बेड सिन दिँदा रोएँ


जिन्दगीमा अनेकौँ निर्णय लिइन्छ । किनकि निर्णय गरेरै जीवन अघि बढाउने हो ।

जिन्दगीमा अनेकौँ निर्णय लिइन्छ । किनकि निर्णय गरेरै जीवन अघि बढाउने हो । विगतमा जेजति निर्णय गरेँ, ती कति परिपक्व थिए त ? अहिले समीक्षा गर्छु, कहिलेकाहीँ ।

चलचित्रमा अभिनय, विनोद केसीजीसँग लगनगाँठो कस्नु, अमेरिका बसाइ, ढिलो गरी विद्यालय जानु, राजनीतिमा संलग्न हुनु यी मेरा जीवनका निर्णायक निर्णयहरू हुन् । कतिपयको तर्क छ, मान्छेहरू हतारमा निर्णय गर्छन्, फुर्सदमा पछुताउँछन् । यस मानेमा म दु:खी छैन । किनकि मैले गरेका निर्णयहरू कालान्तरमा सही साबित भए ।

कर्ममा विश्वास गर्ने बानी छ, मेरो । भित्र मनले जे गर्दा ठीक हुन्छ भन्ने महसुस गर्छ, त्यो प्राय: ठीकै हुन्छ । जीवनसाथी विनोदजी नराम्रा थिएनन्, चलचित्र क्षेत्रमा प्रवेश गर्नु नराम्रो थिएन । बम्बई जानु नराम्रो थिएन, राजनीतिमा प्रवेश गर्नु पनि त आफैँमा नराम्रो होइन नि । मलाई थाहा छ, राजनीतिभित्रको राजनीति मात्रै नराम्रो हो । अब अहिले मेरो क्यारेक्टर राजनीतिमा त्यति सुट हुँदैन कि भन्ने महसुस हुँदै छ ।

जिन्दगीमा अनेकौँ आरोह–अवरोह आए, गए । धेरै कुराले मन खुसी तुल्याएको छ भने केही कुराले मन दु:खी पनि छ । सिनेमाको यात्रामा केही त्यस्ता क्षण छन्, जुन मैले चाहिनँ, तर पनि गर्नुपर्यो । जसमध्ये पहिलो चलचित्र ‘सन्तान’मा अभिनय गरेको क्षण भुल्न गाह्रो पर्छ ।

कान्ता, यू ब्लडी बीच !

२०४२ सालको कुरा हो, म टिनएजमा प्रवेश गरेकी थिएँ । अञ्जली दिदीले ‘तिमी राम्री छ्यौ, हिरोइन बन्ने हो ?’ भनेर रङ्गीन संसारको कुरा गर्नुभयो । निर्देशक प्रकाश थापासँग भेटवार्ता भयो । चलचित्र सन्तानमा अभिनयका लागि अनुबन्धित भएँ, म । त्यसबेला म मात्र १४ वर्षकी थिएँ । नायक रहेछन्, भुवन केसी । मलाई न चलचित्रको ज्ञान थियो, न त अभिनयकै । मात्रै थिएँ रे, राम्री । त्यो उमेरमा विवेक नै त्यति थिएन । एक किसिमले बच्चाको दिमाग ! के सही, के गलत थाहै थिएन भन्दा हुन्छ । त्यत्तिकै लगेर अभिनय गर्नै लगाइयो, त्यो पनि नेगेटिभ रोलमा । जसले चाहिँ एक्स्ट्रा म्यारिटल अफेयर (अतिरिक्त वैवाहिक सम्बन्ध) राख्छ ।

अहिलेको सोसल मिडियामा जति गाली गरिएको हुन्छ नि, अपशब्दले । त्यति बेलाको ‘कान्ता, यू ब्लडी बीच !’ भन्ने एउटा डाइलगमा मलाई गिज्याइन्थ्यो । वास्तवमा मलाई त्यसको अर्थ केही थाहा थिएन । त्यो शब्दले मलाई बाटोमा देख्नेहरूले बोलाउँथे । कान्ता, यू ब्लडी बीच ! शब्दले घोच्थ्यो । बाटैमा रुन्थेँ । पछि थाहा भयो, त्यो नराम्रो रहेछ । बल्ल सिनेमामा नेगेटिभ रोल छ भनेर पछि महसुस भयो ।

सन्तानकै सुटिङ चलिरहेको थियो । मलाई बेडमा बसाइएको थियो । म असहज महसुस गरिरहेकी थिएँ । बेडसिन दिँदा पनि रुँदै दिएकी थिएँ । त्यो बेला मलाई भयङ्कर नराम्रो व्यक्ति भनेकै निर्देशक हो जस्तो लाग्यो । डाइरेक्टरचाहिँ नराम्रो मान्छे रहेछ भन्ने महसुस भयो । जे सिकायो, त्यही गर्नुपर्ने । राति–राति सुटिङ हुन्थ्यो, राति सट दिनुपथ्र्यो । सट पनि खरर कहाँ खिच्छ र ? एउटा सट खिच्यो, अनि अर्कातिर मिलायो । एक–एक घण्टामा के गर्या होला ! मलाई दु:खै दिन जन्मिएको रै’छ कि क्या हो जस्तो लाग्यो । सारै नराम्रो रहेछ भन्ने परेको थियो मनमा । अनि इरिटेड भएँ, म । ठूलो स्वरमा निर्देशक थापातिर फर्केर कराएछु, ‘ए बूढो !’ यो त पागल्नी पो रै’छे भन्ने लागेछ । मलाई त हिस्टेरिया भएको समेत भन्न भ्याए । त्यो उमेरको वृद्ध व्यक्तिले त्यति सानी किशोरीलाई किन त्यसो भने होलान् ? भन्ने अहिले आएर महसुस हुन्छ । खासमा मलाई हिस्टेरिया भन्ने पनि थाहा थिएन । सुटिङमा रोएँ म, बेड सिन गर्दा । सानी भएकीले कन्फ्युज भएँ, म । वास्तबमा उनीहरूले काउन्सिलिङ गर्नुपथ्र्यो, मलाई । त्यस्तो सिनमा किशोरीलाई सुटिङ गराएको भए त कानुनै लाग्थ्यो, मुद्दा नै चल्थ्यो होला ।

अनि घरमा आउँदा अञ्जली दिदीले तिमी त्यसरी रिसाउनु हुँदैनथ्यो भनेर सम्झाउनुभयो । दिदीले भन्नुभयो, ‘त्यति ठूलो निर्देशकलाई कहाँ बूढो भनेर कराएको त !’ बल्ल मलाई नराम्रो काम पो गरेछु कि ? बूढो भन्न पो नहुने हो कि भन्ने लाग्यो । भित्रभित्रै डराएँ । अहिलेजस्तो प्रविधिको जमाना भएको भए धेरै कुरा बुझ्थेँ हुँला । उमेर कम भएकाले नायिकाको रूपमा मलाई लिइएको थिएन । नेगेटिभ भूमिकामा रहेछु, त्यो पनि थाहा थिएन ।

‘सन्तान’ पछि मलाई अन्य चलचित्रबाट अफरहरू आए । सबैले निर्देशक थापालाई सोध्दा रहेछन् । निर्देशक थापाले मेरो बारेमा सायद नराम्रो भन्नुभयो कि जस्तो लाग्छ । अफर आएका पाँचवटा चलचित्र खेल्न वञ्चित भएँ । मलाई दु:ख लाग्यो । रिस उठ्यो । त्यसपछि म उहाँसँग बोल्न छोडेँ ।
सन्तानको सुटिङ नारायणघाटस्थित कलाकार भगवानदास श्रेष्ठको घरमा हुन्थ्यो । म सानी भएकीले कलाकार शान्ति मास्के दिदीसँग सुत्थेँ । मेरो थोरै मात्र सिन थियो । तर पनि चलचित्रको सुटिङ देखाउनका लागि पूरै सुटिङभरि राखियो । मेकअप आर्टिस्ट सबै भारतबाटै ल्याइएको थियो । मलाई गाजल लगाइदिँदा पूरै तानेर लगाइदिन्थे । आफैँलाई ऐना हेर्दा अजिब लाग्थ्यो । सन्तानमा मैले गाडी चलाउने सिन थियो, त्यसका लागि चितवनको जङ्गलमा गाडी सिकाउन लगियो । १४ वर्षकै उमेरमा गाडी चलाउन सिकिसकेकी थिएँ ।

अभिनयको सुरुवाती दिन सम्झँदा अचम्म लाग्छ । निर्देशकले मलाई जेजति सिकाए, सुगाले रटेझैँ गरी दोहोर्याउँथे— फोटोकपी नै गरिदिन्थेँ । चलचित्र जब हलहरूमा लाग्न थाल्यो, बाटोमा कतिपयले ‘कान्ता…’ भन्दै जिस्क्याउन थाले । ‘सन्तान’ फिल्मबाट मेरो परिचय ‘बेडसिन दिएकी केटी’ को रूपमा चित्रण हुन पुग्यो । तर, मेरो काँचो बालमनले सोच्यो— भयङ्कर नराम्रो काम गरेछु कि क्या हो ?
चलचित्र प्रदर्शनपछि असंख्य चिठी आए । त्यो बेला पोस्टकार्डकै जमाना थियो । फ्यानहरूले हजारौँ पोस्टकार्ड किनेर सन्देश पठाउँथे । कतिपय चिठी त रगतले नै लेखिएका हुन्थे ! बाटोमा हिँड्दा कतिपयले ‘आहा, क्या च्वाँक’ भन्थे । फ्यानहरू पछि लाग्थे, छातीमै अटोग्राफ लिन आउँथे । केही फ्यानचाहिँ ध्यानाकर्षण गर्नकै लागि गालीसमेत गर्थे । जे–जस्तो प्रतिक्रिया आए पनि त्यतिबेलाका फ्यानहरू साँच्चै ‘डाइहार्ट’ थिए । कतै जाँदा भीड नै लाग्थ्यो— बाटोमा, होटलमा, जहाँ गए पनि । तर, अहिलेको समय फेरिएको छ । दर्शकमाझ त्यो पहिलेजस्तो चार्म छैन, कलाकारको ।

‘मायालु’मा मायालु सम्बन्ध

‘सन्तान’पछि शम्भु प्रधान दाइले विश्वास गर्नुभयो । नायक भुवन केसीसँगै ‘मायालु’ चलचित्रमा नायिकाको भूमिका पाएँ । तर, उहाँले पहिले नै भन्नुभएको थियो—‘केटाकेटीलाई यसरी काम गराउन हुन्न, बुझेन होला !’

शम्भु दाइले सबै कुरा बुझाएर, सिकाएर मात्रै अभिनय गराउनुभयो । ‘मायालु’को सुटिङको एउटा क्षण अहिले सम्झँदा हाँसो उठ्छ— ब्वाइफ्रेन्ड मर्ने सिनमा रुनुपर्ने थियो । तर म बच्चा रोएजस्तो गरेर रोएछु ! निर्देशकले गाली गर्नुहुन्थ्यो— ‘यस्तो पनि रोइन्छ ?’ नूतन भाउजू (शम्भु प्रधानकी श्रीमती) ले सेटमा चौबीसै घण्टा बसेर मलाई सिकाउनुहुन्थ्यो । स्क्रिप्ट पढेर अभिनय गर्ने अनुभवै थिएन । तर, एउटा मेरो प्लस प्वाइन्ट थियो— जेजसरी सिकाए पनि क्षणभरमै नक्कल गर्न सक्थेँ ।

नृत्य निर्देशक वसन्तजँग रायमाझीले सुटिङका क्रममा खुट्टामा लट्ठीले हिर्काउनुहुन्थ्यो । त्यसैले मलाई लाग्थ्यो—‘ओहो ! सिनेमा खेल्न त साँच्चै गाह्रो पो रहेछ !’ रसियन जिपमा चढाएर मेकअप गराउन लैजान्थे । त्यो बेला मलाई सबैभन्दा खुसी लाग्ने क्षण हुन्थ्यो । किनकि लन्च ब्रेकको समय हुन्थ्यो । अहिले डाइटिङ गरेर खाना कम गर्ने जमाना आयो । तर, त्यो बेला भात खाने समय नै दिनको सबैभन्दा रमाइलो लाग्थ्यो ।

करिब दुई महिनामा ‘मायालु’को सुटिङ सकियो । त्यसपछि अञ्जली दिदीले भन्नुभयो— ‘चलचित्रमा खेल्न त तिमी खेल्छ्यौ, तर अभिनय गर्न आउँदैन । यदि यसै क्षेत्रमा लाग्ने हो भने सिक्नुपर्छ ।’ नेपालमा त्यस्तो सिक्ने प्लेटफर्म थिएन, त्यसैले दिदीले मलाई बम्बई जान सल्लाह दिनुभयो । म बम्बई जाने सपना देख्न थालेँ । बम्बई पुगेपछि मैले मधुमति फिल्म एकेडेमीमा भर्ना लिएँ । त्यहाँ बलिउडका कलाकारहरू पनि अभिनय सिक्न आउँथे । क्यामेरा एङ्गल, अभिव्यक्ति शैली, कलाकार बन्न आवश्यक सबै कुरा त्यहाँ सिकेँ । ‘मेरी हातोँ मेँ नौ–नौ चूडियाँ’ गीतमा खुबै नाचियो । त्यहाँ गएपछि बल्ल ममा आत्मविश्वास जाग्योे— ‘अभिनय गर्ने भनेको यस्तो पो रहेछ !’ १५–१६ वर्षकी भइसकेकी थिएँ । एक वर्ष बम्बईमा सिकेपछि बल्ल नेपाल फर्किएँ । त्यसपछि कस्तूरी हुँदै चलचित्रमा निरन्तरता दिएँ । पछाडि फर्केर हेर्नु परेन ।

म स्वभावैले अत्यन्तै इमोसनल र संवेदनशील छु । त्यसैले नै सायद कलाकार बन्नुपर्ने थियो ! म आफूलाई एकसुरे मान्छेजस्तो पनि लाग्छ । विगत फर्केर हेर्दा लाग्छ, त्यतिबेला अभिनयलाई हल्का रूपमा लिएको थिएँ, तर दर्शकले अपार माया दिनुभयो । पहिलो फिल्मको अनुभव सम्झिँदा अहिले पनि हाँसो उठ्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *