ताज पछिको जीवन : नयाँ अध्याय, नयाँ जिम्मेवारी


मिस नेपाल एउटा सौन्दर्य प्रतियोगितामा मात्र सिमित छैन, साधारण युवतीलाई एकाएक राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्च समेत हो । जसले यो ताज जित्छिन्, उनको जीवनमा नयाँ अध्याय सुरु हुन्छ । यस वर्षको ताज लुना लुइँटेल को शिरमा सजिँदा उनी नेपालकै २९ औं मिस नेपाल बनेकी छन्। नेपालमा मिस नेपाल प्रतियोगिता सुरु भएको तीन दशक…

मिस नेपाल एउटा सौन्दर्य प्रतियोगितामा मात्र सिमित छैन, साधारण युवतीलाई एकाएक राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्च समेत हो । जसले यो ताज जित्छिन्, उनको जीवनमा नयाँ अध्याय सुरु हुन्छ ।

यस वर्षको ताज लुना लुइँटेल को शिरमा सजिँदा उनी नेपालकै २९ औं मिस नेपाल बनेकी छन्। नेपालमा मिस नेपाल प्रतियोगिता सुरु भएको तीन दशक पूरा भइसकेको छ । ३१ वर्षको यो लामो यात्रामा २९ जना युवतीहरूले ताज जितेर आफ्नो पहिचान बनाएका छन्।
लुना भन्छिन्, “हिजो म अष्ट्रेलियामा पढ्दै संघर्ष गरिरहेकी युवती थिएँ, तर आज नेपालकै प्रतिनिधि बनेकी छु। जिम्मेवारी अझै ठूलो भएको छ।” पढाइ, काम र संघर्षसँगै बितिरहेको जीवन एकाएक बदलियो। अब म साधारण युवती मात्र होइनन्, एक राष्ट्रको आशा र प्रतिनिधित्व बोकेकी पात्र बनेका जस्तो लाग्छ ।

ताज जितेपछि वाह जिन्दगी पत्रिकाको लागि उनको फोटोसुट र अन्तर्वार्ता पाटन म्युजियममा हुँदै थियो । फोटोको लागि पोज दिदै उनले भनिन् ,यो ताज केवल सुन्दरता मात्र होइन, जिम्मेवारीको भारी पनि हो। उनले मुस्कुराउँदै भनिन्, “यो ताज फिजिकल्ली पनि गरुंगो छ, मेन्टल्ली पनि गरुंगो नै छ।”
यस वाक्यले स्पष्ट देखाउँछ—मिस नेपाल हुनु भनेको बाहिरी चमकधमक मात्र होइन, राष्ट्रिय गौरवलाई अन्तराष्ट्यि स्टेजमा पुर्याउने अवसर पनि हो ।

नेपालमा वर्षेनी दर्जनौँ सुन्दरी प्रतियोगिताहरू आयोजना हुने गरेका छन्। तर तिनमध्ये सबैभन्दा प्रतिष्ठित र लोकप्रिय भनेको मिस नेपाल नै हो। यस प्रतियोगिताले केवल सौन्दर्य मात्र होइन, नेपालको प्रतिनिधित्व गर्ने गरिमा र जिम्मेवारी पनि बोकेको हुन्छ।

हिडन ट्रेजर ले सञ्चालन गर्दै आएको मिस नेपाल प्रतियोगिताले अहिलेसम्म २९ जनासुन्दरी जन्माइसकेको छ । तीमध्ये केही नामहरू समयसँगै गुमनाम भए पनि, केहीले अझै पनि ग्ल्यामरको दुनियाँमा संघर्षरत भएर आफ्नो पहिचान बनाइरहेका छन् । हरेक वर्ष आयोजना गरिने मिस नेपाल प्रतियोगिता राजदरवार हत्या काण्ड, २०६२।६३ को जनआन्दोलन र कोरोनाको समय गरेर ३ वर्ष भने मिस नेपाल आयोजना भएन ।

धेरै मिस नेपाल क्षणभरमै उदाएका छन् र क्षणभरमै हराएका छन् । मिस नेपाल हुँदा व्यापक रुपमा सञ्चार माध्यममा छाएकाहरुको विस्तारै अत्तोपत्तो नै हुदैनँ । मिस नेपालका शुरुवाट देखि कोरियोग्राफरका रुपमा संलग्न रचना गुरुंग शर्मा अधिकांस मिस नेपाल आफुहरुको सम्पर्कमा रहेको बताउँछन् । उनले भने, ‘विभिन्न किसिमले सम्पर्कमा हुनुहुन्छ, बाँकी कुरा उहाँहरुले के गर्नुभएको छ, कसो गरिरहनुभएको छ भन्ने विषयमा खासै वास्ता राख्ने कुरा भएन ।’ उनका अनुसार कोहि संचार क्षेत्रमा, चलचित्र, मोडलिंग, आइएनजिओ, कोहि व्यापार–व्यवसाय त कोहि विदेशमा विभिन्न काममा ब्यस्त छन् ।

नेपालको पहिलो मिस नेपाल रुवी राणा लाई ३१ वर्षअघि मिस नेपालको उपाधि नजितेकी भए सम्भवत: उनी आज पनि वीरगन्जको कुनै विद्यालयमा एउटी शिक्षिकाका रूपमा सीमित हुन्थे होला ।’ सन् १९९४ मा पहिलो पटक आयोजित मिस नेपाल प्रतियोगितामा विजयी भएर पहिलो मिस नेपाल बन्न सफल रुबी राणाले वाह जिन्दगीलाई भनिन् —‘आजभन्दा तीन दशक अघि मैले उपाधि जित्दा समाजमा यो प्रतियोगिताको जुन सम्मान तथा क्रेज थियो, आजको मितिमा त्यो शतप्रतिशतले बढेको छ ।’

काठमाडौं जेसिसले पहिलो पटक आयोजना गरेको मिस नेपालमा भाग लिन रुबी वीरगन्जबाट काठमाडौं आएकी थिइन् । शिक्षण पेसामा आबद्ध रहेकै बेला काठमाडौं आएर प्रतिस्पर्धामा भाग लिने बेलासम्म रुबीले आफू यो प्रतियोगितामा विजयी हुन्छु भन्ने सोचेकी थिइनन् । ‘इतिहास बोकेको पहिलो मिस नेपालको पनि आफ्नै क्रेज थियो,’ रुबी सम्झन्छिन् ‘प्रतिस्पर्धामा भाग लिन चाहनेहरूको संख्या पनि राम्रै थियो ।’ तर, समाज तथा त्यतिबेलाका सञ्चारमाध्यमले भने मिस नेपाललाई सकारात्मक रूपमा ग्रहण गर्न नसकेको रुबीको गुनासो छ ।

मिस नेपाल—२००३ की विजेता प्रीति सिटौला आफूले प्रतिस्पर्धा गरेको वर्षसम्म पनि मिस नेपालमा सहभागि हुने आफूसहितका प्रतिस्पर्धी युवतीहरू ‘आला–काँचा’ नै हुने कुरा सम्झन्छिन् । ‘हाम्रो बेलामा अहिलेको जस्तो इन्टरनेटसहितका प्रविधि थिएनन्,’ प्रीति भन्छिन्— ‘मिस नेपालको प्रशिक्षणका क्रममा पनि होइन, मैले त मिस नेपालको उपाधि जितेपछि मात्र ग्रुमिङ हुने मौका पाएँ ।’ प्रीतिले उपाधि जितेपछिको १ वर्षमा धेरै कुराको जानकारी तथा ज्ञान पाएको स्पष्ट पारिन् ।

‘सञ्चारमाध्यमसँग अन्तक्र्रिया गर्ने, एजेन्सीहरूसँग डिल गर्ने, ठूलो समुदायलाई नेतृत्व गर्ने जस्ता चुनौतीहरू मिस नेपालको उपाधिपछि मात्र ग्रहण गर्न सकेँ ।
सन् २०११ कि मिस नेपाल मलिना जोशीलाई मिस नेपालको उपाधि जितेपछि ताजको भारले सतायो । काठमाडौंमा बस्दै पढ्दै गरेकी मलिनालाई मिस नेपाल पछि आफुलाई धेरै तरिकावाट ग्रुमिंग गरिन् । उनी नेपाली चलचित्रमा सक्रिय हुने मिस नेपालहरूमध्ये मलिनाको नाम अग्रपंक्तिमा आउँछ । मलिनाले उपाधि जितेयता आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

२०१८ की मिस नेपाल मिस श्रृंखला खतिवडा वल्र्डको टप १२ मा स्थान बनाउन सफल भइन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी हुन् भने स्नातकोत्तर अध्ययन अमेरिकाको हार्वर्ड कलेजमा पूरा गरेकी छन् ।
मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा खतिवडाले ‘ब्यूटी विद अ पर्पस’ र ‘मल्टिमिडिया’ गरी दुईवटा अवार्ड हात पारेकी थिइन्। लाई अझैं ग्रुमिंग गर्दै पढाइ र कामलाई संग संगै लगिएकी हुन् ।

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको दृष्टिकोण फरक छ । उनले मिस नेपालको भूमिकालाई केवल सौन्दर्यको मात्रै नभई समाज परिवर्तनको शक्तिशाली प्लेटफर्मका रूपमा लिइन् र अष्ट्ेलिया छोडेर नेपालमै काम गर्ने सोच बनाएर फर्किन् । उनले शुरु गरेको माक्कुसेले नेपालमा ब्राण्ड बनाइ सकेको छ । अनुष्का भन्छिन् , “मैले केही गरेर अरुको जीवनमा सकारात्मक प्रभाव पार्न सके मन प्रसन्न हुन्छ। मिस नेपाल एउटा बलियो प्लेटफर्म हो, जहाँबाट धेरै काम गर्न सकिन्छ भन्ने लागेरै म मिस नेपालमा भाग लिन आएकी हुँ ।

‘मिस नेपालको उपाधि जित्नुअघि र उपाधि जितेपछिकी निकितामा धेरै नै परिवर्तन आएको देखिन्छ । मिस नेपाल भएपछि आफूमा सकारात्मक सोचको विकास हुन थालेको अनुभव गरेकी निकिता भन्छिन्– ‘मिस नेपालको क्राउन मेरा लागि हरेक अँध्यारो दिनपछि उज्यालो बिहानी आउँछ भनेजस्तै भैदियो ।’ उपाधिले आफूलाई नम्र हुन सिकाएको कुरा बताउने निकिता त्यही नम्रताका कारण आफूले धेरै मानिसको मन जित्न सकेको दाबी गर्छिन् । उनी अहिले चलचित्र क्षेत्रमा व्यस्त छिन् ।

मिस नेपाल प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता होइन, यो नेपालको संस्कृति, पहिचान र महिलाको नेतृत्व क्षमताको प्रतीक हो। बेला–बेला आलोचना भए पनि यसको महिमा कम भएको छैन। तीन दशक लामो यात्रामा मिस नेपालले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, नेपाली महिलालाई आत्मविश्वास, साहस र योगदानका नयाँ बाटा खोलिदिएको छ।

मिस नेपाल : को कता ?
फेसन डिजाइनिंग
रुवी राणा

संस्करणकै पहिलो मिस नेपाल हुन्, रुबी राणा शाह । १९९४ मा आयोजित प्रतियोगीताबाट ताज पहिरिएकी उनी अहिले आफ्नै रुवीज् कलेक्सनमा सक्रियताका साथ लागि रहेकी छिन् । मिस नेपालपछि उनले केहि चलचित्रमा काम गरिन् । केहि समय मोडलिङ समेत गरिन् । तर, धेरै समय टिक्न सकिनन् । उनले लामो समय व्युटिसियनका रुपमा काम पनि गरिन् । कोभिड देखि उनले ‘रुवीज कलेक्सन’ मार्फत फेशन डिजाइनिंगमा व्यस्त छिन् ।
उषा खड्गी
सन् २००० मा मिस नेपालको उपाधि जितेपछि निरन्तर सक्रिय रहेकी उषा खड्की फेसन डिजाइनरका रूपमा ब्यस्त छन् । उनको काठमाण्डौ स्थित कुपण्डोलमा आफ्नै बुटिक छ । उनले मोडलिङ, म्यूजिक भिडिओ तथा टेलिभिजन कार्यक्रममा काम गरिन्। हालसालै, उनले राजेश हमाल अभिनीत ‘नरसिंहा अवतार’ एक्सन फिल्ममा अभिनय गरिन्।
उषा हाल विभिन्न टेलिभिजन कार्यक्रममा प्रस्तोता भएर सक्रिय छन्। सन् २०२२ देखि उनले ‘आमा’ नामक टक–शो प्रस्तुत गर्दै आमा–छोरी सम्बन्धमा आधारित भावनात्मक संवादहरू गर्दै आएकी छिन्।

मोडलिंग तथा मिडिया
माल्भिका सुब्बा

सन् २००२ मा माल्भिका सुब्बा बनिन् । ताज हातमा लिएसँगै उनी निकै चर्चामा रहिन् । तत्कालै म्युजिक भिडियो, विज्ञापन र फेसन शोहरूमा चम्किन थालिन्। उनले टेलिभिजन शो होस्ट गर्दै आफ्नो वक्तृत्व कौशल देखाइन्। रेडियोमा आवाज सुनाउन थालिन्। निर्माता, उद्यमी र फेसन आइकनका रूपमा पहिचान बनाइन्।
उनले फेसनदेखि मिडियासम्मको क्षेत्रमा लाग्दै महिलाको सशक्तिकरण र युवा नेतृत्वमा उनी खुलेर बाृलिरहेकी हुन्छिन् । कार्यक्रम, कन्फरेन्स वा कलेजका मञ्चहरूमा जब उनी बोल्छिन्, धेरै युवतीले उनलाई आइडियल लेडीका रूपमा हेर्छन् ।

सुगारिका केसी
सन् २००५ की मिस नेपाल सुगरीका केसी मिस नेपालहरुमा धेरै चर्चामा रहिन् । मिस नेपाललाई प्रशिक्षण दिने काममा पनि उनले राम्रै योगदान दिइन् । रेडियो जक्कीका रुपमा समेत केहि समय काम गरेकी सुगरिका पछिल्लो बर्ष व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षकका रूपमा सक्रिय छन् भने रेडियो, टिभी हुदैं अहिले पडकास्ट पनि संचालन गर्देछिन् ।

सदिक्षा श्रेष्ठ
२०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ नेपालपछि उनी अहिलेसम्म विभिन्न कार्यक्रममा उद्घोषिको रुपमा काम गर्दै आएकी छिन् । अहिलेसम्म दर्जनौं विज्ञापनमा समेत देखा परेकी छिन् । हाल हिमालय टेलिभिजनमा कार्यक्रम चलाउँदै आएकी उनलाई चलचित्र र म्युजिक क्षेत्रमा काम गर्न धेरैले सुझाब दिएका थिए, तर उनी विज्ञापन र सार्वजनिक कार्यक्रममा भुलिन् । सन् २०१७ मा एशियन इन्स्च्यिुट अफ टेक्निोलोजी थाइल्याण्डवाट बिजनेश एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर तहमा विशिष्ट श्रेणी सरहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम भएकी सदिक्षाको सुन्दरताको चर्चा सधै हुने गरेको छ ।

अस्मि श्रेष्ठ
सन २०१६ मा मिस नेपाल बनेकी अश्मि श्रेष्ठ २२ बर्षको उमेरमा मिस नेपाल बनिन् । अहिले उनी इन्टेरियर डिजाइनरका रुपमा थुप्रै कामहरु गरेकी छिन् भने वाउ को युटेयुब च्यानलमा कार्यक्रम संचालन गर्छिन् । उनको प्रस्तुतिलाई अहिलेका पुस्ताहरुले धेरै रुचाउँछन् ।

श्रृंखला खतिवडा
२०१८ की मिस नेपाल मिस श्रृंखला खतिवडा वल्र्डको टप १२ मा स्थान बनाउन सफल भइन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी हुन् भने स्नातकोत्तर अध्ययन अमेरिकाको हार्वर्ड कलेजमा पूरा गरेकी छन्।
मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा खतिवडाले ‘ब्यूटी विद अ पर्पस’ र ‘मल्टिमिडिया’ गरी दुईवटा अवार्ड हात पारेकी थिइन्। आफ्नो सफलताको आधार ‘ब्यूटी विद अ पर्पस’ अभियानलाई मान्ने उनले मकवानपुरको विकट चेपाङ बस्तीमा गोर्खा इको प्यानल प्रयोग गरेर स्वास्थ्य चौकी भवन निर्माणको पहल गरेकी थिइन्। उक्त अभियानलाई उनले वृतचित्रमार्फत प्रस्तुत गर्दै स्वास्थ्य केन्द्र स्थापना गरी स्थानीय बालबालिकाको उपचारमा सहयोग पु–याइन्। हाल उनी विभिन्न ब्रान्डका लागि मोडलिङसँगै आफ्नै आर्किटेक्चर कम्पनी सञ्चालनमा सक्रिय छिन्।

चलचित्र
मलिना जोशी

मलिना जोशी २०११ मा मिस नेपाल भएपछि म्युजिक भिडियो तथा केहि चलचित्रमा अभिनेत्रीका रूपमा काम गरिन् । तर, उनी चलचित्र क्षेत्र र मोडलिङ दुनियाँमा सोचेजस्तो सफल भइनन् । डेब्यू चलचित्र ‘ऋतु’ देखी अहिलेसम्म अभिनय गरेका चलचित्रहरु द वीनर, रानी, लिला, तिमी हुन्छौं जहाँ जहाँ औषतको व्यापार पनि गर्न नसक्दा मलिनालाई चलचित्र क्षेत्रप्रति निराशा जागेको छ । निर्माताहरु पनि उनलाई लिएर चलचित्र बनाउन खोजेका छैनन् ।

श्रृष्टि श्रेष्ठ
मिस नेपाल भएर चलचित्र क्षेत्रमा संघर्ष गर्ने अभिनेत्रीको सुचिमा श्रृष्टि श्रेष्ठको नाम पनि आउँछ । २३ वर्षको उमेरमा सन् २०१२ मा मिस नेपालको उपाधि जितेकी सृष्टि त्यसपछि भने चलचित्र उद्योगमा सक्रिय भइन् । तर, उनका अधिकांस चलचित्र फ्लप भैरहेका छन् । हिन्दी म्यूजिक भिडियोमा समेत काम गरिसकेकी श्रृष्टिको पहिलो चलचित्र गाजलुले त्यति सफलता हासिल गर्न सकेन । त्यसपछि उनले काम गरेका रोमियो एण्ड मुना, बाँध मायाले पनि फ्लप भए । उनको नयाँ चलचित्र लाउरे प्रदर्शनको तयारीमा छ । यद्यपी यो चलचित्र कहिले प्रदर्शन हुन्छ पत्तो छैन ।

निकिता चाण्डक
२०१७ मा मिस नेपालको ताज जितेपछि निकिता चाण्डक चर्चामा आइन्। नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमा उनी आत्मविश्वास, शालीनता र सौन्दर्यको संगमका रूपमा स्थापित भइन्।
ताज जितेपछि उनले मोडलिङ, विज्ञापन र सामाजिक अभियन्ता गतिविधिमा सक्रियता देखाइन्। हालै उनी चलचित्र क्षेत्रमा प्रवेश गर्दै नयाँ यात्राको सुरुवात गरेकी छन्। आफ्नो लक्ष्यबारे उनले भनिन्—समाजलाई जसरी पनि परिवर्तन गर्नु छ, त्यसका लागि मेरो तर्फबाट कुनै कमी हुन दिने छैन।”

नम्रता श्रेष्ठ
‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ फिल्म ‘रङ्गी’ मार्फत अभिनयमा डेब्यु गर्ने गरेकी हुन् । अहिले उनी चलचित्रको साथमा कमेडी दरवारमा समेत ब्यस्त छिन् ।

व्यापार । व्यवसाय
प्रिति सिटौला

२२ वर्षको उमेरमा सन् २००३ मा मिस नेपालको उपाधि जित्न सफल प्रिति सिटौला टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा समेत केहि समय काम गरिन् । पढाइको क्रममा केहि वर्ष अध्ययनका लागि अमेरिकामा थिइन् । तर, पछि फर्किएर उनि काठमाडौंमा आफ्नै व्यवसायमा सक्रिय भइन् । उनी अहिले व्यवसायीको रुपमा आफुलाई स्थापित गर्दे छिन् ।
जेनिशा मोक्तान
२००९ की मिस नेपाल जेनिशा मोक्तान युवा ब्यवसायी दिकेश मल्होत्रासँग विहे गरेपछि खासै रंगीचंगी दुनियाँमा भुलिनन् । मिस तामाङ र विभिन्न प्रतिस्पर्धामा सहभागी हुँदै मिस नेपालको ताज पहिरिएकी जेनिशाले कुनै समय मोडलिङमा जमेर काम गरेकी थिइन् । हाल उनि रंगिन दुनियाभन्दा बाहिरको जिवन बिताइरहेकी छिन् ।
इभाना मानन्धर
इभाना मानन्धर २३ वर्षको उमेरमा सन् २०१५ मा मिस नेपालको उपाधि जित्न सफल भएकी हुन् । उनी :यभितयभि ल्भउबष् िभ्–अयmmभचअभ इलभ क्तयउ क्जयउ ब्उउ की सह–संस्थापक तथा मार्केटिङ निर्देशक हुन्। नेपालमा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र विद्यमान रोजगारीलाई जोगाउने उद्देश्यले उनी यस क्षेत्रमा सक्रिय छिन्।
उनले काठमाडौं विश्वविद्यालय व्यवस्थापन विद्यालयबाट मार्केटिङ विषयमा एमबीए पूरा गरेकी छन् र हाल उनी काठमाडौं विश्वविद्यालयकी गुडविल ब्रान्ड एम्बासेडर पनि हुन्।

अनुष्का श्रेष्ठ
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ ताज जिते पछि अष्ट्ेलिया छोडेर नेपालमा आफ्नो ब्राण्ड माक्कुसे संचालन गर्दै छिन् । माक्कुसेको ब्राण्ड संग संगै आउटलेट पनि बढाउँदै छिन् । उनी यस्ती मिस नेपा हुन् जसले अष्ट्ेलिया छोडेर नेपालमा जिरोवाट काम शुरु गरेर ब्राण्ड बनाउन सफल भइन् ।

गुमनाम
सुमी खड्का

१९९५ मा भएको दोस्रो मिस नेपाल हुन्, सुमी खड्का । उनले १८ वर्षकै उमेरमै मिस नेपालको ताज पहिरिन् । मिस नेपालपछि चलचित्र सुपरस्टारमा काम गरिन् । भुवन केसीसँग स्क्रिन शेयर गरेर राम्रै तारिफ कमाइन् । त्यसपछि भने कुनैपनि प्रोजेक्टमा काम गरिनन् । धेरैले उनी चाँडै चलचित्रमा कमव्याक हुन सक्ने सम्भावना समेत देखेका थिए । हाल कतार एयरवेजमा एयर होस्टेजको रुपमा कार्यरत रहेको बताइन्छ । यसबाहेक उनि कहिलेकाहि विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको पाइन्छ । यि सुन्दरी मिस नेपाल घोषणापछि फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिकमा भाग लिएकी छिन् । अहिले उनी खासै चर्चामा छैननर ।
पूनम घिमिरे
मिस नेपाल पूनम घिमिरे ताज पहिरिएको ३ वर्षमै अमेरिका पलायन भइन् । मिस नेपाल भएपछि गर्नुपर्ने विभिन्न दायित्वलाई कुल्चीएर अमेरिका पलायन भएपछि उनिप्रती धेरै रुष्ट थिए । १९९६ की यि मिस नेपालको आम रुपमा चर्चा समेत भएन, नत विशिष्ट छाप नै छाड्न सकिन् । मिस नेपालपछि फिलिपिन्समा आयोजना भएको ‘मिस एसिया प्यासिफिक’ सहभागी भइन्, उनको यात्रा त्यसमै सिमित भयो । १६ वर्षमै मिस नेपालको ताज जित्न सफल उनि सवैभन्दा कान्छो उमेरमा मिस नेपाल बन्ने नेपालकी पहिलो मिस नेपाल समेत हुन । अमेरिका पलायन भएपछि उनको चर्चा कहिल्यै भएन ।
निलिमा गुरुङ
निलिमा गुरुङ मिस नेपालको ताज पहिरिने पहिलो जनजाती सुन्दरीमा पर्छिन् । १९९७ मा सम्पन्न मिस नेपाल प्रतियोगितामा पोखराकी स्थायी निलिमाले १९ वर्षको उमेरमा मिस नेपालको ताज पहिरिएकी थिइन् । निलिमाले त्यसपछि केहि म्युजिक भिडियोमा समेत काम गरिन् । तर, मोडलिङमा खासै जम्न सकिनन् । त्यसपछि उनि पोखरामै आफ्नै ब्यवसायमा सक्रिय भइन् । आफ्नो ताजको खासै उपयोग र महत्व दिन नसकेकी यि मिस नेपाल आजभोली यूके मा बस्दै आएकि छिन् ।
झरना बज्राचार्य
१९९७ मा मिस वल्र्ड नेपालको उपाधि जितेकी झरना बज्राचार्य मोडल तथा नायिकाको रुपमा परिचय बनाइन् । लगभग डेढ दर्जन चलचित्रमा काम गरेकी उनले दर्जनौं म्युजिक भिडियोमा मोडलिङ समेत गरेकी छन् । त्यसबेला उनलाई म्युजिक भिडियो क्वीनको रुपमा समेत चर्चा गरिन्थ्यो । रंगीन दुनियाँमा चर्चा भैरहेपनि चलचित्र र व्यक्तिगत विविध कारण उनि गुमनाम हुन पुगिन् । केहि वर्षअघि भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी झरनाका पति मलेसियामा रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन् । अरुको तुलनामा सवैभन्दा बढी चर्चामा रहने मिस नेपाल झरनाले १६ वर्षमै मिस नेपालको ताज जित्न सफल भएकी थिइन् ।
निरु श्रेष्ठ
१९९८ मा मिस नेपाल बनेकी ज्योति प्रधान पहिलो त्यस्ती मिस नेपाल हुन्, जसले आफ्नो उपाधि सुरक्षित राख्न सकिनन् । मिस नेपालको उपाधि जितेकै वर्ष अमेरिका पलायन भएपछि आयोजकहरूले उनको उपाधि खोसेको थियो । उनको ताज फिर्ता भएपछि रनरअप निरु श्रेष्ठ मिस नेपाल बनेकी हुन् । निरुले पनि ताज मात्रै पहिरिइन्, सक्रिय रुपमा नेपालका लागी केहि योगदान दिन सकिनन् । उनि पाइलट हुन् । उनी अमेरिकामा पाइलटका रुपमा रुपमा कार्यरत छिन् । तर उनी अचेल चर्चामा छैनन् ।
पायल शाक्य
सन् २००४ मा उपाधि जितेकी मिस नेपाल पायल शाक्य तुरुन्तै पलायन हुने मिस नेपालमध्ये पर्छिन् । मिस नेपालपछि उनको खासै चर्चा समेत भएन, न त केहि विशेष काम नै गरिन् । गैडा संरक्षण र बिभिन्न सामाजिक काममा समेत सक्रिय भएकी उनले मिस वल्र्ड चाइनामा सहभागीता समेत जनाएकी थिइन् । २०११ मा अग्लिज ब्याण्डका सरुण ताम्राकारसँग बिहे गरेकी उनि ताज पहिरिएको २ वर्षमै अस्टे«लिया पलायन भइन् । उनी सन् २०१० मा गुठी अष्ट्रेलियाको सांस्कृतिक दूत समेत घोषणा भएकी थिइन् ।
शीतस्मा चन्द
शीतस्मा चन्द २३ वर्षको उमेरमा २००७ मा मिस नेपालको उपाधि जितिन् । ललितपूरकी शितस्मा मिस नेपालपछि केहि बर्ष पनि टिक्न सकिनन् । एकाएक मिडियाबाट हराइन् । हाल उनी अस्ट्रेलियाली श्रीमान् बेन प्रिन्ससँग एक छोरासहित दुबईमा बस्दै आएको बताइन्छ ।
सुबिन लिम्बू
सुबिन लिम्बू २३ वर्षको उमेरमा सन् २०१४ मा मिस नेपाल घोषित भइन् । यद्यपी, उनको चर्चा कहिल्यै भएन ।

स्वेता सिंह
१९९९ मा मिस नेपाल बनेकी स्वेता सिंह पर्सनालिटी डेभलपमेन्टको क्षेत्रमा कार्यरत छिन् । श्वेताले केहि समय मिस नेपाल प्रतियोगिताको अफिसियल प्रशिक्षकका रूपमा समेत काम गरेकी थिइन् । अहिले उनी खासै चर्चामा छैन
इशानी श्रेष्ठ
इशानी श्रेष्ठ २०१३ मा मिस नेपालको उपाधि जित्न सफल भइन् । इशानी पेशाले दन्त रोग विशेषज्ञ हुन् । मिस नेपालपछि खासै चर्चामा नआएकी मध्ये इशानीको नाम पनि अग्रपंक्तीमा आउँछ ।

कसरी जन्मियो मिस नेपाल ?
फ्याट्टफुट्ट सुन्दरी प्रतियोगीता आयोजना भैरहेपनि मिस नेपाल सुरु भएपछि अन्य प्रतियोगीता ओझेलमा परे । काठमाडौं जेसीजको रजत जयन्तीको अवसरमा मिस नेपाल पनि आयोजना गरेका थिए । सिल्भर जुब्लीका अध्यक्ष गोपालसुन्दर लाल कक्षपति थिए । त्यस पछि मिस नेपाललाई निरन्तरता दिनु पर्छ भनेर काठमाडौं जेसीजका सिल्भर जुब्लीका सदस्यहरु ीमलेर द हिडेन ट्रेजर कम्पनी दर्ता गरेका हुन् । द हिडेन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितका अनुसार मिस नेपालको पहिलो संस्करण सन् १९९४ को सेप्टेम्बरमा काठमाडौंका प्रज्ञा भवनमा सम्पन्न भएको थियो । पहिलो प्रतियोगीतामा २२ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । सुरेश बहादुर मल्ल, शुवर्ण बहादुर क्षेत्री, गोपाल सुन्दर कक्षपती, दिवाकर राज कर्णिकार हुदैं पाँचौं अध्यक्षका रुपमा अजयरत्न स्थापित छन् ।
काठमाडौं जेसीजका सिल्भर जुब्ली कार्यक्रममा ‘मिस नेपाल’ प्रतियोगितालाई समावेश गर्नुपर्छ भन्ने योजना गोपालसुन्दर कक्षपतिले सन् १९९३ देखि नै बनाउन थालेका थिए । जेसिजले मिस नेपाल प्रतियोगिता आयोजना गर्ने औपचारिक निर्णय गरेपछि कक्षपति तथा उनका सहकर्मी रूपेश प्रधान १९९३ मा भारतको मुम्बई पुगेर फेमिना मिस इन्डिया प्रतियोगितालाई नजिकबाट नियाले । त्यसपछि कक्षपति तथा प्रधान काठमाडौं फर्किएर १९९४ मा मिस नेपाल आयोजना गर्ने घोषणा भयो । २२ जना प्रतिस्पर्धी भेला पारेपछि हो ।

यो पद पनि ताज जत्तिकै भारी छ
अजयरत्न स्थापित, अध्यक्ष हिडेन ट्रेजर
मिस नेपाल बनेपछि विजेताहरूले आफ्नो भूमिकालाई कत्तिको महत्वका साथ निर्वाह गरेको देख्नुहुन्छ?

सुरु–सुरुमा भने ताज जित्नु मात्र उपलब्धि हो भन्ने बुझाइ देखिन्थ्यो, त्यसको गहिरो अर्थ धेरैलाई थाहा थिएन। तर समयसँगै मिस नेपाल र यसको ताजलाई ठूलो जिम्मेवारीको रूपमा लिन थालिएको पाउँछु। विजेताहरूले एक वर्षसम्म ताजको भारलाई जिम्मेवारीसहित बोक्दै आफ्नो भूमिकामा समर्पित भएर लाग्ने गरेका छन्। विशेषगरी ‘ब्युटी विथ पर्पोज’लाई केन्द्रित गरेर समाजमा योगदान दिनुपर्ने सोच अझ प्रष्ट हुँदै गएको छ। अहिले मिस नेपाललाई देशकै शानका रूपमा बुझ्ने र त्यसलाई सार्थक रूपमा निभाउने भावना विजेताहरूमा स्पष्ट देखिन्छ।

पहिला मिस नेपालमा एलिट वर्गका मात्रै प्रतियोगी हुन्छन् भन्ने धारणालाई अहिले तोडिएको देख्नुहुन्छ?
अघिल्लो दिनमा यस्तो प्रतियोगिता काठमाडौंमै सीमित हुने भएकाले त्यस्तो धारणा बलियो थियो। तर अहिले हामी काठमाडौं बाहिर गएर पनि अडिसन लिन थालेका छौँ। त्यसकै परिणामस्वरूप देशभरका युवतीहरूले सहज रूपमा सहभागिता जनाउन पाएका छन्। उदाहरणका लागि, यसपालिको फाइनल प्रतिस्पर्धामा मात्रै जनकपुरका तीन जना प्रतियोगी छानिएका छन्। त्यति मात्र नभई विभिन्न पेसा र क्षेत्रमा दक्षता हासिल गरेका युवतीहरू पनि सहभागी हुँदैछन्। यसले मिस नेपाललाई अझ समावेशी र विविधतापूर्ण बनाउन ठूलो योगदान दिएको छ ।

हिडेन ट्रेजरका अध्यक्षका रूपमा तपाईंले कस्ता चुनौतीहरूको सामना गर्नुभएको छ?
अध्यक्षका रूपमा यो यात्रा सजिलो छैन । सबैभन्दा ठूलो चुनौती भनेको मिस नेपाललाई ‘प्रोडक्ट’ होइन, एक ‘ब्रान्ड’ हो भन्ने धारणा स्थापित गराउनु थियो। त्यो बुझाइ समाजमा विकास गराउन निकै समय र मेहनत लाग्यो । अर्कोतर्फ, बाहिरबाट हेर्दा धेरै स्पोन्सरहरू देखिए पनि, तिनीहरूलाई सन्तुलनमा राख्दै व्यवस्थित गर्न निकै कठिन हुन्छ । यस पदमा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ ,यो पद पनि ताज जत्तिकै भारी छ ।

अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो सफलता दिलाउनका लागि के गर्नुपर्छ? तपाईंको आगामी योजनाहरू के छन् ?
हाम्रा मिस नेपाल विजेताहरू सक्षम, प्रतिभाशाली र आत्मविश्वासी छन् भन्नेमा दुईमत छैन । उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पार्ने क्षमता राख्छन् भन्नेमा म ढुक्क छु। तर अझ ठूला उपलब्धि हासिल गर्नका लागि नेपाल सरकारको चासो र सहयोग अत्यावश्यक छ । यदि सरकारले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालमै आयोजना गर्ने पहल गर्‍यो भने त्यो हाम्रो लागि ठूलो अवसर हुनेछ।
हामी पहिले नै मिस वल्र्डमा टप १२ मा पुग्ने गौरव हासिल गरिसकेका छौँ। आगामी दिनमा सरकारको साथ र समर्थन भएमा, अझ मजबुत भएर अन्तर्राष्ट्रिय ताज नेपालमा ल्याउन सकिन्छ भन्नेमा म दृढ विश्वास राख्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *