सन्तोष साह अर्थात् ‘स्वादका बादशाह’


मास्टर–सेफ प्रोफेसनल्स– २०२० का उपविजेता तथा बिबिसीको युके मास्टर–सेफ प्रोफेसनल्स रिम्याच– २०२१ का विजेता सन्तोष साहले ‘वाह ! जिन्दगी’ सँगको संवादमा आफ्नो मनोभाव यसरी खोल्दै भने, ‘म यहीँ माटोमा जन्मिएँ, यहीँ हुर्किएँ र यहीँका परिकारले विश्वमा ख्याति कमाएँ । त्यसैले यही माटोको ऋण तिर्न केही गर्नु आवश्यक लाग्यो ।’ उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वादको झन्डा…

मास्टर–सेफ प्रोफेसनल्स– २०२० का उपविजेता तथा बिबिसीको युके मास्टर–सेफ प्रोफेसनल्स रिम्याच– २०२१ का विजेता सन्तोष साहले ‘वाह ! जिन्दगी’ सँगको संवादमा आफ्नो मनोभाव यसरी खोल्दै भने, ‘म यहीँ माटोमा जन्मिएँ, यहीँ हुर्किएँ र यहीँका परिकारले विश्वमा ख्याति कमाएँ । त्यसैले यही माटोको ऋण तिर्न केही गर्नु आवश्यक लाग्यो ।’ उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वादको झन्डा फहराउने सेफका साथै ‘मिथिला थाली’का संस्थापक हुन् । नेपाली अझ विशेषत: मिथिला स्वादलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन उनले पछिल्ला वर्षहरूमा जुन मिहिनेत अर्पेका छन्, त्यसले स्वाद मात्र नभई संस्कृतिको पनि सेवा गरेको अनुभूत हुन्छ ।

आज उनी लन्डनदेखि काठमाडौँ र जनकपुरसम्म चर्चाको केन्द्रबिन्दुमा उभिएका छन् । उनको यात्रा भने एक सामान्य मिथिला गाउँबाट आरम्भ भएको थियो, जहाँ उनी सङ्घर्ष, गरिबी, अभाव र सपना सँगाल्दै हुर्किएका थिए । त्यो थलो थियो— सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित सूर्यानी टोल । सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका उनको बाल्यकाल सुखद रहेन । पढाइमा औसत भए पनि कलात्मक रुचि, जिज्ञासा र भान्सातर्फको मोह भने उनले बाल्यकालदेखि अँगाल्न चाहे । एसएलसी परीक्षामा असफल भएपछि निराश भएका उनी १५/१६ वर्ष छँदै भारततिर लागे । गुजरातस्थित अहमदाबादमा पुगेका उनले होटलमा भाँडा माझ्ने कामबाट आफ्नो ‘करिअर’ सुरु गरे । त्यस समयको अनुभवलाई उनी आज पनि ‘गौरव’का रूपमा स्मरण गर्छन् । भन्छन्, ‘मैले आफ्नो करिअरको सुरुवात भान्साबाट नभई भाँडा माझ्ने कार्यबाट गरेँ । सो कार्य र समयले मलाई अनुशासित, परिश्रमी र स्वावलम्बी हुन सिकायो ।’

गुजरातमा केही वर्ष रहँदा उनले भारतीयका साथै अन्तर्राष्ट्रिय खानाहरूमा चासो राख्न थाले । काम सिक्दै र होटल व्यवस्थापनसम्बन्धी सीप बटुल्दै जाने क्रममा उनी मोन्टेनेग्रो हुँदै बेलायततर्फ लागे । लन्डनस्थित ‘द ललित लन्डन’ होटलमा कार्यकारी सेफको रूपमा कार्यरत रहँदा उनले नेपाली र रैथाने परिकारमाथि अध्ययनको सुरुवात गरे ।

थकाली, नेवारी, मगर, थारू, लिम्बू, शेर्पाजस्ता सबै जातीय परिकारहरूको स्वाद, बनाउने तरिका र भान्सा संस्कारबारे अध्ययन गर्न थाले । अध्ययन–दायरा फराकिलो भए पनि उनको विशेष मोह भने मिथिला परिकारप्रति रह्यो । कारण प्रस्टै थियो— त्यही माटो, जहाँ उनी जन्मिए, हुर्किए । र, जुन माटोको गन्ध उनीभित्र सलबलाइरहेका थिए ।

सन् २०२० मा बिबिसीको चर्चित कार्यक्रम :बकतभचऋजभा स् त्जभ एचयाभककष्यलबकि मा सहभागी हुँदा उनले मिथिला थाली प्रस्तुत गरे, जसमा परिकार मात्र नभई भावनासमेत पनि मिसिएका थिए । त्यस थालीमा चोखा (साँधेको आलु), तरुआ (तरुलको पकौडा), झिँगे साग, तिलौरी, कढीबडी, दाल–भात, माटोको भाँडामा राखिएको अचार र मिठासका साथ सादगी मिसिएको प्रस्तुति थियो ।

मास्टर–सेफका निर्णायकहरू त्यस थालीबाट प्रभावित भए । परिकारको स्वाद मात्र होइन, त्यससँगै मिश्रित संस्कृति, न्यानोपना र सन्तोषको कथाले उनीहरूलाई छोयो । त्यो एक थालीले सन्तोषलाई केवल उपविजेता मात्र बनाएन, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विशेषत: मिथिला स्वादको प्रतिनिधि पनि बनायो । ‘मैले जीविका चलाउन सयौँ परिकार बनाएँ, तर जीवन बदल्ने खाना भने सोही थाली बन्यो,’ उनी भन्छन् ।

मिथिला थाली : स्वादको माध्यमबाट पहिचानको पुनस्र्थापना
मास्टर–सेफपछि सन्तोषले नेपाल फर्किएर आफ्नो सपना थप स्पष्ट बनाउँदै लगे, नेपाली स्वादको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणमार्फत । विशेषत: मिथिला स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने लक्ष्यसहित ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट सुरु गरे । उनले पहिलो रेस्टुरेन्ट मिथिला संस्कृतिको केन्द्र जनकपुरमा खोले, जहाँको मेनु, भान्सा, परिकार, तड्का सबैमा स्थानीय स्वादको झल्को पाइन्छ । सन्तोष भन्छन्, ‘जनकपुरबाट सुरु गर्नुको अर्थ के थियो भने जुन माटोबाट मैले प्रेरणा पाएँ, त्यहीँबाट काम सुरु गर्नुपर्छ ।’ काठमाडौँ उपत्यकामा खाना र रेस्टुरेन्ट संस्कृतिको केन्द्र मानिने झम्सिखेलमा दोस्रो शाखा सुरु गरियो । सो शाखामा ग्राहकको विविध स्वादलाई ध्यानमा राख्दै केही आधुनिक प्रयोगसमेत थपिए । जसमा भान्सा सफा, इन्टेरियर आकर्षक तर स्वाद भने मिथिलाकै आत्मा बोकेका थिए । तेस्रो शाखा भने धार्मिक पर्यटक र तीर्थालुलाई लक्षित गर्दै गौशालामा खोलियो । सो शाखामा पूर्णत: शाकाहारी परिकारहरू मात्र पाइन्छन् । हिन्दू धार्मिक नियमअनुसार पाकेको खाना, पञ्चगव्यको प्रयोग र माटोको भाँडामा पर्सिएको थाली । यी सबैले सो ठाउँलाई धार्मिक, सांस्कृतिक र पारम्परिक स्वादको गन्तव्य–स्थल बनाएको छ ।

स्वादसँगै स्वावलम्बन
सन्तोषको यात्राको अर्को पक्ष सामाजिक उद्यमशीलता पनि हो । उनी रेस्टुरेन्टमा धेरैजसो महिला गृहिणीहरूलाई तालिम दिएर रोजगारी दिन्छन् । स्थानीय उत्पादनको प्रयोग, कृषकसँग प्रत्यक्ष सहकार्य, गाउँका परम्परागत सीपलाई सम्मान गर्ने सन्तोषको प्रयास नेपाली खाद्य व्यवस्थापन क्षेत्रका लागि उदाहरणीय बन्न सक्छ । ‘खानामा आत्मा हुन्छ । जबसम्म त्यो आत्मा बाँच्दैन, हाम्रो संस्कृति पनि बाँच्दैन ।’ सन्तोषको विश्वास यति प्रस्ट छ कि उनी परिकारलाई केवल व्यापारिक दृष्टिकोणबाट मात्र नभई सांस्कृतिक अभिव्यक्तिका रूपमा हेर्छन् ।

भविष्यको सपना
सन्तोष अहिले मिथिला फुड रिसर्च सेन्टर स्थापना गर्ने योजनामा छन् । यो केन्द्रमा परम्परागत मिथिला खानाहरूको अध्ययन, दस्ताबेजीकरण, प्रशिक्षण र प्रवद्र्धनजस्ता विषय समेटिएका छन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा मिथिला थाली ब्रान्डको शाखा विस्तार बेलायत, अमेरिका, खाडी मुलुकहरूमा गर्ने तयारीसमेत भइरहेको छ ।

उनले भविष्यमा खाद्य डकुमेन्ट्री, पाककला पुस्तक र खानासँग सम्बन्धित सांस्कृतिक प्रदर्शनीमार्फत पनि नेपाली स्वादलाई विश्वसामु लैजाने योजना बनाएका छन् । सन्तोषको जीवन, उनको परिकार र उनको ब्रान्ड, यी सबै नेपाली पहिचानका सशक्त कथा हुन् । उनी केवल सेफ मात्र होइनन्, स्वादका दूत, सांस्कृतिक दूत र प्रेरणाका पात्रसमेत हुन् । उनको ‘मिथिला थाली’ आज एक ब्रान्डको रूपमा स्थापित छ । त्यो ब्रान्डभित्र हजारौँ वर्ष पुरानो सभ्यता, स्वाद, स्मृति र सपना मिसिएका छन् । नि:सन्देह, सन्तोषले प्रमाणित गरिदिएका छन्—यदि सपना साँचो हो र मिहिनेत इमानदार छ भने भाँडा माझ्ने हातले पनि विश्वलाई स्वादको कलेवरमा रङ्ग्याउन सकिन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *