढाकी बुन्थी र बेच्थी । नाथुराम भने बर्खां खेतको काम गथ्र्यो, हिउँदमा गाउँका भैँसी चराउँथ्यो । सानो जीउ, ठूला आँखा र कालो अनुहार गरेको नाथुराम गाउँकै सोझो मान्छे थियो । ऊ कम बोल्थ्यो र भन्थ्यो- ‘म मनले बोल्छु । त्यसैले म बोलेको ईश्वरले मात्र सुन्छ ।’
बिहारीलाल साह उसको मिल्ने साथी थियो । हिलो, धूलोमा सँगै खेलेको साथी । ढलुवा, गड्डामा सँगै माछा मारेको साथी । एउटै गिरहतको खेत जोतेको साथी । उस्तै सुखदुःखको मैदान हिँडेको साथी । उस्तै विरह र वेदनाको दलदलमा फसेको साथी ।
आन्दोलनकारीले अझ चर्को चर्को स्वरमा नारा लगाउन थाले । भीड थप आक्रामक हुँदै गयो । मान्छेहरू पहिलेभन्दा छिटोछिटो दौडन थाले । त्यो देखेर नाथुरामले आफ्नो साथी बिहारीलालको हात समात्यो । उनिहरू जुलुसको पछिपछि हिड्न थाले । प्रिपाहाबाट जुलुस लाग्यो पर्सहातिर । पर्सहामा एक हूल मान्छे थपिए । त्यसपछि जुलुस लाग्यो कञ्चनपुरतिर ।
कञ्चनपुरको जम्टोकी मैदानमा त्यो दिन ठूलो आमसभा हुँदै थियो । मैदानमा मञ्च बनाइएको थियो । चारैतिर माइक लगाइएको थियो । त्यहाँ आन्दोलनकारीहरू त थिए नै, चनाचटपटे बेच्ने, झालमुरी बदाम बेच्ने र छोलाचाट बेच्नहरूको हूल पनि उस्तै थियो । प्रायशः सबै मान्छे चर्कोचर्को आवाजमा बोलिरहेका थिए ।
बेलाबेला जुलुसमा सहभागी केटाहरू नारा लगाउँथे- मधेस जिन्दावाद ।
एकैछिनमा मैदानमा तीन ट्रक पुलिस थपिए । त्यसपछि सुकिला मान्छेहरू थपिए । उनीहरूले चढ्ने गाडी र मोटरसाइकलहरू थपिए । भीडमा उत्साह थपियो । र, लगत्तै झन्डा हल्लाउँदै चिल्लो गाडी पनि थपियो ।
बिहारीलालले चिल्लो गाडीतिर देखाउँदै भन्यो- ‘उः हेर मन्त्रीको गाडी ।’
नाथुरामले जिन्दगीमा त्यति चिल्लो र सफा गाडी पहिले कहिल्यै देखेको थिएन ।
नाथुरामले गाडीमा सवार मन्त्री चिनिहाल्यो । जोगेन्द्र महतो । जो उसकै ससुराली गाउँको हल्लन महतोको छोरा थियो । भोट हाल्ने दिन नाथुरामले ऊसँगै बसेर मासुचिउरा खाएको थियो । त्यो दिन दुई पटक नथुराम र उसको आँखा जुधेको थियो र एकपटक नाथुरामलाई हेरेर ऊ हाँसेको पनि थियो । सबैभन्दा मुख्य कुरा उसले भोट पनि उही जोगेन्द्र महतोलाई नै हालेको थियो ।
भीडको छेउमा उभिएर नाथुराम खैनी माड्न थाल्यो ।
नाथुरामका लागि त्यो सब एक रोमाञ्चक अनुभव थियो ।
जब मञ्चमा जोगेन्द्र महतो चढ्यो, पार्टीका मान्छेले मन्त्रीलाई एक सय एक केजीको माला लगाइदिए । त्यत्रो माला उसले मन्दिरमा बसेको भगवान् कृष्णको मूर्तिमा पनि देखेको थिएन । नाथुरामले पुरानो खैनी ओठबाट झिकेर ताजा खैनीको फाँको मार्न मात्र के लागेको थियो, मञ्चमा एउटा युवक उपिँ्रmदै चढ्यो । उसले नेपालको संविधान च्यात्यो र मन्त्रीले अगाडि नै त्यसमा आगो लगाइदियो ।
मन्त्री मुस्कुरायो र ताली पिट्यो । फेरि नारा लाग्यो- मधेसी एकता जिन्दावाद ।
त्यो दिन मन्त्रीले निकै लामो भाषण गर्यो । धेरैलाई गाली गर्यो र खुब ताली खायो । अन्त्यमा उसले भन्यो- ‘यो आन्दोलन हाम्रो स्वाभिमानको आन्दोलन हो । यो आन्दोलन आफ्नो मातृभूमिको सम्मानको आन्दोलन हो । अतः यो आन्दोलनमा दिलो ज्यानले लाग्न म हार्दिक अनुरोध गर्दछु ।’ ऊ भन्दै गयो- ‘बरु ज्यान जाला, पीठ नफर्काउनु । आफ्नो माटोका लागि सहिद हुनु जीवनकै सबैभन्दा गर्वको कुरा हो । यो आन्दालनपछि मधेस मुक्त हुनेछ । एक मधेस, एक प्रदेश हुनेछ । मधेसमा हाम्रो सरकार बन्नेछ । त्यसपछि हाम्रो सरकारले मधेस आन्दोलनमा सहिद हुनेहरूलाई राष्ट्रिय विभूति घोषणा गर्नेछ र सहिद परिवारलाई ५० लाखको गड्डी उपलब्ध गराइनेछ ।’
भीडले नारा लगायो,
वीर जोगेन्द्र महतो जिन्दावाद ।
मधेस आन्दोलन जिन्दावाद
सभा सकिएपछी बिहारीलाल र नाथुराम घरतिर लागे । खासमा नाथुरामलाई असाध्यै भोक लागेको थियो । बोल्ने जाँगर पनि थिएन । तर, बिहारीलाल भने एक्लै फतरफतर गरिरहेको थियो ।
पचराको पैनी तर्दै गर्दा बिहारीलालले सोध्यो- ‘मन्त्रीको कुरा कस्तो लाग्यो तिमीलाई ?’
‘बोल्न त सक्ने नै मान्छे हो जोगेन्दर ।’
‘सुन नाथुराम, हाम्रो जीवन यस्तै भयो । हिलो, धूलो र मैलोको गन्धे झारजस्तो । दुःखले कहिल्यै छोडेन । अब त झन् उमेर ढल्कँदै गयो । ज्यान पनि गल्दै गयो । तिम्रो पनि छोरीको बिहे गर्नु छ । दहेज, भोजभतेर, ह्यानत्यान । छोरालाई सानो घर पनि चाहिएला । झुत्री भाउजू आँत सुकेर सिट्ठा छिन् । मेरी अठनियाको दुःख पनि हेरिसाध्यै छैन ।’
‘यो त हाम्रो भाग्यको खेल हो नि बिहारी । कर्ममा जे छ त्यै त मिल्छ ।’
‘तर कर्मका जे छ भनेर मात्र कसरी हुन्छ ? अवसर आउँदा प्रयत्न गर्नुपर्छ नि !’
‘कस्तो अवसर ?’
‘सहिद हुने अवसर ।’ बिहारीलालले मनको कुरा पोख्योे- ‘सुन् साथी, जिन्दगीमा हामीले एकमुस्ट पाँच हजार रुपैया कहिल्यै कमाउन सकेनौँ । अब त यो जीवनमा हजार कमाउन पनि सकिन्छ जस्तो लाग्दैन । बाँचेर गर्नुपर्ने सबै गरियो । बिहे गरियो । बालबच्चा भए । अरू बाँकी गर्नुपर्ने र देख्नुपर्ने के नै पो छ र ? त्यसैले मलाई त अब बाँच्न पुग्यो । सोच्दै छु, म पनि सहिद बनौँ । जिन्दगीमा बाँचेर परिवारलाई खुसी दिन सकिएन । मरेपछि भए पनि पचास लाखको गड्डी त मिल्छ । पचास लाख गन्दा कति रमाउली मेरी अठनिया ?’
ललुवा चोकबाट नाथुराम चुपचाप आफ्नो घरतिर लाग्यो ।
छुट्ने बेलामा उसले बिहारीलालको अनुहार हेर्यो । जो भावशून्य र सुक्खा थियो ।
नाथुरामलाई त्यो रात पटक्कै निन्द्रा लागेन । जिन्दगीका ती प्रत्येक क्षणहरू पत्रपत्र सम्झनामा आए, जसलाई उसले आफ्नो भाग्य मानेर चुपचाप स्वीकार गरेको थियो । जब परिवारको दस कट्ठा जग्गा चुरेको बाढीले लग्यो, त्यसपछिका सबै घटनाहरू उसको दिमागमा चक्रवातजस्तै घुम्न थाले । त्यसपछि ऊ मालिकको चरुवा बस्यो । जुन घरमा बस्दा उसले भातभन्दा धेरै कुटाइ खायो । त्यसपछि भागेर पन्जाब पुग्यो । उखुबारीमा दिनरात काम गर्यो । तर, दुई वर्ष काम गरेपछि मालिकले चुनदाम पैसा नदिई खेद्यो । पन्जाबबाट फर्किंदा ऊसँग रेलमा तिर्ने भाडासमेत थिएन । त्यसैले सत्र दिन लगातार रेलको पटरीमा हिँड्यो । मुटु कमाउने जाडो झेल्दै भोको पेट र नाङ्गा खुट्टा सत्र दिन हिँड्दा उसले बाटोमा जे देख्यो त्यसपछि उसको भगवान्माथि विश्वास छुट्यो । मान्छेलाई विश्वास गर्न त उसले उहिल्यै छोडेको थियो ।
नाथुरामले ओछ्यान छोड्दा बाहिर मिरमिर उज्यालो हुँदै थियो ।
बिहानै नाथुराम ससुराली गयो । झुत्रीलाई फकायो र घर ल्यायो । त्यो दिन, झुत्री ठुस्किरहेकी थिई तर ऊ शान्त थियो । उसलाई भात पकाउन लगाएर ऊ आँगन बढार्न थाल्यो । दिउँसो बाख्राको खोर मर्मत गर्यो । आँगनमा लुगा सुकाउने डोरी टाँग्यो । झुत्रीलाई ढाँकी बनाउन बाँसका एक भारी चोया काडिदियो । साँझ कताबाट हो, एक जोर परेवाका बच्चा ल्यायो र आफैँ काटकुट गरेर पकाउन बसाल्यो ।
खाना खाँदै गर्दा नाथुरामले भन्यो- ‘जिन्दगी यस्तै हो झुत्री । घामछाया । कति रिसाउँछेस् ?’
झुत्री गजक्क परी । छोराहरूले पालैपालो बाउ र आमाको मुख हेरे ।
नाथुरामले थप्यो- ‘जस्तै परे पनि मान्छेको लेखान्त मेटिँदैन हेर । हिम्मत नहारी गरिखानुपर्छ ।’
झुत्रीले झर्कंदै भनी- ‘तिम्रा घैँटामा चैँ आज कसरी घाम लागे नि फेरि ? पण्डितझैँ अर्ती पो दिन्छौ त ।’
‘अर्ती हैन, बुद्धि देको । जिन्दगीमा केकसो पर्छ । मेरो कुरा याद गर्नु ।’
झुत्री ततर्किंदै थिई तर नाथुराम शान्त थियो । ऊ के चाहन्छ र उसको जीवनमा चाँडै केकस्तो आँधी आउँदै छ उसलाई मात्र थाहा थियो । त्यो सब बताउने र झुत्रीलाई सम्झाउने तागत ऊसँग थिएन ।
अर्को दिन सबेरै बिहारीलाल र नाथुरामको ललुवा चोकमा भेट भयो । दुवै लागे पिप्राहा तिर । पिप्राहा पुग्दा आठ बजिसकेको थियो । कार्तिकेय मन्दिरको आँगनमा मान्छेहरू जम्मा हुँदै थिए । एकैछिनमा एउटा जिप आइपुग्यो । जिपबाट केही युवाहरू निस्किए, जसमध्ये एउटाले सबैलाई एकएक थान पार्टीको झन्डा, काँधमा भिर्न रातो गम्छा र बोक्न अग्लो लाठी दियो ।
झन्डा हल्लाउँदै र नारा लगाउँदै उनीहरू लागे बजारतिर ।
बजारको दुई चक्कर मार्दा पनि त्यो दिन कतै झडप भएन । न त पुलिससँग जम्काभेट भयो, न त कतै लाठीचार्ज । अर्को दिन पनि त्यस्तै भयो । सबै शान्त । बिहारीलालले निष्कर्ष सुनायो- ‘साला यो पिप्राहामा आन्दोलन गरेर कुनै निकास निस्कँदैन ।’
साँझ नाथुराम घर पुग्दा झुत्री पिँढीमा बसेर ढाकी बुन्दै थिई । सानो छोरो कुकुरमाथि घोडा चढ्दै थियो र माइलो छोरो माछाका भुरा पखाल्दै थियो । सधैँ रिसाइरहने झुत्री त्यो दिन मक्ख थिई । झुत्रीलाई सन्तुष्ट देखेर नाथुरामका सबै थकान हराए ।
अर्को दिन बिहारीलालले नाथुरामलाई भन्यो, ‘हिँड जाऊँ जमुनाईतिर ।’
उनीहरू पिप्राहाबाट सीधा लागे पश्चिम । जमुनाई । जमुनाई कुनै बेला कम्युनिस्टहरूको प्रभाव क्षेत्र थियो । पछिल्लो समय त्यो ठाउँमा जोगेन्द्र महतोको निकै ठूलो प्रभाव थियो । र, उसका केटाहरू जे गर्न पनि तयार देखिन्थे । मुख्य कुरा, त्यहाँ कृषि तालिम केन्द्र, बीउबिजनको डिपो, भन्सार अफिस र पुलिस थाना थियो । थोरै हूलदङ्गा गर्न सके पुलिसले गोली चलाउन सक्थ्यो र काम बन्थ्यो । तर, जमुनाईको टेम्पो स्टेसन छेवैमा भेटियो, प्रहरी इन्पेक्टर अर्जुन राई । ऊ नाथुरामको कुनै जमानाको मालिकको छोरा थियो । उसले दुवलाई थाना लग्यो । आँगनमा उभ्यायो । र, तिघ्रामा दस-दस भाटा बजाई साँझ छोडिदियो ।
सातौँ दिन । आज केही हुनैपर्छ । नाथुरामले सíल्प गर्यो । आज ऊ आफैँ अग्रसर भएर वार कि पार गरेरै छोड्नेछ । त्यस्तै सोचेर उसले बिहानै नुहायो । सूर्यलाई नमस्कार गर्यो । नयाँ लुगा लगायो । छोराहरूलाई हिजै किनेको ग्लुकोज बिस्कुटको एक एक पकेट हातमा हालिदियो । झुत्री आँगन लिप्दै थिई, उसलाई ध्यान दिएर हेर्यो । उसलाई झुत्रीको खुबै माया लाग्यो । झुत्रीसँग बिताएका दुःखका पुराना दिनहरू ऊ बिर्सिन चाहन्थ्यो । ऊ झुत्रीलाई धेरैभन्दा धेरै खुसी दिन चाहन्थ्यो । उसले त्यो दिन पहिलो पटक भन्यो- ‘झुत्री, तैँले जिन्दगीमा धेरै दुःख गरिस् । अब दुःख नगर्नु है ।’
लोग्नेको कुरा सुनेर झुत्री अरगज्ज परी । नाथुरामले नागरिकता गोजीमा हाल्यो र निस्कियो डगरतिर ।ललुवा चोकमा बिहारीलाल उसैलाई पर्खिरहेको थियो । बिहारीलाल र नाथुरामको त्यो दिनको गन्तव्य थियो, सदरमुकामको मुख्य चोक ।
तीन घण्टा हिँडेर सदरमुकामको मुख्य चोकमा जब उनीहरूले पाइला टेके, आशाको दियो धपक्क बल्यो । किनभने चोक युद्धमैदानजस्तै भीषण थियो । टायर बालेका दाग, सिसा फुटेका घर, रेलिङ भाँचिएका फुटपाथ, इट्टा र ढुङ्गा यत्रतत्र । तमतम्याइँदो धूवाँको गन्ध । वरिपरि सयौँ पुलिस र मान्छेका आक्रोशित अनुहार ।
आन्दोलन भनेको यस्तो पो हुनुपर्छ । बिहारीलाल उत्साहित भयो ।
सडकबाट चोक पार गर्न पुलिसले दिएको थिएन । तर, उता पारि भने हजारौँ मान्छेको भीड थियो । कसरी पारी जाने होला ? यस्तै सोच्दै बिहारीलालले नाथुरामतिर हेर्यो । दाहिनेतिर सिनेमा हल थियो । हलको पर्खालबाट छेलिएर थोरै अगाडि बढ्न सके पारि पुग्ने गल्छिँडो भेटिन्थ्यो । त्यो बाटो बिहारीलालले देखेको थियो ।
उनीहरू उतै लागे । र, भीडमा मिसिए ।
केही बेरमा भीडको बीचमा फुत्त देखा पर्यो जोगेन्द्र महतो । उही मन्त्री । ऊ देखिनासाथ भीड आक्रमक भइहाल्यो । होहल्ला र नाराबाजी सुरु भयो । टायर बालियो । भीडले पुलिसतिर इँट्टा बर्साउन थालि नै हाल्यो । र, फेरि युद्ध सुरु भयो ।
नजिकै रेलवे कार्यालय थियो । भीड त्यतै लाग्यो ।
भीड फाटक नाघेर रेलवे कार्यालयको आँगनमा पस्यो ।
अगाडि के भयो बिहारीलाल र नाथुरामले देखेनन् । तर एकैछिनमा कार्यालयमाथि धूवाँको मुस्लो छुट्यो । जो टाडैबाट प्रस्ट देखिन्थ्यो । आगो दन्कन थालिहाल्यो । नभन्दै दमकल साइरन बजाउँदै आएको देखियो । तर भीडले दमकलमाथि नै आक्रमण सुरु गर्यो ।
अगाडि ढङढङ आवाज सुनियो ।
नाथुराम र बिहारीलालले दह्रोसँग एकअर्काको हात समाते । उनीहरू नारा लगाउँदै भीडसँग अगाडि बढ्दै गए । त्यति नै बेला झिलिक्क भयो । नाथुरामलाई कुनै तातो गोला जीउमा ठोक्किएजस्तो लाग्यो । त्यसपछि जे भयो, त्यो कसैलाई पनि थाहा भएन ।
दुई महिनापछि नाथुरामको होस खुल्यो । ऊ अस्पतालको बेडमा थियो र अर्को बेडमा थियो, उसको साथी बिहारीलाल । कस्तो अचम्म कि भाग्यले दुवै जनालाई बचाएको थियो । तर दुर्भाग्य गोली गालेर बिहारीलालको एउटा कान र आँखा उडेको थियो । नाथुरामको एउटा खुट्टा । दुवै मौन थिए । उनीहरूका आँखा मौन थिए, ओठ मौन थिए र चुपचाप थिए सपनाहरू । उनिहरूको बाहिर र भित्र दुवै संसार अँध्यारो थियो ।
त्यसैताका एक दिन अस्पतालमा हल्ला चल्यो- ‘मन्त्रीको सवारी हुँदै छ ।’
अस्पतालमा विशेष हलचल सुरु भयो । डक्टर र नर्स सचेत भए । बेडहरूमा नयाँ तन्ना हालियो । बिरामीलाई ताजा फलफूल बाँडियो । मध्याह्नतिर पुलिस आएर अस्पतालका कोठाचोटा नियाल्यो । पुलिसले अस्पतालको भीड हटायो । कुरुवाहरूलाई निकालियो । जब सबै कुरा ठीकठाक भयो, तब सरकारी मान्छे र कार्यकर्ताहरूको लस्कर अस्पतालभित्र प्रवेश गर्यो, त्यो लस्करको अगाडि-अगाडि थियो उही मन्त्री जोगेन्द्र महतो ।
आफू लडेको आन्दोलनको नेतालाई देखेर नाथुराम र बिहारीलालको अनुहार उज्यालो भयो ।
अस्पतालमा आन्दोलनका अरू पनि घाइतेहरू थिए । मन्त्री जोगेन्द्र महतो सबैलाई भेट्दै र घाइतेलाई राहतस्वरूप चेक बाँड्दै अगाडि बढ्यो । एकैछिनमा ऊ बिहारीलालको अगाडि आइपुग्यो । सँगैको सरकारी मान्छेले बिहारीलालको फाइल चेकजाँच गर्यो । सबै ठीकठाक भएको सूचनास्वरूप उसले टाउको हल्लायो । मन्त्रीले बिहारीलाललाई राहतस्वरूप एक लाखको चेक हस्तान्तरण गर्यो । त्यो चेक समाउँदा बिहारीलाल साहको हात थरथर काँप्दै थिए ।
त्यसपछि पालो आयो, नाथुरामको ।
सरकारी मान्छेको भीड नाथुरामको अगाडि आइपुग्यो । उसैगरी सचिवले नाथुरामको फाइल जाँच्यो । केही बेर त्यसलाई ओल्टाईपल्टाई गर्यो । नजिकै उभिएको डाक्टरलाई केही सोध्यो । उसले मन्त्रीको पिएलाई फाइल देखायो । त्यो फाइल अर्को कार्यकर्ताले हेर्यो । उसले फाइलबाट नाथुरामको नागरिकता निकाल्यो र पार्टीको जिल्ला अध्यक्षलाई दियो । उसले त्यसलाई छाम्यो र मन्त्रीलाई देखायो । उसको नागरिकता ओल्टाईपल्टाई गर्दै सबैले एउटै चालमा टाउको हल्लाए । त्यसपछि मन्त्री र उसका मान्छेहरू चुपचाप अगाडि बढे । नाथुराम हेरेको हेर्यै भयो, उसले चेक पाएन ।
नाथुरामको अनुहारमा बलेको आशाको दियो निभ्यो । कुरा चेकको थिएन । कुरा आत्मसम्मानको थियो । ऊ आन्दोलनमा घाइते भएको थियो र त्यो कुरा ऊ झुत्रीलाई सुनाउन चाहन्थ्यो । उ झुत्रीलाई आफूले ल्याएको सरकारी चेक देखाउन चाहन्थ्यो ।
नाथुरामका आँखाबाट पहिलो पटक अपमानको आँसु झर्यो ।
मन्त्री र उसको लावालस्कर अस्पतालबाट बाहिरियो । जो अस्पतालअगाडिको बाटो हुँदै पूर्वतिर हानियो । नाथुरामले झ्यालबाट हेर्दा कालो रङ्गको गाडी तीव्र गतिले अगाडि बढ्दै थियो, जुन गाडीमा थियो नेपालको झण्न्डा । जो हावामा फरफर नाच्दै थियो । त्यति नै बेला झ्यालबाट हावाको सानो झोँका कोठामा छिर्यो । नाथुरामको अगाडि राखिएको फाइल हावाले झार्यो । कागजहरू भुइँभरि छरपस्ट भए । त्यही कागजको बीचमा उसको मैलो नागरिकता पनि देखा पर्यो । जसमा उसको नाम लेखिएको थियो- नाथुराम दमाईं ।
सय दिन अस्पताल बसेर नाथुराम घर फर्कियो । आजकाल ऊ जोगेन्द्र महतोको भैँसी चराउँछ । ऊ कसैसँग बोल्दैन । खासमा ऊ आफैसँग पनि बोल्दैन र झुत्रीसँग पनि बोल्दैन । लखनपुरामा आजकाल नाथुराम भन्दा धेरै उसको वैशाखी बोल्छ । टक-टक टक टक ।
मान्छेहरू भन्छन्- ‘मधेस आन्दोलन पछाडी नाथुराम दमाई लाटो भएको छ’ । नाथुराम एक अभागी पुरुषको नाम हो । किनभने उसलाई आफ्नै बारेमा धेरै कुरा थाहा थिएन । पुर्खाका बारेमा त उसलाई झन् थाहा हुने कुरै भएन ।
लुवामा माछा मार्दै गर्दा नाथुरामले पिप्राहा जाने डगरमा मान्छेको ताँती देख्यो । कमिलाको ताँतीजस्तो । धमिराको लस्करजस्तो । भेडाको बथानजस्तो । ऊ एकछिन अलमलमा पर्यो । अघिल्लो राति गाउँमा अकबरे हात्तीको बथान पसेको थियो । त्यसैले कतै बित्यास पो पार्यो कि ? अनिष्टको आशíाले उसको मनमा थोरै चिसो बतास चल्यो ।
लुवामा माछा मार्दै गर्दा नाथुरामले पिप्राहा जाने डगरमा मान्छेको ताँती देख्यो । कमिलाको ताँतीजस्तो । धमिराको लस्करजस्तो । भेडाको बथानजस्तो । ऊ एकछिन अलमलमा पर्यो । अघिल्लो राति गाउँमा अकबरे हात्तीको बथान पसेको थियो । त्यसैले कतै बित्यास पो पार्यो कि ? अनिष्टको आशíाले उसको मनमा थोरै चिसो बतास चल्यो ।



Leave a Reply