क्रमागत


राजधानीको भूगोल र जनजीवनको गहिराइमा पुग्न निकै कठिन थियो ।

म प्रख्यात नृत्याङ्गना कमला छेत्रीको घरतिर जाँदै थिएँ । उनको घर कुन टोलमा पर्छ भन्नेसम्म सुनेको थिएँ तर ठ्याक्कै ठाउँ थाहा थिएन । उनी राष्ट्रिय रूपले चर्चित व्यक्तित्व भएकीले सोधेर पत्ता लगाउँछु भन्ने अठोटले हिँडेको थिएँ ।

जाडो महिनाको बिहान थियो । सिङ्गो सहर कुहिरो र तुसारोको प्रकोपले कठ्याङ्ग्रिएको थियो । धूवाँजस्तो बाक्लो कुहिरोबाट पानीका स-साना कणहरू हावामा उडिरहेका थिए, जसले गर्दा समय-समयमा मेरो अगाडिपट्टिको मोहडा सत्तरी वर्षको बूढाको जस्तो सेताम्य भइरहन्थ्यो । म नाङ्गो हातले त्यसलाई पुछिरहन्थेँ ।

गल्लीमा एक-दुई ठाउँ खुलेका चिया र चुरोट पसलबाहेक कतै चालचुल थिएन । केही अगाडि बढेपछि म द्विविधाग्रस्त मानसिकतामा पुगेँ । कता जानुपर्ने हो ? कतै मेरो गन्तव्य गलत त परेन ? जब म सहरको मुटुभित्र पस्छु, त्यत्तिकै अत्तालिन पुग्छु । त्यसमाथि कुहिराको बाक्लो सिरकले पुरिएको सहर र त्यसका साँघुरा गल्लीहरूको सघन जङ्गलले सदैव मलाई आतíित पारिरहन्छ ।

ठहिँटी चोकबाट पूर्वपट्टि केही घर छोडेर उसको घर पर्छ भनिएको थियो । पहिले ऊ डिल्लीबजारमा डेरामा बस्थी । पञ्चायतकालमा एउटा मन्त्रीसित अन्तर्वार्ता लिँदा म त्यहाँ पुगेको थिएँ । त्यसबखत ऊ दीनानाथ छेत्रीकी धर्मपत्नी तथा तत्कालीन न्यायमन्त्री निरञ्जन सिंहको अघोषित पे्रमिका थिई । साप्ताहिक पत्रिकाका मनोरञ्जन पृष्ठहरूले बताएको सूचना थियो यो । अन्य कुराहरूबारे म त्यति जानकार थिइनँ । किनभने म त्यस बेला मोफसलमा बसेर पत्रकारिता क्षेत्रमा संलग्न थिएँ । यता आएको धेरै भएको छैन । यसले गर्दा राजधानीको भूगोल र जनजीवनको गहिराइमा पुग्न मलाई निकै कठिन थियो ।

नृत्याङ्गना कमला छेत्रीलाई चिन्नुभन्दा पहिले मैले उसको लोग्ने दीनानाथ छेत्रीलाई चिनेको हुँ । मैले आफू काम गर्ने पत्रिकाका लागि कला र शैली पृष्ठमा सानो अन्तर्वार्ता लिएको थिएँ । ऊ राजधानीको कुनै नाटक मण्डलीमा काम गथ्र्यो । ऊ तबलावादक थियो । कमलासित उसको यसै सिलसिलामा भेट भएको थियो । भेटहरूपछि प्रेम भयो र अनि प्रेमपछि विवाह सम्पन्न भयो । यो सूचना दीनानाथकै मुखारविन्दबाट मैले सुनेको हुँ ।

आकाशभैरव रेस्टुराँमा हाम्रो पहिलो भेट भएको थियो । सहरका निम्नमध्यम वर्गीय जँड्याहाहरू जाने थलो हो त्यो ठाउँ । अर्थात् त्यहाँ जानेहरूको बहुमत दोस्रो दर्जाका मानिसहरूको कारणले बन्ने हुँदा त्यसलाई दोस्रो दर्जाको भट्टी भने पनि हुन्थ्यो । तर त्यहाँ जाने कसैले पनि आपूmलाई दोस्रो दर्जाको ठानेर घटुवा गर्न चाहँदैनथे । त्यहाँ दिनहुँ जाने लेखक, कलाकार, व्यापारी, पत्रकार वा कानुन व्यवसायीहरू युरिया मिसिएको मादक झोललाई बूढी भैँसीको सुकुटीका सितनसित निल्दै कला, साहित्य, दर्शन, राजनीति र अर्थशास्त्रबारे अनुत्पादक चर्चा गर्दै रातको पहिलो हिस्सा कटाउँथे ।

दीनानाथ पनि दोस्रो काँटको मानिस भएकोले दिनहुँ त्यहाँ पुग्थ्यो । म पनि राजधानी पुगेका बेला त्यहाँ पुग्थेँ । त्यसपछि ऊसित बराबर भेट्ने मौका जुर्‍यो । अन्य ठाउँमा भन्दा त्यहाँ मलाई बढी सहज र सुगम अनुभव हुन्थ्यो । म पनि त दीनानाथझैँ दोस्रो दर्जाको मानिस थिएँ र त्यहाँ जानेहरूको मनोविज्ञानसित मेरो मनोविज्ञान कतै पनि बाझ्दैनथ्यो ।

पिउँदै जाँदा थाहा भयो— दीनानाथ कट्टर पञ्चायत विरोधी रहेछ । अथवा रक्सी लागेपछि ऊ आपूmलाई पञ्चायतविरोधी देखाउन बढी कसरत गर्दो रहेछ ।

‘यस्तो कडा शासनमा पनि तपाईं खुलेर पञ्चायतको विरोध गर्नुहुन्छ, यसबाट तपाईंलाई 
खतरा हुँदैन ?’ मैले उसलाई उक्साउने हिसाबले सोधेको थिएँ ।

‘केको खतरा, जब कसैलाई आफ्नो ज्यानको चिन्ता हुँदैन, उसलाई खतराको के चिन्ता ? बुझ्नुभयो पत्रकार महोदय, यदि यस देशमा जनआन्दोलन भयो भने म त्यसको अग्रपङ्क्तिमा पुगेर उभिनेछु ।’

जाँड लागेपछि दीनानाथले बोल्ने संवादहरू यस्तै हुन्थे । त्यसबेला ऊ जति ठूलो क्रान्तिकारी कोही हुँदैनथ्यो । सम्भवतः यो कुरा आकाशभैरव रेस्टुराँमा आउने सबै सरकारी जासुसहरूलाई पनि थाहा थियो ।

अर्को एक दिन मात्तिएर टन्न भएपछि उसले भन्यो— ‘बुझ्नुभो, यो क्याबिनेटको सबैभन्दा प्रभावशाली मन्त्री निरञ्जन सिंह मेरो लगौँटिया यार हो । अहिले मैले चाहे जे पनि गर्न सक्छु । रातारात करोडपति बन्न सक्छु । जे चाह्यो त्यो बन्न सक्छु ।’

‘तर तपाईं त आफूलाई पञ्चायतविरोधी भन्नुहुन्छ ? अनि कसरी मन्त्री निरञ्जन सिंहसित तपाईंको यस्तो प्रगाढ मित्रता हुन सक्यो ?’

‘त्यही त दुःखको विषय भएको छ । त्यसले देश, जनता र क्रान्तिको इतिहासमाथि त्रूmर गद्दारी गरेको छ । तर पनि ऊ मेरो अभिन्न मित्र हो । म उसलाई जति घृणा गर्छु ऊ त्यति नै मलाई स्नेह गर्छ । म जति उससित टाढा हुन चाहन्छु, ऊ त्यत्तिकै निकट हुन चाहन्छ । त्यसैले जति नकारात्मक रूप बनाए पनि ऊ मेरो जीवनबाट अलग हुन सक्दैन ।’

रक्सीको मात बढी भएर होला, त्यसपछि दीनानाथ रुन थाल्यो । दीनानाथसितको मित्रताले गर्दा मन्त्री निरञ्जन सिंहसित अन्तर्वार्ता लिन मलाई सजिलो भएको थियो र त्यसको सिलसिलामा कमला छेत्रीसित भेट भएको थियो । ओहो ! त्यो घटना भएको पनि अब दस वर्ष भइसकेछ ।

पुरानो सम्झनाको यो पटकथा सोच्दासोच्दै म फराकिलो डबलीमा पुगेँ । सम्भवतः ठहिटी चोक भनेको यही हुनुपर्छ— मैले यस्तै अनुमान गरेँ र नजिकैको चिया पसलतिर मुन्टो घुसारेँ— ‘ए साहुजी, कमला छेत्रीको घर कता पर्छ, तपाईंलाई थाहा छ ?’

‘अहँ ठा छैन ?’
‘त्यो टिभीमा नाच्ने केटी छ नि, हो त्यसको घर थाहा छैन ?’
‘कोको नाच्छ, के ठाहा ?’ ग्वालमडी पकाइरहेको साहुजीले अरू बढी झर्किंदै जवाफ दियो ।
‘अनि यो ठाउँको नाउँ ठहिटी चोक होइन ?’
‘टयो ट हो… ।’

जे भए पनि म ठीक ठाउँमा आइपुगेको रहेछु भन्ने कुरा प्रमाणित भयो । त्यस उपलक्ष्यमा मलाई एउटा चुरोट सल्काउन मन लाग्यो । राजधानीको त्यो उत्कट जाडोमा चुरोट सल्काउनुको पनि आफ्नै 
मजा हुन्छ ।

चिया पसलअगाडि उभिएर चुरोट सल्काएपछि म पूर्वतिर अघि बढ्न चाहन्थेँ । तर, दिशाभ्रमले गर्दा म एकछिन अलमलिएँ । लगभग पाँच मिनेटजति म चोकको एताउता भौँतारिएँ । त्यसै बेला सडक बढार्ने दुइटी तरुनी र एउटा ठिटो अश्लील ठट्टा गर्दैै परबाट चोकतिर पसे । दुवै तरुनीको हातमा लट्ठी गाँसेर बनाएको लामा-लामा कुचा थिए । अति त्यो ग्वाँचे ठिटो भने एकपाङ्ग्रे ट्रलीलाई सडकमा ठेलिरहेको थियो । उनीहरू युवासुलभ ठट्टामा लीन थिए भने कुरा उनीहरूको मुखमण्डलमा व्यक्त भएको मादकताले बताइरहेको थियो । तर एकैछिनमा उनीहरू पनि मेरो दृश्यपटलबाट ओझेल भए । त्यसपछि अर्को पाँच मिनेट म यतायता टहलिएँ ।

चोकको वरिपरि जम्मा पाँचवटा गल्ली थिए । ती सबै गल्लीको परीक्षा गरेमा सायद कमलाको घर भेट्टाउन सकिन्छ भन्ने मान्यता मेरो दिमागमा स्थापना भयो । म त्यसैअनुरूप पहिलो गल्लीतिर हानिएँ । त्यसै बेला गजबको नाटकीय चमत्कार भयो । एउटा नाइलनको इम्पोर्टेड झोला हातमा झुन्ड्याएर दीनानाथ अचानक त्यहाँ प्रकट भयो । तर सुरुमा उसले मलाई चिनेन । त्यसैले म उसको अघिल्तिर गएर बाटो छेक्ने हेतुले ठिङ्ग उभिएँ । मेरो यो व्यवहारले ऊ एकछिन अलमल्ल पर्‍यो । ‘मलाई चिन्नुभएन कि क्या हो ?’ मैले मुख फोरेँ ।

‘हजुर….. ।’ ऊ अझ एकछिन अलमलियो ।
‘एकछिन कोसिस गर्नोस् त, म को हुँ ?’
‘अँ.. अँ— तपाईं पत्रकार… होइन ?’
‘हो, बल्ल ठाउँमा आउनुभयो ।’
‘कहिले काठमाडौँ आउनुभएको ?’
‘केही दिन भयो । अब यतैको पत्रिकामा काम मिल्यो ।’ मैले भनेँ ।

यस अवधिमा दीनानाथ निकै बदलिएछ । ऊ पहिलाभन्दा केही दुब्लो र कालो पनि भएछ । कपाल केही सेतो र अनुहारमा केही प्रौढताको आभास झल्किएछ ।

‘तपाईं अन्तर्वार्ता लिन आउनुभएको होला 
होइन ? अहिले उहाँ म कहाँ नै हुनुहुन्छ ?’ दीनानाथले फेरि भन्यो ।

हो, म अन्तर्वार्ताकै निम्ति त्यता गएको थिएँ । म उसकी स्वास्नीको अन्तर्वार्ता लिन चाहन्थेँ । त्यसैले दीनानाथसित भेट्दा मलाई सजिलो पनि भयो । तर, उसले आफ्नी श्रीमतीलाई किन तपाईं भनेर सम्बोधन गर्‍यो ? फेरि ‘उहाँ मकहाँ नै हुनुहुन्छ ?’ भन्ने वाक्यको अर्थ के ?
‘त्यसो भए तपाईं हिजोआज आफ्नी पत्नीलाई उहाँ भनेर सम्बोधन गर्न रुचाउनुहुन्छ ? यो राम्रो संस्कृति हो । नारी र पुरुष बराबर हुन्छन् भन्ने संस्कृति ।’ मैले आफ्नो शíा निवारण गर्न जाल थापेँ ।

‘मैले उसलाई ‘उहाँ’ भनेको होइन ।’ उसले स्पष्टीकरण बोल्यो ।

‘अनि कसलाई भन्नुभएको त ?’

‘मैले त माननीय मन्त्रीज्यूलाई पो भनेको । माननीय मन्त्रीज्यू अहिले मेरै घरमा हुनुहुन्छ । उहाँ हिजो बेलुकादेखि नै मेरी पत्नीको आतिथ्य सत्कारमा मग्न हुनुहुन्छ । के तपाईं उहाँकै अन्तर्वार्ता लिन आउनुभएको होइन र ?”

‘को माननीय मन्त्रीज्यू ? निरञ्जन सिंह त अहिले मन्त्री हुनुहुन्न हैन र ?’

‘ए त्यो त अर्कै युगको कुरा हो ।’

‘अनि अर्को को मन्त्री त ?’

‘प्रजातन्त्रको नयाँ न्यायमन्त्री नि ।’

मैले उसको पछिल्लो वाक्यको उत्तर दिइनँ र उल्टै भनें, ‘त्यसो भए उहाँ पनि तपाईंको अभिन्न मित्र हुनुहुन्छ होला होइन ?’

‘मित्रताको कुरा गर्ने हो भने अचेल उहाँ जति नजिक मेरो कोही नै छैनन् ।’ उसले नाकका पोरा फुलाउँदै भन्यो ।

‘उहाँसित विचार मिल्छ कि मिल्दैन ?’

‘विचार…?’ ऊ एकछिन अलमलियो ।

‘जस्तो कि पञ्चायत हुँदा तपाईं र तपाईंको लगौटिया साथी निरञ्जन सिंहसित वैचारिक 
मतभिन्नता थियो ।’

‘त्यो सोह्रै आना मनासिब हो ।’

‘अहिलेको न्यायमन्त्री पञ्चायत विरोधी हुनुहुन्छ । पञ्चायतसित क्रान्ति गरेर उहाँ मन्त्री बन्नुभएको हो । तपाईं पनि त पञ्चायतविरोधी हुनुहुन्थ्यो भने दुवैको विचार मिलेन ?’ मैले जोड दिएर भनें ।

‘ए त्यसो पो भन्नुभएको । मैले त झन्डै कुरै नबुझेको । हो त, अहिलेको न्यायमन्त्री र मेरो विचार पनि मिल्छ । म उहाँलाई जति प्रेम गर्छु त्योभन्दा बढी प्रेम उहाँ मलाई गर्नुहुन्छ । अब मेरो जीवनको अनिवार्य अङ्ग भइसक्नुभएको छ ।’

यति भनिसकेपछि दीनानाथ आफ्नो उद्देश्यप्रति सजग भयो । फेरि भन्यो— तपाईं जाँदै गर्नोस्, म केही नास्तासास्ताको सामान किनेर छिट्टै आउँछु । ऊ त्यही ठूलो घर त हो मेरो ।’

देब्रे हात जिन्दावादको शैलीमा उचालेर अभिवादन गर्दै दीनानाथ ठहिटी चोकतिर हानियो तर म भने फेरि अर्को द्वन्द्वको भुँवरीमा फसेँ । त्यसै बेला मभित्रको पत्रकारले गोमनको फणाझैँ एउटा जटिल प्रश्न उठाउँदै मलाई बिथोल्यो— यस्तो परिस्थितिमा नृत्याङ्गना कमला छेत्रीको अन्तर्वार्ता लिन ठीक हुन्छ कि प्रजातन्त्रका नयाँ न्यायमन्त्रीको ?

मेरो अन्तरात्माले सोधेको प्रश्नको उत्तर दिन मलाई एकदमै कठिन पर्‍यो । त्यसपछि त गल्लीभित्र मडारिएको सेतो कुहिरो अरू बढी घना र बाक्लो भएर मेरो बाटो अगाडि पहाडझैँ ढसमस्स उभियो । म एक इन्च पनि अघि बढ्न सकिनँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *