सामाजिक सञ्जालले बनाएको समाज


यो लेख सामाजिक सञ्जालको विपक्षमा होइन । सामाजिक सञ्जालको पासोबाहिर रहेकाले मेरो मत यसको प्रयोगको विपक्षमा हुने अपेक्षा गरिएको भए, त्यो सही होइन । सामाजिक सञ्जालका फाइदाहरूबारे म भलिभाँती जानकार छु । ज्ञान र सूचनाको प्रवाह, ‘कनेक्टिभिटी’ र ‘नेटवर्किङ’, वस्तु र सेवाको बजारीकरण एवम् प्रवद्र्धनमा यसको उपयोगिता नजरअन्दाज गर्न सकिँदैन । परम्परागत मिडियाको एकाधिकारबाट मुक्त…

यो लेख सामाजिक सञ्जालको विपक्षमा होइन । सामाजिक सञ्जालको पासोबाहिर रहेकाले मेरो मत यसको प्रयोगको विपक्षमा हुने अपेक्षा गरिएको भए, त्यो सही होइन । सामाजिक सञ्जालका फाइदाहरूबारे म भलिभाँती जानकार छु । ज्ञान र सूचनाको प्रवाह, ‘कनेक्टिभिटी’ र ‘नेटवर्किङ’, वस्तु र सेवाको बजारीकरण एवम् प्रवद्र्धनमा यसको उपयोगिता नजरअन्दाज गर्न सकिँदैन । परम्परागत मिडियाको एकाधिकारबाट मुक्त गर्दै प्रत्येक नागरिकलाई एउटा सशक्त ‘एजेन्सी’ बन्न सक्ने अवसर सामाजिक सञ्जालले दिएको छ । ‘आइडिया’ लाई अर्थोपार्जनमा बदल्ने अवसर दिएको छ । त्यसैले कुनै पनि डिजिटल ग्याजेटको प्रयोगकर्ता फेसबुक, इन्स्टाग्राम, एक्सजस्ता प्रचलित सञ्जालमा आबद्ध भएका हुन्छन् । अरूको पल–प्रतिपलको सूचना लिने अनि आफ्नो सूचना पनि त्यसैगरी सञ्जालको ‘ग्रिड’ (मूलप्रवाह) मा छाडिदिने आदत उनीहरूले विकास गरेका हुन्छन् । त्यसैले सामाजिक सञ्जाल डिजिटल युगको उपभोक्ता संस्कृति (वस्तु र सेवाको मात्र नभएर सूचनासमेत) को अनिवार्य कडी बनिसकेको छ ।
फोन, इन्टरनेट र खासगरी सामाजिक सञ्जालको अनिवार्यताकै कारण मोबाइल फोनलाई ‘एक्सटेन्डेड ह्यान्ड’ (विस्तारित हात) समेत भन्न थालिएको छ । हुन पनि घर, कार्यालय, सार्वजनिक स्थलदेखि शौचालयसम्म मानिसको पञ्जामा मोबाइल फोन देखिन्छ । कुनै अम्मल वा नसाझैँ मानिसका आँखा फोनका स्क्रिनमा टाँसिएका हुन्छन् । सार्वजनिक स्थल वा कार्यक्रममा कोही खुलमखुल्ला त कोही केही छेलिएर खैनी माडेझैँ गरी आफ्ना औँलाहरू स्क्रिनमा दौडाइरहेका हुन्छन् ।

मेरा निम्ति खडा हुने प्रश्न पनि ठीक यही हो । ‘सामाजिक सञ्जालको प्रयोग वा उपभोगबेगर समाजको हिस्सा कसरी बन्न सकिरहेका छौ तिमी ?’ धेरै मित्रका आँखामा म यस्तै प्रश्न देख्छु । सञ्जालबाहिरको दुनियाँ सम्भवत: उनीहरू अरण्यवासको अर्थमा लिन्छन् । किनकि, समाजमा जुन कुरा (बहु)प्रचलित हुन्छ, त्यो नै त्यो समाजको ‘नर्म’ (कायदा) बनिसकेको हुन्छ । आजको नेपाली समाजमा कोही व्यक्तिले ‘म चुरोट–रक्सी छुँदै छुन्न’ भन्यो भने उसलाई उल्टै प्रतिप्रश्न गरिन्छ, ‘के तिमीलाई प्रेसर–डायबिटिज छ ?’ सामाजिक सञ्जाल त झन् अर्कै तहकै कुरा भइगयो । यहाँ जन्मकुण्डली नबनाएका मानिस बरु भेटिएलान्, फेसबुक र इन्स्टाग्रामबिनाका मानिस भेट्नुचाहिँ समाचारकै विषय बन्छ ।

हुन पनि एकपटक म स्वयम् समाचारको विषय बनेँ । पत्रकार मित्र नरेन्द्र रौले मेरो समाजिक सञ्जाल परहेजदेखि चकित बने र उनले सञ्जालदेखि टाढा रहेका व्यक्तिहरूबारे तत्कालीन ‘साप्ताहिक’ ट्याबलोइडमा एउटा फिचर तयार गरे । अर्का पत्रकार मित्र सुजित महतले यसै विषयमा मलाई ‘नयाँ पत्रिका’ मा आलेख लेख्ने फरमान जारी गरे । यो आलेख पनि त्यसैको निरन्तरता हो ।

सामाजिक सञ्जालमा रहनु–नरहनु मेरो विचारमा व्यक्तिको नितान्त रुचिको कुरा हो । सञ्जालमा रहनेको जस्तै नरहनेको पनि एउटै मत नरहन सक्छ । मेरो रुचि भौतिक रूपमा प्रियजन भेट्ने, गफिनेमा छ । फेरि प्रश्न उठ्न सक्छ, हजारौँ कोस परको व्यक्तिचाहिँ तिमी कसरी भेट्छौ नि ? मैले प्रविधिको प्रयोग गर्दिनँ भनेर कहाँ कसम खाएको छु र ! सुदूरका ती मित्र र सहृदयीहरू सँग जोडिनका लागि ह्वाट्सएप र भाइबर प्रयोग गर्ने गरेको छु । प्रविधिको अन्धाधुन्धभन्दा पनि चयनात्मक प्रयोग रोजेको छु ।

फेरि लेखन, वृत्तचित्र निर्माण, फिल्म फेस्टिभलको आयोजनाजस्ता सिर्जनशील र व्यावसायिक कर्म रोजेका कारण स्वयम्लाई अग्लो पर्खालभित्र गजबार लगाएर बन्द गर्ने कुरा पनि भएन । त्यसैले व्यक्तिगत सूचना र सम्बन्धका नभएर व्यावसायिक उद्देश्यले लिंक्डइनको एकाउन्ट खोलिराखेको छु, यद्यपि त्यसमा आफ्नो प्रोफाइल अद्यावधिक र पोस्ट गर्ने गरेको छैन । लिंक्डइन मेरो निम्ति व्यावसायिक साँघु बनिदिएको छ । तर, जुन कुरादेखि बिच्किएर व्यक्तिगत सामाजिक सञ्जालदेखि दूरी बनाएको हुँ, त्यो लिंक्डइनको हकमा पनि लागू भएको देख्दा दिक्दारीको अनुभव नहुनेचाहिँ होइन । अन्य देशको हकमा त्यति नहोला, तर हामीकहाँ सामाजिक सञ्जाल श्लाघा र आत्मरतिको खुला मञ्च देखिन्छ । सुकुटी चपाउँदै तोङ्बा पिएको, राम्रो गाडीमा चढेको, नयाँ पोसाक र श्रृङ्गारमा सजिएको, सम्पन्न र अलि ओहदाका मानिस भेटेको, विदेशका चौडा सडक र पार्कमा टहलिएको जस्ता प्रकारका पोस्ट सञ्जालमा अत्यधिक देखिन्छन् । अनि तिनलाई कतिले ‘लाइक’ र ‘कमेन्ट’ गरे/गरेनन् भन्ने तनावमा प्रयोगकर्ता हमेसा रहन्छन् । ‘लाइक’ नगरेकै कारण उनीहरू व्यक्तिहरूप्रति धारणा निर्माण गर्छन् र अन्तत: सम्बन्ध वैमनश्यमा पनि परिणत हुन्छ । फेसबुक र इन्स्टाग्रामभन्दा एक तहमाथिको पोस्ट लिंक्डइन देख्दा मन खिन्न हुन्छ । बियर र माछा खाएको जस्तो पोस्ट त्यहाँ नभए पनि कुनै कार्यशालामा सहभागी हुँदा पाएको सर्टिफिकेट, प्रशंसापत्र, आफ्ना लेख र अन्तर्वार्ताको लिङ्क ज्यादातर देख्दा लिंक्डइन पनि आत्मरतिकै माध्यमजस्तो अनुभूत हुन्छ । विचार, बहस र मिमांशाको माध्यम हुनुपर्ने यस्तो मञ्च व्यक्तिगत तुष्टिमै सीमित देखिन्छ ।

सामाजिक सञ्जालका गुण र दोष दुवै परख गर्न सक्छ । उसले जिम्मेवारीपूर्वक यसको उयोग गर्नु नराम्रो होइन । तर, बालक र किशोरवयकाहरूलाई यसको अम्मली बनाउनुचाहिँ खतरनाक कुरा हो । बच्चाले खान मानेन वा रुन थाल्दा मोबाइल थमाइदिने अनि किशोर–किशोरीलाई इन्टरनेटको निर्बन्ध पहुँच दिँदा उनीहरूमा कस्तो मानसिक विकास र सामाजिकीकरण भइरहेको छ, हामीले कहिल्यै विचार गरेका छौँ ? कोभिडकालकै उदाहरण लिऊँ, भौतिक कक्षा ठप्प रहेको बेला विद्यालयहरू कसरी शुल्क असुल्ने भन्ने उपाय खोज्नतिर लागे र अनलाइन क्लासको जुक्ति निकाले । अनि, सुरु भयो बल्ल ‘कखरा’ चिन्न थालेका बच्चाहरूलाई अनलाइन शिक्षा । जुन उमेरका बच्चालाई इन्टरनेट र डिजिटल डिभाइसदेखि टाढा राखिनुपर्ने थियो, उनीहरूलाई थमाउन थालियो मोबाइल र ल्यापटप । हाम्रा बा र हजुरबुबाका पालामा केटाकेटीलाई ‘जा बाबु, चिलिम सल्काएर लेरा’ भन्नु र मोबाइल हातमा थमाउनुबीच आखिर के फरक थियो र त्यो ?

मोबाइल, नेट र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण बालबालिका र किशोरवयकाहरूमा समाजमा घुममिल हुने अरुचि, एकान्तता, अलि एकसुरे वा एकलकाँटे जस्ता सिन्ड्रोम देखा परेका छन् । जापानी भाषामा ‘हिकिकोमोरी’ भनिने यो सिन्ड्रोमबाट अहिले अधिकांश कलिला उमेरका मानिस ग्रस्त बनेको अध्ययनहरूले देखाएका छन् । त्यसैगरी इन्टरनेट र डिजिटल ग्याजेटको अति प्रयोगका कारण एटेन्सन डेफिसिट हाइपर डिस्अर्डर (एडिएचडी) अर्थात् एकाग्रतामा कमीदेखि कलिलै उमेरदेखि एअरफोन लगाउँदा ‘हियरिङ इम्पेरमेन्ट’ (कान नसुन्ने) जस्ता समस्या उति नै बढेको पाइएको छ ।
मोबाइलको पर्दामा आँखा टसाइरहने लतका कारण मानिसहरूमा ‘इन्सोम्निया’ (अनिद्रा) को समस्या बढेको छ । डिजिटल स्क्रिनले फाल्ने ‘ब्लू रे’ ले हाम्रो मस्तिष्कलाई जागृत बनाइदिन्छ । राति अबेरसम्म मोबाइल चलाउँदा ‘ब्लू रे’ ले हाम्रो मस्तिष्कलाई ‘एक्टिभेट’ गरिदिन्छ र हामी अनिदो रहन पुग्छौँ । त्यसैले कति समय पारम्परिक र कति समय डिजिटल डिभाइसमा छुट्ट्याउने भन्नेबारे स्पष्ट रुटिन बनाउन जरुरी छ । पुस्तक पढ्दा अनि साथीभाइ र परिवारजनका बीच बसिबियाँलो गर्दा मस्तिष्कले जस्तो ताजगी पाउँछ, मोबाइलको लतले मन र मस्तिष्क दुवैलाई हानि पुर्‍याउँछ ।

यी त रहे, व्यक्तिगत आनीबानीका कुरा । सामाजिक सञ्जालको सबैभन्दा खराब परिणाम समाज र राष्ट्रिय जनजीवनमा देखिन्छ । समूह बनाएर वा साइबर सेना तयार पारेर फरक विचारका प्रतिद्वन्द्वी सिध्याउने उद्देश्यले व्यक्तिको मानमर्दन र गालीगलौजले समाजमा नकारात्मकता नराम्ररी बढाएको छ । वर्षौं मिहिनेत गरेर आर्जेको प्रतिष्ठा निमेषभरमा ध्वस्त भएको देखिएको छ । सदाचार र संयमको अभाव तर निषेध र विद्वेषको बिगबिगी हाम्रो समाजमा देखिन्छ ।

फेरि आफ्नै कुरामा फर्केर कुरा गर्दा, सामाजिक सञ्जालमा चौबीसै घण्टा सक्रिय रहनेहरूले के प्राप्त गरे, उन्नयन र उन्नतिको के–कस्तो शिखर चढे वा चढ्दै छन्, त्यसको प्रयोगकर्ता नभएकाले त्यो बताउन सक्दिनँ । तर, यतिका वर्षदेखि सामाजिक सञ्जालबाट टाढा रहँदारहँदै पनि मैले आफूले केही गुमाएको वा समाजमा मानसिक रूपमा सीमान्तकृत अनुभव भने गरेको छैन । कोठाको एउटा कुनामा थन्किएर अनलाइन हाई–हेल्लो भन्नुभन्दा प्रियजन भेट्ने हुटहुटीले घरदेखि पाइला सार्दा बरु ताजगी र आनन्दको अनुभूति गर्दै आएको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *