प्रेम कुनै एक ऋतुको नाम होइन


मेरी मायालु !ऋतुचक्रको कुनै बर्सातमा भेटेको थिएँ तिमीलाई…….. दिनभरि परिरहेथ्यो मुसलघारे पानीतिमीधूलोकणमाथि उछिट्टिएर उडिरहेको पानीको लहर देखेरर नाथ्रीमा ठोक्किएको माटोको सुवास सुँधेररमाइरहेकी थियौ कुनै किसानजस्तै ।

मेरी मायालु !
ऋतुचक्रको कुनै बर्सातमा भेटेको थिएँ तिमीलाई……..

दिनभरि परिरहेथ्यो मुसलघारे पानी
तिमी
धूलोकणमाथि उछिट्टिएर उडिरहेको पानीको लहर देखेर

र नाथ्रीमा ठोक्किएको माटोको सुवास सुँधेर
रमाइरहेकी थियौ कुनै किसानजस्तै ।
तिमी बाल्यकालमा फर्किएकी थियौ अचानक
लज्जाउँदै तानेकी थियौ मेरो हात
र केटाकेटीझैँ बर्सातमा भिजेर लिइरहेकी थियौ आनन्द ।

म पनि लजाउँदै
प्रेमवर्षाको प्रथम आनन्द लिइरहेको थिएँ ।

मेरी मायालु
प्रेमले पनि
कहिलेकाहीँ झरीले जस्तै परीक्षा लिन्छ ।
त्यो दिन रोकिएन बर्सात
आकाशको कालो बादल बन्यो हुर्मत लिने झरी
झरिरह्यो कैयौँ दिन, कैयौँ रात, कैयौँ हप्ता !

दूधचियाजस्तो बाढी आयो, तिमी तर्सियौ कि ?
पैरोमा खस्यो पहाडको सानो हिस्सा, तिमी डरायौ कि ?
थुनियो केही समय सडक, तिमी आत्तियौ कि ?

प्रकृतिका जस्तै
प्रेमका पनि धेरै ऋतुहरू हुन्छन्
र ती बदलिन्छन् मायालु
हृदयको कुनै सुरक्षित पातमा
अन्डा पार्छ प्रेमले
प्रेम लार्भा बन्छ, प्युपा बन्छ..
र पुतली बनेर उड्छ जीवनको आकाशमा ।

बर्सात मन पराइरहेकी तिमी
तिमीले बर्सातलाई घृणा पो गर्न थाल्यौ कि ?
आरम्भमा रमाइरहेकी तिमी
हरेक ऋतुको उच्चतामा यसरी नै विचलित भयौ कि ?

मेरी मायालु
प्रेम कुनै एक ऋतुको नाम होइन
प्रेमका पनि अनेक ऋतुहरू हुन्छन्,
प्रेमका पालुवाहरू पलाउने एक वसन्त,
प्रेमका पातहरू झरेर धरती सिँगार्ने एक शरद्,
प्रेमका हिमालहरू खुल्ने एक हेमन्त,
प्रेमको वसन्त पर्खिरहने एक शिशिर,
प्रेमको सर्दी फाल्ने एक ग्रीष्म‘..!

जसरी एउटा ऋतु मात्र मन पराउने मानिसले
प्रकृतिको समग्रतालाई प्रेम गर्दैन
प्रेमको एउटा ऋतुलाई मात्र प्रेम गर्ने मानिसले
प्रेमको सम्पूणर्तालाई प्रेम गर्दैन ।

मायालु !
मौसम नबदलिए ऋतुको जन्म असम्भव हुन्छ
ऋतु नबदलिए सृष्टिको चक्र अधुरो हुन्छ
प्रेमको स्थायी पृथ्वी नै पो बदलिनु भएन
ऋतुजस्तै बदलिनु त प्रेमको स्वभाव हो
किनकि
प्रेम कुनै एक ऋतुको नाम होइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *